scheduleमगलवार श्रावण २० गते, २०७७

पाकिस्तानसामू भारत निरीह बनेको त्यो अविस्मरणीय फाइनल

प्रतिक भट्ट/काठमाडौं, ४ असार । तीन वर्षअगाडि आजकै दिन आइसिसी च्याम्पियन्स ट्रफीको फाइनल खेल सुरु हुनुपूर्व भारतीय कप्तान विराट कोहली र पाकिस्तानका कप्तान सरफराज अहमदको लक्ष्य एउटै तर मनस्थिती फरक थियो ।

भारतले समूह चरणको खेलमा पाकिस्तान लाइ पराजित गरको थियो र कोहली त्यही नतिजा फाइनलमा पुन दोहोर्‍याएर आफ्नो कप्तानीमा भारतका लागि पहिलो आइसिसी प्रतियोगिताको उपाधि जित्न चाहन्थे ।

उता पाकिस्तानका कप्तान भने समूह चरणको बदला र भारतसँगका पछिल्ला धेरै भेटमा सामना गर्नुपरेको हारको बदला समेत लिने दाउमा थिए । आइसिसी प्रतियोगिताका इतिहास हेर्दा भारत बलियो देखिए पनि पाकिस्तानी टोलीमा उच्च मनोवल भएको कुरा बाबर आजम, फकार जमान र मोहम्मद आमिर जस्ता खेलाडीको त्यसबेलाको फर्मबाट प्रष्ट हुन्थ्यो । त्यसकारण पनि यो फाइनल केही रोचक हुनेमा धेरैको विश्वास थियो ।

चर्चित ओभल क्रिकेट मैदानमा फाइनल खेलको टस पाकिस्तानी कप्तान सरफराजले जिते र ब्याटिङमा उत्रने निर्णय गरे । निर्णय सही साबित गर्दै ओपनर फकार जमानले शतक प्रहार गरे, उनले हार्दिक पंड्याको बलमा रविन्द्र जडेजाको हातमा क्याच थमाउनुपूर्व १०६ बलमा ११४ रन बनाएका थिए ।
फकारसँग मिलेर पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेका अर्का ओपनर अजहर अलीले ५९ रन बनाएका थिए । त्यसैगरी मोहम्मद हाफिजले अविजित ५७ र बाबर आजमले ४६ रनको योगदान दिएका थिए र पाकिस्तानले ५० ओभरमा ४ विकेट गुमाएर ३३८ रनको विशाल स्कोर खडा गर्‍यो ।

३०० रनभन्दा बढीको लक्ष्य भारतले धेरैपटक पछ्याएर जितेको पनि इतिहास छ त्यसकारण भारतीय समर्थकहरु खासै चिन्तित भने देखिएका थिएनन् । ३३९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको भारतको इनिङ सुरुवातदेखि नै लडखडाउन थाल्यो । बायाँहाते तीव्र गतिका बलर मोहम्मद आमिरले ओपनर रोहित शर्मालाइ ० रनमै मै एलबीडब्ल्यु धरापमा पारे ।

त्यसपछि ब्याटिङमा आएका कप्तान कोहली पनि ५ रनमा आमिरकै बलमा शादाबको हातबाट समातिए । भारतीय इनिङ सम्हाल्ने प्रयास गरेका अर्का ओपनर शिखर धवन पनि २१ रनमा आमिरकै बलमा आउट भएपछि भारतले ३ महत्वपूर्ण विकेट गुमाउँदा उसको स्कोर मात्र ३३ थियो ।

त्यसपछि आएका युवराज सिंह, महेन्द्रसिंह धोनी र केदार जाधव पनि सस्तैमा पेभेलियन फर्केपछि भारतले ७२ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । अब भारतले यस्तो अवस्थाबाट जित निकाल्न लगभग असम्भव थियो । ब्याटिङमा आएका हार्दिक पंड्याले केही विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा ७६ रन बनाए पनि त्यो जीतका लागि पर्याप्त थिएन ।

७६ रनमा रनआउट भएपछि भारतको इनिङ धेरैबेर टिकेन र भारत केवल ३०.३ ओभरमा मात्र १५८ रनमा अलआउट भयो र १८० रनको नमीठो हार चाख्न बाध्य भयो ।

सो खेलपछि पाकिस्तानले विश्व क्रिकेटमा कम हुँदै गएकोे दावेदारी पुनर्जीवित गर्ने कुरा को छनक देखाइसकेको थियो । पाकिस्तानले भारतलाइ हराएर उपाधि नै जितेको कुरा कमै हुने गर्छ वा भन्नुपर्दा त्यस्तो इतिहास पनि छैन ।

भारतीय कप्तान कोहलीको कप्तानीमा भारतको यो दोस्रो आइसिसी प्रतियोगिता थियो । यसअघि २०१६ को टि(२० विश्वकपमा पनि भारत सेमिफाइनलबाटै बाहिरिएको थियो र सन् २०१९ को एकदिवसीय क्रिकेटको पनि सेमिफाइनलबाटै बाहिरिएको थियो ।

व्यक्तिगत रेकर्डमा अब्बल देखिएका भारतीय कप्तान कोहली अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतलाइ सफलता दिलाउन भने कमजोर देखिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय