scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

पर्यटन क्षेत्रमा स्वास्थ्य सुरक्षा प्रोटोकल जारीः अब यसो गरौं

नारायणप्रसाद पोखरेल

प्रथमतः वर्तमान कोभिड -१९ बाट सिर्जित पर्यटकहरुको स्वस्थ सुरक्षासम्बन्धी चासोलाई सम्बोधन गर्ने र पर्यटन क्षेत्रलाई थोरै भए पनि गति दिने उद्देश्यले बडो मेहनत र लगनका साथ पर्यटन क्षेत्रको लागि लागू गरिएको स्वास्थ्य सुरक्षात्मक प्रोटोकल तयार पार्नका लागि योगदान पुर्‍याउनुहुने माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू, पर्यटन मन्त्रालएका सचिवज्यू लगायत पदाधिकारी ज्युहरु, पर्यटन बोर्डका कार्यकारी अधिकृत श्री धनन्जय रेग्मी लगायत सम्पूर्ण पर्यटन बोर्ड परिवार र संघ सस्थाका अध्यक्ष लगायत पदाधिकारी ज्युहरु एवम यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सबैमा म हार्दिक कृतज्ञता सहित धन्यबाद टक्रयाउन चाहन्छु । साथै यस सु-अवसरमा समुपस्थित भै अब बीस लाख हैन तीसदेखि पचास लाख पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरी सोहीबमोजिम अगाडि बढ्नुपर्छ भन्ने सकारात्मक सोंचबाट हामी सबै पर्यटन व्यवसायीलाई यस कठीन अवस्थामा समेत सकारात्मक ऊर्जा प्रवाह गर्ने काम गर्नु भएकोमा म हाम्रा अग्रज आदरणीय दाजु कर्ण शाक्य ज्युलाई हार्दिक धन्यवाद टक्रयाउन चाहन्छु ।

नारायण प्रसाद पोखरेल

पर्यटन क्षेत्रको लागि लागू गरिएको स्वास्थ्य लगायत सुरक्षात्मक प्रोटोकल लोकार्पण गर्ने समयमा भएका कमीकमजोरीहरु सम्बन्धित आयोजक लगायत उपस्थित सबैलाई महसुश भैसकेको छ । जुम बैठक नवप्रवर्द्धित टेक्नोलोजी भएको र आयोजकहरुलाई समेत पूर्ण जानकारी नभएको अवस्थामा सञ्चालन हुन गएको कारणबाट यो कसैले महसुस नगरेको र सोच्न नसकेको अवस्था हुन पुगेको देखिन्छ । यो समस्याबाट आयोजक लगायत हामी सबैले एउटा ठूलै प्रकारको पाठ सिक्ने मौका पाएका छौं त्यो के भने कुनै पनि क्षेत्रमा सम्बन्धित बिषयको दक्षता कति महत्वपूर्ण हुन्छ र आवश्यक सावधानी नपनाउँदा के कस्ता समस्याहरु आउन सक्छन् ?

स्वास्थ्य तथा सुरक्षात्मक प्रोटोकल सम्बन्धमा

Dish_Home

पर्यटन क्षेत्रको लागि लागू गरिएको स्वास्थ्य सुरक्षा प्रोटोकलमा उल्लेख भएका बुँदाहरु अति लगन एवं मेहनतसाथ तयार पारिएका र सम्बन्धित सेवाका क्षेत्रहरुलाई बुँदागत रुपमा समेटी सोहीबमोजिम सम्बन्धित क्षेत्रले पालन गर्नुपर्ने नियमहरुलाई प्रष्टरुपमा उल्लेख पनि गरिएको छ । यो प्रोटोकलले हवाई क्षेत्र बाहेकका पर्यटनसँग सम्बन्धित सबै क्षेत्रलाई राम्रोसँग समेटेको पनि छ।

प्रोटोकललाई अध्ययन गर्दै जाँदा सानातिना केही कुराहरुबाहेक धेरै जसो आवश्यक नियमहरुलाई राम्रोसँग प्रोटोकलमा समावेश गरिएको छ। साथै व्यवस्थापन कर्मचारी तथा सम्बन्धित क्षेत्रमा सेवा लिन आउने आगन्तुक तथा पाहुनाले समेत पालन गर्नुपर्ने नियमहरुल्लाई छुट्टा-छुट्टै रुपमा उल्लेख पनि गरिएको छ। छुटै चेक-लिस्ट समेत तयार पारी प्रोटोकलमा समावेश समेत भएकोले सम्बन्धित पर्यटन सेवा प्रदायक संस्थाले चेक-लिस्टलाई आवश्यक प्रिन्ट गरी सिधै फ्रेममा जडान गरी आवश्यक स्थानहरुमा सम्बन्धित सेवाग्राही तथा कर्मचारीले देख्ने गरी राख्न सकिने गरी व्यवस्था समेत गरिएको छ। मेरो विचारमा प्रोटोकलले अधिकांश क्षेत्रहरुलाई राम्रोसँग सम्बोधन गर्न सफल हुनेछ ।

पर्यटकको नजरमा रहेको हाम्रो अवस्थालाई कसरी चिर्न र पर्यटकलाई नेपाल सबै तबरले सुरक्षित छ भनेर कसरी विश्वास दिलाउन सकिएला ?

विश्व पर्यटन बजारमा हाम्रो मुलुक स्वस्थ तथा सरसफाईको दृष्टिकोणले उत्तम सरसफाई भएको मुलुकको रुपामा चिनिँदैन। धेरैजसो अमिरिकी तथा युरोपियन मुलुकका पर्यटकहरुले हाम्रो देशको भ्रमणमा आउँदा आफूलाई विभिन्न प्रकारका भाइरस एवं इन्फेक्सनहरुबाट सुरक्षित राख्नको लागि आवश्यक भ्याक्सिनहरु लगाएर मात्र नेपाल भ्रमणमा आउने गर्दछन् । विश्व पर्यटन बजारमा रहेको यो मानसिकतालाई परिवर्तन गरी हामी परिवर्तन भैसकेका छौं, हाम्रो मुलुकका पर्यटन सेवाका सबै क्षेत्रमा लाग्ने पर्यटन व्यवसायीहरुले तपाईंहरुको सुरक्षासम्बन्धी चासोलाई पूर्णरुपमा सम्बोधन गर्ने गरी स्वास्थ्य सुरक्षासम्बन्धी तालिमसमेत लिई तपाईंहरुको सेवाका लागि तयार अवस्थामा रहेको अवस्था छ भनेर विश्वास दिलाउनु जरुरी हुन्छ ।

जबसम्म हामीले सबै क्षेत्रमा आवश्यक तयारीसहित विश्व पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न सक्दैनौं, तबसम्म हामीले सोचेबमोजिम आवश्यक पर्यटन भित्र्याउन सक्दैनौं । मेरो विचारमा लागू गरिएको स्वास्थ्य लगायत सुरक्षात्मक प्रोटोकललाई एउटा शुरुवातको रुपमा मात्र लिई सबै क्षेत्रलाई आवश्यक तालिम सञ्चालनका साथ स्वास्थ्य तथा सुरक्षात्मक अभियानलाई अगाडि बढाई हाम्रो तयारीको बारेमा अन्तर्राष्ट्रिय पर्यटन बजारको स्वास्थ्य सुरक्षासम्बन्धी चासोलाई सम्बोधन गरी नेपाल आउन चाहने पर्यटकहरुलाई ढुक्कसँग नेपालको कुनै पनि क्षेत्रमा भ्रमण गर्न सक्ने वातावरण रहेको जानकारी गराउन विभिन्न माध्यमहरुमार्फत पहलकदमी लिर्नुपर्ने हुन्छ । यो स्वास्थ्य सुरक्षा प्रोटोकलबाहेक आवश्यक निरीक्षण तथा सुपरभिजन, सजाय तथा पुरस्कार आदि समेत व्यवस्था गरी स्वास्थ्य सुरक्षासम्बन्धी बिषयलाई स्वच्छता अभियानसहित एउटा अभियानकै रुपमा गाउँ-गाउँसम्म पुर्‍याउनुपर्ने हुन्छ ।

कोभिड-१९ ले जन्माएको वर्तमान विषम अवस्थामा हाम्रो पर्यटन सेवा उत्पादनको क्षमता

विश्व पर्यटन मानचित्रमा नेपाललाई हालसम्म पनि प्राकृतिक र साँस्कृतिक रुपमा एउटा उत्कृष्ट र सुन्दर मुलुकका रुपमा चित्रण गरिएको छ । हाम्रा धेरै पदमार्गहरु विकासको नाउँमा विनाश भइसके पनि विश्वका पर्यटकहरु कोभिड-१९ ले जन्माएको अहिलेको विषम अवस्थामा भिड-भाडयुक्त शहरी र बनावटी पर्यटन क्षेत्रलाई भन्दा एकान्त, शान्त र प्राकृतिक रुपमा सुन्दर क्षेत्रहरुमा आफूलाई रमाउन र प्रकृतिसँगै रम्न चाहन्छन् । हाम्रा प्राकृतिक पदमार्गहरु हरहिसाबले सुरक्षित छन् र हामीले पर्यटकको स्वास्थ्य सुरक्षालाई प्रसस्त ध्यान दिएका छौं भन्ने ग्यारेन्टी गर्न सकेको अवस्थामा गाउँ पर्यटन सेवा तथा पदयात्रा पर्यटनले कोभिड-१९ बाट सिर्जित यो अवस्थामा पनि उल्लेखित पर्यटन भित्र्याउन सकिनेछ । त्यसैगरी यो अवस्थामा अर्को महत्वपूर्ण पर्यटन क्षेत्र धार्मिक पर्यटन हुन सक्छ । हाम्रो मुलुक हिन्दू तथा बौद्ध धर्म दुबैको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । धार्मिक क्षेत्रहरुलाई आवश्यक सरसफाईका साथ धार्मिक पर्यटन सेवा उत्पादनमा विविधता दिन सकेको अवस्थामा धार्मिक पर्यटनले कोभिड-१९ बाट सिर्जित यो अवस्थामा समेत गति लिन सक्नेछ ।

हामी सबै सरकारी निकाय, निजी क्षेत्र, जनप्रतिनिधि, स्थानीय निकाय सबै मिल्न र देशको पर्यटन क्षेत्रलाई जोगाउनको लागि पनि नेपाललाई स्वच्छ तथा सफा बनाउने कार्यमा एकढिक्का भै अगाडि बढ्न सकेमा कोभिड-१९ ले जन्माएको यो विषम परिस्थितिलाई अवसरका रुपमा परिणत गर्न सकिनेछ ।

(पोखरेल पर्यटन व्यवसायी हुन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय