scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

कोरोनाविरुद्ध विकसित खोपको बेलायतमा मानव परीक्षण सुरु

एजेन्सी, ११ असार । कोरोनाभाइरस विरुद्ध बेलायतमा विकास गरिएको एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ । स्वयंसेवकरु सहभागी रहने परीक्षणमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्ने सम्भावना बारे अवलोकन गर्न खोजिएको हो । परीक्षणका निम्ति आउँदो साता करिब ३०० जना मानिसलाई त्यो खोप लगाइनेछ ।

प्राध्यापक रोबिन शाटोकले नेतृत्व गरेको सो परीक्षण लन्डनको इम्पेरियल कलेजमा सुरु गरिएको हो । त्यसैगरी अक्स्फोर्ड विश्वविद्यालयका विशेषज्ञहरूले पनि यसअघि नै यस्तै किसिमको खोपको मानव परीक्षण सुरु गरिसकेका छन् ।

हाल विश्वभरि १०० भन्दा बढी खोप विकास कार्यक्रमहरू चलेका छन् । जनावरहरुमा समेत गरिएको परीक्षणले खोप सुरक्षित भएको र रोग प्रतिरोधी क्षमता बढाउन पनि यसले मद्दत गरेको पाइएको छ ।

धेरै खोपहरू भाइरसलाई परिमार्जन वा निष्क्रिय गरी बनाइएको भएपनि इम्पेरियल कलेजले बनाएको खोपमा भने भिन्नता छ । यसमा कोरोनाभाइरसको नक्कल गर्ने कृत्रिम आनुवंशिक संरचना प्रयोग गरिएको छ।

यो एक पटक मांसपेशीमा लगाएपछि ‘आरएनए’का प्रतिलिपिहरू आफैँ बन्न थाल्छन् र शरीरका कोषिकालाई भाइरसको सतहमा हुने स्पाईक प्रोटीन बनाउन निर्देशन गर्छन् जसका कारण प्रतिरक्षा प्रणालीले कोभिड-१९ को सङ्क्रमण नभईकनै पनि कोरोनाभाइरसलाई चिनेर पराजित गर्न सक्छन् ।

विशेषज्ञहरुले भनेका छन् कि यस खोपको परीक्षण सफल रहेमा यसको १ डोजको ५ डलरभन्दा पनि कम मूल्य पर्ने छ । यस चरणमा सफलता मिलेको खण्डमा दोस्रो चरणमा यो करिब ६००० जनामा परीक्षण गरिने पनि प्रोफेसर शाटोकले बताए ।

यद्यपि योजनाकै अनुसार अघि बढ्दै गएपनि यस वर्षको अन्त्यसम्म भने खोप तयार हुन नसक्ने उनले स्पष्ट पारेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय