scheduleबुधवार श्रावण २१ गते, २०७७

बजेटको विरोधमा संसदमै मौनधारण (भिडियोसहित)

काठमाडौं, २ असार । राष्ट्रियसभाका एक सांसदले बजेटको विरोध जनाउने अनौठो शैली अपनाएका छन् । राजपाका सांसद मृगेन्द्रकुमार सिंह यादवले सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ल्याएको बजेटमाथि विरोध जनाउन १० सेकेन्ड मौनधारण गरेका हुन् ।

मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा उनले सांसदहरूलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने बताएलगत्तै उनले मौन धारण गरेका हुन् ।

मौनधारणपछि कुरा राख्नेक्रममा उनले सत्तापक्षका सांसदहरूले नै क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा सांसदहरूलाई वर्गीकरण गरेको आरोप लगाए । उनले प्रतिपक्षका सांसदहरू वर्गीकरणमा पनि पर्न नसकेको अनुभूति राखे । सांसद यादवले पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतीकात्मक विरोधस्वरूपमा दश सेकेन्ड मौनधारण गरेको स्पष्ट पारे ।

‘नेपाल सरकार अर्थात् सम्पूर्ण नेपालीको सरकार । सत्तापक्षको मात्रै होइन हामी प्रतिपक्षको पनि सरकार । तर, वर्तमान सरकरको चरित्र, आचरण र व्यवहार त्योअनुरूपको देखिएन,’ उनले भने ।

उनले अगाडि थपे, ‘त्यत्तिकै मात्रै होइन सम्पूर्ण सत्तापक्षको पनि सरकार भन्न पनि नमिल्ने किनकि हिजो मात्रै सत्ता पक्षका सांसदहरूबाट मनको व्यथा पोखियो । सत्तापक्षका सांसदहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ याने कि फर्स्ट क्लास, सेकेन्ड क्लास, थर्ड क्लास र फोर्थ क्लास श्रेणीमा वर्गीकरण गरिएको थाहा पाइयो । हामी प्रतिपक्षलाई त श्रेणीविहीन वर्गमा नै राखिएको होला ।’

सांसद यादवले भने, ‘त्यसैले सत्तापक्षका ‘ग’ र ‘घ’ श्रेणीमा परेका सांसदहरूको व्यथाप्रति सहानुभूति राख्दै यो सरकारबाट प्रस्तुत पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतीकात्मक विरोधस्वरूप दश सेकेन्ड मौनधारण गर्दै म यो विनियोजन विधेयकको छलफलमा भाग लिन्नँ ।’

भिडियोमा पनिः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय