scheduleशनिवार श्रावण २४ गते, २०७७

जसपाको तत्कालीन चुनौतिः उद्देश्यअनुरुप नेतृत्व मिलान

सन्तोषकुमार मेहता

जनता समाजवादी पार्टीको परिकल्पना, सिद्धान्त, विचार, नीति, कार्यक्रम, संगठन, नेतृत्व, कार्यशैली सबै हिसाबले नयाँ र उन्नत बनाउने लक्ष्य हुनुपर्छ । अधुरो रहेको मधेस-थरुहट र जनजाति आन्दोलनलाई पूर्णता दिन सक्नुपर्छ । जसपाको परिकल्पना अनुरुप नेतृत्व भएन भने लक्ष्य हासिल गर्न संशय पैदा हुन्छ । जसपा सुस्पष्ट ढंगले आफू १०+१ पहिचान प्रदेशको पक्षधर रहेको, समानुपातिक समावेशी हुनुपर्ने तथा वञ्चित, किनारिकृत जाति समुदायले विशेष संरक्षण पाउनुपर्ने पक्षकार रहेको छ । त्यसका निम्ति आन्दोलन वा जनमत हासिल गर्ने आगामी रणनीति हुने पनि निश्चितै छ, त्यही रणनीतिक लक्ष्य प्राप्त गर्न शीर्ष नेतृत्व पनि स्थापित गर्नैपर्छ ।

१. त्यसअनुरुप आफूले कल्पना गरेको १० वटै पहिचान प्रदेशबाट केन्द्रीय नेतृत्वमा ल्याउने रणनीति आवश्यक हुन्छ कि हुँदैन ?
२. प्रदेश नं. १ भनेको मुख्यतः पहाडी ब्राह्मण (खस), लिम्बुवान, खम्बुवान (किराँत) र कोच (मधेस) पहिचान भएको प्रदेश हो, १० प्रदेश हुँदा तीन पहिचानमा बाँडिने हो। विगतको मधेस आन्दोलनको समेत आधार रहेको तथा झापा-मोरङ-सुनसरी सहितको मधेस प्रदेश हुनुपर्छ भनेर संविधान निर्माण बहिस्कार, नाका केन्द्रित ६-६ महिना लामो आन्दोलन, निर्वाचन बहिष्कार, सयौंको शहादत भएको हो । त्यस्तो संवेदनशील महत्त्वपूर्ण झापा-मोरङ्ग-सुनसरीबाट मधेस नै आधार क्षेत्र रहेको जसपामा कोच (मधेसी) राख्नु/अटाउनु आवश्यक हुन्छ कि हुँदैन ?
३. १०+१ प्रदेशको कल्पनामा सबैभन्दा उत्पीडित समुदाय दलित त्यसमा पनि सीमान्तकृत मधेसी दलितको प्रतिनिधित्व मधेस नै आधार क्षेत्र रहेको जसपामा आवश्यक हुन्छ कि हुँदैन ?
४. समावेशी पार्टीको परिकल्पना गरिरहँदा प्रमुख तीन समुदाय खस-आर्य, पहाडी जनजाति र थारु-मधेसी लगभग बराबर जनसंख्या रहेको अवस्थामा मधेसबाट ५९%, खसबाट २३% र जनजातिबाट १८% को असन्तुलित सहभागितालाई समानुपातिक गर्दै लैजाने प्रण लिने कि नलिने ?
५. तराई/मधेस नै आधारक्षेत्र रहेको पार्टीमा तराईली-मधेसीको मुख्य क्लस्टर मध्ये फरवार्डको ३३%, यादवको ३०%, बैश्यको १७%, थारुको १०%, दलितको ०%, कुशवाहको ०%, तराई जनजातिको ०% र अति पिछडा बर्गको ०% को अमिल्दो सहभागिता र शून्य सहभागितालाई तत्काल सच्याउने कि नसच्याउने ?
६. पहाडी जनजातिमध्ये मुख्य क्लस्टर नेवारको ४५%, राई २२%, लिम्बू २२%, तामाङ ११%, गुरुङ, मगर, शेर्पाको ०% को अमिल्दो सहभागिता र शून्य सहभागितालाई सम्बोधन गर्ने कि नगर्ने ?
७. खस-आर्य मध्ये मुख्य क्लस्टर बाहुन ४२%, क्षेत्री ३३%, दलित १७%, ठकुरी ८%, सन्यासी ०% को लगभग मिल्दो सहभागिता भए पनि शून्य सहभागितालाई सम्बोधन गर्ने कि नगर्ने ?
८. लैङ्गिक दृष्टिकोणले पुरुषको ८६% र महिलाको केवल १४% को सहभागिताले गिज्ज्याएको छ, महिलाको अझ सहभागिताको परिस्थिति बनाउने कि नबनाउने ?

सन्तोषकुमार मेहता

उपरोक्त प्रश्नहरु हल गर्नैपर्छ । जसपा पुरानै पार्टीहरूको डुप्लिकेट हुने हो भने नेपाली जनतालाई अर्को भारी बोकाउन आवश्यक छैन । त्यसैले हिमाल, पहाड, मधेस जोड्ने सच्चा राष्ट्रिय पार्टी बनाउने तथा सम्पूर्ण मधेस जोडि बिगतमा जातिवादी पार्टी वा जातिवादी नेतृत्वको आरोप नष्ट गरी समग्र मधेस/मधेसीको हितैषी पार्टी बनाउनु जरुरी रहेको छ । मधेसी समाजमा पहिलेदेखि नै थारू–गैरथारू, यादव–गैरयादव, फरवार्ड–ब्याकवार्ड, हिन्दू–मुस्लिम, पहाडी, बैश्य/पचनिया, कोइरी, दलित जस्ता मतभेदका बीऊ छन् । समाजको यो गलत विभाजित संरचनालाई मधेसलाई प्रतिनिधित्व गर्ने राजनीतिक दलले समाप्त गर्नुपर्‍थ्यो । तर अपसोच, यो गलत सामाजिक संरचनाको ढाँचाअनुरूप नै बिगतमा मधेसी दलहरुले आफूलाई ढाले । जसलाइ अब पूर्णत रुपान्तरण गरी नष्ट गर्न सक्नु पर्दछ । यसो गरिए यो एकीकरणसँगै विभाजित मधेसी समाज पनि एक हुनेथियो ।

हुन त दुबै पार्टी एकताको घोषणापश्चात् पनि नेतृत्व मिलानमै समस्या भएको कारणले एकता सफल हुने नहुने द्विविधा अन्तिम समयसम्मै थियो । अन्ततः समाजवादी र राजपाको एकता सफलतापूर्वक सम्पन्न भएको छ । एकताको निम्ति दुबै पार्टीका सबै शीर्ष नेताहरूको अथक अतुलनीय प्रयास रहेकै हो । यद्यपि राजपाको तर्फबाट एकीकरणका जिम्मा पाएका श्रद्धेय नेता राजेन्द्र महतोको प्रारम्भदेखिकै अथक प्रयास र समाजवादीका डाक्टर बाबुराम भट्टराईको एक वर्षअगाडिदेखिको पहलको परिणाम पनि हो । हुन त जस्को जे सपना हुन्छ त्यस्को परिणामको निम्ति उसले त्याग नि गर्नुपर्ने रहेछ, अथक प्रयास गर्ने नेतृत्व पूर्वप्रम भइसकेका डाक्टर भट्टराई र मधेसका शक्तिशाली नेता राजेन्द्र महतोमा नि त्यो त्याग देखियो । माननीय महन्त ठाकुर र माननीय उपेन्द्र यादव संयुक्त अध्यक्ष बस्न सहमत हुनु पनि एकतालाई सफल बनाएको हो । समयावधिमै निर्वाचन आयोगमा तत्काल पुग्नुपर्ने बाध्यता भएकोले धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी नै रहेको छ । आशा गरौं बाँकी कुरामा अध्यक्ष लगायतका पदाधिकारीबाट सबैलाई चित्तबुझ्दो निर्णय हुनेछ ।

जनतामा नेता र पार्टीप्रति अविश्वास, अन्यौल र निराशा छाएको बखत भएको एकीकरणपश्चात रूपान्तरण हुने साहस गरेमा नेपाली राजनीतिको कोर्स नै परिवर्तन हुन्थ्यो । त्यसका निम्ति निर्माण हुन लागेको जनता समाजवादी पार्टीको अरु पुराना परम्परागत पार्टी भन्दा फरक संरचना, नेतृत्व र सिद्धान्त हुनुपर्छ । पहिलेको जस्तो भद्दा, अव्यवस्थित सांगठनिक संरचनालाई व्यवस्थित गर्नुपर्छ । दलहरूमा हुने शून्यप्रायः आन्तरिक लोकतन्त्र मजबुत पार्नका निम्ति निर्णय प्रक्रियामा स्थानीय स्तरको नेतासमेतलाई सहभागी गराउने एवं फरक विचारको गुन्जायस नरहेको परिस्थितिमा फरक विचारको सम्मान एवं निर्णय प्रक्रियामा सहभागिता गराउने संयन्त्र विकास गर्नुपर्छ । अध्यक्षहरुको गोजीबाट अपारदर्शी ढंगले हुने आर्थिक क्रियाकलापलाई व्यवस्थित गरी पारदर्शी ढंगबाट अगाडि बढ्नुपर्छ । नेतृत्व तहको निजी आर्थिक क्रियाकलाप पनि पारदर्शी हुनुपर्दछ । पार्टीहरु पनि राज्यकै एउटा स्वरूप भएकाले राज्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण भएझै पार्टी जीवनमा पनि केन्द्रीय समिति, संघीय परिषद र न्याय एवं अनुशासन समितिबीच शक्ति पृथकीकरण हुनुपर्दछ । पद पाएकाले अतिरिक्त शक्तिको दुरुपयोग गर्न सक्ने भएको हुँदा शक्ति दुरुपयोग नियन्त्रण समिति, लेखा परीक्षण समिति, निर्वाचन समिति जस्ता समिति केन्द्रीय समितिभन्दा पृथक, स्वायत्त र उच्च स्तरका हुनुपर्दछ । विगतमा यस्ता समिति अध्यक्ष एवं पदाधिकारीप्रति नै उत्तरदायित्व हुन्थे । पार्टीलाई आफ्नो प्रा.लि. जस्तै व्यवहार गर्ने नेतृत्ववर्ग एवं पदाधिकारीहरुका निम्ति एक पद, एक वा दुई पटक, एक अवधि जस्ता प्रावधान लागू गर्नुपर्दछ । एकल नेतृत्वको कार्यशैली परिर्वतन गरी सामूहिक नेतृत्वमा जानुपर्दछ । सार्वभौम कार्यकर्ता सिद्धान्तद्वारा मास–क्याडरबेस पार्टी निर्माण गरेर अगाडि बढ्न सक्नुपर्दछ । त्यसैगरी स्पष्ट माटो सुहाउँदो सैद्धान्तिक गन्तव्य तय गरी तत्कालीन कार्यभारलाई आमजनताको दैनिकी परिवर्तन हुन सक्ने गरी तयार पारिनुपर्दछ । यसो गरे यही पार्टी र यही नेतृत्वमा नयाँ समृद्ध नेपाल सम्भव हुनेछ ।

उपरोक्त बहस जसपालाई अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग बनाउने हो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहस हो । आशा गरौं नेतृत्वलगायतका अन्य वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ ।

(मेहता जनता समाजवादी पार्टीका नेता हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय