scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज

डा. वेदप्रसाद खतिवडा र विष्णुप्रसाद पोख्रेल

फलफूल तथा तरकारीबालीहरु भिटामीन, प्रोटीन, खनीज पदार्थ तथा शक्तिको महत्वपूर्ण स्रोत हुन् । फलफूल तथा तरकारीबालीहरु टिपिसकेपछि पनि निरन्तर जीवन प्रक्रिया पूरा गरिरहने हुनाले यसबाट हुने वाष्पीकरण तथा श्वास-प्रश्वासका कारणले गुणस्तरमा ह्रास गराउँदछ ।

यस्ता नियमित प्रक्रियाहरुको मात्रा र दर मुख्य रूपमा नजिकको वातावरणको तापक्रम र सापेक्षिक आर्द्रतामा निर्भर गर्दछ । यस अर्थमा तापक्रम र सापेक्षिक आर्द्रताको नियमनबाट गुणस्तरको ह्रास हुनबाट बचाउन सकिन्छ । उदाहरणका लागि फलफूलको वाष्पीकरण हुनु भनेको यसको तौलमा कमी आउनु हो । यस अर्थमा वाष्पीकरणबाट उडेको पानीको मूल्य र ताजा कृषि उपजको मूल्य उही हो ।

तसर्थ फलफूल तथा तरकारीबालीहरु टिपिसकेपछि जतिसक्दो छिटो चिस्याउन सकियो भने यसको समग्र गुणस्तरलाई बढी भन्दा बढी कायम राख्न सकिन्छ । नेपालको परिवेशमा किराना तथा खुद्रा पसलमा बेच्नका लागि राखिने फलफूल तथा तरकारीहरुमा खूल्ला हुने हुँदा र कुनै पनि प्रकारको भण्डारणको प्रयोग नगरिने हुँदा गुणस्तरमा द्रूततर ह्रास आउँछ ।

Dish_Home

यसरी ह्रास आउनु भनेको समग्र पौष्टिक तत्वको नाश हुनु हो भने अर्कोतिर बिक्रेतालाई वजनमा पनि घाटा हुनु हो । दुःखको कुरा नेपालको परिवेशमा यस पक्षलाई यथोचित ध्यान दिएको पाइँदैन ।

नेपालमा सामान्यतया फलफूल तथा तरकारीहरू किनेर घर ल्याएपछि ताजा र तुरुन्त खाने वा पकाउने गरिन्छ भने बाँकी कृषि उपजहरुलाई भान्छामा त्यत्तिकै राखिदिने र अर्कोदिन फेरि पकाउने गरिन्छ ।

यसरी भान्छामा वा अन्य स्थानमा ताजा सागपातहरु त्यत्तिकै राखिने बीचको समयमा ताजा सागपात तथा फलफूलहरुबाट पानी वाष्पीकरण भइरहने भएकाले सागपात ओइलाएर जाने र गुणस्तरमा पनि धेरै नै ह्रास आउने हुन्छ । यसले परिमाणात्मक रुपमा मात्र हैन गुणस्तर, स्वाद, वास्ना वा तथा यसको पौष्टिकतामा पनि कमी आउँछ ।

यसरी समग्रमा विचार गर्दा उत्पादन भइसकेको कृषि उपज खेर जानु भनेको यसका लागि भएका सबै लगानीहरु जस्तै जमीन, बीऊ, श्रम, मल, पानी, समय र ढुवानीका खर्चहरु सबै खेर पनि जानु हो । यसैले साना किसानहरुको समूहस्तरमा उत्पादित विभिन्न कृषि उपजहरु होस् वा भान्छामा बिजुलीबाट चल्ने फ्रिज राख्ने अवस्था नहुँदा पनि ताजा सागपात र फलफूलहरू खेर गैरहेको अवस्था रहेको छ ।

यस लेखमा आज हामी नेपालको सन्दर्भमा साना किसान वा किराना पसल वा फलफूल तथा तरकारी बिक्रेताहरुलाई सुहाउँदो तथा बिजुली तथा अन्य बाह्य शक्तिको प्रयोग विना नै फलफूल तथा तरकारीबालीलाई चिस्याई यसको गुणस्तरमा हुन सक्ने क्षति न्यूनीकरणका लागि बनाउन सकिने शून्य शक्ति शित भण्डार तथा साना किसानको भान्छामा राख्न मिल्ने खालको गमला फ्रिजको बारेमा चर्चा गर्नेछौं । यसको प्रयोगात्मक परीक्षण लेखकद्वयले धेरै पहिले नै गरिआएको पनि जानकारी गराउन चाहन्छौं ।

सामान्य सिद्धान्त, उपयोगी प्रविधि

यो प्रविधि पानीको वाष्पीकरणको सामान्य सिद्धान्तमा आधारित छ जसअनुसार जुन वस्तु वा सतहबाट वाष्पीकरण भएर पानी बाहिर निस्कन्छ त्यसले उक्त बस्तुलाई चिसो बनाउँछ ।

यस प्रविधिमा चिसो बनाएर राखिएको बालुवाबाट पानी वाष्पीकरण भएर बाहिर निस्कन्छ र नजिकैको सतह र वातावरणलाई चिसो बनाउँछ । यस प्रविधिबाट तापक्रम ५ देखि १० डिग्री सेल्सियससम्म र सापेक्षिक आर्द्रता करिब ९० प्रतिशत राख्ने हुँदा भण्डारण गरिएको कृषि उपजहरुबाट पानीको वाष्पीकरण हुनबाट बचाउँछ भने परिमाणात्मक नोक्सानी पनि कमी गराउँछ ।

के बनाउने र कसरी बनाउने ?

यस प्रविधिमा आधारित रहेर शून्य शक्ति शित भण्डार वा गमला फ्रिजको निर्माण गर्न सकिन्छ । किसानको समूहस्तर वा कृषि सहकारीको स्तरमा हेर्ने हो भने उत्पादित ताजा कृषि उपजको छोटो समयको भण्डारणका लागि शून्य शक्ति शित भण्डार बनाउन सकिन्छ भने किसानको व्यक्तिगत प्रयोजनका लागि भने गमला फ्रिजको निर्माण गर्न सकिन्छ ।

क. शून्य शक्ति शित भण्डार

किसान समूह वा ताजा कृषि उपज बेच्ने खुद्रा व्यापारी वा कृषि सहकारीको स्तरमा बनाइने शित भण्डार बनाउनका लागि इट्टा, बालुवा तथा छानो बनाउनका लागि केही खर तथा काठको खम्बाहरु आवश्यक छ । यसको आकार आफ्नो आवश्यकतामा निर्भर रहन्छ ।

सामान्यतया १ मिटरको चौडाई तथा पौने १ मिटरको उचाई रहने गरी आवश्यकताअनुसारको लम्बाईमा यसको निर्माण गर्न सकिन्छ । पानीको स्रोत नजिकै भएको, रुखको मुनि अलिक अग्लो स्थान वा हावा खेल्ने ठाउँ यो भण्डार निर्माणका लागि उपयुक्त मानिन्छ । यसको निर्माणका लागि निम्न चरण हरु अपनाउनुपर्छः

१. इट्टालाई करिब आधा दिन चिसो पानीले भिजाएर राख्ने ।
२. आफ्नो आवश्यकताअनुसारको वा सामान्यतया १ मिटर चौडाई इट्टा बिछ्याउने र मसिनो शुद्ध बालुवाले सबै खाली प्वालहरु भर्ने ।
३. करिब पौने १ मिटर अग्लाई रहने गरी तथा चित्रमा देखाए झैं बीचमा ७ देखि १० सेन्टिमिटर खुल्ला रहने गरी इट्टाको गारो लगाउने ।
४. दुईवटा गारोको बीचमा रहेको खाली स्थानमा अब सफा तथा शुद्ध बालुवाले भर्ने ।
५. बालुवामाथि अब बिस्तारै चिसो पानीले भिजाउने र सम्पूर्ण बालुवा नभिजेसम्म पानी राख्ने ।
६. माथिको खुल्ला भागलाई राम्ररी ढाक्ने गरी पराल वा खरबाट बनाइएको फरिको तयार पार्ने ।
७. प्लाष्टिकको क्रेटमा फलफूल तथा तरकारी राखी यसरी तयार गरिएको भण्डारमा राख्ने ।
८. उक्त भण्डारलाई घाम तथा पानीबाट बचाउनका लागि सानो टहरो बनाउने ।
९. बालुवाबाट निरन्तर पानीको वाष्पीकरण हुन दिने र हरेक दिन साँझ र बिहान चिसो पानीले बालुवा भिजाउने ।
१०. यसरी बनाइएको भण्डारमा फलफूल तथा तरकारीबाट निस्कने इथाइलिन नामको ग्याँसलाई पूर्ण रुपमा बाहिर निकाल्नका लागि सफा हावा खेल्न सक्ने वातावरण दिने र गुम्म हुनबाट बचाउने ।

साधारणतः अग्लो स्थानमा यो भण्डार बनाएमा प्राकृतिक रुपमा नै हावा खेल्न पाउँछ । यसको बनावटमा सरलता, न्युन प्राविधिक ज्ञानको आवश्यकता र कम खर्चमा बनाउन सकिने भएकाले १ दिनको समयमा निर्माण गर्न सकिन्छ । यसरी भित्री भाग जहाँ फलफूल तथा तरकारी राखिएको हुन्छ, त्यहाँको तापक्रम मौसम र स्थान अनुसार करिब ५ डिग्रीसम्म कम हुन जान्छ भने सापेक्षिक आर्द्रता करिब ८० प्रतिशत भन्दा माथि हुन जान्छ जसले गर्दा यसरी राखिएको तरकारी, सागसब्जी र फलफूल एक हप्ताको समयसम्म नओइलाइकन ताजा राख्न सकिन्छ । तर निमार्णको स्थान, बालुवाको गुणस्तर, पानीको उपलब्धता र प्रयोग आदिमा यसको प्रभावकारिता फरक पर्दछ ।

सामान्यतया यस भण्डारमा सागसब्जी, काउली, बन्दा, धनियाँ, हरियो लसुनप्याज, गाँजर, मुला, सिमी-बोडी, तथा सबै प्रकारका फलफूल राख्न सकिन्छ । साना किसानले उत्पादन गरेको फलफूल तरकारीहरुको मूल्य कमी भएमा यस भण्डारमा केही दिन राखी उपयुक्त समयमा बेच्न सकिन्छ भने तरकारी तथा फलफूल व्यापारीहरुको हकमा भने हरेक दिन बेच्नका लागि नै यही प्रयोग गर्न सकिन्छ भने बाँकी रहेको तरकारी तथा फलफूल अर्को दिन बेच्न सकिन्छ ।

बिक्रेताहरुले ताजा फलफूल तथा तरकारी किनिसकेपछि दिनभरी बेच्ने तथा साँझ परेपछि छोपछाप गर्ने वा भण्डारण गर्ने गर्छन् । यसको सट्टा उपलब्ध तरकारी तथा फलफूलको बारेमा जानकारी दिई फलफूल तथा तरकारीलाई भने तल भनिए अनुसारको भण्डारणमा राखेर बेच्न सके केही हदसम्म भने पनि गुणस्तरमा आउने क्षतिलाई कम गर्न सकिन्छ ।

ख. गमला फ्रिज

किसानहरुको भान्छामा प्रयोग गर्न मिल्ने गमला फ्रिज अति सामान्यरुपमा बनाउन सकिने र प्रभावकारी विधि हो । यसमा दुई भिन्न आकार र साइजका गमलाहरु एकभित्र अर्को राखी बीचको खाली भागमा सफा बालुवा राखी उक्त बालुवालाई हरदम चिसो बनाउने उपाय गर्नुपर्छ । यसलाई बनाउनका लागि निम्न चरणहरु अपनाउनुपर्छः

१. सबैभन्दा पहिला करिब ६० देखि ८० सेमि व्यास भएको र करिब ६० देखि ७० सेमि उचाई भएको गमला छनौट गर्ने ।
२. त्यस गमलाभित्र राख्न मिल्ने गरी र बीचमा करिब ५ सेमिको खाली स्थान रहने गरी केही सानो तर उत्तिकै उचाईको अर्को गमला लिने ।
३. दुबै गमलालाई चिसो पानीमा करिब २ घण्टा भिजाउने ।
४. त्यसपछि सानो गमलालाई ठूलो गमलाभित्र राखी बाँकी भएको बीचको भागमा सफा बालुवाले भरिदिने ।
५. उक्त बालुवालाई हरेक दिन बिहान र बेलुकी चिसो पानी राखी हरदम भिजाइरहने ।
६. अब भित्री गमलामा आफ्ना ताजा कृषि उपजहरु, खासगरी सागपात, धनियाँ, लसुन प्याजका हरिया पातहरु वा काउली बन्दाहरु मिलाएर राख्ने र भित्री गमलालाई कुनै खालको बिर्कोले छोपिदिने । यसरी राखेका ताजा कृषि उपजहरुको तापक्रम घट्न गई ताजा र नओइलिएको अवस्थामा केही दिन भण्डारण गर्न सकिन्छ ।

अन्तमा, नेपालमा साना किसानहरुको स्तरमा वा उपभोक्ताको स्तरमा ताजा कृषि उपजहरुको परिमाणात्मक तथा गुणस्तरको नोक्सानी करिब २० देखि ५० प्रतिशत रहेको अध्ययन अनुसन्धानहरुले देखाएका छन् ।

यसरी भइरहेको नोक्सानीलाई केही हदसम्म भने पनि पोष्टहार्भेष्ट प्रविधिहरुको प्रयोग गरी घटाउन सकेमा किसानस्तरमा खाद्य तथा पोषण सुरक्षामा केही योगदान गर्न सक्ने देखिन्छ भने कृषि अनुसन्धान तथा प्रविधि प्रसारका विभिन्न निकायहरुले यस प्रविधिमा थप लगानी गर्नुपर्ने देखिन्छ ।

————————————–

डा. वेदप्रसाद खतिवडा अष्ट्रेलियामा रहेर ताजा कृषि उपजको स्वच्छता र गुणस्तर विषयमा काम गरिरहेका छन् र उनलाई bedkhatiwada@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।

विष्णुप्रसाद पोख्रेल प्राँगारिक तथा दीगो कृषि प्रर्वद्धन गर्ने संस्था सेकार्ड नेपालमा कार्यक्रम सुपरभाइजरको रुपमा सन् २००४ देखि कार्यरत छन् । साना किसानहरु तथा किसान समूहहरुले यस प्रविधिको बारेमा थप जानकारी लिन वा आवश्यक परामर्श वा प्राविधिक सेवाका लागि उनलाई pokhrel.bishnu@gmail.com वा फोन नं. ९८५१०७५५५६ मा सम्पर्क गर्न सकिनेछ ।

————————————–

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय