scheduleआइतवार श्रावण २५ गते, २०७७

भारतविरुद्ध चीनले फायरिङ खोल्यो, के हुनसक्छ सन्देश ?

साझापोस्ट टिप्पणी

काठमाडौं, ३ असार । गत सोमबार राति गल्वान भ्यालीमा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सेना मारिएको भारतले जनाएको छ । त्यसअघि एक कर्नेलसहित तीन सैनिक मारिएको बताइएको थियो । भारतीय सेनाले मृतक कर्नेल सन्तोष, हवल्दार पलानी र जवान केके ओझाको नाम समेत सार्वजनिक गरेको थियो ।

तर मंगलबार जारी वक्तव्यमा भारतले उक्त भिडन्तमा आफ्ना २० सैनिक मारिएको र थप १७ गम्भीर घाइते भएको जनाएको छ । तर चीनले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । चिनियाँ जनमुक्ति सेनाका पश्चिम सैन्य कमाण्डर जाङ सु लीले एक वक्तव्य जारी गर्दै भारतीय सेनासँग झपड भएको स्वीकार गरेका छन् । दुवैतर्फको हताहतीबारे कुनै उल्लेख गरेका छैनन् ।

जाङ सु लीको वक्तव्यमा भारतीय सेनाले गैरकानुनी ढंगले २ पटक नियन्त्रण रेखा पार गरेको, चीनतर्फ प्रवेश गरी अवाञ्छित क्रियाकलाप गरेको अरोप लगाइएको छ । भारतीय सेनालाई चीनको सार्वभौमसत्तामा खलल पुग्ने गरी कुनै कार्य नगर्न र नियन्त्रण रेखाबाट पछि हट्न समेत चेतावनी दिइएको छ ।

भारतीय पक्षले भने भारतीय सेनाले कुनै काम नगरेको जनाएको छ । नियन्त्रण रेखा क्षेत्रमा नियमित गस्तीमा रहेको टुकडीमाथि चिनियाँ सेनाले अनावश्यक फाइरिङ गरेको भारतीय पक्षको भनाई छ । भारतले भारतीय सेना देशको सार्वभौमसत्ताको रक्षा र सीमा सुुरक्षाका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरेको छ ।

सन् १९७५ यता चीन र भारतको सीमा कुनै गोलावारी भएको थिएन । स्न १९६२ मा भारत र चीनबीच सीमा युद्ध भएको थियो । सोमबार झडप भएको गल्वान भ्याली रणनीतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । त्यो क्षेत्र भारतको लदाख र चीनको अक्साई चीन क्षेत्रमा पर्दछ । त्यो विन्दूबाट चीनको तिब्बत जोड्ने हाई वेनजिक पर्दछ ।

सन् २०१७ मा पनि भारतीय र चिनियाँ सेना दोक्लाममा आमनेसामाने भएका थिए । दोक्लाम भारत, चीन र भुटानको त्रिदेशीय सीमा विन्दू हो । ७३ दिन निरन्तर आमनेसमाने हुँदा पनि दोक्लाम विवादका दुवै पक्षले गोली चलाएका थिएनन् । दोक्लाम विवाद वार्ताद्वारा हल भएको थियो ।

भारत र चीन बीच हुने सीमा विवाद नयाँ हैन । दुई देशबीच ३, ४८८ किमि सीमा स्तम्भ नराखिएको सीमाक्षेत्र पर्दछ । सीमाबारे हुने विवादलाई दुई देशले सहमतिमा हल गर्दै आइरहेका थिए । यसपटक चीनले किन फायर खोल्यो ? यसको अर्थ के होला ? विभिन्न विश्लेषण हुन थालेका छन् ।

चिनियाँ सैन्य टुकडीसँगको झडपसँगै भारतमा मोदी सरकार निरन्तर दबाबमा पर्दै गइरहेको छ । एकातिर कोरोनाको तीव्र संक्रमण र चौपट अर्थतन्त्र छ । अर्कोतिर संविधानको धारा ३७० को खारेजीपछि पाकिस्तानसँगको सम्बन्ध झनझन तिक्ततापूर्ण छ । यता नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संसदबाट एक मतले पारित गरेको छ । यस्तो बेला चिनियाँ जनमुक्ति सेनासँग भएको झडप र हताहतीले प्रधानमन्त्री मोदी चौतर्फी घेराबन्दी र तनावमा परेको बताईंदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो टिप्पणी तयार गरुन्जेलसम्म यी सबै घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन् । मोदीको मौनतालाई लिएर विपक्षी दलले चर्को आलोचना गरिरहेका छन् भने सामाजिक सञ्जालमा मोदीबारे अनेक सकारात्मक नकारात्मक टिप्पणीहरुको बाढी आएको छ ।

विश्लेषकहरुका अनुसार चीनले तत्काल ठूलो संख्याको हताहती हुने गरी फायर खोल्न जरुरी थिएन । यसको अर्थ यो सीमा विवादसँग मात्र नभएर समकालीन विश्व शक्ति सन्तुलनकै एक कडीको रुपमा भारतमाथि दबाब सृजना गर्नु हुन सक्दछ । अहिले अमेरिका र चीनबीच शीतयुुद्ध जारी छ । भारत अहिलेसम्म चीनको विआरआई योजनामा सामेल छैन । भारतले अमेरिकाको इन्डोप्यासिफिक रणनीतिमा सामेल हुने मनसाय देखाइरहेको छ । चीनको आक्रमण प्रस्तुती भारतलाई दबाबमा पारी आइपिएसमा सामेल हुन नदिने हुन सक्ने कतिपय विश्लेषकहरुको ठहर छ ।

ग्लोबल टाइम्सका अनुसार उक्त झडपमा चीनतर्फ पनि पाँच जनाको मृत्यु भएको हुन सक्ने अनुमान छ । ग्लोबल टाइम्स चीनको सत्तारुढ कम्युनिष्ट पार्टी निकट पत्रिका हो । यसमा सम्पादक हु सिजिनले ट्वीटरमा लेखेका छन्, ‘गल्वान भ्यालीको भौतिक झडपमा चीन तर्फ पनि हताहति भएको छ ।’ तर उनले थप प्रष्ट भने पारेका छैनन् । चीन निकट समाचार माध्यमहरुले जनाएअनुसार चीन निक्कै आक्रामक मुडमा रहेको बताइन्छ ।

उनले भारततर्फ पछि भएको १७ सैनिकको मृत्यू समयमै उद्धार हुन नसक्दा भएको बताएका छन् । भारतले आफ्ना घाइते सेनालाई समयमै उद्धार र उपचार गर्न नसक्दा उनीहरुको मृत्यू भएको उनले दावी गरेका छन् । उनले भारतीय सैनिक क्षमता कमजोर रहेको टिप्पणी गरेका छन् ।

करिब एक महिना अघि चिनियाँ जनमुक्ति सेनाको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सि जिङ पिङले जुनसुकै बेला युद्ध हुन सक्ने स्थिति भएकोले तयार अवस्थामा रहन भनेका थिए । यो अवस्थामा भारतको रणनीति र प्रतिक्रिया कस्तो हुन्छ ? अहिलेसम्म प्रष्ट छैन ।

विश्वले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिक्रिया पर्खिरहेको छ ।

कोरोनाको विश्वव्यापी संकटबीच चीन र भारत बीच युद्ध भड्किए त्यसले विश्वको राजनीतिक शक्ति सन्तुलन मै निक्कै ठूलो गडबडी ल्याउने विश्लेषकहरुको ठहर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय