scheduleमगलवार श्रावण २० गते, २०७७

३ दशकपछि च्याम्पियन बन्दै लिभरपुल

प्रतिक भट्ट, ११ असार । विहीबार राति म्यानचेस्टर सिटीले स्टामफोर्ड ब्रिजमा चेल्सीसँग खेलिरहँदा लिभरपुलका सम्पूर्ण खेलाडी एवम् पदाधिकारीहरुको ध्यान त्यतैतर्फ रहनेछ । कारण यो हो कि सो खेलको नतिजाले प्रिमियर लिगको उपाधि ३ दशकपछि लिभरपुलको पोल्टामा पर्ने पक्का हुन सक्ने छ । चेल्सीले सिटीलाई पराजित गरेको खण्डमा लिभरपुल ७ खेलअगावै प्रिमियर लिग च्याम्पियन बन्ने छ ।

पछिल्ला ३ दशकमा ८ प्रशिक्षकले टिमलाई सम्हालेको भएतापनि प्रिमियर लिगको उपाधि जिताउन भने असक्षम रहेका छन् । पछिल्लोपटक सन् १९८९-९० को सिजनमा लिगको उपाधि जितेको लिभरपुलले त्यसयता राम्रो प्रदर्शन गर्दै आएतापनि धेरैपटक सिजनको अन्त्यतिर गएर लय गुमाउने गरेको थियो र उपाधि जित्नबाट वञ्चित नै हुने गरेको थियो ।

यूरोपियन फुटबलमा बलियोमध्येको एक टिम लिभरपुलले पछिल्ला वर्षहरुमा कुनै पनि उपाधि नजितेको भने होइन । हाल प्रशिक्षकका रुपमा रहेका जर्गन क्लपले २०१५ को अक्टोबरयता टिमको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्  र आफ्नो प्रशिक्षणकालमा क्लपले लिभरपुललाई २०१८-१९ को यूरोपियन च्याम्पियन्स् लिग, २०१९ को युरोपियन सुपर कप र २०१९ को फिफा क्लब विश्वकप जिताइसकेका छन् ।

लिभरपुलसँग उपाधि सँगसँगै अर्को रेकर्ड बनाउने मौका पनि रहेको छ । यदि उसले आफ्ना बाँकी ७ खेलमध्ये ५ खेलमात्र जितेको खण्डमा प्रिमियर लिगमा सर्वाधिक अंकका साथ उपाधि जित्ने टिम बन्ने छ । यो रेकर्ड हाल म्यानचेस्टर सिटीको नाममा रहेको छ । डिफेन्डिङ च्याम्पियन सिटीले २०१७-१८को सिजनमा १०० अंकमा आफ्नो सिजन टुंग्याएको थियो र उपाधि जितेको थियो ।

                                                                                                                                                                                                                   

लिभरपुलको हाल ३१ खेलबाट ८६ अंक छ र उसले अब ५ खेल जितेमा उसको १०१ अंक हुनेछ भने बाँकी सबै खेल जितेमा १०७ अंक हुनेछ जुन प्रिमियर लिग इतिहासमै सर्वाधिक हो ।

यो सिजन सुरुबाटै राम्रो प्रदर्शन गरेको लिभरपुलले १ खेल मात्र हारेको छ भने २ मा बराबरी गर्दै बाँकी २८ खेल जितेको छ । यहाँबाट अब लिभरपुल चिप्लिने सम्भावना पनि अत्यन्त कम छ । अप्रत्याशित रुपमा लिभरपुल सबै खेलमा पराजित भई सिटीले सबै खेल जित्दै आएमा लिग तालिका उल्टिन सक्छ जुन् कुरा हुने झिनो सम्भावना मात्र छ ।

यस्तोमा पछिल्ला ३० वर्षमा उठाउन नसकेको उपाधि लिभरपुलले अन्ततः आफ्नो नाममा गर्दै लिगको उपाधि वरीयतामा झरेको आफ्नो साख पुनः माथि उठाउने छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय