scheduleआइतवार श्रावण २५ गते, २०७७

भारत–चीन झडप भएको गल्वान भ्यालीको रणनीतिक महत्व के हो ?

साझापोष्ट टिप्पणी

काठमाडौं, ५ असार । जुन १५ तारिक राती भारत–चीन सैन्य झडपमा १ कर्णेलसहित २० भारतीय सेनाको मृत्युपछि गल्वान भ्याली चर्चामा आएको छ । यो झडपमा चीनतर्फ ४३ जनाको हताहती वा घाइते भएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको भनाइ छ । तर चीन सरकार यसबारेमा मौन रहँदै आएको छ । चीनतर्फको सैन्य क्षति अहिलेसम्म प्रमाणित भएको छैन ।

गल्वान भारतको केन्द्रशासित प्रदेश लद्दाखको उत्तरपूर्वी इलाका हो । यो इलाका स्वतन्त्र जम्मुकश्मिर राज्यको एक भाग थियो । जम्मुकश्मिरको विलयपछि यो हिमाली राज्य ३ देशमा विभाजित भयो । अक्साई चीन चीनतिर गयो । केही भाग पाकिस्तानतिर गयो भने जम्मु, कश्मिर र लद्दाख भारतसँग रह्यो । गत बर्ष भारतको संविधानको धारा ३७० खारेजपछि जम्मुकश्मिरको विशेष मान्यताप्राप्त प्रदेशको हैसियत समाप्त भयो । जम्मु र कश्मिरभन्दा भिन्नै लद्दाख केन्द्र शासित प्रदेश बन्न पुग्यो ।

जम्मुकश्मिर मुस्लिम जनसंख्या बहुल क्षेत्र हो । लद्दाख भने हिमाली मूलका मंगोल बुद्धिष्ट जातिहरुको बाहुल्य क्षेत्र हो । सन् १८९९ मा कश्मिरी खोजकर्ता गुलाम रुसेल गल्वानले यो भ्याली पत्ता लगाएका थिए । एक बेनाम हिमाली नदी तर्ने उनी पहिलो मान्छे थिए । उनकै नाममा नदीलाई गल्वान नदी भन्न थालियो र आसपासको इलाकालाई गल्वान भ्याली भनिन्छ । यो नदी काराकोरमको पूर्वी क्षेत्रबाट बग्न शुरु गर्दछ ।

गल्वान भ्यालीलाई चीन अक्साई चीनको अंग मान्दछ भने भारत लद्दाखको अंग मान्दछ । भारत–चीन विवादको मुख्य कारण यही फरक सोच हो । सन् १९६२ मा पनि यहाँ भारत–चीन भीडन्त भएको थियो । भारतीय सामजुङलिङ पोष्टमा चिनियाँ जनमुक्ति सेनाले आक्रमण गर्दा ३३ भारतीय सेना मारिएका थिए र सयौं घाइते भएका थिए ।

गल्वान नदीको समानान्तर अर्को नदी बग्दछ– श्योक नदी । यी दुबै नदी काराकोरमको पूर्वी रेन्जबाट पश्चिम बग्दछन् । दुबै नदी सिन्धु नदीका मुहानी सहायक नदी हुन् । यो क्षेत्र मानव वस्ती अत्यन्त कम भएको क्षेत्र हो । यो इलाका व्यापार रुट र यात्रीहरु बास बस्ने इलाकाका रुपमा प्रयोग हुन्थ्यो ।

अक्साई चीन चीनका दुई प्रान्त तिब्बत र सिन्जियाङमा विभक्त छ । तर भारतीयहरु कुनै समय जम्मुकश्मिर राज्यको इलाका भएको र जम्मुकश्मिर भारतमा विलय भएको हुँदा सम्पूर्ण अक्साइ चीन क्षेत्र नै भारतको हुनुपर्ने धारणा राख्दछन । सन् १८६५ मा भारतीय सर्वेयर विलियम जोन्सनले अक्साई चिन क्षेत्रलाई कश्मिरमा सामेल गरी रेखा खिचेका थिए । भारत जोहन्सनको रेखालाई आधिकारिक नियन्त्रण रेखा मान्दछ ।

यस इलाकामा पैंगग-त्सो नामको एक प्रसिद्ध ताल छ । यो तालको तीन चौथाई भाग चीनको नियन्त्रणमा छ भने बाँकी एक चौथाई भारतको । यो क्षेत्रको भौगोलिक बनौट आठ औंलेजस्तो भएको हुँदा यसलाई ‘एट फिन्गर्स एरिया’ पनि भनिन्छ । भारतको भनाइमा फिंगर ६ बाट नियन्त्रण रेखा शुरु हुन्छ । चीनको भनाइमा फिंगर ४ बाट नियन्त्रण रेखा शुरु हुन्छ । भारतको अन्तिम पोष्ट फिंगर ४ मा छ । फिंगर ५ र ६ को इलाका विवादित मानिन्छ ।

फिंगर ४ सम्म भारतीय सडक छ । फिंगर ७ र ८ सम्म चीनियाँ सडक छ । चिनियाँ सडक तिब्बेतियन हाइवेसँग जोडिन्छ । तर, फिंगर ५ र ६ को इलाकामा ससाना कच्ची सडक छन् । यही क्षेत्रमा गस्ती गर्दा भारत–चीन सेनाबीच भिडन्त भएको हो । श्योक नदीमा भारतीय पुल छ । यसपटक चिनियाँ सेना श्योक नदीको पुलसम्म आएको छ । चिनियाँ सेना यहाँसम्म आएको पहिलो पटक हो । यो क्षेत्र अक्साई चीनको परम्परागत सीमाभन्दा बाहिर छ । चिनियाँ सेना श्योक नदीको पुलसम्म आउनुलाई भारतीय पक्षले अतिक्रमण मानेको छ ।

चीनको एक महत्वाकांक्षी योजना काराकोरम हाइवे यहीँनेरबाट पश्चिम-दक्षिणतिर जान्छ । यो हाइवे तिब्बेतियन हाईवेसँग जोडिन्छन् । पाकिस्तान नियन्त्रित कश्मिर हुँदै बलुचिस्तानको ग्वादर बन्दरगाहसम्म पुग्दछ । चीनले युरोप, अमेरिका र अफ्रिकातिर व्यापार गर्ने यो एक महत्वपूर्ण रुट हो । काराकोरम हाइवे चीनको रोड एण्ड बेल्ट इनिसिएटिभकै एक अंग हो ।

यो क्षेत्र भारतको नियन्त्रणमा जाने हो भने चीनले ग्वादर बन्दरगाह प्रयोग गर्न सक्दैन र साथै भारत चीनको संवेदनशील प्रदेश तिब्बतको निक्कै नजिक पुग्दछ । चीन जुनकुनै मूल्यमा यो क्षेत्रमाथिको नियन्त्रण गुमाउन चाहँदैन ।

प्रतिकृया लेख्नुहोस्:

आजको लोकप्रिय