scheduleबुधवार श्रावण २१ गते, २०७७

तिमी नेकपा बचाऊ, देश हामी बचाउँछौं !

रुद्रप्रसाद भट्ट

विश्वव्यापी फैलिएको कोरोना महामारीले देशमा संकट थपिँदै गएको छ । कोरोनाका कारण अर्थतन्त्रको जग हल्लिएको छ । जनताको मनस्थिति खल्बलिएको छ ।

सरकार ढुुकुटीको अर्बौं रुपैंया सकियो भन्दैछ । विदेशमा भएका उतै बिचल्लीमा छन् । स्वदेशमै बिचल्लीमा परेकालाई पनि सरकार उद्धार गर्न सक्तैन । बिरामी भएकालाई औषधी पुर्‍याउन सक्तैन र पनि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा देश ठीकठाक चलिरहेको छ भन्न छाड्दैनन् ।

हो, प्रधानमन्त्रीले भनेपछि पत्याउनैपर्छ कि देश ठीकठाक चलेकै छ । यसमा बहस गरेर केही हुनेवाला छैन । हिजो मरिचमान श्रेष्ठ, सुर्यबहादुर थापा, गिरिजाप्रसाद कोईराला हुँदै ज्ञानेन्द्र शाहको पालामा पनि देश ठीकठाक चलेकै थियो ।

हाम्रो देश हो चल्छ, कसैले चलाएर शक्ति खर्चनै पर्दैन । किनकी देश चलाउन सक्ने कोही आएकै छैनन् । कसैले चलाएर देश चलेको होईन बरु देश चलेर नै शासकको कमाउधन्दा चलेको हो । भ्रष्टाचारी, कमीशन खोर, माफियाहरुले लुट्न पाएकै देश चलेर हो । त्यसैले त गीतमा भनिएको हो–‘लुट्न सके लुट् कान्छा …।’

यतिबेला देशमा कोरोना कहरभन्दा कम्युनिष्ट कहर अर्थात नेकपाको चर्चा छ । दुई पाइलटले हाँकेको नेकपा नामको जहाज २ बर्षदेखि उडेको त छ तर, कहिलेसम्म उड्छ ठेगान छैन । जहाजमा दुई पाइलट भनिएपनि उडानको गति पनि छैन, भिजिबिलिटी पनि एकदम कम छ र जहाज उड्ने दिशा पनि गलत छ ।

जहाज उडाउन भन्दा गाह्रो सफल अवतरण गराउन हुन्छ भन्ने बुझेका पाईलट भएपनि यो जहाज कहाँ ल्याण्ड गर्ने टुङ्गो छैन । हिजो झापा विद्रोहको जहाज हाँकेको अनुभवी सर्टिफिकेट देखाएर बनेका केपी पाईलट र १० बर्षको जनयुद्धको जहाज उडाएर आएको सर्टिफिकेट देखाउने पिके (पुष्पकमल) पाईलटले जहाज त उडाए तर अवतरण गराउने साहश देखाएका छैनन् ।

धन्न यतिबेलासम्म जहाज उडेकै छ तर जहाजका यात्रु आत्तिएर रोएको, कराएको र चिच्चाएको सुनिन्छ । केहि चिच्याउने प्यासेन्जरलाई पाईलटले आफुसँगै ककपिटमा लगेर राखेपछि त झन् पाईलटको काममा वाधा पुग्न थालेको भन्दै अन्य यात्रुको चित्कार बढ्दै गएको छ ।

एउटा पाईलट जहाज मात्रै होईन सबैकुराको विज्ञ जस्तो देखिन्छन् । तर हिजो झापा विद्रोहको जहाज उडाउँदाका अनुभवी को–पाईलटहरु आज उनीसँग छैनन् ।

मोहनचन्द्र अधिकारी राधाकृष्ण मैनाली, सिपी मैनाली, देवी ओझाहरु ती पाईलटबाट जहाज उड्दैन भनेर पहिल्यै ओर्लिए ।

यता १० बर्षे जनयुद्धका पाईलटसँग पनि अनुभवी साथीहरु साथमा छैनन् । आफ्नो जहाज दुर्घटना गराएर अर्काको जहाजमा को–पाइलट हुन गएका पिके पाईलटसँग हिजोका सहयात्री मोहन बैद्म, बाबुराम भट्टराई, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव जस्ता साथीहरु छैनन् । पाईलटको हर्कत देखेर दुर्घटना अगाडी नै उनीहरु झरीसकेका थिए ।

– रुद्रप्रसाद भट्ट

आजको दिनमा नेकपा नामको जहाजको सम्भावित दुर्घटना वा सफल अवतरण भन्ने भविष्य दुई पाइलटको भन्दा यात्रुको हातमा पुगेको छ । जहाजमा केही अनुभवी, केही उर्जावान, केही प्राविधिक र केही कुशल परिचारक पनि भएकोले जहाज सहज अवतरण गराउन सक्ने सम्भावना पनि देखिन्छ ।

तर, दुई पाइलटमा देखिएको दम्भ, ईगो र घमण्डलाई हेर्ने हो भनेचाहिँ दुर्घट्ना अझै टरेको छैन भन्न सकिन्छ । खासगरी कुन लेनदेनमा चित्त बुझेन, अहिले दुई पाइलटबीचमै खट्पट् देखिन्छ ।

केपी पाइलटले सरकारमा एक्लै रजाईं गर्नु र पिके अर्थात् प्रचण्डले सरकारमा बोल्नै नपाउनु अनि पार्टीमा पनि सिङ्गल पाइलट हुन नपाउनुमै चित्त दुखाएको हुनुपर्छ । जसको पीडा अहिले खुमलटार देखि भैंसेपाटी, कोटेश्वर हुँदै डल्लुसम्म पुगेको छ । यतिबेला केहिलाई लागेको छ की नेकपा नामको जहाज दुर्घटनामा पारिदिउँ यात्रु र पाईलट बाँचेपनि आगामी दिनमा सँगै यात्रा नगरुन् । तर, त्यो राष्ट्र र जनताको हितमा छैन ।

विगतलाई हेर्ने हो भने २०५४ सालमा तत्कालीन एमाले पार्टी फुटेर एमाले र माले हुँदा वा २०५९ सालमा नेपाली काँग्रेस फुटेर काँग्रेस र प्रजातान्त्रिक काँग्रेस हुँदा कसैलाई पनि फाइदा भएको होईन । तत्काल कुनै ब्यक्तिले पद वा लाभ पाउनुभन्दा पनि पार्टी फुट्नुले जनताको आशा, भरोसा र विश्वास सबै गुम्नसक्छ । जुन कुरा तत्कालीन अवस्थामा फुटको कारण चुनावी नतिजा कसैको पक्षमा पनि राम्रो आउन सकेन ।

पछिल्लो समय एमाओवादी पार्टीको टुट, फुट र विभाजनले पनि त्यो देखाई सकेको छ । पार्टी फुट्दा तत्काल कसैले सत्ता वा पद प्राप्त गरेपनि पार्टीको विचार, सिद्धान्त र आदर्श पतन भएर जान्छ । जुन कुराको उदाहरण हिजोको मधेश केन्द्रित दलहरुलाई हेर्दा पुष्टि हुन्छ ।

गजेन्द्र नारायण सिहको तत्कालीन नेपाल सद्भावना पार्टी पटक-पटक सत्ताको लागि मात्रै फुट्यो । एक सीट बाँकी रहँदा सम्म फुटेर अन्ततः अहिले त्यो पार्टीको सिद्धान्त, विचार मात्रै होईन नाम नै मेटियो ।

यसर्थ, आजको दिनमा नेकपाका धेरै कमजोरी छन् र पनि ५ वर्षको लागि सरकार चलाउने लाईसेन्स नेकपासँगै छ । तर, लाईसेन्स भएर पनि बेढङ्गको चालक भएका कारण गति छैन । धेरै कुरामा विज्ञ भएको घमण्ड चालकमा देखिन्छ । जसले गर्दा यात्रु ढुक्क हुने अवस्था छैन ।

त्यसैले नेकपा र सरकार दुबैतर्फ अहिले चालक फेरेर अगाडी बढ्ने, सम्भावित दुर्घटनाको जोखिम लिने वा नयाँ लाईसेन्सको लागि जनता र कार्यकर्ताबाट पुनः ट्रायल लिने भन्ने बिकल्प मात्रै बाँकी छ । दम्भ र घमण्ड भरिएको चालकको चालचलन र आनीबानी सुधार गरेर पुनः जिम्मा दिने भन्ने विकल्पको चाहिँ अन्त्य भैसकेको छ ।

अहिलेको नेकपा र उसको नेतृत्वको सरकार कुहिएको फर्सी भैसकेको छ । नेकपा वा उसको नेतृत्वको सरकार राम्रो छ भन्नु भित्र कुहिएको फर्सी काटेर नहेर्दासम्म बजारमा बिक्री हुनु जस्तै । व्यापारीले आफ्नो कुनैपनि वस्तु नराम्रो देख्दैन । अहिले नेकपा र सरकार व्यापारी जस्तै भएको छ । जनतालाई राम्रो छ भनेर झुक्याउन माहिर व्यापारी त्यहाँ भित्र छन् ।

तसर्थ, अहिलेको आवश्यकता भनेको सरकार परिवर्तन वा पार्टी विभाजन होईन । यदि त्यो खेलमा लाग्ने हो भने कोरोनाले थिलोथिलो भएको अर्थतन्त्र, जनताको दयनीय जीवनशैली र विदेशी हस्तक्षेपका विरुद्ध लड्ने ताकत हामीसँग हुने छैन ।

तसर्थ, नेकपा भित्र मडारिएको धुवाँको मुस्लोले देश ढाक्नुअघि नै सक्षम र सबल नेतृत्वलाई जिम्मा दिएर अगाडि बढ्नु आजको आवश्यकता हो । घर चलाउन सकेन भनेर बाबु, आमा फेर्नु भन्दा परिवारकै सक्षम सदस्यलाई जिम्मा दिनु बुद्धिमानी हुनेछ ।

आवेग र भावनामा बगेर अनेकौं कुरा गरिएपनि अहिलेको अवस्थामा जनताले नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीलाई नै मत दिएको हो । त्यसैले केपी र प्रचण्ड यदि कुशल पाइलट हौं भन्ने दावी गर्छौ भने नेकपा बचाउ, देश हामी बचाउँछौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय