ट्रम्पबारे नरम भएको भन्दै मालिकलाई प्रश्न गर्ने फेसबुकका कर्मचारीको जागिर गयो
वासिङ्टन, ३२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद पोस्टलाई ट्वीटरले निगरानीमा राख्यो । तर, फेसबुकले यसबारे कुनै पनि कदम चालेन । यसबारे फेसबुकमाथि आलोचना भइरहेको बेला त्यहाँ अर्को घटना घटेको छ ।
ट्रम्पको विवादास्पद टिप्पणीका विरुद्ध मौन रहेको भन्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गको आलोचना गर्ने एक कर्मचारीलाई फेसबुकले जागिरबाट हटाइदिएको छ ।
फेसबुकमा इन्जिनियरका रुपमा कार्यरत ब्रान्डन डेललाई फेसबुकले हालै जागिरबाट हटाएको हो । डेलले आफूलाई कम्पनीले बर्खास्त गरेको कुरा ट्वीटरमार्फत् पनि सार्वजनिक गरेका थिए ।
पछिल्लो समय अमेरिकामा सामाजिक र राजनीतिक रुपमा हलचल भइरहे पनि फेसबुकका मालिक जुकरबर्ग मौन रहेको भन्दै जुकरबर्गको विश्वव्यापी आलोचना भइरहेको छ । यही आलोचनाको चक्करमा ब्रन्डनले आफ्नो मालिकको भूमिकाको सार्वजनिक रुपमै आलोचना गरेका हुन् ।
अमेरिकामा रंगभेदविरोधी ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चलिरहँदा यसबारे जुकरबर्गले कुनै प्रतिक्रिया दिएका छैनन् । यसैले ब्रान्डन जुकरबर्गसँग असन्तुष्ट बन्दै आएका थिए ।
मालिकको आलोचना गर्दा जागिर गुमाउने ब्रान्डन एक्ला भने होइनन् । उनीसँगै फेसबुकले दर्जन बढी कर्मचारीलाई बर्खास्त गरेको छ । जसमध्ये ६ जना इन्जिनियर नै छन् ।
जुकरबर्ग नश्लवादविरोधी आन्दोलनबारे मौन रहनुमा राजनीतिक कारण भएको उनीहरुको आरोप थियो । फेसबुकले ब्रान्डनको बर्खास्तीबारे खबर सार्वजनिक गरेपनि कारण भने खुलाएको छैन ।