scheduleशनिवार श्रावण २४ गते, २०७७

पर्यटनमन्त्रीलाई पर्यटन व्यवसायीको खुलापत्र- हामी यहाँ चुकेका हौं कि ?

माननीय पर्यटनमन्त्री योगेश भट्टराई ज्यु,
नमस्ते !

समग्र पर्यटन क्षेत्रको लागि पर्यटन विधेयक आउन लागि रहेको सन्दर्भ छ । पर्यटन क्षेत्रमा करीब ३० वर्ष व्यतित गरी सकेको र पर्यटन क्षेत्रको प्रचार प्रसार कार्यमा विश्वका ५० भन्दा बढी मुलुकहरुको भ्रमण र अनुभव बटुल्दै आफ्नो रोजीरोटीको जोहो गर्दै अगाडी बढिरहेको एकजना अनुभवी पर्यटन व्यवसायी हुँ । यसदृष्टिले पर्यटन विधेयक निर्माणमा सहयोग पुगोस् भन्ने मनसायले यो खुल्लापत्र लेख्ने जमर्को गरेको छु ।

पर्यटनमन्त्रीको हैसियतले तपाईंको पर्यटन क्षेत्रको विकास प्रयासलाई कदर र सराहना गर्दै निम्न मेरा सुझावहरुलाई राख्ने जमर्को गर्दछु-

१. हाम्रो सम्भावना
हामीले हाम्रो मुलुकलाई सम्भावनै सम्भावना भएको विश्वको अति सुन्दर मुलुकका रुपमा आत्मसात गरेका छौं, जुन कुरा सत्य पनि हो । हामीसँग अद्वितीय संस्कृति छ, हिमाल छन् । हिन्दू धर्मालम्बीको लागि देवभूमि र बुद्ध र सीता जन्मेको देश पनि यही हो । हाम्रा दुवैतिर रहेका छिमेकी मुलुकहरु चीन र भारत विश्व पर्यटन बजारको लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका सर्वश्रेष्ठ पर्यटक उद्गम मुलुकहरु पनि हुन् । छिमेकी मुलुक चीन विश्व पर्यटन बजारको लागि पर्यटन उत्पादन गर्ने पहिलो मुलुक हो, जहाँबाट बार्षिक करिब १५ करोड पर्यटन विदेश भ्रमणमा निस्कनछन् । त्यसैगरी भारत अर्को विश्व पर्यटन बजारको उद्गम स्थल हो जहाँबाट बार्षिक करिब ५ करोड पर्यटकहरु विदेश भ्रमणमा निस्कन्छन् । भारत र चीन दुवैतिर सहज स्थल मार्ग र सरल हवाई मार्गबाट हाम्रो मुलुक जोडिएको पनि छ ।

यति धेरै सम्भावना भएको मुलुक भएर पनि उद्योगी, व्यापारी, कामदार र विदेशमा बस्ने नेपाली समेत सालाखाला सबै गरेर मात्र २० लाख पर्यटक भित्र्याउन पनि भ्रमण वर्ष नै मनाउनुपर्ने ? के कारणले हामी यति धेरै पछाडि छौं ? यति धेरै सम्भावनाको भण्डार हामीसँग भएर पनि के कति कारणले ती सम्भावनाहरुलाई व्यवहारमा उतार्न र पर्यटन विकासलाई गति दिन नसकिएको होला ? हामीले पर्यटन विकासको लागि सोच्न र कार्ययोजना बानाउन सक्षम जनशक्ति दिन सकेका छैनौं कि ? त्यस्ता जनशक्तिको खोजी गरी योजना तथा नीति बनाउन र कार्यन्वयन गर्नको लागि उपल्लो तहको निकायमा पठाउन सकिएन कि ?

विषेश गरेर पर्यटन क्षेत्रमा लाग्ने हामी सबै अवश्य पनि चुकेका छौं जसको कारणले हामीसँग करोडौं पर्यटन भित्र्याउन सक्ने पर्यटकीय सम्भावना भएर पनि २० लाख पर्यटनको सपना समेत पूरा गर्न सकेका छैनौं । देशको पर्यटनमन्त्रीको हैसियतले हाम्रा सम्भावनाहरुलाई सोच्न र पर्यटन क्षेत्रलाई गति दिन सक्ने प्रकारको पर्यटक नीति नियमहरु कोर्न अनुरोध गर्दछु ।

२. पर्यटनसम्बन्धि ऐन तथा नियमावली सम्बन्धमा
पर्यटन क्षेत्रको व्यवस्थापन र विकासको आधार भनेका पर्यटन क्षेत्रको विकास र व्यवस्थापनको लागि बनेका ऐन नियमहरु पनि हुन् । गतिशील नियम कानूनबिना कुनै पनि क्षेत्र र राष्ट्रले समेत गति लिन सक्दैन ।

आजको प्रतिस्पर्धात्मक विश्व पर्यटन बजारलाई आकर्षित गर्न सेवाका उत्पादन र गुणस्तर दुवैमा ध्यान दिनुपर्ने हुन्छ । दिर्घकालीन, अल्पकालीन, वार्षिक, अर्धवार्षिक आदि योजना र नीति बनाउने स्थानमा व्यवसायिक, अनुभवी र क्षमतावान नेतृत्व चयन, चुस्तदुरुस्त प्रचारप्रसारका योजनाहरु, उच्च तथा प्रतिस्पर्धात्मक बजार व्यवस्थापन बिना पर्यटन विकासले गति पाउन सक्ने छैन ।

निजी क्षेत्रको व्यवसायिक अनुभव, दक्षता र सरकारको नीति नियमहरुको कार्यान्वयन र नियमनको परिकल्पनासहित निजी क्षेत्र र सरकारबीचको पुलको रुपमा स्थापित नेपाल पर्यटन बोर्ड आफ्नो उद्देश्य पूरा गर्ने कार्यमा कति सफल र कति असफल भयो त ? के पर्यटन बोर्ड स्थापना गर्दा गरिएको परिकल्पना बमोजिमको निजी क्षेत्रले भूमिका पाएको छ ? के पर्यटन बोर्डमा साँच्चिकै परिकल्पना गरेबमोजिम नै पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायिक व्यक्तित्व, सरकारी तहबाट पर्यटन क्षेत्रको विकास र उत्थानमा प्रशस्त योगदान पुर्‍याउनु भएका अग्रज व्यक्तित्वहरु र पर्यटन विज्ञ समूहको प्रतिनिधित्व सुनिश्चित छ त ? पर्यटन बोर्ड नीति निर्माणको लागि बहस छलफल गर्ने, योजना बनाउने, सञ्चालनमा रहेका बजार व्यवस्थापनसम्बन्धि योजनाहरुको मुल्यांकन र समीक्षा गर्नेजस्ता समग्र पर्यटन विकासको थलो बन्न सकेको छ त ? या मात्र अन्य सार्वजनिक संस्थान सरह पर्यटन बोर्ड पनि राजनीतिको शिकार बन्न पुगेको छ ?

पर्यटन बोर्डको विषयमा अन्तरआत्मा देखिनै सोच्न र आवश्यक परिवर्तन गर्नुपर्ने बेला भैसकेको छ । हामीले पनि हंगकंग, सिंगापुर आदि मुलुकका जस्ता सफल पर्यटन बोर्डको परिकल्पना गरेको हो ।

सेवाको गुणस्तरले देशको इज्जत र प्रतिष्ठा पनि बोकेको हुन्छ । हाम्रो नियम कानुनले निर्धारण गरेको पर्यटन सेवाको स्तर अन्तर्राष्ट्रिय मापदण्डबमोजिम छ त ? हाम्रा सबै तारे होटलहरुको स्तर निर्धारण अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम छन् त ? त्यसैगरी टुर्स तथा ट्रेकिङ्ग सेवा सञ्चालकहरुको योग्यता, दक्षता र सेवाको मापदण्ड आदि समेतको बिषयमा समेत सोच्न पनि जरुरी छ।

त्यसैगरी पर्यटकलाई खाना खुवाउने शहर बजार तथा राजमार्गमा सञ्चालित रेस्टुरेन्टहरुको गुणस्तर र मापदण्डको बारेमा सोच्ने कि नसोच्ने । हामीलाई कति टुर्स सञ्चालक कम्पनिहरु चाहिन्छ ? कति ट्रेकिङ्ग सञ्चालक कम्पनिहरु चाहिन्छ ? अन्य सेवाहरु बैंक, म्यानपावर, इन्सुरेन्स आदिको संख्या जस्तै ट्राभल, ट्रेकिङ्ग दर्ता केहि समय बन्द गरेर गुणस्तरतिर ध्यान दिनेकी ? गुणस्तर कायम गर्नको लागि ट्राभल एजेन्ट, टुर्स सञ्चालक, ट्रेकिङ्ग सञ्चालक, होटल सञ्चालक, रेस्टुरेन्ट सञ्चालक बन्नको लागि के कस्ता प्रावधानहरु राख्ने, शिक्षा र अनुभव कति चाहिने, तालिम कहाँ लिने, दक्षता कहाँ जाँच्ने ?

यी यावत कुराहरु अतिनै सोचनीय र जल्दाबल्दा समस्याहरु हुन् । यी समस्याहरुको सहि समाधानले पर्यटन विकास र समृद्धिले गति लिन सक्छन् भने गलत नीति नियमले पर्यटन क्षेत्र र देश नै अधोगति तर्फ धकेलिन पुग्छ ।

अहिले बन्दै गरेको नियम कानूनमा उल्लेख गर्नैपर्ने महत्वपूर्ण एउटा बिषय पर्यटनसंग सम्बन्धित संघ-संस्थाहरुमा गरिने नियुक्तिहरु पनि हो । पर्यटन क्षेत्रको मर्म र भाषा अर्को क्षेत्रको व्यक्तिले बुझ्न र महसुस गरी गति दिन र प्रगतितर्फ लैजान लामो समय लाग्न सक्छ । कुनै ठूला होटल तथा परियोजनामा लगानी गरेको आधारमा निजलाई पर्यटन व्यवसायीको रुपमा स्थान दिने व्यवस्थाले पर्यटन क्षेत्रले कदापि सम्मान पाउन नसक्ने हुनाले पर्यटन क्षेत्रमा आवश्यक नियुक्तिहरु पनि पर्यटन क्षेत्रमा गरेको योगदान, अनुभव र योग्यताको आधारमा हुने व्यवस्था हुन जरुरी छ । देश सबैको हो । देशले प्रगति गरेमा सबैको प्रगति हुन सक्छ भन्ने मान्यता स्थापित गरी राजनीतिक भन्दा क्षमता र दक्षताको आधारमा त्यस्ता नियुक्तिहरु हुनुपर्ने गरी ऐन नियमको तर्जुमा गर्नु पनि उत्तिकै जरुरी छ ।

३. पर्यटन सेवा सेवा उत्पादनका सम्बन्धमा 
पर्यटन विकासको एउटा महत्वपूर्ण आधार पर्यटन सेवाका क्षेत्र र सेवा उत्पादन पनि हो । पर्यटन सेवालाई उत्पादनमा विविधता दिने कार्य एउटा निरन्तर जारी रही रहनुपर्ने कार्य भएपनि केही मुख्य पर्यटन सेवाका उत्पादनहरुलाई पर्यटन ऐन नियममा नै समावेश गर्दा उचित हुने हुनाले पर्यटन सेवामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने गाउँ पर्यटन सेवालाई पर्यटन ऐन तथा नियमावलीमा नै समावेश गर्न अनुरोध समेत गर्दछु ।

क. गाउँ पर्यटन सेवा उत्पादन 
नेपाल एउटा सुन्दर र मनमोहक गाउँ नै गाउँले भरिएको मुलुक हो। नेपालको पर्यटनको विकासले तब मात्र गति लिन र करोडौं पर्यटकको सपना देख्न सकिन्छ जब देशको पर्यटन विकासको लागि सम्भावना बोकेका गाउँहरुलाई पर्यटन विकासको मूल धारमा समाहित गर्न सकिन्छ । काठमाडौं, पोखरा, चितवनजस्ता २/४ वटा शहर बजार र केही पदयात्रा मार्गलाई मात्र पर्यटन क्षेत्रको मूल धारका रुपमा लिएर गरिएको प्रचारप्रसारले मात्र देशले पर्यटन विकासमा फड्को मार्न सम्भव छैन ।

हाल केही गाउँ पर्यटन सेवाहरु होम स्टेको रुपमा सञ्चालनमा रहेता पनि आवश्यक पूर्वाधार, तालिम, सञ्चालन विधि, नियमनकारी निकायको अभाव , आवस्यक अनुगमन आदिका कारणले विदेशी पर्यटनलाई आकर्षित गर्न सक्ने अवस्थामा छैनन् । सामुदायिक गाउँ पर्यटन सेवालाई गति दिने उद्देश्यले महिनौं लामो सामुदायिक गाउँ पर्यटन सेवा सञ्चालनमा रहेका गाउँहरुको अवलोकन भ्रमणबाट के एकिन साथ भन्न सकिन्छ भने देशका विभिन्न भागमा रहेका हजारौं पर्यटनको सम्भावना बोकेका गाउँहरुलाई उचित नीति, नियम र व्यवस्थापनको आधारमा लाखौंलाख पर्यटकलाई गाउँहरुमा भित्र्याउन र पर्यटन विकासको माध्यमबाट गाउँमा कृषि, घरेलु उद्योग, पशुपालनलगायत क्षेत्रमा लाखौं नेपाली नागरिकलाई रोजगारी दिन र नेपाली युवा जनशक्तिलाई विदेश पठाउनुपर्ने विद्यमान बाध्यकारी अवस्थामा परिवर्तन समेत ल्याउन सकिनेछ ।

गाउँहरुमा गाउँ पर्यटन सेवा सञ्चालनका लागि, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका तथा पर्यटन आकर्षणका दृष्टिकोणले महत्व राख्ने गाउँहरु छनौट गरी पर्यटन सेवामा लामो समय बिताएका टुर्स सेवा सञ्चालक कम्पनिसँगको सहकार्यमा स्थानीय गाउँमा बस्ने व्यक्ति सम्मिलित समिति गठन गरी गाउँमा आवस्यक पूर्वाधारहरु जस्तै- सम्पूर्ण सुविधासहितका बस्ने कोठा, खाना खाने स्थान, सांस्कृतिक समूह र सांस्कृतिक भवन, स्वागत तथा विविध सेवा भवन आदि  तयार पारी सामुदायिक पर्यटन सेवा सञ्चालनमा ल्याउन सकिन्छ ।

गाउँमा गाउँ पर्यटन सेवा सञ्चालन गरी विदेशी तथा स्वदेशी पर्यटकहरुलाई गाउँ-गाउँमा सेवा दिने कार्यलाई गाउँ पर्यटन सेवा भनेर भन्न सकिन्छ । साथै कुनै नगरपालिका, उप महानगरपालिका  तथा महानगर क्षेत्रको कुनै एउटा सानो भूभाग या गाउँमा समेत माथि उल्लेखित समिति गठन एवम् अन्य पूर्वाधारहरु तयार पारी सामूहिकरुपमा सेवा दिने कार्यलाई समेत गाउँ पर्यटन सेवा भनेर सम्बोधन गर्न या सेवा छुट्याउन सकिने छ । गाउँ पर्यटन सेवाको सञ्चालन, नियमन, अनुगमन आदि गाउँ पर्यटन सेवा संचालक समितिले तयार पारेको गाउँ पर्यटन सेवा सञ्चालन कार्यविधि तथा गाउँ पालिका या नगरपालिका या महानगरबाट आवश्यकताबमोजिमको सिफारिसका आधारमा प्रदेश सरकार पर्यटन मन्त्रालयबाट आवस्यक अनुगमनसहित अनुमति दिने र संघीय सरकार पर्यटन मन्त्रालयबाट पर्यटन क्षेत्र घोषणा तथा प्रचारप्रसार आदि गर्नेगरी गाउँ पर्यटन सेवा सञ्चालन सम्बन्धि ऐन नियममा व्यवस्था गर्न सकिनेछ ।

साथै, गाउँ पर्यटन सेवालाई सेवा तथा पूर्वाधार समेतको मुल्यांकनको आधारमा स्तर निर्धारण गरी उच्च स्तरीय गाउँ पर्यटन सेवा, मध्य स्तरीय गाउँ पर्यटन सेवा र पर्यटक स्तरीय गाउँ पर्यटन सेवा गरी तीन तहमा वर्गीकरण गरी सञ्चालन अनुमति दिनेगरी ऐन नियम बनाई लागू समेत गर्न सकिने छ।
ख. होम स्टे सेवा उत्पादन 
कुनै पनि शहर बजार, गाउँ आदि ठाउँमा बसोबास गर्ने कुनै पनि व्यक्तिको घरमा रहेको एउटा कोठामा स्वदेशी तथा विदेशी पाहुनालाई बासस्थान दिने प्रकारको सेवा र त्यस्तो प्रकारको सेवा सेवा दिने कार्यलाई होम स्टे सेवा भनिन्छ । होम स्टे सेवालाई स्थानीय निकायको सिफारिशका आधारमा प्रदेश सरकारबाट अनुमति लिएर सञ्चालन गर्न दिने व्यवस्था गर्न सकिनेछ।
तर विद्यमान नियममा होम स्टे र गाउँ पर्यटन सेवा सम्बन्धमा कुनै स्पष्ट नीति नियमहरु नभएकोले गाउँ पर्यटन सेवा र होमे स्टे सेवालाई नयाँ बन्न गईरहेको ऐन नियममा समावेश गरी अनुमति जारी गर्ने र समय समयमा आवस्यक अनुगमन गरी गुणस्तर कायम राख्नुपर्ने हुन्छ ।

ग. अन्य पर्यटन सेवा उत्पादन एवम् पूर्वाधार सम्बन्धमा 
नेपाल एउटा बहुभाषिक, बहुजातिय, बहु-सांस्कृतिक र जैविक विविधता भएको एक सुन्दर मुलुक हो । हाम्रा रीतिरिवाज, परम्परा, भेषभुषा, चाडपर्व, धर्म संस्कृति पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण छन् । हाम्रा यी महत्वपूर्ण संस्कृति, रीतिरिवाज नै हाम्रो पर्यटन विकासको आधारशिला हो । तर लोकतन्त्रको उदयसंगै हामीले हाम्रो सांस्कृतिक पहिचानलाई बिर्संदै गएको आभाष हुन्छ । हाम्रो संस्कृति, रीतिरिवाज, चाडपर्वको आधारमा हामीले धेरै नै प्रकारका पर्यटन सेवा उत्पादनमा विविधता दिन सक्छौं । हामीले हाम्रो परम्परागत भेषभुषालाई पुनः कसरी विविधताका साथ पर्यटन सेवामा समाहित गर्न सक्छौं ? देशको राष्ट्रिय पोशाक, प्रदेशको पोशाक आदिलाई समेत पर्यटन ऐन नियममा समावेश गरी कार्यन्वयनमा ल्याउनु जरुरी भैसकेको छ ।

हाम्रा परम्परागत खाना तथा पेय पदार्थका परिकारहरुलाई कसरी पर्यटकहरु माझ लोकप्रिय बनाउन सकिन्छ ? दक्षिण कोरियाले सोजुलाई विकास गरी पर्यटन बजारमा लैजान सक्छ भने हाम्रो घरेलु स्थानीय रक्सीलाई पर्यटकको सेवामा लगाउन मिल्छ मिल्दैन ? के कसरी यस्ता घरेलु उत्पादनहरुलाई विश्वसनीय बनाउन सकिन्छ ? काठमाडौंमा रहेका सबै सांस्कृतिक कार्यक्रमसहितका भोजन गृहहरुमा स्थानीय रक्सी (आइला) को प्रयोग हुन्छ भने गाउँ गाउँमा रक्सी पारेको निहुँमा धरपकड समेत गरिन्छ । पर्यटन ऐन नियम बन्न गैरहेको अवस्थामा यस्ता बिषयहरुलाई पनि ब्याख्या गर्नु जरुरी हुनेछ ।

४, पर्यटन पूर्वाधार एवम् अन्य बिषयहरु
पर्यटन विकासको पूर्वाधारको प्रमुख आधार सरसफाई पनि हो भन्नुमा अत्युक्ति नहोला । आज सबै टोल, गाउँ, शहर, डाँडापाखाहरुलाई फोहोर नै फोहोरले छोपेको छ । काठमाडौं महानगरबाट यसो डाँडातिर उकालो लाग्दैगर्दा समेत नाक समातेर हिंड्नुपर्ने अवस्था छ । नयाँ बन्न लागेको पर्यटन ऐन नियमबाट सबै स्थानीय तह, प्रदेशलाई उचित नीति नियमले बाध्नुपर्ने हुन सक्छ । पर्यटन सबैलाई चाहिने तर फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिने हुनु भएन । यसै ऐन नियमसँगै पर्यटन विकासका लागि आवश्यक पूर्वाधारमा निजी क्षेत्रलाई समेट्ने व्यवस्था गर्नु जरुरी छ । पदमार्ग विकास र सञ्चालन, केबुलकारहरुको निर्माण र सञ्चालन, बाटोघाटोको निर्माण र सञ्चालन तथा विभिन्न प्रकारका तालिम र सीप परीक्षणमा समेत निजी क्षेत्रलाई स्थान दिने गरेर ऐन नियमहरुको निर्माण गर्नु पनि जरुरी छ ।

अन्त्यमा, आशा गर्दछु कि तपाईको कार्यकाल पर्यटन विकाको लागि महत्वपूर्ण नीति निर्माण, ऐन कानूनहरूको तर्जुमा गर्न र पर्यटन उद्योगलाई देशको सबैभन्दा महत्वपूर्ण उद्योगको रुपमा स्थापित गराई वार्षिक करोडौं पर्यटक भित्राउन सक्ने र देशको प्रमुख आर्थिक उपार्जनको माध्यम बन्न सक्ने दिशातर्फ उन्मुख पर्यटकीय पूर्वाधारहरु तयार पार्न सफल हुनु हुनेछ भन्ने अग्रिम शुभकामना पनि टक्र्याउन चाहन्छु ।

 

तपाईंको शुभचिन्तक
नारायणप्रसाद पोख्रेल

पर्यटन व्यवसायी
फोन- ९८५१०२०६३६ 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय