संविधानको दोस्रो संसोधन विधेयक पारित भएको खुशीमा देशभर दीप प्रज्वलन
काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा देशका विभिन्न ठाउँमा दीप प्रज्वलन भएका छन् ।
विराटनगरको जनआन्दोलन चोकमा साँझ दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गरेका थिए ।
त्यस अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीसमेतमा नक्शा अङ्कित निशान छाप पारित भएको खुशीमा दीप प्रज्वलन गरिएको छ । खुशियाली मनाउन सर्वसाधारण नागरिकले आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।
यस्तै कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको अद्यावधिकका लागि आज गरिएको नेपालको संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा दिपावली गरिएको छ ।
जिल्ला सदरमुकामस्थित शहीद चोकमा दीपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष सूर्यप्रसाद गैह्रे पारले जानकारी दिनुभयो । यसैगर िवालिङ उद्योग वाणिज्य सङ्घले पनि दीपावली गरेको छ ।
यस्तै नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशियालीमा तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो ।
भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टीले दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरेको हो ।