scheduleशनिवार श्रावण २४ गते, २०७७

बोल–बोल प्रचण्ड बोल, तिम्रै बोली छ हामीलाई अनमोल !

रुद्रप्रसाद भट्ट

विश्वव्यापी कोरोनाको महामारी छ । कोरोनाकै कारण पूरै देश लकडाउनमा छ । कोरोनाबाट ७७ मध्ये ७२ जिल्ला प्रभावित छ । अहिलेसम्म ४ हजार छ सय ५० संक्रमित र १५ जनाको स्वदेशमा मृत्यु भैसकेको छ । स्वदेश र विदेशमा गरी झण्डै १० हजार नेपाली संक्रमित र एक सय भन्दा बढीको मृत्यु भएको छ ।

यो महामारीबाट लाखौं व्यक्ति प्रभावित छन्, व्यापार व्यवसाय, उद्योग कलकारखाना र यातायात बन्द छ । यसबाट हजारौंको रोजगारी गुमेको छ । यति भयावह अवस्था हुँदा पनि सरकारको नेतृत्व गरेको दलका कार्यकारी अध्यक्ष प्रचण्ड गुमनाम छन् ।

हिजो सर्वहारा, गरीब, किसान र मजदुर वर्गको निम्ति झापा विद्रोह र जनयुद्ध लडेको पार्टीको नेतृत्व यतिबेला गुमनाम बस्नुको रहस्य ऋषि धमलाले भनेझैं ‘जनता जान्न’ चाहन्छन् । समस्या परेको बेला सर्वहारा, गरीब, किसान र मजदुर वर्गलाई सरकारले हेर्दैन, राजनीतिक पार्टी र तिनका नेताले हेर्दैनन् भने जनताले के आशा गर्ने ।

भ्रष्ट, दलाल र पुँजीपतिको घेरामा ऐसआरामको जीवन बिताउन चाहने नेतृत्व हुने हो भने हिजोको विद्रोह के का लागि थियो ? जनता कहिलेसम्म भोकै बस्नुपर्ने हो ? अनि रुकुम घट्नाको सत्य तथ्य कहिले जान्न सकिन्छ ? एमसीसी के का लागि ल्याउन लागिएको हो र कोरोनाको नाममा १० अर्ब कहाँ खर्च भयो ? यो प्रश्नको जवाफ खोज्न माईतीघर र बालुवाटार पुग्नु अनि प्रहरीको लाठी र पानीको फोहोरा खाएर फर्कनु जनताको दैनिकी भैसकेको छ ।

यता सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले जनता कोही भोकै छैनन्, कोरोनाले कोही मरेको छैन, क्वारेन्टाइनमा बस्नेलाई स्तरीय सुविधा दिइएको छ, १० अर्बको हिसाब किन चाहियो ? भनेर गफै दिइरहने अनि त्यही गफमा संसदमा थपडी बजाएर मन्त्री र सांसदले तमासा देखाउने, अर्कोतिर पार्टी नेतृत्व चुप बस्ने र रमिता हेर्ने यो कुन खालको कम्युनिष्ट सरकार हो ? दुनियाँको कुन देशमा यस्तो कम्युनिष्ट शासन छ ?

कार्ल मार्क्स, लेनिन, माओ वा क्याष्ट्रो र ह्युगो चाभेज तिम्रा आदर्श हुन् भने तिनले कुन देशमा यसरी शासन गरे ? नाटकीय रुपमा २ बर्षअघि गठन गरिएको पार्टीको २ पाईलटमध्ये पहिलो पाईलट बालुवाटार बसेर देश हाँक्ने अर्को को–पाईलट खुमलटार बसेर मासु पकाउने गरेपछि जनताको पीरमर्का चाहिँ कसले बुझ्ने ? गुण्डागर्दी र अपहरण आरोपीले वा जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिँदै हिँड्नेले ? की जुहारी खेल्दै हिँड्ने सल्लाहकारले वा कमिशन बार्गेनिङ गर्नेले ? यतिबेला यस्ता अनुत्तरित प्रश्नको पनि स्पष्ट जवाफ चाहिएको छ ।

अचम्मलाग्दो कुरा त के छ भने केही न केही फण्डा गरिरहने कमरेड प्रचण्ड यतिबेला किन मौन हुनुहुन्छ होला ? पार्टीमा स्थायी कमिटी बैठक पटक पटक बोलाएर पनि स्थगित भैरहने, सचिवालय बैठकमा कुरा र शर्त फेरिइरहने, अनि खुमलटार, कोटेश्वर, भैंसेपाटी र बालुवाटारमा चाहिँ शक्ति प्रदर्शनको निरर्थक तयारी भैरहने खबर बाहिर आएकै छन् । अपर्झट ल्याइएर फिर्ता गरिएको अध्यादेशदेखि एमसीसी र (नक्सा) सीमानाको कुरामा पार्टीभित्र र बाहिर लफडा चलेकै छ । कोरोना महामारी र सरकारको कार्यशैलीको चर्चा भएकै छ, सदनमा सत्तापक्ष र प्रतिपक्षको दोहोरी चलेकै छ । कहिलेकाँही प्रधानमन्त्रीबाट ‘कोरोना विशेष मोटिभेसनल स्पिच’ गएकै छ । यी सबै घट्नाक्रममा कमरेड प्रचण्ड कतै देखिनुभएको छैन र उहाँको प्रतिक्रिया पनि आएको छैन ।

२०६३ सालमा सार्वजनिक भएदेखियता कमरेड प्रचण्ड सानो सानो कुरामा पनि चर्चामा आइरहने नेता हुन् । कटुवाल काण्ड, पशुपति पूजारी काण्ड, क्याण्टोनमेन्टको हिसाबकिताब, माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री हुने कुरा, पार्टीको आन्तरिक बैठक, काँग्रेससँगको गठबन्धन, भरतपुर मतपत्र काण्ड, मार्सी भात, सुमार्गी टावर, एमालेसँग एकता जस्ता कुरामा प्रचण्डको चर्चा हुने गरेकै हो । भएर वा नभएर उनीमाथि आरोपहरु लाग्दै आएका छन् । पछिल्लो समय विवादित ठेकेदारको घर भाडामा लिएर बसेको कुरामा सम्म प्रचण्ड चर्चामै रहे । तर, जब कोरोना जस्तो महामारी देशमा देखियो कैयौंको रोजिरोटी गुम्यो, व्यापार व्यवसाय ठप्प भयो अनि जनताले खोजी गर्न थाले कमरेड बोल्नै छाड्नुभयो । हिजो युद्धमा घाइते भएका, अपाङ्ग, शहीद परिवार, वेपत्ता परिवार अनि गरीब, किसान, मजदुरले जब प्रचण्ड खोजे, कमरेड चुप !

यतिबेला जनताको गुनासो सुन्ने कोही छैन । जसले सुन्छन् तिनले कार्यान्वयन गर्न सक्तैनन् । विदेशमा बस्ने नेपालीहरु घर फर्कन नपाउने, देशमै भएकाहरु आफ्नो गाउँ जान नपाउने र जनताले राज्यबाट न्युनतम सुविधा पनि लिन नपाइराखेको सन्दर्भमा जनताको दुःख कस्ले देख्ने ? पीडा र व्यथा कस्ले बुझ्ने ? प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको कुरा नसुनिरहेको सन्दर्भ र देश अत्यन्त अफ्ठेरो अवस्थाबाट गुज्रिरहेको अवस्थामा देशको पूर्वप्रधानमन्त्री, शक्तिशाली कम्युनिष्ट पार्टीको अध्यक्ष भएको नाताले प्रचण्ड केही बोल्नुपर्ने होईन र ? कुनै व्यापार, व्यवसाय, जागीर, पेन्सन वा बैंक व्यालेन्स नभएको भूमिहीन सुकुम्वासी, ज्यालादारी गर्ने मजदुर ७५ दिनसम्म लकडाउन हुँदा कसरी बाँचिरहेको होला ?

बेला-बेला भावुक भैराख्ने प्रचण्डले यो कुराको अनुमान गर्नुभएको छ ? कोरोनाका कारण १५ जनाको ज्यान जाँदा आत्महत्या गर्नेको संख्या १५ सय हाराहारी छ । त्यसमा अधिकांशले अन्न खान नपाएको, औषधी खान नपाएको, परिवारको विचल्ली भएको, रोजगारी गुमेको कारण आत्महत्या गरेका छन् । कमरेड यस्तो बेला तपाईं बोल्नु पर्दैन ? लकडाउनको बारेमा बोल्नुभएन, एमसीसीको बारेमा बोल्नुभएन, रुकुम नरसंहारको बारेमा बोल्नुभएन, भ्रष्टाचारका बारेमा बोल्नु भएन, सरकारको काम गर्ने ढंगको बारेमा बोल्नु भएन, जनताको गुनासो, पीडा, छट्पटीबारे बोल्नु भएन किन ?

कि जनताको जस्तै पीडा तपाईंको पनि छ कमरेड ?

भन्नुस् आज खुलस्त हुन जरुरी छ ।

सरकारले जनताको कुरा नसुने जस्तै तपाईंको कुरा पनि सुनिरहेको छैन हो ? प्रधानमन्त्रीले जनताको सुझाव लत्याएर अगाडि बढेजस्तै तपाईंका सुझाव पनि कुल्चने गरेका छन् हो ?

जनताले मागेको १० अर्बको हिसाब नदिएजस्तैै तपाईंले मागेको कार्यकारी वा लिखतमा उल्लेख भए बमोजिमको हरहिसाब दिन आनाकानी गरेका छन् हो ? यदि हो भने कमरेड प्रचण्ड बोल्नुस् अब ।

रुकुम घट्ना, एमसीसी, कोरोना देखाएर गरिएको भ्रष्टाचारको विरोधमा जनता सडकमा छन् तपाईंको पनि कुरा त्यहाँ सुनिएको छैन भने आउनुस माइतीघर मण्डला, आउनुस बालुवाटार सँगै आन्दोलन गरौं । होइन सबै ठीकठाक छ भने किन बोल्नुहुन्न ?

बोल्नुस् ! प्रकाश सपुतले गीतमा भने जस्तै – “बोल माया एक बचन बोल, तिमै बोली छ मलाई अनमोल” !!!

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय