scheduleआइतवार श्रावण २५ गते, २०७७

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

डा. वेदप्रसाद खतिवडा र डा. भीम चौंलागाईं

नेपाल जैविक विविधताको हिसाबले विश्वमा ४९औं स्थानमा रहेको छ । नेपालमा खेती गरिएका करिब ५७७ वनस्पतीहरू मध्ये ४८४ नेपाली हावापानी र माटोमा सदियौंदेखि हुर्केबढेका र बाँकी ९३ बाहिरी देशबाट आयातित वनस्पतीहरु रहेका छन् । तर खेती गरिएका कूल बालिनालीमध्ये जम्मा १५ प्रतिशतले मात्र अध्ययन, अनुसन्धान तथा विकासमा प्राथमिकता पाएका छन् भने बाँकी बालिनालीले खासै प्राथमिकता पाउन सकेका छैनन् ।

नेपालमा धान, गहुँ र मकैले आधारभूत बालीका रुपमा प्राथमिकता पाएका छन् किनकी यी बालीहरु नेपालको खाद्य सुरक्षाका लागि अत्यन्त आवश्यक छन् । त्यसैले यी बालीहरुमा छुट्टा-छुट्टै बाली विकास कार्यक्रम अन्तरगत अनुसन्धान तथा प्रविधि विस्तारमा ठूलो लगानी भइरहेको छ । तर हाम्रै गाउँघरमा पाइने कैंयौं बालिनालीहरु पोषण सुरक्षा तथा जीविकोपार्जन र खाद्यसुरक्षाका लागि महत्वपूर्ण भूमिका निभाइरहेका छन् तर ती बालीहरुले प्राथमिकता पाउन सकेका छैनन् । नेपालको सन्दर्भमा हेपिएका वा हेला गरिएका बालीहरु भनेका त्यस्ता बालीहरुलाई भन्न खोजिएको हो जसले औपचारिक अध्ययन, अनुसन्धान तथा विकासमा कुनै स्थान पाउन सकेका छैनन् । त्यस्ता हेला गरिएका बालीहरुले जलवायू परिवर्तनको परिप्रेक्ष्यमा राम्रोसँग जुध्ने क्षमता राख्ने, बाह्य उत्पादनका साधनहरु जस्तै रासायनिक मल तथा विषादीविना नै राम्रो उत्पादन दिने तथा रोग कीरा सँग तथा अनावृष्टि तथा अतिवृष्टिको अवस्थामा पनि राम्रैसँग उत्पादन दिने ल्याकत राख्दछ । यस्ता बालीनालीहरुले बाली प्रजनन तथा विकासमा पनि नयाँ नयाँ र रोगकिरा प्रतिरोधात्मक अनुवंशहरु रहने भएको कारणले गर्दा पनि बाली विकासको कामका लागि महत्वपूर्ण स्रोत बन्न सक्छन् । तर अहिलेको अवस्थामा बाली प्रजनन तथा विकासका लागि प्रयोग हुने अनुवंशको ९५ प्रतिशत भन्दा धेरै विदेशबाट आएको छ । यो परिप्रेक्ष्यमा पनि नेपालमा हेपिएका वा हेला गरिएका बालीनालीहरुको यथोचित अध्ययन तथा उपभोगका माध्यमबाट संरक्षणको टड्कारो आवश्यकता देखिएको छ ।

हेपिएका बालीहरु

स्थानीय हावापानीमा अत्यन्त राम्रो उत्पादन दिने तथा स्थानीय समुदायहरुको खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण योगदान दिँदै आएका तर औपचारिक अध्ययन, अनुसन्धान तथा प्रविधि विकासका लागि काम नगरिएका बालीहरुलाई नै हेपिएका बालीहरु भन्ने गरिएको हो । समुन्द्र सतहदेखि ६० मिटरबाट ४७०० मिटरसम्म खेती गरिने भएकाले र विभिन्न सुक्ष्म जलवायू तथा पारिस्थितिकीय प्रणाली, खेती प्रणाली तथा सामाजिक तथा संस्कारको विविधता भएकोले पनि नेपाल जैविक विविधताको अनुपम स्थल हो जसमा विश्वका ३.२ प्रतिशत वनस्पतीहरु पाइन्छन् । जातजाति विशेषको आवश्यकता, धार्मिक तथा सामाजिक संस्कार आदिले पनि कैंयौं वनस्पतीहरु नेपाली परिवेशमा प्रयोग हुँदै आएको छ तर यसको प्रयोगको आधारक्षेत्र संकुचित रहेको छ । अध्ययन, अनुसन्धान तथा विकासको दृष्टिकोणले प्राथमिकतामा नपरेका यस्ता बालीहरुलाई हेपिएका बालीहरु भन्ने गरिएको छ तर कालान्तरमा यस्ता बालीहरुले प्राथमिकता पाएमा हेपिएका भनिनु आवश्यक देखिँदैन । उदाहरणका लागि कोदो र फापर पहिले हेपिएका बालीको समूहमा राख्ने गरिन्थ्यो भने हाल यसलाई केही मात्रामा अध्ययन, अनुसन्धानको लागि ध्यान दिइएको छ ।

सामान्यतया, कुनै स्थान विशेषमा खेती गरिएका बालीहरु जसको खाद्य, पोषण, आर्थिक महत्व छ र कुनै स्थानमा पहिलेदेखि नै रहीआएको छ तथा औपचारिक रुपमा अध्ययन, अनुसन्धानको दायरा बाहिर भएको एवं व्यवसायिक रुपमा खेती नगरिएको र बीऊ उत्पादन तथा वितरणको प्रचलन नभएको बालीहरुलाई हेपिएका बालीहरु भन्ने गरिन्छ । यी बालीहरुलाई खाद्यान्न, फलफूल, तरकारी, अचार, मसला आदिका रुपमा प्रयोग गर्ने गरिन्छ । नेपालको सन्दर्भमा समुदाय अनुसार यस्ता बालीनालीको फरक चित्र आउँछ । उदाहरणका लागि चेपाङ समुदायहरुमा चिउरी, न्युरो, तरुल, गिठ्ठा, भ्याकुर आदि बालीहरु यस समूहमा पर्न आउँछन् भने अन्य समुदायमा यस्ता बालीहरु फरक पनि हुन आउँछ । नेपालको समग्र अवस्थामा डा. बालकृष्ण जोशी र साथीहरुको समूहले गरेको अध्ययन र प्रकाशनले ४३ वटा विभिन्न बालीनालीलाई हेपिएका बालीहरुको सूचीमा राखेको छ ।

फलफूलको रुपमा खाइने भोगटे, रामफल, रुख कटहर, तिँदु, , पँदेल, ऐसेलु, मयल, बेल, अर्चल, खनायो, चाक्सी, जामुनो, क्यामुनो, गोलकाँक्री आदि यस समूहमा पर्छन् भने तरकारीको रुपमा खाइने बन करेला, निउरो, सुप, अमिलो बेथे, फूल तरुल, जलुका, तरबारे सिमी, सिस्नु, काल्मी साग, पोइ साग, खोले साग, लुँडे साग, लट्टे साग, बेथे साग, आदि हुन् । रुख टमाटर, डाले चुक, कालो ज्यामीर, मयन काँडा, निबु कागती, भक्मीलो, भाङ, बन धनियाँ आदिलाई अचार वा अमिलो बनाएर राख्न र अचारलाई अमिलो बनाउन प्रयोग गर्न सकिन्छ ।

यसका अलावा नेपालका कृषि वैज्ञानिकहरुको समूहगत छलफलले भविष्यका लागि अत्यन्त महत्वपूर्ण बालीहरु जसले जलवायू परिवर्तनको अवस्थामा पनि राम्रोसँग अनुकुलन गर्न सक्ने तथा यसको पौष्टिक महत्वको आधारमा विभिन्न बालीनालीहरुको पहिचान गरेको छ । जस अन्तरगत अन्नबालीको रुपमा प्रयोग गर्न सकिने बालीहरुमा तिते फापर, चिनो, कागुनो, जुनेलो, झुले लट्टे, रातो लट्टे आदि पदर्छन् भने जरे तरकारीबालीहरुमा तरुल, पिँडालु, ओल, भ्याकुर, र सिमल तरुललाई पहिचान गरेको छ । कोसेबाली वा दालको रुपमा खान सकिने बालीहरुमा मस्याङ, गहत, सानो केराउ, बकुल्ला र काउसे सिमीलाई स्मार्ट बालीको रुपमा पहिचान गरेको छ । यसका अलावा तरकारीको रुपमा खान सकिने स्कुस, बरेला, सितलचिनी, कुभिण्डो, चट्टेल आदिलाई पनि महत्वपूर्ण तर हेला गरिएका स्मार्ट बालीको रुपमा राखिएको छ । मेथी, सौंप, बेथे, सिम साग, लुँडे आदि सागहरुलाई पनि यस समूहमा राखिएको छ भने फलफूलको रुपमा खान सकिने रुख कटहर, बेल, लप्सी, ओखर, निबुवा, अमला, सरिफा, ज्यामीर, इम्ली आदि पनि महत्वपूर्ण भविष्यका बाली भनेर राखिएको छ । अचार खानका लागि प्रयोग गरिने सिलाम, टिमुर, ज्वानो र हिमाली जीरालाई पनि यो समूहमा राखिएको छ ।

महत्व

अधिकांश यस्ता हेपिएका बालीहरु जलवायू अनुकुलन गर्न सक्ने तथा स्थानीय सूक्ष्म जलवायूको अवस्थामा राम्रो उत्पादन दिन सक्ने बालीहरु हुन्छन् । यी बालीहरुलाई रोग तथा किराको ठूलो प्रकोप नहुने तथा यिनले सुक्खा तथा पानी जम्ने जस्ता असहज अवस्थाहरु सहन सक्ने हुन्छन् एवं यी गुणहरु बाली प्रजनन तथा बालीको नयाँ जातमा यस्ता गुणहरु राख्नका लागि गरिने बाली प्रजननका लागि पनि महत्वपूर्ण आनुवंशिक स्रोतको रुपमा प्रयोग गर्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यी बालीहरुको पौष्टिकता नै हो जसले मानव शरीरका लागि आवश्यक पर्ने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ, सुक्ष्म खाद्यतत्वहरु उपलब्ध गराउँछन् । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले यस्ता विभिन्न बालीहरुको पौष्टिकता परीक्षण गरिसकेको छ । तिते फापर, कोदोका विभिन्न प्रजातीहरु, तरुल, पिँडालु, ओल, जुनेलो आदिमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइने भएकाले यसको खाद्य सुरक्षामा विशेष महत्व रहिआएको छ । त्यस्तै प्रोटिन, भिटामिन, तथा खनिज पदार्थको स्रोतको रुपमा पनि विभिन्न किसिमका बालीहरुले विशेष योगदान दिइरहेका हुन्छन् ।

नीतिगत आवश्यकता र स्थानीय तहको अग्रसरता

कृषि जैविक विविधता नीति २०६३ ले नेपालमा कृषि जैविक विविधताको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न नीतिहरु अवलम्बन गरेको छ जसमा कृषि जैविक विविधताको संरक्षण, सम्बर्द्धन र दीगो उपयोगको लागि अध्ययन, अनुसन्धान र प्रसार गर्ने, कृषि जैविक विविधतामा आधारित बजार तथा उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने आदि नीतिहरु लिएको छ । संघीय नेपालको संरचनामा स्थानीय तहहरुले कृषि, खाद्य तथा स्वास्थ्य क्षेत्रको लागि आवश्यक नीति, रणनीति तथा कार्यक्रमहरु बनाउन पाउने अवस्था विद्यमान रहेकोले कृषि जैविक विविधताको लागि आवश्यक कदमहरु चाल्न सकिन्छ । यसका लागि आवश्यक कुरा भनेको प्राविधिक ज्ञान, इच्छाशक्ति, जनशक्ति र स्रोत मात्रै देखिन्छ । नेपालका कतिपय खाद्य असुरक्षा तथा पोषण असुरक्षा रहेको स्थानहरुका स्थानीय तहहरुले कृषिको स्थानीय जैविक विविधतालाई संरक्षण गर्ने र दीगो उपभोगको माध्यमबाट यसलाई थप विकासका लागि कार्यक्रमहरु शुरु पनि गरिसकेका छन् । यसमा स्थानीय तहका नेतृत्ववर्गहरुको सुझबुझपूर्ण निर्णय आवश्यक देखिन्छ जसबाट हेला गरिएका बालीहरु साँचो अर्थमा आम किसानहरुको लागि खाद्य तथा पोषण सुरक्षामा सारथी बन्न सक्छ । त्यसका लागि स्थानीय रुपमा उपलब्ध यस्ता बालीनालीहरुको जानकारी संकलनका साथै यसका लागि स्थानीय तहहरुमा कृषि स्रोतकेन्द्र वा कृषि जैविक विविधता केन्द्रको निर्माण गर्दै अगाडि बढ्ने र त्यस्ता महत्वपूर्ण बालीनालीहरुको उत्पादन प्रविधि, बीऊ उत्पादन, किसानहरुको माझमा प्रविधि विस्तार, बजारीकरणमा सहजीकरण तथा बाली प्रजनन र विकासका लागि रणनीति बनाई अगाडि बढ्न जरुरी देखिन्छ ।

————————————-

नोटः यस लेखमा साभार गरिएका तथ्यांकहरु र कतिपय तथ्यहरु निम्न प्रकाशनबाट लिइएको जानकारी गराउछौंः
Bal Krishna Joshi, Renuka Shrestha, Devendra Gauchan & Anil Shrestha (2020) Neglected, underutilized, and future smart crop species in Nepal, Journal of Crop Improvement, 34:3, 291-313, DOI: 10.1080/15427528.2019.1703230

————————————-

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय