scheduleआइतवार श्रावण २५ गते, २०७७

कोरोनाले होइन, हाम्रो स्वास्थ्य प्रणालीका कारण मानिस मरिरहेका छन्

डा. शरद वन्त

कोरोनाविरुद्धको लडाईंमा हाम्रो तयारी भनेको हाम्रो स्वास्थ्य प्रणालीसँग प्रत्यक्षरुपमा जोडिएको विषय हो । जनस्वास्थ्यको आँखाले हाम्रो स्वास्थ्य प्रणालीलाई हेर्दा यो कस्तो देखिन्छ ? स्वास्थ्य प्रणालीका अनेकौं आयामहरु हुन्छन् । जनस्वास्थ्य भनेको एउटा प्रणाली हो भने अर्को विज्ञान हो । प्रणाली र विज्ञानबीच एकदमै अनोन्याश्रित सम्बन्ध त हुन्छ नै तर दुवै एउटै कुरा होइन । सिस्टम र साइन्सबीचमा जति सम्बन्ध भए पनि यी फरक फरक कुरा हुन् । अहिले यतिखेर हामी जनस्वास्थ्यलाई हामीले विज्ञानको रुपमा होइन, एउटा प्रणालीको रुपमा हेर्ने कोशिश गरिरहेका छौं ।

१०० वर्ष अगाडि क्षयरोगले पनि मानिस मर्थे । यसले धेरै मानिसको ज्यान जान्थ्यो । यसले युरोपियन मुलुकहरुमा पनि लर्ड्सहरु पनि मरेका थिए । दासहरु पनि मरेका थिए र हाम्रौ देशमा पनि क्षयरोगका कारण राजामहाराजाहरु पनि मरेका थिए र सामान्य गरिबहरु पनि क्षयरोगबाट मरेका थिए । किनभने त्यतिखेर क्षयरोगसँग लड्न सक्ने विज्ञान थिएन । त्यसैले क्षयरोगबाट धेरै जना मर्थे । कोही बाँचिहाले भने पनि एउटा विशिष्ट परिस्थितिमा बाँच्थे ।

आज क्षयरोगको कुरा गर्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ । हामी यसको खोप बिसिजी भ्याक्सिन लगाउँछौँ, त्यसले ठूलो हदसम्म नियन्त्रण गर्दछ । क्षयरोगलाई परीक्षण गर्न हामीसँग यस्तो प्रविधि छ की मान्छेको एउटा एउटा कोषमा गएर समेत परीक्षण गरिन्छ । हिजोजस्तो एक्सरे गरेर होइन अत्याधुनिक प्रविधि छ । जहाँ क्षयरोग पत्ता नलागेर मिस हुने सम्भावना छैन । यसलाई शतप्रतिशत निको पार्ने औषधि छ । आज यी सबैको बाबजुद पनि हामै देशमा पनि हेर्ने हो भने वर्षौं क्षयरोगबाट दशौं हजार मानिस यसबाट किन मर्दछन् ?

त्यसैले जनस्वास्थ्यको आँखाबाट हेर्ने हो भने जो नेपाली क्षयरोगबाट मर्दछ, त्यो क्षयरोगबाट मरेको होइन । त्यो प्रविधिको बाबजुद विज्ञानको बाबजुद पनि आज यदि कोही क्षयरोगबाट मरिरहेका छन् भने मात्रै त्यो विज्ञान र प्रविधिमा पहुँच नभएका कारणले मरेको हो । त्यसैले आजभोलि हामी क्षयरोगको विरुद्ध लडाईं गर्दैनौं, त्यस्तो प्रणालीको विरुद्ध लडाई गर्दछौँ, जुन प्रणालीले आम नागरिकलाई क्षयरोगलाई रोकथाम, उपचार र नियन्त्रण गर्ने प्रविधि र विज्ञानको पहुँचमा व्यवधान ल्याउँछ । हाम्रो लडाईं अब हाम्रो स्वास्थ्य प्रणालीसँग हो, हाम्रो लडाई अब क्षयरोगसँग होइन । किनभने क्षयरोगले मान्छे मार्दैन । क्षयरोग हाम्रो मानव समाजबाट पराजित भइसकेको छ ।

त्यति हुदाँहुँदै पनि क्षयरोगले मान्छेलाई मार्ने भनेको प्रणालीको आड लिएर हो । यसरी स्पष्ट भन्न सकिन्छ- अहिलेको हाम्रो लडाई भनेको प्रणाली विरुद्ध हो । यो कुरा क्षयरोगमा मात्र होइन सबैसबै जसो स्वास्थ्य प्रणलीमा लागू हुन्छ । जस्तो- आजभन्दा २० वर्ष अगाडि हामी एचआइभी एड्सलाई घातक रोग मान्थ्यौं । एड्सबाट ठूलाठूला सेलिब्रेटीको पनि मृत्यु भएको थियो । त्यो त हाम्रो पुस्ताले देखेको कुरा हो ।

तर, आज एचआइभी एड्स भनेको कुनै घातक रोग होइन, यो त एउटा दीर्घ रोग हो । जीवनभर औषधी खाएमा एचआईभी एड्सको बिरामी आफ्नो पूरा जीवन बाँच्न सक्दछ । एड्सबाट त्यही व्यक्तिको मृत्यु हुन्छ जसको औषधिमाथि पहुँच छैन । जसलाई त्यो प्रणालीले औषधिबाट विमुख गराउँछ ।

डा. शरद वन्त

यसर्थ, अहिले हामीले जुनप्रकारको प्रणालीको कुरा गरिरहेका छौं, यो विश्वव्यापीरुपमै उठिरहेको मुद्दा हो । हाम्रो देशमा पनि हुबहु लागू हुने कुरा यही हो । हाम्रो स्वास्थ्य प्रणाली कुन हदसम्म सामाजिक न्याय र समानतामा आधारित छ ? योभन्दा अरु केही पनि होइन । हामीलाई आज विज्ञान र प्रविधिको खाँचो छैन । हामीसँग यथेष्ट विज्ञान र प्रविधि छ । अब हामीलाई चिन्ता के छ भने त्यो प्रविधि कहिँकतै सहयोगी हुनुको सट्टा हाम्रो लागि भार त बनेको छैन ? चिन्ता यता गर्न आवश्यक छ ।

हाम्रो दुर्भाग्य के भइरहेको छ भने स्वास्थ्य सेवाका संरचना, स्वास्थ्यसम्बन्धि विज्ञान र प्रविधि यो नेपालीहरुका लागि भार बनेको छ । सहयोगी होइन । हामी यस्तो बिडम्बनासँग जुधिरहेका छौं । आज कति नेपाली स्वास्थ्यका कारणले गरिबीको रेखामुनि रहेका छन् । कति नेपाली स्वास्थ्यका कारणले गरिब भइरहेका छन् । यो कुरा ठूलो बिडम्बना हो । एक प्रतिवेदन अनुसार नेपालमा प्रतिवर्ष करिब ४ प्रतिशत अर्थात् १० लाख नेपालीहरु स्वास्थ्यका कारण हुने खर्चको कारणले गरिबीको रेखामुनि भासिँदै गइरहेका छन् । नेपालमा स्वास्थ्य उपचारको लागि प्रतिवर्ष झन्डै ११ प्रतिशत अर्थात् २० लाख सेवाग्राहीका लागि स्वास्थ्य उपचार आर्थिक भार भएको छ । यसरी, अलिअलि हुने खानेका लागि पनि स्वास्थ्य उपचार आर्थिक भार बनेको छ । उनीहरुको आफ्नो आम्दानी भन्दा पनि स्वास्थ्यको सेवा वा उपचारमा हुने खर्च बढी छ ।

युरोप, अमेरिका, एसीयामा पनि प्रविधिको विकास भइरहेको छ । हाम्रो समस्या प्रविधि मात्रै होइन्, त्यसमाथिको पहुँच हो । हाम्रोमा पनि स्टार अस्पतालहरु खुलेका छन् । हामीमा पनि अन्तराष्ट्रिय स्तरका अस्पतलाको मूल ढोकामै नेपालीहरु उपचार नपाएर मरिरहेका छन् ।

यसरी हेर्दा स्वास्थ्यको सबैभन्दा महत्वपूर्ण कुरा यसको आर्थिक पाटो नै रहेछ । किनकि यसले नै धेरै कुराहरु निर्धारण गर्दोरहेछ । यसका पनि दुईटा आयामहरु छन् । हाम्री बजारीय ढाँचामा हिंडिरहेका छौँ की कल्याणकारी बाटोमा ? यी दुईको मूल्याङ्कन गर्नु महत्वपूर्ण हुन्छ ।

थोरै राजनीतिक आयामको पनि कुरा गर्ने हो भने विश्वभरी नै स्वास्थ्यको मूल्य कसले चुकाउने भन्ने कुनैबेला महत्वपूर्ण थियो । स्वास्थ्य सेवाको मूल्य कसले चुकाउँछ भन्ने प्रश्न अहिले आएर गौण भएको छ । किनभने स्वास्थ्यको मूल्य चुकाउने भनेको नागरिकले नै हो । यसमा कुनै शंका छैन् । नेपालको कुरा गर्दा हाम्रो आर्थिक फ्रेमवर्क भनेको पुँजीवादी फ्रेमवर्क हो । अहिले विश्वव्यापी रुपमा नै समाजवादी आर्थिक प्रणालीहरु अब एकप्रकारले इतिहास भएका छन् । हिजोको सोभियत संघ जसले एउटा समाजवादी ढाँचाको स्वास्थ्य प्रणालीको स्थापना गरेको थियो, अब त्यो इतिहास भएको छ ।

हिजोको क्यूबा र चाइना पनि विशुद्ध समाजवादी ढाँचाबाट पर हटेका छन् । अहिले स्वास्थ्य सेवा पूँजीवादी ढाँचामा अगाडि बढेको हुनाले मूल्य कसले तिर्ने ? भन्ने प्रश्न गौण भएको छ । किनकि, स्वास्थ्य सेवाको मूल्य नागरिकले चुकाइरहेका छन् ।

अब सबैभन्दा महत्वपूर्ण प्रश्न हो मूल्य कसरी चुकाउने भन्ने हो । यस हामीसँग दुईवटा बाटा छन् । एउटा बाटो पुँजीवादी बजार ढाँचाको सिद्धान्तबाट र अर्को लोककल्याणकारी ढाँचाको फ्रेमवर्कबाट मूल्य चुकाउँछन् । हामी कुनचाहिँ ढाँचामा चलिरहेका छौं ? यो महत्वपूर्ण सवाल हो । हामीसँग बजारमुखी ढाँचाको स्वास्थ्य प्रणालीमा व्यक्ति जिम्मेवार हुन्छ । राज्यले पुँजीवादी व्यस्थामा निःशुल्क स्वास्थ्य सेवा दिने कुरा सम्भव छैन । निशुल्क भनेको असाध्यै ठूलो ‘मिथ’ हो । यो भ्रम हो । निःशुल्क दिन राज्यले कहाँबाट ल्याउँछ ? राज्यले उद्योग चलाउँदैन, व्यापार गर्दैन । राज्यले कमाउँदैन । राज्यले निःशुल्क गरिदिने भनेको नागरिकबाट उठाएर दिने हो । राज्यसँग जम्मा हुने रकम नागरिकबाट उठाएर जम्मा हुने हो । तिर्ने त नागरिकले नै हो ।

यहाँनेर, कसरी तिर्दछ भने कुरा महत्वपूर्ण हो । हामी कल्याणकारी बाटोमा छौं कि पुँजीवादी बाटोमा भन्ने कुरा यसैले निर्धारण गर्दछ । कल्याणकारी बाटोमा छौँ भने त्यो शुल्क नागरिकले सामूहिकरुपमा तिर्दछ । कम हुनेले कम तिर्दछ, धेरै हुनेले धेरै तिर्दछ । तर स्वास्थ्य सेवा उसले आवश्यकताअनुसार उपभोग गर्न पाउँछ । यसरी लोककल्याणकारी ढाँचामा सामुहिक जिम्मेवारी हुन्छ ।

बजारमुखी ढाँचामा यदि गोजीमा छ भने पाइन्छ, छैन भने पाइँदैन । यसले यहाँ व्यक्ति जिम्मेवार हुन्छ । जस्तो- हामी २० जना कतै खाना गयौं भने पैसा तिर्ने २ वटा नमूना हुन्छ । एउटा नमूना हन्छ- जसले जति खान्छ त्यति पैसा तिर्ने । पैसा हुनेले मिठो मसिनो टन्नै खाने, नहुने भोकै पनि बस्ने । अर्को नमूना हुन्छ खाना सबैले खाने तर पैसा धेरै हुनेले धेरै तिर्ने र कम भएकाले कम तिर्ने । यो एउटा साधारण नमूना हो ।

हामो नेपालमा हाम्री कुन ढाँचामा छौँ ? हाम्री लोककल्याणकारी ढाँचामा अगाडि बढेका छौँ की बजारमुखि ढाँचामा अगाडि बढेको छौँ ? यो हामीहरुले मूल्याङ्कन गर्ने कुरा हो । नेपालमा हाम्रो प्रणाली अनुसार धेरै हुनेले धेरै मूल्य चुकाउने र कम हुनेले कम चुकाउने तर सबैले स्वास्थ्य सेवा आवश्यकता अनुसार थपघट गर्ने त्यो नीति, प्रणाली मिसन राज्यको छ की सेवा हामी उपलब्ध गराइदिन्छौँ ।

नीतिगतरुपमा आधारभूत स्वास्थ्य सेवा लोककल्याणकारी ढाँचाको छ । तर आधारभूत स्वास्थ्य सेवाले हाम्रो सबै सेवा पुरा हुँदैन । त्यसभन्दा माथि जाने बित्तिकै हाम्री बजारीय ढाँचामा जान्छौ । हुने ठूलो ठूलो सुविधा सम्पन्न अस्पताल जानी, छँदै छैन भने घरमै बस्नी मर्नी । त्यसैले यसको मूल्याङ्कन गर्दा नेपालमा मिश्रित प्रणाली छ । आधारभूत स्वास्थ्य सेवा लोककल्याणकारी हो । यो करमा आधारित हो । जनताले कर तिर्दछन् । यसको कार्यान्वयनमा कहिँकतै कमजोरी होलान् फरक कुरा हो । तर, नीतिगत दृष्टिले हाम्रो आधारभूत स्वास्थ्य सेवा कल्याणकारी नै हो ।

समस्या कहाँ छ भने आधारभूत स्वास्थ्य सेवाले हाम्रो सबै स्वास्थ्य आवश्यकता सम्बोधन गर्दैन । त्यसभन्दा माथि उक्लनासाथ हामी बजारिया ढाँचामा जान्छौं । हामीलाई गरिब बनाउने, गरिबको रेखामुनि धकेल्ने भनेको त्यही बाँकी स्वास्थ्य सेवाको कमिले हो ।

कोरोना संकटको बेला हामीले हाम्रो प्रणालीको समीक्षा गर्नुपर्छ । भोलि भ्याक्सीन बन्ला, उपचार होला, औषधि बन्ला । तर त्यो भ्याक्सिन यदि नाफा कमाउनका लागि भयो भने ती भ्याक्सिन र औषधी हामीजस्ता गरिब नागरिक, गरिब देशका नागरिकको पहुँच भएन भने के हुन्छ ? त्यसैले अब यो प्रश्न विश्वव्यापीरुपमा उठेको छ । राष्ट्रियरुपमा मात्रै होइन । त्यसैले अहिले जति पनि विज्ञान र प्रविधिहरु उपलब्ध छन् । ती समानरुपमा संसारभरीका सबै नागरिकहरुले पाउनु पर्दछ । हाम्रो देशमा त सामान्य उपचार पनि पहुँच भित्र पर्न सकेको छैन । आम नेपालीहरु क्षयरोगले १०औँ हजार मरिरहेका छन् । टिभीको औषधी नभएर त होइन नि । यसकारण यसप्रकारकाको प्रणाली विरुद्ध जुध्न पर्दछ ।

क्रमशः

(वरिष्ठ जनस्वास्थ्यविद् डा. वन्तले चौतारी रिडर्स् क्लबद्वारा आयोजित ‘जनस्वास्थ्य र नेपालको स्वास्थ्य नीति’ भर्चुअल संवादमा व्यक्त विचारको सम्पादित अंश)

रेन्टाइन भनेको शरणार्थी शिविर होइन

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय