scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

एमसीसीमा पनि महाकाली बेच्नेकै लामो हात !

अभि गाउँले

नेपालमा अमेरिकी प्रोजेक्ट मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पछिल्लो राजनीतिक बहस बन्दै आएको छ । एमसीसीका पक्षधरहरू यसलाई संसदबाटै पारित गराउन एकट्ठा बनेका छन् । मतमतान्तरका बाबजूद पनि एकपक्षीय ढंगले अघि बढ्ने प्रशस्त लाक्षणिक परिदृश्यहरू देखा पर्दै गएका छन् ।

विवादित एमसीसी परियोजना सरकारभित्रै मृगमरीचिका बनिनु र घातक ठानिनु राजनीतिक जालसाजी नै हो । लोककण्टकहरूले जनतालाई गुमराहमा राखेर राष्ट्रघाती निर्णय गरेका घटनाहरू उजागर भएकै छन् । एमसीसी सबै जनताले कण्ठस्त पारेका छन् तर त्यसभित्र रहेका प्रावधानहरूका बारेमा अनभिज्ञ छन् ।

यत्रतत्रसर्वत्र एमसीसीकै चर्चा, विरोध र नगन्य समर्थन छ । हाल देशको प्रमुख राजनीतिक शक्ति र देशको नेतृत्व गरिरहेको नेकपा एमसीसीले तन्नमटाटको संघारमा पुगेको छ । जिम्मेदार नेता र बुद्धिजीवीहरू संसदबाट एमसीसी हुबहु पारित भए देश दुर्घटनामा जाने संकेत गरिरहेका छन् । सारा नेपाली इन्तु न चिन्तुको अवस्था छन् । भलै केहि नागरिक समूह एमसीसी खारेजीको पक्षमा देखिएको छ ।

Dish_Home
अभि गाउँले

कतिपय सांसद र मन्त्रीहरू एमसीसीका असमानताहरूलाई नजरअन्दाज गरी होहोरे गरेको सुनिन्छ । राष्ट्रिय अखण्डताको गहन विषयमा राज्यका सीमित शक्ति समूहले मात्रै तजबिज गरेर हुँदैन । यसमा भूगोलका सबै राष्ट्रियताहरूले स्वविवेक प्रयोग गर्न पाउनुपर्छ ।

विदेशी शक्तिसङ्ग लमतन्न परेर देशको हितलाई यमपाश लगाउने कूचक्र निष्क्रिय गर्नुपर्छ । इतिहासलाई बारम्बार ब्यूँताएर होइन वर्तमानलाई झक्झकाएर अघि सर्नुपर्छ । हिजोभन्दा आज बलियो र आजभन्दा भोलि बलियो हुँदै जाने सवालमा दृढनिश्चय गर्न चुक्यौं भने भावी पुस्ताले हाम्रोभन्दा फरक शासन चलाउन सक्दैन ।

फलतः सयौं वर्षसम्म पनि हाम्रो देश जिम्से भइरहन्छ । हामी इतिहासमै नेपाल र नेपालीको भाग्य फैसला गर्ने सन्निकट आइपुगेका छौँ । हामी स्वाधीनताको चोरीपैठारी गरिरहेका छौँ कि स्ववृत्ति गर्दैछौं भन्ने कुराको प्रष्टता चाहिएको छ । आफ्नो आत्मगौरवलाई तिलान्जली दिएर अरूको निगाह वा अधीनमा रहने शासन प्रणालीले देशमाथि नै कुठाराघात गर्दछ, देशलाई बन्धक बनाउँछ ।

पटकपटक उठान गरिएको महाकाली सन्धि अहिले राष्ट्रघातमा रूपान्तरण भएको प्रमाणित भइसकेको छ । प्रमाणलाई पुनः प्रमाणित गर्ने सबुत प्रमाण जीवितै छ । उक्त सन्धिबाट नेपाललाई अर्बौंको नाफा हुने भनिएको तर परिणाम ठीक त्यसको विपरीत हुन पुग्यो ।

पहिला महाकाली जसको हातले बेच्यो अहिले एमसीसीमा त्यही हात लम्किरहेको छ । बारबार देशप्रति घात-प्रतिघात हुँदा समेत एकोतारै गलत प्रवृत्तिको पकड कहिलेसम्म ? अब पनि एमसीसी अनुदानको पचपन्न अर्बमा जिब्रो टोकेर बस्ने होइन । अर्थतन्त्रलाई सधैं दासताको परिबन्धमा राखेर समृद्धिको यात्रा गर्न सम्भव छैन ।

वैदेशिक सहयतामा स्वनिर्णय गर्ने तागत गुम्ने अनुक्रम चलिरह्यो भने हामी कहाँबाट उठ्न सक्छौं ? अत: हामी जहाँ लड्यौं त्यहीँबाट उठ्ने हैन र ? होला नि ! त्यसैले हामी विदेशीका हरिया नोटले भन्दा नि आफ्नो इच्छाशक्तिले सम्पन्न हुन्छौं । यसैमा तनमन र धनले लागिपरौं ।

एमसीसी इण्डोप्यासिफिककै अंग हो भन्ने यकिन हुँदा पनि अझै भ्रमको खेती गर्नेको कमि छैन । यसमै सानो रमाइलो प्रसङ्ग जोडौं । सामाजिक सन्जाल मुख्यतः फेसबुकमा सुन्तलाको तस्बिर राखेर यसलाई हाम्रोतिर फर्सी भनिन्छ, तपाईंकोतिर चाहिँ के भनिन्छ ? भन्नेजस्ता भूलभुलैया हो यो ।

जब छिमेकी भनाउँदोले नै नेपालको उन्नति देख्न सक्दैन भने पश्चिमाहरूको यहाँ स्वार्थबाहेक अरू के छ र । कानुनतः भूगोल नै उनीहरूको कब्जामा हुने खालका संदिग्ध प्रावधानका प्रारूपहरू एउटा स्वतन्त्र मुलुकका निम्ति असह्य कुरा हो । तर पनि सरकार र छाया सरकार यस्ता असमान परियोजना लागू गर्न मरिमेटी गर्नु र अन्य दलहरूका पनि खुलस्त रूपमा धारणा नआउनुले एकचोटि फेरि देशको अस्तित्व उपर प्रश्नचिह्न तेर्सिएको छ ।

आज शक्ति राष्ट्रहरूको हतियार निर्माणको होडबाजीले गर्दा विश्व शान्ति कायम हुन नसक्ने करिबकरिब निष्कर्षमा पुगिसकेको अवस्था हो । हतियार निर्माणका सन्दर्भमा नेपाल निकै नै कमजोर छ । हाम्रा पुर्खालेझैँ ढुङ्गामुढा र भाला प्रयोग गरी अबको युद्ध जित्न प्रायः असम्भव कुरा छ । युद्ध सामना गर्ने बलियो अस्त्र भनेकै अन्तर्राष्ट्रिय कुटनैतिक सम्बन्ध हो हाम्रा निम्ति ।

परराष्ट्र नीति कुन तह र हैसियतमा स्थापित गर्न चाहन्छौं भन्दा पनि हामी सम्बन्धको इनामपाटलाई सहि नापमा केन्द्रित गर्नै चाहिरहेका छैनौं । राज्यसत्ता सधैं तेरीमेरीमा चलेकाले कुनै पनि देशसङ्गको सम्बन्ध समान छैन । देशले धीरोद्धत नायक पाउन नसक्नुनै यसको मुख्य कारक हो । गणतन्त्रजस्तो परिस्कृत व्यवस्था हाँक्ने नेतृत्व देखेर सिकसिक मान्नुपर्ने बेला आएको छ । राजनीतिमा हावी कुरितीको कुरिकुरी गरेर बस्नुको अलावा नैतिकताको केहि जगेडासम्म बाँकी रहेन ।

नेकपा सबैभन्दा ठूलो राजनीतिक शक्ति हो तर सबैभन्दा विवाद र विकृति त्यही पार्टीभित्र छ । एमसीसीमा एकमत सिर्जना गर्न चुक्दै गरेको नेकपा डबल अब त्रिपल चौरल हुने संघारमै छ । प्रधानमन्त्री ओलीले एमसीसी पास गर्न जुन व्यग्र चाहना राखेका छन्, यसले विगतको जस्तो पार्टी नै विघटन भए पनि पछि हट्ने संकेत छैन । यसको अर्थ प्रधानमन्त्री चर्को दबाब र प्रभावको खाडलमा फसेका छन् भन्ने कटुसत्य सबैले बुझ्न जरुरी छ । एमसीसीका समर्थकहरूले यो मुद्दालाई जुन ढंगले हलुका रूपमा व्याख्या गर्दैछन्, तर यसको परिणाम घाँटीको पासो बनेर आउने पक्का छ । एमसीसी पास वा फेल जे भएनि अन्ततः यो रक्तपातको यज्ञकुण्ड हो भन्ने हेक्का राख्नुपर्छ । बुद्धिमता तरिकाले यस मुद्दाको छिनोफानो हुन सकेन भने नेपालको राष्ट्रिय राजनीति गम्भीर संकटमा पर्ने प्रवल सम्भावना छ ।

प्रधानमन्त्रीको हुकुमी शासनले बेलैमा जनभावनाअनुरूप निर्णय लिन सकेन भने अबको उनको राजनीतिक यात्रा साँच्चिकै बयलगाडामा सवार हुनेछ । सार्वभौम संसदमा उभिएर देशको कार्यकारीले स्वाधीनताको गहन विषयमा भ्रामक विचार राख्नु राष्ट्रवादको युक्त्त्याभास हो भन्न सकिन्छ । प्रधानमन्त्रीले जे कुरामा पनि अड देखाउने र त्यसैमा अडिग हुँदै जाने हो भने दुर्घटना नजिकै छ ।

पश्चिमाहरूको निक्खर सुरक्षा स्वार्थ जोडिएको प्रोजेक्ट अझै ‘रिजेक्ट’ गर्न सक्दैनौं भने घरीघरी राष्ट्रवादको पिपिरा नबजाऔं । अनेकन स्वार्थले भरिभराउ एमसीसीप्रति विहङ्गमदृष्टि नराखौं । जाँदाजाँदै, एमसीसी स्वापस्वाप खाएर समृद्ध भइन्छ भन्नेहरू निकट भविष्यमै मारमुङ्ग्रीको शिकार बन्ने खतरा छ ।

(आलेखमा व्यक्त धारणाहरु लेखकका निजी विचार हुन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय