scheduleआइतवार श्रावण २५ गते, २०७७

शान्तिपूर्ण जनप्रदर्शनमा अश्रुग्यास प्रयोग अपराध हो

एरिइला लेभी, प्याट्रिक विल्केन

ठीक एक बर्षअघि, आजैको दिन, हङकङ प्रहरीले भव्य तर शान्तिपूर्ण जनप्रदर्शनमाथि उपद्रो हमला गरेको थियो । सिटी टावर वरिपरि घेरिएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यासको घातक गन्धबाट बच्न प्रदर्शनकारीहरु घरघरमा घुसेका थिए । त्यसपछिका महिनामा प्रहरीले हज्जारौं अश्रुग्यास फायर गर्‍यो ।

हङकङ अश्रुग्यासको सबैभन्दा धेरै दुरुपयोग हुने ठाउँ हो । तर यो क्रम अहिले विश्वव्यापी रुपमा देखिँदैछ । अमेरिकाका विभिन्न राज्य र शहरहरुमा भइरहेको प्रदर्शनमा व्यापक अश्रुग्यास प्रयोग गरिँदैछ । एमनेष्टीले अहिले सामाजिक सञ्जाल विशेषतः युट्युव, फेसबुक र ट्वीटरमा आएका त्यस्ता भिडियोहरुबारे अनुसन्धान गरिरहेको छ ।

२२ देशका ८० वटा घटनासँग सम्बन्धित ५०० वटा भिडियोहरुको विश्लेषणात्मक अध्ययनबाट के देखिन्छ भने ती घटनामा अश्रुग्यासको प्रयोग वाञ्छित थिएन । ती भिडियो स्थान, मिति, घटनाको दृष्टिकोणले साँचो देखिएका छन् । भिडियोमा अश्रुग्यासले प्रदर्शनकारीहरु आत्तिएको, स्वास्थ्यमा प्रतिकूल असर परेको प्रष्ट हुन्छ । त्यस्ता घटनामा अश्रुग्यासको प्रयोग गैरकानुनी, अमानवीय र क्रुर देखिन्छ ।

अश्रुग्यास खाली सडकको साटो कारभित्र, स्कुल बसभित्र, मलामीहरुमाथि, अस्पतालभित्र, मेट्रो स्टेशन, अपार्टमेन्ट क्षेत्र र सपिङ सेन्टरहरुमा प्रयोग गरेको वा ग्यास ती क्षेत्र हुँदै गएको पाइन्छ । प्रहरीले सिधै व्यक्तिलाई ताकेर अश्रुग्यासको सेलले घातक हमला गरेका उदाहरण थुप्रै छन् । अश्रुग्यास प्रहार गर्न प्रहरीले ट्रक, जिप र ड्रोन समेत प्रयोग गरेको छ ।

अश्रुग्यास हमलाको मारमा वातावरणीय अभियन्ता, स्कुल कलेजका विद्यार्थी, स्वास्थ्यकर्मी, पत्रकार, आप्रवासी र मानवअधिकारकर्मीहरु बढी परेका छन् । नाइजेरियामा ‘हाम्रा चेलीहरुलाई फिर्ता ल्याउँ’ अभियानकर्मीहरुमाथि बारम्बार अमानवीय अश्रुग्यास हमला भएको छ । खार्तुम अस्पतालभित्र गरिएको अश्रुग्यास हमलामा ११ जना घाइते भएका थिए ।

अबुजा प्रदर्शनकारीहरुले एमनेष्टिलाई भनेअनुसार अश्रुग्यासले उनीहरुलाई बेहोस बनाएको थियो । गोली लागेका घाइतेहरुझैं उपचार गर्न अस्पताल लानु परेको थियो । उनीहरुका लुगा डढेका थिए । शरीरभर स-साना छिद्रजस्ता घाउहरु देखिएका थिए । काराकस प्रदर्शनको भिडियोमा प्रहरीले ताकीताकी अश्रुग्यासको सेल प्रदर्शनकारीमाथि हानेको देखिन्छ । त्यो प्रदर्शनमा अश्रुग्यासकै कारण १ जनाको मृत्यु समेत भएको थियो ।

एमनेष्टिका यातना विज्ञ तथा संयुक्त राष्ट्र संघका लागि मानवअधिकार प्रतिवेदक निल्स मेल्जरले यी भिडियोहरुको अध्ययन गरिरहेका छन् । उनका अनुसार दृष्यहरु निक्कै दुःखद र आपत्तिजनक छन् । अश्रुग्यास प्रयोगकर्ताहरुले भीडलाई तितरवितर गर्ने भन्दा पनि प्रर्दशनकारीलाई हानी पुर्‍याउने मनसाय राखेको देखिन्छ । कतिपय दृष्य त यातना र दुर्व्यवहार भन्न सुहाउने छन् ।

यस्ता हतियारहरुको प्रयोग आफैमा आपत्तिजनक हो । त्यसमाथि निहत्था र शान्तिपूर्ण प्रदर्शनकारीमाथि त अपराधसरह नै हो । अश्रुग्यासले जनस्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्दछ । यस्ता हतियारहरुको उत्पादन, निर्यात, रासायनिक संरचना र दुरुपयोगबारे बलियो अनुगमन जरुरी देखिएको छ ।

विश्वले यो पक्षलाई पर्याप्त ध्यान दिएको छैन । अश्रुग्यासलाई नरम र सामान्य हतियार ठान्नेहरु धेरै छन्, त्यो सत्य हैन । अश्रुग्यासको सेलभित्र के कस्तो रसायन राखिएको छ, त्यो बाहिरबाट हेरेर थाहा हुँदैन । यसको प्रयोगकर्ताले त्यो पक्षलाई ध्यान दिएका छैनन् । अधिकांश अश्रुग्यासभित्र स्वास्थ्यका लागि घातक रसायन प्रयोग गरिएको छ । त्यसले प्रदर्शनकारीहरुको मात्र हैन, सुरक्षाकर्मीहरुको स्वास्थ्यमा समेत हानी पुर्‍याउँदछ ।

अश्रुग्यास विशेषतः त्यस्ता कम्पनीहरुले उत्पादन गर्दछन्, जो आफै गैरकानुनी वा बलियो गरी नियमन नगरिएका हुन्छन् । यसको किनबेचमा सामेल हुने साना व्यापारीहरुलाई जनस्वास्थ्य, मानवअधिकार र नैतिकताबारे कमै जानकारी र लगाव हुन्छ । धेरै देशहरुले अश्रुग्यास उत्पादन मापदण्ड, ओसारपसार र बिक्रीवितरणबारे कुनै नीति तथा कानून बनाएका छैनन् । यस्तो काममा ग्यास विशेषज्ञहरु नियुक्त गर्ने प्रचलन छैन । नियुक्त गरिएका ग्यास विशेषज्ञहरुमा पनि पर्याप्त ज्ञान र शिक्षाको अभाव देखिन्छ ।

फरकफरक देशका प्रहरी संगठनले यसबारे फरकफरक मापदण्ड प्रयोग गर्दछन । संयुक्त राष्ट्र संघको मापदण्ड अपनाउने हो भने शान्तिपूर्ण जनप्रदर्शनमा अश्रुग्यासको प्रयोग नै बर्जित हुन्छ । अश्रुग्यास सामान्यतः आम समुदाय नै हिंसामा उद्यत भएको बेला प्रयोग गरिने हो । त्यसमा पनि जब अरु सबै उपायहरु काम नलाग्ने हुन्छन्, त्यतिखेर मात्र । मानिस बहिर्गमित हुने गौंडाहरु नभएको, छेकारो हानिएको विन्दूमा त यसको प्रयोग गर्नु नै हुँदैन । अश्रुग्यासको सेल व्यक्तिलाई ताकेर त झनै हान्नु हुँदैन । त्यसबाट उत्पन्न हुने क्षतिले व्यक्तिको बाँकी जीवनलाई निरर्थक बनाइदिन सक्दछ ।

अश्रुग्यास एक प्रकारको रासायनिक हतियार नै हो । रासायनिक हतियार प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धीहरुले यस्ता हतियार प्रयोग गर्न पाइने खास अवस्थाहरु उल्लेख गरेको छ । त्यस्ता अवस्थाहरु एकदमै थोरै र सीमित हुन्छन् । शान्तिपूर्ण जनप्रदर्शनमा त रासायनिक हतियार प्रयोग गर्न पाइँदै पाइँदैन । विश्वका सबै जिम्मेवार, लोकतान्त्रिक र मानवअधिकारप्रति प्रतिबद्ध सरकारहरुले अश्रुग्यासको नकारात्मक पक्षबारे बेलैमा सोच्न जरुरी छ ।

(द साउद चाइना मर्निङ पोष्टबाट ।)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय