scheduleआइतवार श्रावण २५ गते, २०७७

मेरा गोरा मित्रहरु ! भो कुरा धेरै भयो, अब काम गरौं

ब्राइन एस. लोबेरी

भर्खरै मैले मेरा गोरा मित्रहरुबाट असंख्य इमेल पाए । जाँचे, सबैले त्यही सोधेका थिए– म ठीक त छु ? साथीहरुको मप्रतिको चिन्ताको कदर गर्दछु । सबैले यो थाहा पाऊन् कि म ठीकठाक छु । म सन् १९८२ यता जेजति ठीकठाक थिए, अहिले पनि त्यति नै ठीकठाक छु ।

त्यो साल मैले यसर्थ सम्झिन्छु कि मेरो परिवार शिकागोको एक गोरा बस्तीमा बसाइँ सरेको थियो । एक हुल गोरा केटाहरुले तेल ट्याङ्कीमा आगो लगाएर मेरो गाडी जलाउने प्रयास गरेका थिए । यो मेरो जीवनको त्यस्तो पहिलो घटना थियो, जसबाट मैले थाहा पाए कि यो देशमा कालो हुनुको अर्थ के रहेछ ।

यहाँ केही छानिएका घटनाक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।

मिडिल स्कुल पढ्दाको घटना हो । म गल्लीमा वाइक कुदाउँदै थिए । कसैले मलाई चिच्याएर रोक्यो । उसले मलाई ‘ए निग्रो’ भनेर गाली गर्‍यो । मेरो वाइकमा ल्याएर कार ठोक्कायो । लडेको मेरो वाइक च्यापिने गरी कारको ढोका खोल्यो ।

हाइस्कुल पढ्दाको कुरा हो । म मेरो कारमा बसेर साथीलाई पर्खिरहेको थिएँ । केही पुलिस अफिसरहरु बन्दुक देखाउँदै मतिर आए र उत्रिन भने । म विस्तारै कारबाट उत्रिएको के थिएँ, मलाई कारमा अडेसिने गरी थकेलेर मेरो गोजी छामे । मैले त्यस्तो केही लुकाएको थिइनँ । मैले रक्सी पिएको पनि थिइनँ । कुनै निषेधित लागू औषध प्रयोग गरेको पनि थिइनँ । तर मलाई रिस उठ्यो । यो मेरो आत्मसम्मानको खिलाफ थियो । म रिसाएबापत् उनीहरुले मलाई पक्रेर लगे र १२ घण्टा थुनामा राखे ।

कलेजपछिको कुरा हो– त्यतिखेर म स्टाडफोर्ड विश्वविद्यालयको विद्यावारिधी कार्यक्रममा भर्खरै भर्ना भएको थिए । भाडामा लिएको अपार्टमेन्ट हेर्न जाँदै गर्दा कसैले पुलिस बोलाएर मलाई छानबिन गराएको थियो । यो घटनापछि मैले स्टानफोर्ड छोड्ने मनसाय बनाएको थिए । तर पछि त्यही स्टानफोर्डले मलाई विभिन्न विभागमा काम दियो । मैले त्यहाँ डिनको जिम्मेवारी समेत पाए ।

केही बर्ष अगाडि, मैले यी कुनै कथा बनाएको हैन । न त मैले कसैको सहानुभूति जित्न चाहेकोे हुँ । मेरो अनुभवहरु अरु धेरैका जस्तै हुन् । मैले यो बुझ्न सबैलाई सजिलो होस् भनेर मात्र यस्ता चिज शेयर गरेको हुँ, भर्खरै भड्किरहेको विद्रोहभन्दा धेरै अगाडिदेखि नै हामी यस्ता स्थितिहरु सामना गरिरहेकै थियौं ।

यस्ता स्थितिहरुलाई मैले आफ्नो जीवनको अंगजस्तै मान्दै आएको छु । मेरो व्यक्तिगत तथा पेशागत जिन्दगीलाई यस्ता अनुभवहरुले मार्गदर्शन गर्ने गरेका छन् । मेरो जीवनमा अहिले भर्खरै त्यस्तो केही नयाँ भएको छैन । म त्यही भोग्दैछु जुन विगत ३८ वर्षदेखि भोगिरहेको थिएँ ।

बरु मलाई मेरा गोरा मित्रहरुलाई प्रश्न गर्न मन लागेको छ- तिमी पो ठीक छौ ? मिनियोपोलिसको पुलिस अफिसरले जर्ज फ्लोइडको घाँटी थिचेर जीवन रित्याएको देखिसकेपछि पनि तिमी ठीकठाकै छौ त ? कुनै गल्ती नगरेकी निर्दोष महिला ब्रियोना टेलरलाई पुलिसले गोली ठोकेर मारेको समाचार सुनिसकेपछि पनि तिमी ठीकठाक नै छौ त ? तीनजना गोरा मानिसले अहमसद अरर्बेरीलाई घेरीघेरी मारेको दृश्य हेरिसेकेपछि पनि तिमी ठीकै छौ त ?

मलाई थाहा छ– यी घटनापछि धेरैको हृदय काँपेको छ । यो क्रुरता, यो बर्बरताले कुनै मान्छेलाई सग्लो र सहज रहन देला र ? तर, मलाई थाहा छैन, तिमीहरु कसरी बुझ्छौं ? ती मान्छे जो डेरेक चौभिन, केन्टुकी पुलिस अफिसर वा न्यूयोर्कको एमी कोर्परको जस्तै तन्तुले बनेको छन्, उनीहरु यी घटनालाई कसरी बुझ्छन् ?

मैले आफ्नो पेशागत जीवनको ठूलो अंश यो देशमा गोरा हुनुको मनोविज्ञानलाई अध्ययन गर्नमा बिताएको छु । मैले यो पाएको छु कि यो देशमा गोरापनले एक गहिरो असहजता सृजना गरेको छ । गोरा हुनुको सुविधाभन्दा कठिनाईहरु कम छन् जस्तो मलाई लाग्दैन । गोरा हुनुका सुविधा पनि छन् । कठिनाई पनि । तर, त्यही कुरा कालासँग तुलना गर्ने हो भने कठिनाई त छन् नै तर कुनै सुविधा छैनन् ।

एउटा सानो उदाहरणको कुरा गरौं । जब कालाहरु कोकिनको महामारीमा फसे, त्यसलाई सिंगो समुदाय नै अपराधीकरण भएको मानियो । तर जब ग्रामिण गोरा समुदायमा अपिइड महामारी देखिएको थियो, सबैले सहानुभूति राखेका थिए र राज्यको सामाजिक दायित्वको प्रश्न बहसको केन्द्र भागमा आएको थियो । यस्तो सोच र संरचना कायम राखेर हामीले एकअर्कालाई ‘ठीकठाक त छौं ?’ भन्ने प्रश्न कतिन्जेल सोधिरहने होला ? हामी न्याय र समानताको आन्दोलन सँगसँगै किन लड्न सक्दैनौं ?

मलाई थाहा छ कि यो काम सजिलो हुने छैन । न्यायको मूल्य, सुविधाहरुको नोक्सानी, सबैका लागि पीडालायक नै होला । तर त्यस्ता प्रभुत्वशाली सुविधाहरु गोराहरुले नैतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्यमा पाइरहेका छन भन्ने बिर्सन सकिन्न । संघर्ष बिना प्रगति हुँदैन ।

मेरा प्रिय गोरा मित्रहरु ! कुरा त हामी बारम्बार गरिरहेकै हुन्छौं । न्यायको, समानताको, रंगभेद अन्त्य गर्ने कुरा । तर यसका लागि मिलेर काम गरिरहेका छौं कि छैनौं ? त्यतातिर सोचौं । आऊ, हाम्रो सामूहिक आत्मको लागि मिलेर संघर्ष गरौं ।

(द वासिङ्टन पोष्टबाट भावानुवाद गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय