scheduleसोमवार आश्विन ५ गते, २०७७

भारत युद्धसँग होइन वार्तासँग डराउँछ

अभि गाउँले

भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदी नेपाल भ्रमणमा आउँदा हमेशा नेपाल र नेपालीप्रति सद्भाव प्रकट गर्छन् । मोदीको हिन्दू धर्मप्रतिको आस्था र उनको आध्यात्मिक चिन्तनले नेपाली हिन्दू समुदायप्रति सकारात्मक प्रभाव पारेको देखिन्छ । यसकारण नेपालका प्रायजसो प्रसिद्ध धार्मिक स्थलहरूमा मोदीले दर्शन गरिसकेका छन् ।

बेलाबखत हुने उनको यो प्रकृतिको धार्मिक अवलोकन भ्रमणलाई नेपाली जनता र सिंहदरबारले त्यति शंकाको दृष्टिले हेर्दैन जति नेपालकै पूर्वराजा ज्ञानेन्द्र शाह मन्दिर पुग्दा गणतन्त्रवादीहरू अत्तालिएझैं गर्छन् । मनोकांक्षा पूरा गर्न, पाप प्रायश्चित गर्न, वरदान माग्न र भाकल गर्न बाहेक कोही पनि रमाइलो गर्न र अन्य अभिप्रायले मन्दिर जाँदैन । तर छिमेकी देशका प्रधानमन्त्रीले हेपाहा नीति अवलम्बन गरेको देख्दा यस्तो लाग्छ कि उनी जिब्रो काटेर गुरूदक्षिणा दिनुकोसट्टा उल्टै गुरूको जिब्रो थुत्न उद्यत छन् । भारतीय शक्तिहरूले नेपालको राजनीतिलाई चीलको पन्जामा मुसी बनाउँदै आएको तथ्य घटनाक्रमहरूले पुष्टि गर्दै लगेको छ । यही कारण पनि भारत नेपाललाई सधैं आफ्नो काबुमा राख्न चाहन्छ, सिक्किम र तिब्बत बनाउन इच्छुक छ ।

कुनै पनि दुई देशबीचको विवादित भूमि दुईटै देशको राजनीतिक नक्शामा एकैचोटि अटाउन सक्दैन । यस्तो जटील अवस्थामा सन्धी सम्झौता, ऐतिहासिक तथ्य, आपसी समझदारी वा कुटनैतिक वार्ताका माध्यमबाट समस्या हल गरिनु पर्दछ । यी विकल्पहरूले उचित न्याय गर्न नसकेमा अन्तर्राष्ट्रिय अदालतसम्म जान सकिने सहुलियत छ । पछिल्लो समय नेपाल-भारत सीमा विवादको मुद्दा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवाजहरू देशभित्रै उठिरहेका छन् । यसैबीच, गुमेको भूभागसहितको नेपालको निशान छाप संविधान संशोधन गरी बहुमतले पारित भएको रमाहटसङ्गसङ्गै गम्भीर चुनौति पनि थपिएको छ । जुन दिन नेपालको इतिहासमा गौरवपूर्ण दिन हुन्छ, त्यही दिन किन भारतलाई कालो दिन बन्न पुग्छ ? सन् १८१६ को सुगौली सन्धियता नेपालले कुनै पनि सन्धी नगरेको भए खुरूक्क जमीन फिर्ता गर्नुपर्‍यो नत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा कसले कहिले बेचेको हो भारत बोल्नैपर्छ । किनभने राष्ट्रघाती दलाललाई हामी टुँडिखेलमा झुन्ड्याउन आतुर छौं । जुन देशले ‘सत्यमेव जयते’ अर्थात् सत्यको सधैं जीत हुन्छ भन्ने वाक्यलाई आदर्श वाक्य मान्दछ भने दुबै देशतर्फका तथ्य र प्रमाणहरूलाई सत्यको कसिमा राख्न किन इन्कार्छ भारत ? नेपाल-भारतको इतिहासकालदेखिको रोटीबेटीको सम्बन्धलाई कुटिपिटी मार्न राजी छन् मोदी ?

मलाई आजकल भारतसङ्ग निकै डर लाग्न थालेको छ । नेपालमाथि सधैं नाकाबन्दी गरेर नेपालीलाई आत्मनिर्भरताको बाटोमा डोर्‍याउने हो कि ? विषादी प्रयोग गरिएको तरकारी आफै मात्रै खाने हो कि ? कोशीको बाँध फुटाएर सप्पै पानी भारततिर लैजाला कि ? पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म नेपालको भूमि फिर्ता दिन्छ कि ? भारतीय सैनिकमा गोर्खा भर्ती केन्द्र रद्द गरेर पाकिस्तानमा भर्ती केन्द्र स्थापना गर्ने होला कि ? नेपालका प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै चुन्ने जिम्मा नेपाली जनतालाई फिर्ता गर्ला कि ? नेपालको संसदमा रडाको मच्चाउने आफ्ना चेलीबेटीलाई तीजको दर खान माइत बोलाउँछ कि ? भारतमा रहेका पचास हजार नेपाली जनशक्तिलाई देश निकाला गरेर पठाउने त होइन ? फेरि दलहरूबीचको एकता बलियो भयो भने ? यस्ता अनगिन्ती डरहरू लाग्न थालेका छन् । तर भारतले नेपालमाथि हमला गर्ला र मरिएला भनेर रत्तिभर डर लाग्दैन । किनभने डरभित्र सास दबिएर बस्छ सङ्गै त्यसमा साहस पनि लुकेको हुन्छ । हो, हामीसँग त्यो अदम्य साहस अझै बाँकी छ ।

अभि गाउँले

अहिले भारतीय मिडियाहरू नेपाल सरकारप्रति रुष्ट र आक्रामक बनेका छन् । नेपालबारे भ्रामक सन्देश फैलाइरहेको भारतीय मिडियाहरूको कुरा सुन्दा लाग्छ उनीहरू नेपालसङ्ग युद्ध गर्न तम्तयार अवस्थामा छन् । राष्ट्रिय सुरक्षा सतर्कताका लागि भारतले १२० देखि १३० को सङ्ख्यामा आणविक हतियार सञ्चित गरी राखेको बताइन्छ । भारतले अहिलेसम्म ३ पटक परीक्षण गरिसकेको छ भने यसको सुरुवात चाहिँ सन् १९७४ मा गरेको थियो । सैन्यशक्तिकै कुरा गर्दा भारत विश्वकै चौथो ठूलो सैन्यशक्ति भएको मुलुक हो । भारतले ऐतिहासिक दस्तावेजहरूका आधारमा भन्दा पनि बलमिच्याइँ गरेर हैकम जमाउने मनोवृत्ति बोकेकाले नेपालमाथि यो स्तरको अहंकार प्रदर्शन गरिरहेको छ । हुन त आणविक हतियारमा भारत नै विश्वको बलियो देश होइन । आणविक हतियारमा सम्पन्न मुलुकहरूले विश्व शान्तिका लागि यसको न्यूनीकरणमा ऐक्यबद्धता जनाइसकेको परिप्रेक्ष्यमा भारतको आफ्नै छिमेकीसङ्ग युद्धको संकेत गर्नु विश्व मानव जगतका निम्ति सुखद छैन । अन्तर्राष्ट्रिय सुरक्षा भङ्ग गराउने लक्ष्यका साथ यदि कसैले अहमता देखाउँदछ भने त्यो उसैका खातिर प्रत्युत्पादक बन्नेछ ।

भारतले नेपाली माटोमा आफ्नो वर्चस्व कायम राख्ने अन्तिम अस्त्रको रूपमा युद्धलाई लिएछ भने पनि उसले बाह्र हात पछाडि फर्किएर सोच्नैपर्छ । स्वतन्त्र भारतका पहिला फील्ड मार्शल साम मनेकशाले भनेका थिए, ‘कोही मान्छेले मर्न डर लाग्दैन भन्यो भने कि त ऊ झुट बोलिरहेको छ कि त ऊ गोर्खा हो ।’ सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज युद्धमा सर डेभिड अक्टरलोनी गोर्खा रेजिमेन्टबाट अत्यधिक प्रभावित भई यस्तै गुण भएका सैनिकको रेजिमेन्ट बनाउन उत्सुक भए । यो रेजिमेन्टलाई पछि फर्स्ट किङ जर्ज्स ओन गुर्खा राइफल्स भनियो । अहिले भारतीय सेनामा ४० हजारभन्दा बढी गोर्खा सिपाही छन् । सात रेजिमेन्टका ४२ विभिन्न बटालियनमा तिनीहरू विभक्त छन् । यति मात्र होइन भारतले आफ्नो विगतलाई बिर्सेर सानो भूगोललाई निल्ने दुस्साहस कहिल्यै नगरोस् ।

नेपाल दुई ठूला छिमेकीको काखमा रम्न चाहन्छ । कसैलाई काखा र कसैलाई पाखा गरेर बस्न रूचाउँदैन नेपालले चीन र भारतसङ्ग मात्रै मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न सक्यो भने पनि स्थिर अर्थतन्त्रले गति लिन सक्छ । त्रिदेशीय सम्बन्धलाई थप प्रगाढ र विश्वसनीय बनाउन सकियो भने हामीले विकासको मेलो समात्न सक्दछौं । यी अचुक सम्भावनाहरूलाई लत्याएर नेपाल भारतसङ्ग वैमनस्यता कायम राख्न सक्दैन । तसर्थ सत्यको जगमा टेकेर भारतले नेपालसङ्ग सम्मानपूर्वक वार्ताको टेबुलमा बस्नुपर्छ । भारत अनन्तकालसम्मै ब्रिटिश साम्राज्यको अपमानित इतिहासको भागिदार छ । तर नेपाल न पहिले झुक्यो न अहिले झुक्छ न भविष्यमा झुक्छ । भारतले सधैं अपमानजनक र असमानताको व्यवहार कायम राख्ने हो भने छिमेकीको नाता तोड्न तयार छौं तथापि युद्ध चाहँदैनौं । नेपाली इतिहास आदिकालदेखि रचिएको छ । जतिबेला नेपाल एउटा देश थियो भारत प्रान्तहरूमा शासित थियो । पृथ्वीनारायण शाहले भनेका थिए, ´दक्षिणको छिमेकी धूर्त छ, होशियार रहनु । यदि भारतमा ब्रिटिश मात्र नआइदिएको भए आधा भारत नेपालले खाइदिनेथियो । ब्रिटिशले भारतलाई ठूलो बनाइदिएका हुन्, अहिले हामीसङ्ग फुर्ती लाउन सुहाउँछ ?` सुहाओस् पनि कसरी ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद अनेक शंकाको घेरामा रहे पनि सीमा विवादमा भने प्रशंशनीय नै देखिन्छ । भारतसङ्गको सीमा समस्या र अमेरिकी सहयोग एमसीसीबीच कतै न कतै अन्तरसम्बन्धित छ कि जस्तो पनि देखिन्छ । किनभने सरकारको अडान दुबै मामलामा उस्तै छ । अमेरिकाको दबाबले भारत नेपालको सीमा क्षेत्रबाट हट्न सक्ने सम्भावना छ जतिबेला नेपालले हुबहु एमसीसी अनुमोदन गर्छ । एकातिर राष्ट्रघाती एमसीसी पारित गर्न हतार देखिनु र भारतसङ्ग नझुकेर राष्ट्रवादी देखिनु शंकास्पद अवश्य छ नै । यी सबै परिदृश्यका अगाडि देशको माटोलाई जोगाउनुपर्ने जिम्मेवारी छ । हामी भारतसङ्ग लड्न सक्दैनौं तर हार्न पनि सक्दैनौं । त्यसैले आऊ भारत नडराऊ युद्धस्तरमा वार्ता गरौं । जय नेपाल ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय