scheduleशनिवार श्रावण २४ गते, २०७७

यसकारण मोदीसँग मेरो मोेहभङ्ग भयो

अनुमा आचार्य

मलाई राम्रो सम्झना छ– सन् २००९ मा म पहिलो पटक गुजरात गएकी थिएँ । म त्यतिखेर भारतीय वायु सेनामा थिए । वायु सेनाका सबै महिला अधिकारीहरु त्यतिखेर बाहिर थिए । एउटा कामको सिलसिलामा मलाई गुजरात जानुपर्ने भयो ।

अहमदावाददेखि राजपुरसम्म पुग्दा मैले जे देखेँ, मलाई धेरै राम्रो लाग्यो । मलाई यो कुरा थाहा थिएन कि त्यहाँको मुख्यमन्त्री नरेन्द्र मोदी छन् । तर, उनीप्रति मेरो मनमा राम्रो भावना उत्पन्न भएको थियो । पछि मैले उनका भाषण सुन्न थालेँ । उनको कुरामा भावना र अहंकारको समिश्रण भए जस्तो लाग्थ्यो ।

सन् २०१४ मा जब भावी प्रधानमन्त्रीको लागि नरेन्द्र मोदीको नाम चर्चामा आयो । मलाई लाग्यो कि यो धेरै राम्रो कुरा हुनेछ । मोदी प्रधानमन्त्री हुँदा म धेरै खुशी भएँ । त्यसपछिका केही वर्ष मलाई राम्रै लाग्यो । सन् २०१५, २०१६, २०१७ सम्म ठीकै लागिरहेको थियो । यो बीचमा मलाई केही पटक प्रधानमन्त्री मोदीसंग भेट गर्ने अवसर मिल्यो ।

मेरो मनमा एउटा भावना बलशाली हुँदै गयो । भारतीय वायुसेनाबाट पेन्सन भएपछि केही राम्रो काम गर्छु । राजनीतिलाई मैले नजिकबाट नियाली रहेकी थिएँ । मलाई लाग्थ्यो- यदि केही गर्ने इच्छाशक्ति छ भने राजनीति राम्रो ठाउँ हो, त्यहाँबाट त्यस्ता धेरै कुरा गर्न सकिन्छ, जो अरु क्षेत्रबाट गर्न सकिन्न ।

मैले सबै राजनीतिक दलहरुको तुलनात्मक अध्ययन पनि गरिररहेकी थिएँ । मैले राजनीतिक दलहरुलाई चिठ्ठी लेख्दै इमेल गरेकी थिएँ । भाजपाबाट मेरो इमेलको प्रतिउत्तर आयो । मलाई प्रधानमन्त्री मोदीसंग भेट गर्न बोलाइयो । मोदीसंग १० मिनेटको भेट भयो । म धेरै खुशी भएँ । उनले भने, ‘तिमी गुजरात जाउँ, त्यहाँ चुनाव हुँदै छ । त्यहाँबाट सिक, राजनीतिक अनुभव हासिल गर ।’

राजनीतिमा मेरो कुनै अनुभव थिएन । मैले पार्टी प्रवेश गरेकी थिइनँ । तर म गुजरात गएँ । त्यहाँ ३८ दिन बसेँ । त्यहाँ मैले भाजपाका लागि टिम निर्माण र परिचालनको काम गरेँ । लजिष्टिक सर्पोटको काम गरेँ । वायु सेनामा मैले जो सिकेकी थिएँ, त्यो ज्ञानलाई राजनीतिक अभियानसंग जोड्ने प्रयास गरेँ ।

तर ५ दिनभित्रै मलाई केही फरक अनुभूति भयो । महिला मोर्चा की जो केन्द्रीय अध्यक्ष थिइन्, उनी विनम्र भन्दा बढी विनित थिइन् । प्रदेश कार्यकारिणी अध्यक्षको पनि मैले त्यही हाल देखेँ । उनी ३५ वर्षदेखि पार्टीमा थिइन् तर उनीलाई महिला मोर्चाबाहेक कुनै गतिलो जिम्मेवारी कहिल्यै दिइएको थिएन । उनीहरु आफ्नो निर्णयले केही काम गर्दैनथे । जे अराइन्थ्यो, त्यही गर्थे । मलाई लाग्यो कि यो भाजपाभित्र महिला सशक्तिकरणको कुरा पनि कुरा मात्रै रहेछ । मलाइ लाग्यो– यो ठाउँ मेरा लागि ठीक छैन ।

त्यहाँ महिलाको सम्मान र भूमिकाबारे धेरै कुरा गरिन्छ । व्यवहारमा महिलालाई अगाडि सारेजस्तो पनि गरिन्छ । तर ती काम खासै महत्वका र निर्णायक हुँदैनन । महिलाहरुको श्रृंगारिक महत्व मात्र हुन्छ । फेरि मोदीको भाषण मैले जतिजति सुन्दै गए । निरास हुँदै गए । विशेषतः विरोधप्रति, त्यसमा पनि नेहरु र उनकोे परिवारप्रति मोदीका टिप्पणीहरुलाई निम्नकोटीको लाग्यो ।

जब नेहरु परिवारको प्रसंग आउथ्यो, मोदीको टोन नै फरक प्रकारको हुन्थ्यो । त्यसले असभ्यताको संकेत दिन्थ्यो । विरोधी हुनु एउटा कुरा, विपक्षी हुनु, आलोचना हुनु एउटा कुरा, तर त्यो स्तरको मान्छेमा त्यस्तो छुद्रता र कटुता हुनु ठीक हैन भन्ने मलाई लाग्यो । मोदीको कुरा राष्ट्रवाद, देशभक्ति र हिदुत्वको गञ्जागोल हुन्छ । हिन्दुत्वप्रति कसैले थोरै कसैले टिप्पणी गर्‍यो भने उनले त्यसलाई राष्ट्रवादसँग जोड्छन र देशद्रोही बनाइदिन्छन् । म जतिको सोचको मान्छे समेत उनका लागि राष्ट्रघाती हौं ।

गत जनवरीमा कठुवामा बलात्कारका घटना भए । त्यसको व्यापक विरोध भयो । मैले यसबारे तपाई बोल्नु पर्छ भनेर बारम्बार मेन्सन र ट्याग गरे । तर उनी मार्चसम्म केही बलेनन् । फेरि मलाई लाग्यो, मोदीको महिलाप्रतिको सम्मान कस्तो सम्मान हो ? जबकी उनको नारा थियो– ‘बेटी बचाऔं, बेटी पढाऔं ।’ तर, मोदीका लागि कथनी र करणी फरक कुरा रहेछ । भन्नु र गर्नु धेरै फरक कुरा हो ।

मार्चपछि मलाई भापजा कार्यकारिणीको सदस्य बनाउने प्रस्ताव आउन थाल्यो । मोदीलाई लाग्यो होला कि म असन्तुष्ट हुँदै गएँ । कुनै पदले सन्तुष्ट हुन्छु । तर मेरोे सरोकार पदसंग थिएन । मैले एक जिम्मेवार नेताल गरेका सार्वजनिक प्रतिबद्धताहरु पूरा हुनु पर्छ भन्ने दृष्टिकोण राखेकी थिएँ । तर मैले प्रष्टसंग भन्दिएँ, ‘म पार्टीसंग जोडिन सक्दिनँ, किनकी पार्टी र मेरो बीचमा प्रष्ट वैचारिक विरोधाभाष छ ।’

मैले २५ वर्ष भारतीय वायुसेवामा काम गरे । मैले कहिल्यै भनिन कि महिला हुँ, यो वा त्यो काम गर्न सक्दिनँ । काम मेरो धर्म हो । सत्य बोल्नु मेरो कर्तव्य हो । फेरि हामी सेनामा जागिर खाएका मान्छे स्वभाविकरुपमा सरकारप्रति नरम हुन्छौं । हाम्रो त्यहाँको स्कुलिङ नै त्यस्तो हुन्छ । तसर्थ, म मोदीजीलाई गाली गर्न गइरेहकी छैन । कुनै अपशब्द पनि बोल्न चाहन्नँ । अपमान पनि गर्न चाहन्नँ । यति भन्छु– उनको देशभक्ति र महिला सशक्तिकरणको नारा वास्तविक हैन रहेछ ।

(द वायरसँगको कुराकानीबाट भावानुवाद गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय