scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

यी ‘अन्धविश्वास’ भित्र विज्ञान पनि हुन्छन्

ज्ञानको हस्तान्तर एउटा पुस्ताबाट अर्को पुस्तामा स्वतस्फुर्तरुपमा पनि भइरहेको हुन्छ । नयाँ पुस्ताले अन्धविश्वास भनेर बेवास्ता गर्ने पुर्ख्यौली अभ्यासभित्र वैज्ञानिक आधारहरु पनि हुनसक्छन् ।

हाम्रो समाजमा विद्यमान विविध परम्परागत मान्यता कहिलेबाट सुरु भयो ? यसमा फरक मानिसका फरक जवाफ हुनसक्छन् । हाम्रो दैनिकीजस्तै बनेका यस्ता मान्यताहरु कतिपय त हामीले नबुझीकनै लागू गरिरहेका हुन्छौं ।

कतिपयले यस्तो अभ्यासलाई रुढिवादी परम्परा र अन्धविश्वास भन्दै आलोचना पनि गरिरहेका हुन्छन् । यहाँ केही त्यस्ता अभ्यासहरुभित्र लुकेको वैज्ञानिक आधारहरु बारे चर्चा गरिनेछ-

घाटबाट फर्केपछि नुहाउनु
कसैको मलामी गएर घाटबाट फर्किएपछि अनिवार्य रूपमा नुहाउने चलन छ । शवयात्रामा समावेश भइसकेपछि ननुहाए अशुभ हुन्छ भन्ने गरिन्छ ।

लासमा अत्यधिक मात्रामा ब्याक्टेरिया हुन्छन् । ती ब्याक्टेरियाको सम्पर्कमा आउँदा बिरामी हुने सम्भावना बढी हुन्छ । नुहाएमा ती पखालिन्छन्, अनि हाम्रो शरीरलाई असर गर्न पाउँदैन ।

महिनावारी हुँदा मन्दिर र भान्सामा प्रतिबन्ध लगाउनु
महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा प्रवेश गर्न बन्देज लगाइन्छ । अझ छुवाछुत नै गरिन्छ । कतिपय ठाउँमा त अलग्गै निवासमा राखिन्छ । छोएमा फोहोरी र अशुभ मानिन्छ । कुलदेवता रिसाउँछन् भन्ने मान्यता छ ।

महिनावारी हुँदा महिला शारीरिक रूपमा कमजोर हुन्छन् । यो वेला पेट र कम्मर दुख्ने गर्छ र उनीहरूमा काम गर्ने ऊर्जा हुँदैन । साथै, यो अवस्थामा यदि सरसफाइको कमी भएमा ब्याक्टेरिया फैलने सम्भावना रहन्छ । यसले पूरै परिवारलाई क्षति पुर्‍याउन सक्छ ।

साँझ कुचो लगाउन नदिनु
साँझ परिसकेपछि घरमा कुचो लगाउनु (बढार्नु)लाई हाम्रो समाजमा अशुभ मानिन्छ । कसिंगरसँगै लक्ष्मी बाहिर निस्कने वा ऋण लाग्ने विश्वासका कारण साँझमा कुचो लगाउन निषेध गरिएको हो ।

पहिला–पहिला घरमा बिजुली बत्ती नहुने हुँदा सानो टुकी बालिन्थ्यो । फलस्वरूप कम उज्यालो हुने अवस्थामा कुचो लगाउँदा आवश्यक सामानसमेत बाहिर जाने हुन्थ्यो । यसकारण साँझमा बढार्न निषेध गरियो । पछि बिस्तारै यसैलाई मान्यताका रूपमा लिन थालियो ।

यात्रामा निस्किनुअघि दही खानु
घरबाट बाहिर निस्कँदा आफ्नो परिवारका सदस्यलाई दही खुवाइन्छ । उसलाई परदेशमा भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गरिएको हो । दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ ।

पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । यसर्थ, हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपथ्र्यो । दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ । साथै, ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ । अनि, यात्रा सहज बनाउन मद्दत पुग्छ ।

ढोकामा कागती र खुर्सानी झुन्ड्याउनु
बाहिरी कुदृष्टिबाट घर–परिवारलाई बचाउन भन्दै ढोकामा कागती र खुर्सानीको माला बनाई झुन्ड्याउने गरिन्छ ।
कागती र खुर्सानी साइट्रिक एसिडको राम्रो स्रोत हो । तसर्थ, यिनले बाहिरी ब्याक्टेरियालाई नष्ट गर्छन् । यसरी परिवारको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय