परिवार
रेखा किरण पौडेल
१.
आमा बाबु र सन्तानले बन्दछन् परिवार
बालकको प्रथम पाठशाला भन्दछन् परिवार
सबैलाई सधै एकसाथ खोज्दछ परिवार
मेरो नभनी हाम्रो रोजाई रोज्दछ परिवार
२.
मायाको छानोमुनि एक अर्काको सुरक्षा हुन्छ परिवारमा
रगतको साइनोले नटुट्ने नछुट्ने नाता बुन्छ परिवारमा
बुझेकाले प्रत्येक सदस्यको उत्तरदायित्व चुन्छ परिवारमा
एक सदस्यको पीडामा अर्कोको मुटु रुन्छ परिवारमा
३.
सन्तानलाई पूरा नाम र धार्मिक परिचय दिन्छ
एक अर्कामा स्वगोत्रको सम्बन्ध मिल्छ
बालकले परिवारबाटै सामाजिक शिक्षा लिन्छ
विवाहको बन्धनमा कसिएर अर्को परिवारलाई आफ्नै भनी चिन्छ
४.
आधुनिकतासँगै संयुक्त परिवार एकल परिवारमा टुटेको छ
पाश्चात्य संस्कृतिको प्रभावले गाउँका सङ्ग्ला खेत-बारी फुटेको छ
प्रत्येक सदस्यलाई व्यक्तित्व विकासको भावनाले चुटेको छ
स्वतन्त्रताको नाममा एकल अभिभावक एकीकृत परिवार छुटेको छ
(हालः क्यानाडा)
(अन्तर्राष्ट्रिय परिवार सप्ताहको उपलक्ष्यमा लेखिएको)