scheduleशनिवार श्रावण २४ गते, २०७७

प्रधानमन्त्री विज्ञ कि बेसारे ?

रुद्रप्रसाद भट्ट

“तिमी माया बेसारे छौ रे !
लाको माया लाछैन भन्छौ रे !!!”

गाउँघरमा वनपाखामा घाँस काट्न र गाई चराउन जाँदा दाइ-दिदीहरुले यो गीत खुबै गाउँथे । गीतको भाव नबुझे पनि हो मा हो गर्दै हामीले पनि “बेसारे माया” भनेर गीत गाउनेलाई खुबै जिस्काइन्थ्यो । बेसार र मायाको बीचमा के सम्बन्ध होला र यसरी गीत बनाउँदा हुन् भन्ने चाहिँ लागिरहन्थ्यो । लोकगीत मन पराउने भए पनि गीतका टुक्काले कसलाई के भनेर घोच्ने ? कसरी फर्काउने ? अनि गीतको टुक्काबाटै गीत फर्काएर आफ्नो बहादुरी प्रदर्शन गर्ने भन्ने चाहिँ मलाई ज्ञान थिएन र छैन पनि ।

“बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो” भनेजस्तै मायाको कुरामा बेसार कसरी आयो होला ? किन बेसारे भनेर जिस्काएको होला ? यी र यस्तै गीतका टुक्काबारेको आफ्नो जिज्ञासा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन बोल्ने “कोरानाको औषधी बेसार”सम्म आइपुग्दा पनि ठम्याउन गाह्रो भएको छ । हाम्रो देश जल, जमीन, जलस्रोत र जडीबुटीको धनी देश भए पनि प्रधानमन्त्री केपी शर्मा ओली जल, जमीन र जलस्रोतमा कहिल्यै प्रवचन दिँदैनन् । तर, आजभोलि बेसारको बारेमा चाहिँ खुबै चर्चा छ । बालुवाटारमा हुने महत्वपूर्ण भेटघाट र संसदमा हुने सम्बोधनमा प्रधानमन्त्री ओलीले बेसारको गुणको बारेमा प्रवचन शुरु गरेका छन् । यसैका कारण पनि कोरोना, सडक आन्दोलन, भ्रष्टाचार, लकडाउन भन्दा पनि हिमाली हावा, यार्सा, बेसारपानी अहिले चर्चित छ । हाम्रो आफ्नै उत्पादन बेसार त बहुउपयोगी र गुणकारी औषधी भैगयो तर बेसार जति गुणकारी छ त्यो भन्दा ‘बेसारे’ प्रवृत्ति चाहिँ खराब र हानीकारक मानिन्छ । बेसारले सकेसम्म अरुलाई पनि आफ्नै रंगमा बदल्न खोज्छ तर बेसारेले चिप्लो कुरा गरेर रिझाउन खोज्छ र मौका पाएपछि आफू छेपारो जस्तै रंग बदल्न सिपालु हुन्छ । त्यसैले हाम्रो भाषामा बेसारे भनेको चिप्लो कुरा गरेर रिझाउन सिपालु, लोलोपोतो गर्न जान्ने र चेप्य्राईँ पार्न सक्नेलाई भनिन्छ ।

यतिबेला देशमा कोरोना भाइरसको संकट छ । करीब ८ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको र २२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कोरोनाकै नाममा सरकारले दाबी गरेको १० अर्ब तर हिसाब देखाएको ८ अर्ब ३९ करोड खर्च भैसकेको छ । यति ठूलो स्वास्थ्थ संकटमा पनि प्रधानमत्री कुनै पनि दिन चिन्तित र जिम्मेवार भएको पाइएन । जहिले मजाक, ठट्टा र जुहारीमै व्यस्त प्रधानमन्त्रीको कुरा बेसारको र चरित्र बेसारे बन्दै गएको छ ।

नेपालमा कोरोना कडा छैन, आत्तिनु पर्दैन, यसबाट कोही मर्दैन भन्दै आएका प्रधानमन्त्रीले शुरुमा ७ प्रदेशका मुख्यमन्त्रीसँग भिडियो च्याटमा तातोपानीले हात धुनुस, फ्याटीय तत्व मरेर जान्छ भन्ने हल्का र ठट्यौली कुरा गरे । त्यसलगत्तै नेपालमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि कोरोनाले मृत्यु भएकै होइन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिन थालेका प्रधानमन्त्रीले पछिल्लो कोरोना प्रवचनमा पनि कोरोनाबाट २२ को मृत्यु भएको कुरा स्वीकार गरेनन् । अझै उनले कोरोना भाइरसबाट मरेको भन्ने म पत्याउँदिनदेखि यसबाट बच्न बेसारपानी खाने, हाच्छ्युँ गर्ने र कोरोना भाइरस उडाइदिनेसम्म भन्न भ्याए । प्रधानमन्त्रीले न विश्व स्वास्थ संगठनको कुरा पत्याउँछन् न डाक्टरको सल्लाह सुन्छन् । आफूबाहेक अरु कसैको कुरा नसुन्ने र नपत्याउने प्रधानमन्त्रीले स्वास्थ्य सामग्री खरिद, जनतालाई राहत, माफिया र दलालका चलखेलले राज्यको ढुकुटी रित्तिँदै गएको कुरा पनि पत्याउन तयार छैनन् । आफ्नै पारामा घरेलु विधि सिकाउने र ठट्यौली प्रवचन दिने बानी परेका प्रधानमन्त्री बेसारको कुरा तर बेसारे व्यवहार गर्न खप्पिस भैसकेको कुरा अब हाम्रा लागि नौलो रहेन ।

राज्य सञ्चालनको हिसाबले धेरै ठाउँमा चुकेका प्रधानमन्त्री ओली यत्रो स्वास्थ्य संकटको बेला पनि कहिले पार्टी फुटाउने अध्यादेश ल्याउँछन्, कहिले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने कुरा गर्छन् त कहिले संसद भवनमै बसेर बेसारपानीको कुरा गर्छन् । यी सबै बेसारे कुरा आकस्मिक हुन् वा जानी-जानी बोलिएका हुन् ? कवि हृदयका प्रधानमन्त्रीले भावनामा बगेर बोलेका हुन् वा आवेगात्मक रुपमा प्रकट भएका कुण्ठा, आक्रोश र लज्जाको उग्र रुप हो ? सडकमा आन्दोलन गर्नेलाई मन नपराउने, सदनमा प्रतिपक्षीलाई देखि नसहने, कहिले छिमेकीसँग लौ आइज भने जसरी प्रस्तुत हुने, कहिले मिडियालाई देखिनसहने यस्तो व्यवहार प्रधानमन्त्रीमा बेला-बेला किन प्रकट हुन्छ ? बेसार, यार्सा, हिमाली जटीबुटी र स्वच्छ हावाको कुरा गर्ने प्रधानमन्त्री आफैंले चाहिँ यी सबै रोग निको हुने जडीबुटी किन पत्ता लगाउन नसकेको ?

थरी-थरीका उखान-टुक्का र ठट्यौलीमा चिप्लो कुरा गरेर अरुलाई रिझाउन सिपालु प्रधानमन्त्री अहिले किन हो रिसाउने, झन्किने, आक्रोशमा आउने र अनेक बेढंगको तर्क-वितर्क गरिरहने ? के प्रधानमन्त्रीलाई सञ्चै त छ ? लामो समयदेखि विरामी अवस्थामा पनि दौडधुप गर्ने, १४ घण्टा भन्दा बढी काम गर्ने, पार्टी र सरकार दुबैको नेतृव गर्ने प्रधानमन्त्रीलाई अब आरामको जरुरत पनि हुनसक्छ । अरुले भनेको कुरा खासै नसुन्ने प्रधानमन्त्रीलाई उनका स्वास्थ्य सल्लाहकारसहित राजनीतिक, प्रेस, परराष्ट्र विज्ञले अब अरु सल्लाह भन्दा आरामको लागि सल्लाह दिने हो कि ? कोरोना लागेका जनतालाई बेसार पानी खाएर कोरोना धपाउ भन्न जति सजिलो छ आफूले त्यही विधि अपनाएर आराम गर्न कति गाह्रो होला भन्ने ख्याल प्रधानमन्त्रीले पनि गर्नु जरुरी भएन र ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय