scheduleआइतवार श्रावण २५ गते, २०७७

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

डा. वेदप्रसाद खतिवडा, डा. भीम चौंलागाई, प्रेमबहादुर मगर, डा. शिव देवकोटा

भौगोलिक बनावट, सुक्ष्म जलवायु, हावापानी, माटो एवं उचाईको विविधताले नेपाललाई विश्व मानचित्रमा अद्वितीय जैविक विविधताको खानी बनाएको छ । विश्वको ०.१ प्रतिशत भूगोल ओगटे पनि कूल वनस्पतीको ३ प्रतिशत र कूल जीवजन्तुको १.१ प्रतिशत नेपालमा पाइन्छ । त्यस्तै नेपालमा ११८ थरिका पारिस्थितिकीय प्रणाली तथा ३५ विभिन्न प्रकारका वनजंगल पाइन्छ । यस्तो विविधतामा पाइने अनेकन वनस्पतीहरु मानवसभ्यता मात्र हैन उनीहरुको खाद्यान्न तथा पोषणको पनि स्रोत बनेको हुन्छ । वनजंगल वा अन्य भीरपाखा, कान्ला वा अन्य यस्तै खेती गरिएका वा नगरिएका क्षेत्रमा पाइने जीवित प्रजातिमा च्याउ पनि एक महत्वपूर्ण प्रजाति हो । डा. शिव देवकोटा र डा. हरिप्रसाद अर्यालले हालै प्रकाशित गर्नुभएको अध्ययनमा नेपालमा हालसम्म १२९१ प्रजातिका जंगली च्याउहरु पाइएका छन् । जसमा १५९ प्रजातिहरु मात्र खानका लागि उपयुक्त मानिन्छन् भने करिब १०० प्रजाति विषालु र ७४ प्रजातिहरु औषधीय गुणका रहेका छन् ।

नेपालमा च्याउ खाने प्रचलन पुरानै हो र खासगरी जंगलसँग जोडिएका बस्तीहरुमा जंगली च्याउ खाने गरिन्छ । एकातर्फ खानका लागि वनजंगलमा धेरै निर्भर रहेका समुदायहरु एवं अन्य आम्दानीको स्रोत पनि कम भएका समुदायहरुमा जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा बिरामी परी वर्षेनी करिब तीन दर्जन भन्दा बढीले ज्यान गुमाइरहेको तथ्यांक देखिन्छ । खासगरी युवा वा प्रौढ सदस्यले यसलाई जंगलबाट संकलन गरेर ल्याउने र पकाएर खाँदा बालबालिका तथा बृद्धबृद्धा लगायत पूरै परिवार नै यसको जोखिममा पर्दछन् । तसर्थ जंगली च्याउ खाद्य तथा पोषणका लागि महत्वपूर्ण स्रोत हुँदाहुँदै पनि यसको पहिचान नहुँदाको कारणले गर्दा वर्षेनी धेरैले ज्यान गुमाए पनि यसलाई केवल एउटा दुर्घटना मात्रै मानी दुःखी हुने तर यसलाई रोक्नका लागि आवश्यक तथा संस्थागत पहल गरेको देखिँदैन । यसका साथै कतिपय विषालु च्याउ सेवनबाट स्थानीयस्तरमा नै झार जडिबुटी गरी निको भएका बिरामीको संख्या पनि उल्लेख्य रहेको अनुमान गरिन्छ । यस पक्षमा खास गरी स्थानीय निकायहरुले जंगली च्याउको पहिचान, संकलनमा नियमन, तथा समुदायस्तरमा अभिमुखीकरण मार्फत सचेतना गर्न सक्ने अवस्था देखिन्छ जसले गर्दा भविष्यमा यस्ता जोखिम र दुर्घटनालाई घटाउन सकिन्छ । यस आलेखमा हामी केबल स्थानीय स्तरमा देखिएका च्याउजन्य बिमारी वा दुर्घटना न्यूनीकरणका लागि जंगली च्याउको पहिचान, एवं यसका लागि आवश्यक संस्थागत पहल एवं सचेतना र थप अनुसन्धानको आवश्यकतामा जोड दिनेछौं भने स्थानीयस्तरमा स्वास्थ्यकर्मी तथा च्याउविज्ञको सल्लाहबेगर कुनै पनि जंगली संकलनका च्याउहरु सेवन नगर्न पनि अनुरोध गर्दछौं ।

जंगली च्याउको पहिचानको प्रश्न

च्याउ एक प्रकारको ढुसी हो जुन खासगरी ओसिलो र उष्ण हावापानीमा पाइने गरिन्छ । वनजंगलमा यसको वृद्धिविकासका लागि आवश्यक अवस्था पाइने भएकाले हामी वनजंगलमा धेरै तथा तथा हाम्रै घरबारीमा पनि यथेष्ट मात्रामा बर्खायाममा जंगली च्याउ उम्रेको देख्न सक्छौं । तर यसरी देखिएका च्याउहरु अत्यन्त रहरलाग्दो र देख्दा नै खाउँखाउँ जस्तो लाग्ने देखिन्छ । नेपालमा पाइने अनगिन्ती प्रजातिहरुमध्ये केही मात्रामा खानका लागि सुरक्षित मानिन्छन् तर यसको पहिचान अत्यन्त महत्वपूर्ण पक्ष रहिआएको छ । खानका लागि अन्य विकल्प नहुनु र केही नहोला नि भन्ने लापरवाहीले पनि यस्ता आकर्षक च्याउहरुले वर्षेनी धेरैको ज्यान लिइरहेको छ ।

जंगली च्याउको पहिचान अत्यन्त कठीन काम हो किनकि फरक भौगोलिक अवस्थामा पाइने उस्तै देखिने च्याउ पनि कुनै विषालु र कुनै खानयोग्य हुन सक्छन् । तसर्थ स्थानीय समुदायका अनुभवी संकलनकर्ताहरु तथा च्याउका विशेषज्ञको परामर्शविना जंगली च्याउको सेवन गर्न हुँदैन । उदाहरणका लागि Amanita समूहका च्याउहरु Amanita concentrica, Amanita muscaria, Amanita phalloides (death cap mushroom), Amanita pantherina, Amanita verna (माथि चित्रमा देखाइएका) केही उदाहरणहरु मात्र हुन जसमा amatoxin नामक टक्सिन पाइन्छन् र मानव शरीरका लागि अत्यन्त हानिकारक हुने हुँदा यस्ता च्याउको उपभोग कदापी गर्नुहुँदैन । यसका अलावा कैयौं च्याउका प्रजातिहरु छन् जुनमा कुनै अध्ययन अनुसन्धान नगरिएका पनि छन् । स्थानीय जनसमुदायहरुले कतिपय च्याउ वनजंगलबाट वर्षौंदेखि संकलन गरेर खाइरहनुभएको पनि हुन सक्छ तर अन्य समुदायहरुलाई यसबारेमा जानकारी नहुन पनि सक्छ । यसका लागि उहाँहरुसँगको स्थलगत अध्ययन, अनुसन्धान र पहिचान र त्यसपछिको रासायनिक तत्वबारेको अध्ययनले मात्र यस्ता पहिचानहरु निष्कर्षमा पुग्छन । यसैले कुनै पनि जंगली च्याउको पहिचानको पक्ष अत्यन्तै संवेदनशील विषय हो जसका लागि स्थानीय समुदायको परम्परागत ज्ञान, वैज्ञानिक अध्ययन अनुसन्धान तथा रासायनिक तत्वको पहिचान अनिवार्य शर्त हो जसले समग्रमा कुनै पनि च्याउको वैज्ञानिक पहिचान पूर्ण हुन्छ र उपभोगका लागि सुरक्षित र विषालु भन्ने जान्न सकिन्छ । तसर्थ समुदायहरुले वनजंगलबाट ल्याएर च्याउ पहिचानविना नै खाने संस्कारले ज्यानै लिन सक्छ र सबै पक्ष सतर्क भएर यसका लागि जनचेतना फैलाउनु आवश्यक देखिन्छ ।

अध्ययन तथा अनुसन्धान

जंगली च्याउ तथा अन्य च्याउको विभिन्न अनुसन्धानमा केही निश्चित विज्ञहरु मात्रै हुनुहुन्छ जसले लामो समयसम्म यस विषयमा अध्ययन, अनुसन्धान तथा प्रकाशनहरु गर्नुभएको छ । यस विषयमा अध्ययन, अनुसन्धान गर्ने तथा अनुसन्धानका विभिन्न परिणामहरु विभिन्न माध्यमबाट जनस्तरसम्म पुर्‍याउने काम संघीय सरकारका वनस्पती विभाग, नेपाल कृषि अनुसन्धान परिषद तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान लगायतका निकायहरुको हो । खासगरी अनुसन्धानका नतिजाहरु लक्षित समुदायहरुसम्म पुग्न नसकेको कारणले पनि यस पक्षमा सबै सरोकारवालाहरु मिलेर काम गर्न जरुरी देखिन्छ । जनमानसमा आएका विभिन्न च्याउ सेवनपछिका दुर्घटना वा मृत्युको कारण खोज्दै सो च्याउको विस्तृत अध्ययन, अनुसन्धान, रासायनिक अवयवहरुको अवस्था र टक्सिनको परिमाण आदिको बारेमा तत्कालै अनुसन्धान गरी स्थानीय सरोकारवालाहरुबीचमा अन्तरक्रिया आयोजना गरी अध्ययनको नतिजा सार्वजनिक गरी सचेतना गराउनु आवश्यक हुन्छ ।

स्थानीय निकायको अग्रसरता

स्थानीय तहहरु संघीय संरचनामा अत्यन्त महत्वपूर्ण जिम्मेवारी भएको निकाय हो जसले स्थानीय जनतासँग प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दछन् । स्थानीय तहले च्याउ विज्ञहरुसँग सम्पर्क स्थापित गरी च्याउ विषयका जानकार स्थानीय जनजाति वा आदिवासीका नेतृत्ववर्गसहितको विज्ञ समूह बनाएर आफ्नो कार्यक्षेत्रमा भएका जंगली च्याउको अध्ययन अनुसन्धान गरिनु आवश्यक रहन्छ । यो टिमले स्थानीय रुपमा पाइने खेती नगरिएका च्याउका प्रजातिको संकलन, अध्ययन, अनुसन्धान गरी त्यसको विस्तृत जानकारी सार्वजनिक गरिनुपदर्छ । साथै सो अध्ययनमा आधारित रही कुन प्रजातिका च्याउहरु खानका लागि सुरक्षित तथा कुन च्याउहरु खानका लागि अनुपयुक्त वा कुन च्याउ विषालु हुन् भन्ने कुराको जानकारी सबैको पहुँचमा रहने गरी सुरक्षित गराउनुपर्छ ।

च्याउको विविधता र गुणहरु स्थानीय हावापानी, माटो, उचाई आदिले प्रभावित हुन सक्छन् भने उस्तै देखिने च्याउहरु पनि फरक ठाउँमा पाइएको छ भने कुनै विषालु त कुनै सुरक्षित पनि हुन सक्दछ । वर्षायाम शुरु भएपछि च्याउ उम्रिने समय भएकोले स्थानीयस्तरमा जनचेतना तथा अभिमुखीकरणका कार्यक्रम स्थानीय संघसंस्था, यूवा क्लब, किसान समूह, वन उपभोक्ता समूह, सामुदायिक वन समिति, स्थानीय नगरपालिका वा गाउँपालिका आदिको अगुवाइमा गरिनुपर्छ । यसमा लक्षित समूहहरुसँग च्याउ पहिचान विज्ञहरु तथा च्याउको अनुसन्धानकर्ताको प्रशिक्षण, अन्तरक्रियाको आयोजना गरी विषालु च्याउका बारेमा छलफल चलाउनुपर्छ । यसका अलावा स्थानीय सञ्चार संस्थाहरु पत्रपत्रिका एवं एफएम रेडियो आदिमा पनि अन्तरक्रिया, छलफल, र सूचनाहरु प्रकाशन, प्रशारण गर्न आवश्यक रहन्छ । त्यस्तै स्थानीय समुदायहरुको आवतजावत हुने क्षेत्रहरु, हाटबजार स्थलहरु, स्कुल क्याम्पसको वरिपरि वा वनजंगल पस्ने मुख्य नाकाहरुमा पनि विषालु च्याउका रंगीन चित्रहरुसहित च्याउ पहिचान र विषालु च्याउ सेवनबाट हुने हानीका बारेमा होडिङ बोर्डहरु राख्न सकिन्छ । त्यस्तै स्थानीय समुदायहरुसँग तालिम, अभिमुखीकरणका कार्यक्रमहरुमार्फत पनि यस्ता सचेतनाहरु चलाउन सकिन्छ । यसका अलावा स्थानीय तहहरुको आधिकारिक फेसबुक पेजहरु तथा सामाजिक सञ्जालहरुमा यससम्बन्धी जानकारी तथा श्रव्यदृश्य सामग्रीहरु पोष्ट गर्न आवश्यक हुन्छ ।

———————

(डा. वेदप्रसाद खतिवडा अष्ट्रेलियामा रहेर फलफूल तथा तरकारीको स्वच्छता तथा गुणस्तर व्यवस्थापनमा काम  गर्छन् र उनलाई bedkhatiwada@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

डा. शिव देवकोटा स्वीजरल्याण्डबाट वनस्पती विज्ञानमा विद्यावारिधी गरी हाल Global Institute for Interdisciplinary Studies (GIIS), काठमाडौंमा कार्यरत छन् । नेपालमा लामो समयदेखि जंगली च्याउ र झ्याउको अनुसन्धानमा संलग्न रहेका उनका च्याउसँग सम्बन्धित तीन दर्जन भन्दा बढी विभिन्न प्रकाशनहरु उपलब्ध छन् र उनलाई shivadevkota12@yahoo.com मा सम्पर्क गर्न सकिन्छ ।

डा. भीम चौंलागाईं कृषि विज्ञानको बालीरोग विषयमा विद्यावारिधी गरी हाल अमेरिकाको Oregon State University, Corvallis, Oregon मा Postdoctoral Scholar को रुपमा कार्यरत छन् र उनलाई bhimchaulagian1986@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।

प्रेमबहादुर मगर नेपाल कृषि अनुसन्धान परिषद, बालीरोग विज्ञान महाशाखामा वैज्ञानिक पदमा कार्यरत छन् र च्याउ उत्पादनसम्बन्धी केही जानकारी आवश्यक परेमा उनलाई सम्पर्क गर्न सकिनेछ ।)

———————

कृषि र जीवन स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय