scheduleशनिवार श्रावण २४ गते, २०७७

भुक्नेलाई छाडौं तर, लखेट्ने र टोक्नेलाई के गर्ने ?

अभि गाउँले

आजकल मेरो दिमागको घर यही प्रश्नको वरिपरि घुम्छ, हामी आधुनिक भइटोपलेका हौं कि आधुनिक बनाइएका हौं ?

यो प्रश्नको अन्तर्यसम्म जब पुग्छु तब मानव सभ्यताको नजिकमा आफूलाई भेट्टाउछु । र, हामीलाई यो राम्रैसङ्ग थाहा छ कि हामी कुन सभ्यताको कोखबाट हुर्केका हौं ।

मानव विकासको चरण पार गर्दै आजको आधुनिक मानव बनेका छौँ । आजभन्दा ६ करोड ६० लाख वर्षअघि डाइनोसरको वंशनाश नभएको भए मानव यो अस्तित्वमा आउने थिएन सायद । जनावारको स्वरूपमा रहेको होमोसेपियन्स कसरी अहिलेको सर्वश्रेष्ठ प्राणीको रूपमा विकसित भयो भन्ने तथ्य विज्ञानले प्रमाणित गरिसकेको छ ।

यसैलाई आत्मसात गर्ने हो भने विवेक र ज्ञान बढ्दै गएपछि न पूर्ण विवेकी मानिस बन्न संभव भएको हो अन्यथा त्यही रूखरूखै डुल्ने होमो सेपियन्समै वंशवृद्धि कायम हुनेथियो । यहाँ ज्ञान र बुद्धिको उच्चतम र अहम भूमिका छ भन्ने तथ्य नकार्न सकिदैन । शताब्दीको कुरा गर्दा हामी एक्काइसौं शताब्दीमा छौँ । युगको कुरा गर्दा हामी स्वर्णिम युगमा प्रवेश गर्दैछौं । व्यवस्थाको बखान गर्नुपर्दा हामी इतिहासकै कथित सबैभन्दा बलियो र परिवर्तनकारी सत्ताको शासनकालमा आइपुगेका छौँ ।

तर पनि हामी जंगली युगको वस्त्र बेरेर समृद्धिलाई चार कोश परबाट नियाल्दै छौं । हामीमा के कुराको कमि भयो र आजको यो भद्रगोल सहेर बस्न बाध्य छौं ? राष्ट्रवादकै कुरा गर्ने हो भने त जंगबहादुर राणा अनपढ थिए तर पनि उनी राष्ट्रवादी चरित्रका थिए । देशप्रतिको माया त ‘क’ नजान्ने बज्रस्वाँठलाई पनि हुन्छ तर त्यतिले मात्र त्यसलाई पूर्णता दिलाउँदैन । यस मानेमा ज्ञानले बुद्धिको मुहान फुट्छ, अज्ञानताले अराजक बन्न मद्दत गर्छ । फरक आकाश पातालकै छ ।

हामी अज्ञानताको जगमा भासिन तयार छौँ तर पनि ज्ञानको धरातललाई समात्न सकिरहेका छैनौं । पुरातनवादी मूल्यमान्यताले थलिएको समाज जुर्मराएर गतिशील बन्छ भन्ने भ्रम पालेर बस्नुपरेको छ । जबकि अहिले पनि जसले धेरै पढ्छ ऊ खत्तम भएर बिग्रन्छ भन्ने कमजोर मानसिकता उस्तै छ । यही नीच सोंच बोकेको समाज जबर्जस्त ज्ञानको भोगी बनेको छ । एउटा कटुसत्य के हो भने अझै पनि समाजले शिक्षा आर्जनलाई धनसङ्ग जोडेको पाइन्छ । जस्तै: छोराछोरीले धेरै पढे जागिर खान्छन्, पैसा कमाउछन् भन्ने मान्यता व्याप्त छ ।

संसारका सबैभन्दा धेरै धनी मानिसहरू धेरै पढेर होइन धेरै परिश्रम गरेर त्यो अवस्थामा पुगेका हुन् । धेरै पढ्नेहरू त विज्ञ र वैज्ञानिक बन्छन् । चरम अज्ञानताकै कारण आज हामी हाम्रो भूगोलमा स्थिर बनेर उभिन सकेका छैनौं । अनुसन्धान र ज्ञानले आज मानव अन्तरीक्षमा पखेटाविना उडिरहेको छ तर हामी अज्ञानताको पखेटा पलाएर बसिरहेका छौँ । आज स्वविवेकको प्रयोग गर्न नजान्दा आफ्नै माटो लिपुलेक, कालापानी र लिम्पियाधुरामा समेत पाइला टेक्न असक्षम छौं भने चन्द्रमाको कति हिस्सामा हाम्रो पाइलाको निम्ति प्लटिङ गरिएको होला ! खोज, अनुसन्धान र ज्ञानले मात्र त्यहाँसम्मको यात्रा तयार हुनसक्छ ।

पृष्ठभुमि जति तन्किए पनि यसको गाँठो एउटै हो, ज्ञान । पछिल्लोपटक जसपाका नेता डा. बाबुराम भट्टराईप्रति हजारौं प्रहार भएका छन् । भट्टराईकै मान्यता र भनाइलाई ऐजन गरेर भन्नुपर्दा एक व्यक्ति गन्तव्यमा पुग्नुछ भने बाटोमा भुक्ने कुकुरलाई ढुङ्गा हानेर समयको बर्बादी गर्नुहुन्न, निरन्तर अघि बढ्नुपर्छ ।

हो, सैद्धान्तिक रूपले लिंदा त मन ढुक्कै हुन्छ तर व्यवहारिक पाटो अलिक भिन्न छ । यहाँ भुक्ने होइन लखेट्ने र टोक्ने प्रवृत्ति हावी भएको छ । बाबुरामको शीर चले शीरै पुच्छर चले पुच्छरै तारो बन्ने क्रम धेरै पहिलेदेखि चल्दै आएको हो । नेपालको मध्यपहाडी जिल्ला गोरखामा जन्मिएका भट्टराई सानैदेखि तीक्ष्ण बुद्धिका थिए ।

औपचारिक शिक्षा सन् १९६३ मा अमर ज्योति हाइस्कूलबाट शुरु गरे । उनले एक कक्षा पढ्न पाएनन्, शुरुमा नै तीन कक्षामा भर्ना भए । पछि सन् १९७० मा एसएलसीमा बोर्डफस्ट हुन सफल भए । अध्ययनलाई निरन्तर गतिमा अघि बढाएका उनले द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गरेका छन् ।

भट्टराईको बौद्धिकतालाई विश्वले चिनेको छ । तर हामीले चिन्न सकेनौं, चिनाउन सकेनौं, यही तीतो यथार्थ हो । रत्नकार कसरी डाकु भए, कालिदास किन मूर्ख भए, हिटलर मूर्ख शासक किन बने र ट्रम्पले सन्की शासकको उपमा किन पाए भन्ने कुरा मननयोग्य छ । एउटा मान्छे अज्ञानतालाई पूर्णरूपमा परित्याग गरेर विद्वान् बन्छ । त्यही विद्वानलाई अज्ञानताले घाटबाट तर्साउने काम गर्छ जो कहिल्यै उठ्न सक्दैन ।

अहिले नेपालको राजनीति अरूलाई सिद्ध्याउने भन्दा पनि आफै सकिनेतर्फ प्रेरित छ । पछिल्लो समय पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सरकारको कामकारबाहीप्रति कडा टिप्पणी गर्ने नेताको अग्रपंक्तिमा पर्छन् । भट्टराईहरूको गुँडबाट अण्डा चोर्ने काम सत्ताको नेतृत्वले गरेपछि बाबुराम अलि आक्रामक रूपमा प्रस्तुत हुँदै आएका हुन् ।

त्यसपछिका दर्जनौं घटनाहरूमा सरकारले नैतिकताको पर्खाल भत्काएको छ । यी घटनाक्रमले नै सावित गरेको छ कि सत्ता आफ्नै बलबुतामा चलेको छ कि मूर्खतामा राज गरिरहेको छ भनेर । विद्यावारिधि गरेका बाबुरामले ओलीपंक्तीलाई बुद्धिहीन देख्न पाउनु स्वभाविक होला तर कागले बकुल्लाको शरीरमा दाग देखाउनु हास्यास्पद होइन र ? पढेका विद्वान मानिसहरू यसकारण पनि चौतर्फी घेराबन्दीमा परेका हुन्, यहाँ शासनसत्ता अल्पज्ञानीहरूको पोल्टामा पुगेको छ ।

अभि गाउँले

विद्वानको सयौं कोर्राले भन्दा मूर्खको एक बोलीले निर्घात चोट पुग्छ । अब जेलजीवनको सर्टिफिकेटले दरबार हल्लाउने जमाना गए । जीवनको महत्वपूर्ण काल जेलको चिसो भुइँमा बिताएकाहरूको अवमूल्यन गर्न खोजेको होइन । जनताको शासन ल्याउन उनीहरूको त्याग ऐतिहासिक र मूल्यवान् बन्यो । यो त विज्ञानको युग हो । धेरै ज्ञान हासिल गरेकाहरूले देशको बागडोर सम्हाल्ने हो । नयाँनयाँ भौतिक विकास र अनुसन्धानको दायरा बढाउदै समृद्धि को बाटोमा हिड्ने हो । उहि जेलको साङ्लाले सत्ताको किल्ला पकडेर बस्न सुहाउँदो कुरो भएन ।

देशको पक्षमा हरतरह लागिपरेका डा. बाबुराम भट्टराईलाई मुख्यतः सत्तापक्षका अमूक नेताहरूले बारबार हमला गरिरहेका छन् । महेश बस्नेतहरू भत्किएको धरहराबाट हाम फालेको पनि देखियो । पूर्व आइजीको फिल्म सुटिङ्ग पनि हेरियो । यी सबै दृश्य हेरिसकेपछि सत्ताको नादानी पनि भोगियो । यति हुँदाहुँदै फेरि नेकपाको अर्जुनविनाको धनुष बाबुरामप्रति किन लक्षित भैरहेको छ ? सकभर बाबुरामहरूलाई पार्टीविहीन गराएर सत्ताको गोलोमा सदैव राज गरिरहने मनोवृत्ति अहिले पनि क्रियाशील छ ।

बाबुरामलाई जिउँदै जलाउन चाहने नेकपाका अरिङ्गालहरूप्रति दयाभाव प्रकट गर्नुपर्ने बेला आयो । कालो र रातो अरिङ्गाल मिलेर बनाएका कमजोर गोलाका ससाना लार्भाहरू यतिसारो मच्चिनु र मात्तिनु उत्तम होइन कि ? आफ्नै गोलो कतिबेला भत्किने हो टुङ्गो छैन उल्टै अरूको घर भत्काउन खोज्ने ? उम्रन पाको छैन अरूलाई चिल्न थालेर हुन्छ र ? दल दर्ताको दौरानमा रहेको जसपा निर्वाचन आयोगमा दर्ता भएको छ । हिजो बहुराष्ट्रियताको विषयलाई गलत व्याख्या गरेर लकडाउनको नियम उल्लंघन गरि जसपा दर्ता प्रक्रिया रद्द गरीपाउँ भन्ने युवा संघका युवाहरू किन विरोधमा उत्रिन्नन् हँ ?

नवगठित जसपामा डा. भट्टराईको वरियतालाई लिएर सामाजिक सञ्जालमा खिसिट्युरी अधिक भएको छ । काम पाइएन बुहारी माखो धपाएर बस गर्न मात्रै आउँछ हैन ? मधेसको जनताको आवाज उठाउने काम मधेसी नेताको मात्रै ठेक्का होइन । हिजो बाबुराम मधेस पस्दा सत्ताको टाउको घुम्यो, आज बाबुराम ‘कामी’ भैदिँदा सत्ताको टाउको किन दुख्छ ?

दोस्रो संविधानसभाबाट जनताको संविधान २०७२ जारी भएपछि आधा गिलास भरियो आधा बाँकी छ भनेर नयाँ धारको राजनीति अवलम्बन गर्ने नेता आज कसरी राष्ट्रघाती हुन्छ ? बाबुरामको दूरदर्शिताले मात्र त्यो देख्न सक्यो तर अरूले जयजयकार गरेकै हुन् संविधाननको । आधा गाग्री पानी छ्चल्किएर आधा गिलास पानीको ख्याल नगरेकै हो भने यही गम्भिर त्रुटिपूर्ण छ ।

अन्त्यमा, तमाम आरोपका बाबजुत बाबुराम भट्टराई समकालीन नेपाली राजनीतिककर्मिहरुका माझ क्षमता भएका नेतामा गनिन्छन्। अब्बल पढाई, दृढ चाहाना र अर्थमन्त्री हुँदा देखाएका संकेतहरुका कारण उनीबाट धेरै मानिसहरु आशावादी छन् । विकास र समृद्धिको खाका कोर्न ढिलाइ भैसक्यो । आगामी निर्वाचनमा जसपालाई जनमतको पल्लाभारी होस्, यही शुभकामना !

यो सम्भव भएनछ भने पनि सत्ताको ढोकाभित्र छिर्नैपर्छ । जनताका आशा र भरोसाका केन्द्र डा. बाबुराम भट्टराईलाई धेरै होइन एकचोटि अवसर दिलाउने जिम्मा विकासप्रेमी र न्यायप्रेमी जनताको हातमा !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय