scheduleआइतवार श्रावण २५ गते, २०७७

नेपालमा हिन्दू वर्णव्यवस्था र यसका प्रभाव

सञ्जय कुमार चौधरी

तिम्रो मन्दिरको मुर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानालाई च्यात्ने या
जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भुगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
– आहुति
(गहुँगोरो अफ्रिकाबाट)

हिन्दू धर्म एउटा पुरानो धर्म हो । यसले अङ्गालेका कैयन मूल्य, मान्यताहरु नेपाली हिन्दू समाजमा विद्यमान छन् । हिन्दूहरुको धर्म दर्शनको मुल रचना वेद हो, जसलाई वेदव्यासले रचना गरेका थिए । ईशापूर्व ३ हजार ५ सय वर्ष पहिले जन्मिएको ठानिएका उनले ऋगवेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी ४ वटा वेदको मौखिक रचना गरेका थिए ।

वेद बाहेक अन्य धेरै धर्मशास्त्र र पुराणहरुको पनि रचना गरिएको छ । मनुस्मृति त्यस्तै धर्मशास्त्रमध्ये एक हो, जसलाई हिन्दूहरुले आजसम्म अङ्गाल्दै आएका छन् ।

मनुस्मृतिमा लिपिबद्ध गरिएका कुराहरुले त्यतिबेलाको धार्मिक समाजमा एकछत्र राज गरेको थियो । वेद हिन्दूहरुको सर्वश्रेष्ठ ग्रन्थ हो तर पनि मनुस्मृतिको प्रभावलाई कम आँक्न सकिंदैन । मनुले कर्म अनुसार मान्छेको वर्णलाई छुट्याईदिए । ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार वर्णमा हिन्दू समाजलाई छुट्याईदिएर उनीहरुले गर्नुपर्ने काम र निर्वाह गर्नुपर्ने कर्तव्यलाई पनि सोहिअनुरुप ब्याख्या गरेर लागू गरे ।

हिन्दू समाजमा आजसम्मको चर्को जातिभेद त्यसैको परिणाम हो । सत्य के हो भने मनुस्मृतिको आडमा हिन्दू समाजमा जात–जातिको नाममा कलङ्कित जातिभेद स्थापित भयो र त्यसले आजसम्म पनि मानवद्वारा मानवलाई नै अपहेलित, पीडित र दमित बनाउदै आयो ।

जंगबहादुर राणाले सत्ता हातमा लिएपछि वि.सं. १९१० मा मुलुकी ऐन जारी गरी पहिलेदेखि ‘अछुत’ बनाईएका दलितहरुलाई ‘पानी नचल्ने’ जातका रुपमा कानुनी छाप लगाईदिए र त्यहि अनुसारको दण्ड सजायको व्यवस्था गरे अर्थात् छुवाछुतयुक्त वर्णव्यवस्थालाई लिखितरुपमै संस्थागत गरे ।

वि.सं. २०२० मा नयाँ मुलुकी ऐन जारी गरी ऐनको अदल १०(क) मा छुवाछुत र जातपातको भेदभाव गर्न नपाईने भन्ने उल्लेख त भयो । तर त्यहि महलमा सनातनदेखि चलिआएको परम्परालाई भेदभाव नमानिने व्यवस्थाले त्यो निरर्थक सावित हुनु स्वभाविक थियो ।

यसको प्रभाव राज्य र समाजका हरेक क्षेत्रमा यति जरो गाडेर बसेको छ कि मुलुकी ऐन खारेज भइसक्दा पनि यसका विभेदकारी संरचना र मूल्यमान्यता अन्त्य हुने छाँटकाँट देखिंदैन । बरु कतिपय बुज्रुक र बौद्धिक भनिएकाहरु नै त्यहि पुरानै स्थापित मूल्य मान्यताको दुहाई दिदैं उत्पीडित वर्ग समुदायमाथि अत्याचार गर्न लालायित देखिन्छन् ।

वर्तमान आधुनिक समाजमा धर्ममा भएका राम्रा कुरालाई धर्मकै नाममा समाजमा स्थापित गर्नु सम्भव छैन र गलत वा अपराधजन्य कामलाई धर्मकै नाममा दण्डनीय बनाउन पनि सकिदैंन । मान्छेले गर्ने सबै प्रकारका अपराधलाई कानुनमा व्यवस्था भए अनुसार दण्डित गर्नुपर्दछ र त्यसैअनुरुप कानुन निर्माण पनि हुदैं आएका छन् । धर्मग्रन्थमा भएका कुराले पूर्णरुपमा काम गर्न छोडेकाले नै कानुन बनाउन थालिएको हो । यो कुरा अहिलेका धर्म प्रचारकहरुले बुझ्नुपर्ने सामान्य कुरा हो ।

मानव सभ्यता विकसित हुँदै जाँदा, लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनले स्थान लिँदा धार्मिक मुल्य मान्यताहरु भत्किदै जाने कुरा स्वाभाविक हो । अबको युगमा धर्ममा यति राम्रा कुरा लेखिएका छन्, त्यसैलाई अँगाल्नुपर्छ भनेर अगाडि बढ्नु आवश्यक छैन । धर्ममा भएका राम्रा कुराहरु जीवनपद्धति सँगसँगै अगाडि बढ्छन् ।

नेपाली समाज यतिखेर पुराना सामाजिक–सांस्कृतिक मूल्य मान्यताहरुमाथि प्रश्न उठाउँदै समतामुलक समाज व्यवस्था स्थापना गर्न संघर्षरत छ । २००७ सालयता भएका पटकपटक राजनीतिक आन्दोलन तथा ऐतिहासिक जनआन्दोलन २०६२/०६३ पश्चात् मुलुकको राजनीतिक परिवर्तन त भयो तर हजारौं वर्षदेखि स्थापित विभेदकारी र अन्यायपूर्ण सामाजिक–सांस्कृतिक संरचनालाई भत्काउन सकेन ।

विगत लामो समयदेखि अन्याय, अत्याचार, शोषण, उत्पीडन र विभेद भोग्न बाध्य पारिएका मुलुकका बहुसंख्यक आदिवासी जनजाति, दलित, महिला, मधेशी लगायत उत्पीडित वर्ग तथा समुदाय ईतिहासको खास विन्दूमा आइपुग्दा यस्तो टकराव उत्पन्न हुनु स्वाभाविक थियो । किनभने नेपाली हिन्दू उच्च जातीय सामन्ती राज्यसत्ताले समाजका पिंधका समस्यालाई समानता, मानवअधिकार र समाजिक न्यायका आधारमा समाधान गर्न कहिल्यै पहल गरेन । बरु तिनलाई दबाईराख्न नै आफ्नो शक्ति लगाउँदै आयो, धर्म र भाग्यवादको ढोङ देखाईरहयो ।

तर, आजको २१औं शताब्दिको चेतना र विश्वब्यापिकरणको युगमा आफ्नो हक अधिकार, न्याय र अस्मिताप्रति सचेत हुँदै गएको नेपाली समाज सधैंभरी पिजरामा बस्न सम्भव थिएन ।

हिन्दू सामान्तवादमा आधारित वर्णव्यवस्था त्यस्तो सामाजिक व्यवस्था हो, जसले स्व–वर्गभित्र र सहयात्री वर्गबीच अनन्त फुट पार्दछ । भारतीय समाजबाट विकसित भएको हिन्दू सामन्तवादी वर्णव्यवस्थाको चर्चा गर्न यहाँ किन पनि आवश्यक छ भने नेपालको आजको राज्य र शासकीय सामाजिक संरचना त्यहि हिन्दू सामन्तवादी वर्णव्यवस्थामा आधारित छ । नेपाली समाज बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक भए पनि हिन्दू सामान्तवादी राज्यसत्ताद्वारा शोषित–पीडित सामाजिक–सांस्कृतिक विभेदयुक्त समाज हो ।

नेपाली समाज हिन्दू वर्णव्यवस्थामा आधारित समाज भएकाले स्वभाविकरुपमा नेपाली समाजका वर्ग पनि हिन्दू सामन्तवादी वर्णव्यवस्थाको उचनीचमय तहगत व्यवस्थाद्वारा निर्धारित हुनपुगेका छन र आजसम्म पनि त्यस सामन्तवादी वर्णव्यवस्थाबाट वर्ग तथा समुदाय जबर्जस्त रुपमा प्रभावित रहदै आएका छन् । फलस्वरुप नेपाली समाजमा रहेका गैर हिन्दू सम्प्रदायलाई पनि हिन्दू सामन्तवादी राज्य संरचनागत मुल्य मान्यता अन्तर्गत प्रशिक्षित गरिएको छ ।

हिन्दू वर्णव्यवस्थाको सबैभन्दा डरलाग्दो र अन्यायपुर्ण पक्ष भनेको जातव्यस्था अर्थात् जातका आधारमा नागरिकलाई उच–निच भनी स्तरीकरण गर्ने नै हो । संसारमा देखापरेका सबै जातीय समस्याहरुमध्ये छुवाछुत सबैभन्दा क्रुर र मानवीय सत्वलाई हिनताग्रस्त बनाउने समस्या हो । यो देख्दा सामान्य लाग्ने तर अनुभुति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो ।

नेपाली समाजको वस्तुगत चरित्र र विविधतालाई आजसम्मका राजनीतिक घटनाक्रम र राज्यसत्ताले आत्मबोध नै गर्नसकेन भन्दा अतियुक्ति नहोला । १९१० को मुलुकी ऐनले नै कानुनी रुपमै मानव समाजलाई ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र भनी स्तरीकरण र विभेदिकरण गर्ने काम गर्‍यो । जसलाई ‘सामाजिक सद्भाव’का नाममा संस्थागत गर्ने काम भयो । फलतः हिन्दू वर्णाश्रम र जातव्यवस्थामा आधारित अनेकन विभेदकारी सामाजिक मूल्य, मान्यता, संस्कृति, मानसिकता र प्रवृतिहरु अहिले पनि कायम छन् ।

‘बुहारीले राम्रोसँग खुट्टा माड्छे’ भने झैं सासुलाई त न्याय महसुस भयो होला तर बुहारीका नजरले हेर्दा बुहारीमाथि न्याय भयो कि भएन भनी हेर्न जरुरी छ । विभेदविरुद्ध कानुनी अधिकार सिर्जना गरेर मात्र हुँदैन । सामाजिक मुल्य, मान्यता र संरचनामा पनि तदनुरुप परिवर्तन ल्याउन उत्तिकै जरुरी हुन्छ । किनभने विभेदलाई सामाजिक मूल्य, मान्यता र संरचनाले मान्यता दिएको हुन्छ । कानुनी वा नीतिगतरुपमा यस सम्बन्धी नकारात्मक पक्षहरुलाई मात्र परिवर्तन गरेर हुँदैन । यस्ता नकारात्मक, विभेदकारी र अन्यायपूर्ण सामाजिक संरचनाहरु पनि परिवर्तन गर्दै लैजानु आवश्यक छ ।

नेपालको सन्दर्भमा जातीय छुवाछुत र महिला हिंसाविरुद्ध धेरै अगाडिदेखि नै कानुन बनेका छन् । तर सामाजिक संरचनाहरु भने जस्ताको तस्तै छन् । तिनीहरुलाई परिवर्तन गर्ने खालका कुनै प्रकारका नीति तथा कार्यक्रमहरु प्रभावकारी छैनन् । तसर्थ समस्याहरु हालसम्म पनि यथावत छन् । हिन्दू वर्णाश्रममा आधारित सामाजिक संरचनाको ऐतिहासिक विश्लेषण गर्न सकिएन भने यसले नेपाली समाजको सही किसिमले रुपान्तरण हुन सक्दोरहेनछ भन्ने कुरा आज प्रमाणित भईसकेकोे छ ।

नेपालमा जातीय सवालको विशिष्टता अन्य मुलुकहरुभन्दा फरक रहेको छ । एकातिर हिन्दूभित्रै जातको स्तरिकरण हुनु, अर्कोतर्फ यो स्तरीकरण अन्तर्गत पनि सबैभन्दा तल्ला तहमा राखिएकाहरुमाथि हिन्दू उच्च जातिहरुले नै शोषण र अपहेलित गर्नु आफैमा अन्यायपर्ण त छ नै, अचम्मलाग्दो पनि छ । तसर्थ, यसको कारकतत्वको पहिचान गरी नागरिकहरुबीचको जातीय विभेद र छुवाछुतको अन्त हुनु जरुरी छ । आजको नेपाली समाजको वर्गीय चरित्रलाई हेर्दा यसको बनावट मुलतः अझै पनि हिन्दू सामन्तवादद्वारा निर्मित वर्णव्यवस्थाकै तहगत संरचनामा रहेको देख्न सकिन्छ ।

तसर्थ, आज पनि नेपालका वर्गहरुमा वर्णव्यवस्था र यसबाट सिर्जित जातप्रथाको प्रभाव जबरजस्त रुपमा रहेको पाईन्छ । नेपालका राजनीतिक दलहरु विशेषतः वामपन्थीहरुले वर्गको कुरा त गरे तर वर्गको पक्षधरताले वर्णको उन्मुक्ति कसरी सम्भव छ भन्ने कुरामा भने यथेष्ट ध्यान दिन सकेनन् । जसका कारण वर्ण र यसले सिर्जना गरेका जातीय विभेदको उन्मुक्तिको कुरा गर्दा ‘जातीवादी र सम्प्रादायिक’को बिल्ला भिराईदिने गरेका छन् भने अर्कोतर्फ धर्म निरपेक्षताको विरोध गर्दै हिन्दू राज्यको माग गरेर फेरी पुरानै हिन्दू वर्णव्यवस्थालाई संरक्षण गर्नेतिर उन्मुख देखिन्छ ।

समृद्धि, सन्तुलित विकास र समतामुलक समाज निर्माणका लागि सबै नेपाली नागरिकहरुका सबै ज्ञान, सीप, क्षमता र सम्भावनाहरुका सबै ढोका खुल्ला राख्नु जरुरी छ । यसमा कुनै पनि नाममा कुनै पनि प्रकारका बार–बन्देज र विभेद रहनुहुँदैन । यहाँ कुनै एक जातले अर्को जातको तेजोबोध गर्ने वा विरोध गर्ने नभई मुलुक समृद्ध बनाउने यात्रामा सँगसँगै हातेमालो गर्दै अगाडि बढ्नुछ । सबैले सबैको भाषा, संस्कृति र पहिचानको सम्मान गर्ने गोरेटो निर्माण गर्नुछ ।

के मुलुकका बहुसंख्यक वर्ग तथा समुदाय गरीबी र पछौटेपनमै रहँदा विश्व मानचित्रमा मुलुकको शीर ऊँचो हुन्छ र ? के तिनै राज्यपोषित वर्ग तथा समुदायलाई पनि आत्मसन्तुष्टि र गर्व महसुस होला र ? अब शासनका लागि शासन होईन, समृद्धिका लागि शासन हुनुपर्छ । तसर्थ, अबको नयाँ नेपाल केवल भौतिक विकासले सम्पन्न मात्र होइन, समाजमा व्याप्त हरेक प्रकारका विभेद, अन्याय, शोषण र उत्पीडनको अन्त्यको सुनिश्चितता गर्न सकेमात्र समृद्धिले सार्थकता पाउनेछ ।

यसका लागि ‘सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली…’ भनेझैं सयौं थुङ्गामात्र होईन, विविध जातजाति, भाषा, धर्म, संस्कृतिको न्यायमा आधारित एउटै माला पनि बन्न जरुरी छ ।

(चौधरी सामाजिक अध्येता हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय