scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

‘देशभक्ति’ तात्विक र ‘राष्ट्रवाद’ प्रतिक्रियात्मक विचार हो

उदयन वाजपेयी

सन् २००० को मे महिनामा म केही हप्ताका लागि स्वीट्जरल्याण्ड गएको थिएँ । जेनेभादेखि करिब १०० किमी टाढाको एउटा गाउँ लेविनीमा ‘राइटर्स इन रेसिडेन्स’ थियो । त्यहाँ ५ देशका ६ जना लेखक थियौं । अमेरिका, वेलायत माल्दोविया, चेक गणतन्त्र र भारतदेखि आएर यहाँ सँगै बसेका थियौं ।

दिनभरि हामी आ-आफ्नो कोठामा, आ-आफ्नो काममा व्यस्त हुन्थ्यौं । साँझ सँगै बसेर कुरा गर्थ्यौं, खाना खान्थ्यौं । हामीसँग माल्दोवियाका नाटककार कन्स्टेनटाइन केनु पनि थिए । उनी साँझ हामीसँग अंग्रेजीमा कुरा गर्थे । तर, चेक कवि पिटर काबिशसँग भने रुसीमा कुरा गर्थे । त्यतिखेर माल्दोविया र चेक गणतन्त्र रुसी कब्जा र प्रभुत्वबाट मुक्त भइसकेका थिए ।

म यो कुराले छक्क पर्थें कि उनीहरु अझै किन रुसी भाषा मै कुरा गर्दछन् ? तर, वास्तविकता के थियो भने रुसी नै उनीहरुका लागि कुरा गर्न सहज भाषा बनिसकेको थियो । मलाई यो कुरा बिडम्बना जस्तो लाग्थ्यो । दुबै लेखक रुसी प्रभुत्वका विरोधी थिए । रुसी बर्चश्वलाई घृणा गर्थे तर एकआपसमा भने फेरि रुसी भाषामा नै कुरा गर्थे ।

Dish_Home

यो बिडम्बना केनु र काबिशको गल्ती वा अपराध थिएन बरु रुसी राष्ट्रवादको करामत थियो । रुसीहरुले ती देशमा आफ्नो शासनप्रशासन मात्र हैन, भाषा समेत लादेका थिए । यसरी लादेका थिए कि केनुले माल्दोवियाली भाषा पूरै बिर्सिसकेका थिए । रुसी राष्ट्रवादले त्यहाँको कम्युनिष्ट पार्टीको शक्तिसम्पन्नताको आशिर्वाद पाएको थियो । रुसी संघभित्र अधीनस्थ देशका भाषा र संस्कृतिहरु बिस्तारै मर्न थालेका थिए ।

मैले केनुलाई माल्दोवियाको स्थिति सोधें । उनले भने कि सोभियत संघको विघठनपछि त्यहाँ माल्दोवियाली भाषा बोल्न थालिएको छ । तर त्यसमा पनि नयाँ प्रकारको राष्ट्रवादको बिष भरिन थालेको छ । अब त्यहाँ माल्दोवियाली भाषा सामान्य बोलचाल र सृजनाको भाषा हैन, रुसी संस्कृतिविरुद्ध माल्दोवियाली संस्कृतिको पहिचान र प्रतिरोधको भाषा ठान्न थालिएको छ । उनको भनाई थियो सोभियत संघको गठन र रुसी प्रभुत्वको स्थापनाअघि त्यहाँ माल्दोवियाली भाषा एक सहज संस्कृतिको परिचायक थियो । त्यो कसैको विरुद्धमा थिएन ।

तर अहिले यसले रुसी भाषा र संस्कृतिविरुद्ध अनेक घृणा फैलाइरहेको हुन्छ । जसरी सोभियत संघले रुसी भाषालाई पहिचान र बर्चश्वको आधार बनाएको थियो, माल्दोवियाली भाषालाई त्यस्तै नयाँ पहिचान बनाउन प्रयास हुँदैछ । लाट्वीया, उक्रेन, जर्जिया, ताजकिस्तान आदि देशको स्थिति पनि ठीक यस्तै छ ।

देशप्रेम र राष्ट्रवादमा मूलभूत अन्तर हुन्छ । पहिलो तात्विक हुन्छ र दोस्रो प्रतिक्रियात्मक । सबै आधुनिक राष्ट्रमा यी दुबै भावना हुन्छन् । आत्मसजक राष्ट्रहरुमा देशभक्तिको अदृष्य भावना प्रभुतासम्पन्न र स्थायी भावना हुन्छ । राष्ट्रवादको भावना भने अपेक्षाकृत सतहमा हुन्छ । देशभक्ति एक गहीरो आत्मिक भावनाका रुपमा रहन्छ । राष्ट्रवादले अलिक फरक ढंगले मानिसलाई अभिप्रेरित गर्न खोज्छ ।

भारतजस्ता देशमा राष्ट्रवाद जुनकुनै परिस्थितिमा उभ्रेर सामुन्ने आउन सक्दछ । महात्मा गान्धी र रवीन्द्रनाथ टैगोर दुबै देशभक्त थिए । उनीहरुले राष्ट्रवादमाथि समयसमयमा प्रश्न उठाएका थिए । टैगोरले आफ्नो प्रसिद्ध उपन्यास ‘चार अध्याय’ राष्ट्रवादमाथि प्रश्न उठाउनकै लागि लेखेजस्तो लाग्दछ । यहाँनेर यो याद गर्न जरुरी छ कि राष्ट्रवाद एक पारिभाषिक तथा आधुनिक प्रत्यय मात्र हैन, यसको पछाडि २/३ शताब्दी लामो रक्तरञ्जित इतिहास छ । ‘चार अध्याय’मा यही रक्तरञ्जित राष्ट्रवादमाथि तिखो बहस छ ।

यो बहसका दुई ठोस ऐतिहासिक सन्दर्भ थिए । पहिलो प्रष्ट छ कि त्यो समय इटाली र जर्मनीमा राष्ट्रवादको फैलाव व्यापक थियो । यही राष्ट्रवादको आडमा मुसोलिनी र हिटलरको उदय भएको थियो । उनीहरुले आ-आफ्नो देशमा अनेक प्रकारका हिंसा, आतंक र नरसंहार गरिरहेका थिए । हिटलरले गरेको यहुदी र जिप्सीहरुको हत्याको कथा मान्छेको हृदय कँपाउने खालको थियो ।

टैगोरको उपन्यासमा राष्ट्रवादको दोस्रोे सन्दर्भ सन् १९२० को हाराहारी बंगालको आसपास र भारतका अन्य प्रदेशमा जाग्दै गरेको उग्र राष्ट्रवादी स्वतन्त्रता आन्दोलनहरु थिए । यी राष्ट्रवादीहरुका लागि ‘भारत राष्ट्र’ नै अरु सबै मानव मूल्यहरुलाई बैधिकृत गर्ने ‘अति मूल्य’ थियो ।

यी राष्ट्रवादीहरुले गरेका कुनै पनि हिंस्रक कृत्य वा अत्याचारलाई यसर्थ उचित मानिन्थ्यो कि त्यो राष्ट्रका लागि गरिएको हो । टैगोरले यो अतिमूल्यवादी राष्ट्रवादबारे आफ्नो उपन्यास र केही निबन्धहरुबाट प्रश्न उठाए ।

टैगोरले यो भने कि यदि राष्ट्रवादलाई नै मानव मूल्यको नियामक मानक मान्ने हो भने त्यसले मानव सम्बन्ध र भावनाका अन्य कैयौं पक्षहरुलाई अनिवार्यतः कुल्चिदिन्छ ।

माहत्मा गान्धी र भगत सिंहको बीच वा स्वतन्त्रता आन्दोलनमा सामेल तथाकथित नरम दल वा गरम दलबीचको विवादलाई अलिक ध्यान दिएर परिक्षित गर्ने हो भने हामी प्रष्ट देख्छौं कि उनीहरुबीच केवल कार्यशैलीको भिन्नता मात्र थिएन, बरु यी पक्षहरुको मूल्यप्रणालीमा ‘राष्ट्र’को फरक स्थान र भूमिका पनि थियो ।

गरम दल वालाहरु राष्ट्रलाई ‘मूल्यहरुको मूल्य’ वा सबैभन्दा ठूलो मूल्य मान्दथे । तर, गान्धीका लागि राष्ट्रको अर्थ व्यापक मनुष्यताका लागि नीतिपरक व्यवहार थियो । उनले मुनष्यको धर्मलाई नियामक मापदण्ड बनाएका थिए ।

गान्धीका लागि राष्ट्र वा स्वराज ‘मूल्यहरुको मूल्य’ नभएर ‘धर्महरुको धर्म’ थियो । ‘मनुष्यता र धर्म’ नहुने हो भने ‘अन्य’प्रतिको हिंसा जायज बन्न पुग्दथ्यो । गान्धीको विचारमा राष्ट्रवादले जब हिंसा शुरुवात गर्दछ, त्यो कहिल्यै नरोकिने चक्रका रुपमा प्रतिहिंसा बनेर आउँछ । गान्धी जर्मनी, इटली र जापानजस्ता देशमा प्रत्यक्ष र अरु कतिपय युरोपेली देशमा परोक्ष राष्ट्रवादको नाममा हुर्किरहेको हिंसा र तरह-तरहका अत्याचारप्रति सचेत थिए ।

बीसौं शताब्दीमा प्रयुक्त ‘राष्ट्र’ शब्द अंग्रेजीको ‘नेशन’को अनुवाद हो । यहाँनेर यो प्रष्ट हुन जरुरी छ कि वेद आदि प्राचीन ग्रन्थहरुमा उल्लेख भएको राष्ट्र र आधुनिक विश्व राजनीतिमा प्रयोग भएको राष्ट्र वा राष्ट्रवादको अर्थ एउटै हैन । ‘नेशन’को अर्थ केवल भौगोलिक सीमा हैन । यसको अझ आधारभूत अर्थ कुनै भौगोलिक सीमाभित्र बस्ने जनसमुदाय हो । यो प्रष्टै छ कि जनसमुदाय भन्नेबित्तिकै त्यो एकवचनात्मक एकाई हुँदैन ।

एउटा देशभित्र बसोबास गर्ने जनसमुदाय अनेक सम्प्रदाय वा समूहमा जीवनयापन गर्दछन् । ती सबै जनसमूहबीच सम्बन्ध–सूत्र र संवाद आवश्यक हुन्छ । तर यिनीहरुका आ-आफ्ना मौलिक विशेषताहरु पनि हुन्छन् । उनीहरुका यस्ता सम्बन्ध सूत्र र मौलिक विशेषताहरु पुष्पित–पल्लवित भएर नै देशको संस्कृति समृद्ध हुने हो । एक देशप्रेमीका लागि देशका विविध संस्कृतिहरुको समृद्धि नै देशको समृद्धि हुन्छ ।

राष्ट्रवाद यस्तो साँस्कृतिक विविधताप्रति एकाग्र हुनुको साटो देशको साँस्कृतिक विविधतालाई कुनै खास सर्वग्राही प्रत्यय वा अवधारणामा संकुचन गरी सम्पूर्ण देशमा त्यसलाई आरोपित गर्नतिर लाग्दछ । यसरी राष्ट्रवादले कुनै देशभित्रका विविध संस्कृतिको आपसी संवाद, सम्बन्ध र अन्तरक्रियालाई अवरुद्ध पार्दछ । यस्तो यसकारणले हुन्छ कि राष्ट्रवादले देशको आफ्नो साँस्कृतिक सन्दर्भलाई आफ्नै मौलिकता र स्वाभाविकतामा परिभाषित गर्नुको साटो कुनै अर्को देशप्रतिको अलगाव वा शत्रुताका सन्दर्भबाट परिभाषित गर्ने प्रयत्न गर्दछ ।

यस्तो प्रयत्नले देशको आत्यान्तिक पहिचानको साटो विरोधात्मक वा निषेधात्मक पहिचान स्थापित हुन पुग्दछ । अझ यसो भन्न सकिन्छ कि त्यसले देशको आत्यन्तिक पहिचानलाई बिर्संदै जान्छ र विरोधात्मक पहिचानलाई नै मुख्य पहिचान वा मौलिकताका रुपमा स्थापित गर्ने प्रयत्न गर्दछ । जबकि एक देशभक्तका लागि देशको आत्यन्तिक पहिचान नै सर्वथा मुख्य हुन्छ ।

यसको सरल अर्थ यो हो कि राष्ट्रवादीले आफ्नो देशको आत्यान्तिक मूल्य व्यवस्थाको सन्दर्भमा अरु देशलाई परिभाषित गर्नुको साटो अरु देशको मूल्य व्यवस्थाको सन्दर्भबाट आफ्नो देशलाई परिभाषित गर्दछ । यो एक विचित्रको अवस्था हो कि राष्ट्रवादले आफ्नो देशको वास्तविक मौलिक पहिचानलाई त्याग गरी कुनै भ्रामक वा प्रभुत्वशाली पहिचान स्थापित गर्ने नाममा देशभित्रका सांस्कृतिक विविधताहरुको यावत संवादलाई निस्प्राण बनाउँछ ।

पन्ध्रौं शताब्दीपछिको करिब २ सय बर्षसम्म युरोपेली पानीजहाज अमेरिकी महाद्विपमा गइरहे । ती २ सय बर्षमा अमेरिकी महाद्विपमा आ-आफ्नो राष्ट्र स्थापनाका लागि युरोपेलीहरुले धेरै ठूलो संख्यामा स्थानीय निवासीको हत्या गरे । एक तथ्यांकका अनुसार युरोपेलीले अमेरिकी रेड इन्डियनको त्यति संख्यामा हत्या गरे जति त्यतिखेर युरोपको कूल जनसंख्या थियो । यसरी कुनै राष्ट्र निर्माणका लागि अर्को कुनै राष्ट्रलाई नै विनाश गरियो ।

राष्ट्रवाद नामक प्रत्यय युद्धको सन्दर्भबाट निर्मित गरिन्छ । अर्थात् राष्ट्रवाद एक निर्मित प्रत्यय हो जसको खास ऐतिहासिक सन्दर्भ छ । जब हिटलरले जर्मनीलाई बाँकी सम्पूर्ण युरोपको विरुद्ध युद्धका लागि प्रेरित गरेका थिए, त्यहाँ राष्ट्रवाद शब्द खुबै लोकप्रिय भएको थियो । ठीक यही कुरा अमेरिकाले भियतनाम, कोरिया र अफगान युद्धका वेला गर्‍यो । सोभियत रुसले तथाकथित पुँजीवादी विश्व र सोभियत संघभित्रकै आन्तरिक राष्ट्रियताहरुविरुद्ध त्यही गर्‍यो । अहिले उत्तर कोरिया अमेरिकाका विरुद्ध त्यही प्रकारको राष्ट्रवाद प्रवर्द्धन गरिरहेको छ ।

यसले के प्रष्ट पार्छ भने राष्ट्रवाद कुनै मौलिक वा शृजनशील चेतना नभएर एक विरोधात्मक प्रत्यय हो । यसको प्रयोग आफ्नो देशको आत्यन्तिक सम्पूर्णतालाई परिभाषित गर्नको साटो दुश्मन देशको सन्दर्भमा परिकल्पित गर्नका लागि हुन्छ । यसप्रकार कुनै देशको अस्तित्वलाई परिकल्पित गर्नु फेरि अर्को चरणको युद्ध नै हुन्छ ।

नागरिकको मानषमा राष्ट्रवाद शब्द जति बलियो गरी आरोपित हुन्छ, जनता सर्वथा उत्तेजना र तनावको मानसिकतामा हुन्छन् र उनीहरुलाई दुश्मन देशको विरुद्ध उपयोग गर्न सजिलो हुन्छ । राष्ट्रवादले दुश्मन देशको अस्तित्व वा उपस्थितिलाई देशका नागरिकको तनाव र दुःखको कारण मान्दछ ।

यो बाटो हिँड्दा देशको सहज जीवन–व्यापार विस्तारैविस्तारै द्विविधाग्रस्त हुँदै जान्छ । नागरिकमा गढेको शत्रु देशप्रतिको घृणा वा तनाव त्यतिमा मात्र सीमित हुँदैन, त्यसले अझ फैलिएर नागरिक जीवनको दैनिकीलाई प्रभावित गर्न थाल्दछ । नागरिक–नागरिकबीच आशंका उत्पन्न हुन थाल्दछन् । देशका आञ्चलिक संस्कृतिहरुले आफूलाई संकटमा अनुभूति गर्न थाल्दछन् ।

त्यसका लागि उनीहरुले नागरिकको अर्को समूह वा सम्प्रदायलाई जिम्मेवार देख्दछन् । यसरी राष्ट्रवादले देशबाहिर मात्र हैन, देशभित्र पनि शत्रुता शृजना गर्दछ । देशले आफ्नो संस्कृति, स्मृति र सुक्ष्मताको सम्पूर्णतालाई गुमाउँदै जान्छ र एकांकी हुन पुग्दछ । भाषा तथा कला नीतिले मर्यादा गुमाउन थाल्दछन् । विस्तारै देशले आफ्नो स्वतत्व गुमाउँदछ । हज्जारौं हज्जार बर्ष लगाएर बनाएका जीवनानुभवहरु छोटो समयमै निस्प्राण हुन थाल्दछन् ।

राष्ट्रवाद शून्यबाट उभ्रिएर आउने हैन । केही त्यस्ता परिस्थितिहरु उत्पन्न हुन्छन् जसको कारण राष्ट्रवादको भावनाले पन्पिने अवसर प्राप्त गर्दछ । भारतको दृष्टिकोणबाट हेर्दा आधुनिकताको अन्ध स्वीकार र पारम्परिक दृष्टिप्रति अन्ध तिरस्कार राष्ट्रवाद हुर्किनुको मुख्य कारण हो । स्वतन्त्रतापछि एक सहज आशा यो गरेका थिए कि हाम्रा शैक्षिक संस्थाहरुले अंग्रेज शासनकालमा अध्याँरोमा धकेलिएका हाम्रा पारम्परिक जीवन दृष्टिलाई पुनःस्थापित गर्ने छन् । हाम्रा तिरस्कृत सभ्यता र ज्ञान परम्पराहरु फेरि एकपटक संस्थागत हुनेछन् । हाम्रा बौद्धिकहरुले हाम्रा सभ्यतालाई विमर्शको केन्द्रभागमा ल्याउनेछन् ।

तर हामी यो बाटो हिँडेनौं । हामीले यो ठान्यौं कि हाम्रा पारम्परिक विमर्श पद्धति आधुनिक पश्चिमी विमर्शहरुको बराबरी छैनन् । स्वतन्त्रतापछि पनि हाम्रो बौद्धिक तथा शैक्षिक बिमर्श अंग्रेज शासनकालको भन्दा खासै भिन्न रहेन । यही विन्दूमा हाम्रो देशमा राष्ट्रवादले तीव्र प्रतिक्रिया गर्‍यो । भारतमा राष्ट्रवादको उदयको कारण स्वतन्त्रतापछिको शैक्षिक तथा बौद्धिक विमर्शको कमजोरीमा खोज्नुपर्ने हुन्छ । आज पनि हाम्रा बौद्धिकहरु आफ्ना कमजोरीहरु खोज्नुको साटो केही व्यक्ति र नीतिलाई दानवीकरण गर्नतिर लागेका छन् । यसले गर्दा भारतमा राष्ट्रवादको भावना झनझन शक्तिशाली हुँदै गइरहेको छ ।

देशप्रेम वा देशभक्ति तात्विक हुन्छ, प्रतिक्रियात्मक हैन । देशप्रेमका लागि अर्को कुनै देशप्रति घृणा फैलाउनुपर्ने आवश्यकता हुँदैन । देशभक्तले एकसाथ अनेक देशप्रति अनिवार्यता कायम गर्दै आफ्नो देशभक्तिलाई जोगाउन सक्दछ, आफ्नो देशप्रतिको आफ्नो धर्म र कर्तव्य निर्वाह गर्न सक्दछ ।

जस्तो कि महात्मा गान्धीले आफ्नो देशप्रति जीवनभरि प्रेम गरे तर अरु कुनै देशप्रति घृणा फैलाएनन् । गान्धीले भारतलाई अंग्रेजको औपनिवेशिक शासनबाट मुक्त गराएका मात्र हुन् भन्ने ठान्यौं भने हामी ठूलो गल्तीमा हुनेछौं । भारतका अधिकांश वामपन्थी वा दक्षिणपन्थी चिन्तकहरु ठीक यस्तै ठान्दछन् । गान्धीले भारतीय सभ्यताको सुक्ष्मताबाट एक गहनतम जीवनदृष्टिलाई उठाएर त्यो चेतना नागरिकलाई दिएका थिए । त्यो चेतनाले नागरिकलाई जगाउँथ्यो र आलोचनात्मक दृष्टिका लागि आह्वान गर्दथ्यो ।

तर, स्वतन्त्रता प्राप्तिपछि हामी यो बाटोमा धेरै समय हिँडेनौं । एकप्रकारले यो बाटो नै बन्द भयो । यही परिप्रेक्ष्यमा यहाँ राष्ट्रवादको उदय भयो र देशभक्ति कमजोर हुँदै गयो । राष्ट्रवादका कोरा नाराहरुको ठाउँमा ठोस विचारलाई स्थापित गर्न देशको आत्यान्तिक सभ्यताप्रति गहीरो समझ आवश्यक पर्दछ । यस्तो गुण हासिल गरेर मात्र राष्ट्रवादलाई प्रश्नहरुको कठघरामा उभ्याउन सकिन्छ ।

(जानकी पुल डट कमबाट संक्षेपीकरणसहतिको भावानुवाद ।)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय