scheduleमगलवार श्रावण २० गते, २०७७

कोरोनाविरुद्ध भारतीय र पाकिस्तानी नीतिका भिन्नता र सिकाईहरु

शाहिद जावेद बुर्की

कोरोनाभाइरस संक्रमण दक्षिण एसियाली देशमा प्रवेश गर्ने बेलासम्ममा यो विश्वका अन्य देशहरुमा फैलिइसकेको थियो र संक्रमण फैलने देशमध्येमा पाकिस्तान पनि एक थियो । फेब्रुवरीको अन्ततिर इरानको पवित्र स्थलहरुको भ्रमण गर्दा चिनियाँ तीर्थयात्रीहरुको सम्पर्कमा आएका शिया तीर्थयात्रीहरुले आफूसँगै उनीहरुलाई घरमा ल्याए । धेरै समय नबित्दै अमेरिकाबाट आएका भारतीय प्रवासीहरुले भाइरसलाई भारत लगे । यद्यपि यस भाइरसका बारेमा दुई देशका सरकारको प्रतिक्रिया धेरै फरक थियो ।

दुवै देशहरुले अरुको दृष्टिकोणबाट पाठ लिए । संक्रमितको संख्या ५०० नाघेपछि भारतका लागि यसको अर्थ आफ्ना करिब १३० करोड जनसंख्यालाई कम्बल ओढाइएजस्तो चिनियाँ लकडाउन कार्यान्वयन गर्नु थियो । पाकिस्तानले, यसको ठीक विपरीत संयुक्त राज्य अमेरिका जस्तै संकेत गर्‍यो जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसाशन सधैं जिम्मेवारी वहनलाई बेवास्ता गर्न उत्सुक रहन्थ्यो र धेरै हदसम्मको जिम्मेवारी राज्यका गभर्नरहरु र प्रमुख सहरहरुका मेयरमा छोडिन्थ्यो ।

शाहिद जावेद बुर्की

 

जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २ देखि देशव्यापी लकडाउकनको घोषणा गरे, तब उनी विश्वस्त देखिएका थिए । घोषणाको ४ घण्टाभित्रै लागु हुने उपायहरुले संक्रमणको सिक्री तोड्नुपर्ने थियो र उनले भारत कोरोनाविरुद्ध विजयी हुने समेत घोषणा गरे ।

मोदीको दृष्टिकोणमा केही कमी रहेको तुरुन्तै स्पष्ट हुन थाल्यो । कामदारहरु अचानक कामबाट बाहिरिए, प्रवासी कामदारहरु हिँडेरै भएपनि गाउँतिर पसे । अप्रिलसम्मको तथ्यांक अनुसार कुल अनुमानित १२ करोड रोजगारी गुमेको छ । अक्सफाम इण्डियाका कार्यकारी निर्देशक अमिताभ बहारका अनुसार घर फर्केका आप्रवासीहरुको संख्या ५ लाख पुगेको छ । यो सामूहिक पुनर्वास गर्ने व्यक्तिको संख्या देशको स्वतन्त्रतापछिकै सबैभन्दा धेरै हो । सरकारी पोषण कार्यक्रमका बाबजुद पनि खाद्यान्नको व्यापक अभाव छ ।

लकडाउनयता विभिन्न क्षेत्र तथा व्यक्तिले खेप्नु परेको पीडा देखेर मोदी सरकारले अप्रिलको अन्त्यबाट सशर्त आधारमा प्रतिबन्धहरु शिथिल गर्न थाल्यो । लामो दूरीको रेल तथा बस यात्रा पुन सञ्चालन हुन थाले । वाणिज्य तथा उत्पादक गतिविधिहरु सञ्चालन गर्न अनुमति दिइयो तर सीमित रुपमा (अत्यन्त प्रभावित क्षेत्रहरु) यसै महिनादेखि फेरि सुचारु गर्ने तयारी रहेको छ ।

यसैबीचमा देशका प्रमुख सहरहरु विशेषगरी मुम्बइ र नयाँदिल्लीमा संक्रमणको दर बढ्न थाल्यो । मोदीले मे महिनामा गरेको अर्को सम्बोधनमा पहिलेभन्दा धेरै कम आत्मविश्वास देखिन्थ्यो । उनले भाइरस लामो समयसम्म जीवनको भाग रहिरहने कुरा स्वीकार गरे । तर लकडाउनका कारण संक्रमणको दर केही हदसम्म भने घटेको नै पाइएको छ । तर पनि संक्रमित देशहरुको सूचिमा भने भारत विश्वको चौथो स्थानमा छ ।

लकडाउनपछिको आर्थिक परिणाम पनि भयानक हुने देखिन्छ । गोल्डम्यानको भविष्यवाणीअनुसार अर्थव्यवस्था वार्षिक ४५ प्रतिशतले संकुचित हुनेछ र यस आर्थिक वर्षले सबैभन्दा गम्भीर आर्थिक मन्दीको सामना गर्नेछ (आर्थिक वर्ष मार्च ३१, २०२१ मा समाप्त हुनेछ) ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने फरक दृष्टिकोण अनुसार कोभिड-१९ को सम्पूर्ण व्यवस्थापन प्रादेशिक सरकारको हातमा छाडिदिए । मोदीको भाजपा विपरीत इमरान खानको तेहरीक-ए-इन्साफ पार्टीसँग स्पष्ट बहुमतको अभाव छ र उनको शासित गठबन्धनका केही पार्टीहरुले देशव्यापी लकडाउनको विरोध गरे ।

यस्तो बन्दाबन्दीले बेरोजगारीको हद पार गर्न सक्ने कुरा खान आफैंले स्वीकार गरे । करिब १० लाख प्रवासीको प्रवेश र प्रस्थानको प्राथमिक इकाइको रुपमा रहेको पाकिस्तानको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको प्रसाशनिक इकाइ सिन्ध सरकारले पूर्ण लकडाउन गर्ने निर्णय लिँदा अरु प्रान्तहरुले भने खुला नै रहने निर्णय गरे ।

संघीय सरकारहरुले भने गरिबहरुलाई नगद हस्तानतरणको विशाल कार्यक्रम समेत सुरु गरे जसले मानिसहरुको आधारभुत आवश्यकतामा पहुँच कायम राख्न मद्दत गर्ने कुरा सुनिश्चित गर्थ्यो । विगतको अनुभवबाट पाकिस्तानबाट यो सिकेको थियो कि पाकिस्तानले यस्तो स्थानान्तरण जुन प्रत्यक्ष रुपमा व्यक्तिहरुको खातामा जम्मा गरिन्छ, त्यसले गर्दा भ्रष्टाचार र चुहावटको सम्भावना कम हुने गर्दछ ।

विगतको अनुभवबाट पाकिस्तानले सिकेको अर्को पाठ हो- महिलाहरुले उनीहरुको पारिवारिक आधारभूत आवश्यकताहरु किन्न नगद सहायता प्रयोग गर्ने सम्भावना पुरुषहरुको तुलनामा बढी हुने गर्छ । त्यसैकारण पाकिस्तानको कोभिड-१९ राहतका रकमहरु विशेषगरी महिलाहरुका नाममा बैंक खाता खोलेर राखिएको थियो ।

यस्ता प्रयासहरुको अर्थ यो हो कि केही तरिकामा पाकिस्तानबाट भारतको तुलनामा राम्रो व्यवस्थापनको प्रदर्शन भएको छ । सबैभन्दा उल्लेखनीय कुरा के छ भने, पाकिस्तानमा भारतको जस्तो गम्भीर आर्थिक मन्दीको अनुभव गर्ने आशा गरिएको छैन । यद्यपि पाकिस्तानमा पनि संक्रमणको दर उच्च नै रहेको छ । हालसम्मको तथ्याकं अनुसार पाकिस्तानमा लगभग १ लाख ७० हजार भन्दा बढी संक्रमण पुष्टि भएका छन् भने मृत्यु हुनेको संख्या पनि तीन हजार नाघेको छ ।

कोरोनाबारे पाकिस्तानको प्रतिक्रियामा अर्को मुख्य जोडिएको विषय धर्म पनि थियो । यद्यपि पाकिस्तानी राजनीति सामान्यतया धर्मनिरेपक्ष छ, यस देशका इमामहरु प्रभावशाली छन्, र तिनीहरुले सफलतापूर्वक मण्डलीको प्रार्थनाका लागि अनुमति दिनलाई सरकार समक्ष प्रस्ताव समेत राखेका थिए । मे २८ मा पवित्र महिना रमजान समाप्त भएपछि धार्मिक जमघटहरु नियमित रुपमा बढ्दै गए, मस्जिदहरु कोरोनाको फैलावट रोक्नका निम्ति सामाजिक दुरी, मास्कको प्रयोग र प्रार्थना म्याट प्रतिबन्ध लगाउने जस्ता उपायहरु कार्यान्वयन गर्न असफल भए ।

जबकि भारत चीनको अनुकरणमा अघि बढ्यो– जुन सोचेभन्दा चाँडो कोरोना नियन्त्रणमा रहेको देखिन्थ्यो र आर्थिक हिसाबले पनि मुल्य चुकाउँदै आयो । पाकिस्तान भने अमेरिकाको नेतृत्व पछ्यायो जहाँ विश्वको सबैभन्दा बढी संक्रमण देखिएको छ, सोही अनुरुप पाकिस्तानमा संक्रमण दर दक्षिण एसियाकै सबभन्दा बढी छ, भारतभन्दा पनि २ गुणा बढी भएतापनि पाकिस्तानी अर्थतन्त्रमा भने कम नै असर परेको छ । दुवै देशका तथा अन्य सरकारहरुका लागि पनि त्यो ट्रेडअफ तीव्र नै रहने छ । वास्तवमा भारतले भने अब आफ्नो अर्थव्यवस्था पुनः सुचारु गर्न लकडाउनलाई खुकुलो बनाउन थालेको छ जसको परीणामस्वरुप संक्रमणको दर एकपटक फेरि उकालो लाग्न थालेको छ ।

  • शाहिद पाकिस्तानका पूर्वअर्थमन्त्री हुन् । विश्व बैंका उपाध्यक्ष समेत रहेका उनी लाहोरमा रहेको शाहिद जावेद बुर्की इन्स्टिच्युट अफ पब्लिक पोलिसीका अध्यक्ष पनि हुन् ।

(प्रोजेक्ट सिन्डिकेटमाकराँचीबाट शाहिद जाबेद बुर्कीले लेखेको आलेखको साझापोस्टका लागि प्रतिक भट्टले गरेको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय