scheduleबुधवार श्रावण २१ गते, २०७७

जलमग्न भयो त्रिपुराकोट बजार

फाइल फोटो

डोल्पा, ५ असार ।  त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोट बजार जलमग्न भएको छ । बिहीबार रातिदेखि अविरल रुपमा परेको वर्षाका कारण बजार क्षेत्र जलमग्न भएको हो ।

बजार क्षेत्रमा पर्ने पूर्णकेशर न्यौपानेको घरको तल्लो तला पानी पसेर टिलपिल भएको छ भने आसपासका आधा दर्जन घर डुबानमा पर्ने खतरा बढेको छ । थन्केर बसेको नगरपालिकाको डोजरलाई आधाघण्टा ढलनिकासमा पठाइदिन आग्रह गरे पनि पठाउन नमानेको बजारवासीले बताएका छन् ।

बजार आसपासबाट आएको पानी भरिएर आफ्नो घरमा पानी पसेर अन्नबाली पाठ्यपुस्तक भिज्नुका साथै आसपासका घरहरु पनि डुबानमा पर्ने खतरा बढेको पूर्णकेशर न्यौपानेले बताए । नगरपालिकालाई बारम्बार ढल निकासका लागि बजारवासीले लिखित एवं मौखिक जानकारी गराए पनि बेवास्ता गरेको न्यौपानेले गुनासो पोखे ।

बजारवासीको गुनासोलाई नगरपालिकाले बेवास्ता गरेको भन्दै दुवैतिरका सडकमा ठूलठूला काठ हालेर बाटो बन्द गरिएको छ । नगरप्रमुख ओमबहादुर बुढाले ढलनिकासका विषयमा केही गर्न नसक्ने भन्दै बजारवासीलाई जिल्ला प्रशासन कार्यालय जान सुझाव दिएका छन् ।

आफूले बारम्बार अनुगमन गरेर सिमेन्ट पाइप लिएर पानी निकासको व्यवस्था गर्न भने पनि बजारवासी आफैं झगडा गरेर यस्तो अवस्था आएको नगरप्रमुख बुढाले बताए । उनले सामान्य कुरामा समेत प्रशासन जान सुझाव दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिने बताएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय