scheduleबुधवार श्रावण २८ गते, २०७७

पोखरामा यो वर्ष रोपाइँ महोत्सव नहुने

 

फाइल फोटो

पोखरा, १३ असार । पोखरामा १७ वर्षदेखि असार १५ को दिनमा हुँदै आएको रोपाइँ महोत्सव यो वर्ष नहुने भएको छ । कोरोना भाइरस महामारीका कारण यस वर्ष पोखराको पर्यटन पनि खल्बलिएको छ जसका कारण यस वर्ष पोखरामा पर्यटक सँगसँगै रोपाइँको रौनक समेत देखिएको छैन ।

पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्को आयोजनामा १७ वर्ष अघिदेखि कृषि पर्यटनका माध्यमबाट पोखरामा पर्यटकको बसाइ लम्बाउने उद्देश्यले रोपाइ महोत्सव हुँदै आएको थियो । संघले प्रत्येक वर्ष पोखराको फरक फरक ठाउँमा रोपाइँ महोत्सव गर्दै विदेशी पर्यटकलाई सहभागी गराउँदै आएको थियो ।

महोत्सव यस वर्ष कोभिड–१९ का कारणले हुन नसक्ने परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनले भनेका छन्, ‘हामीले १७ वर्ष अघिदेखि कृषि पर्यटनको माध्यमबाट पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले असारे रोपाइँ महोत्सवको गर्दै आइरहेका थियौँ, तर यो वर्ष कोरोनाका कारण निरन्तरता दिन सकेनौँ ।’

उनका अनुसार रोपाइँ महोत्सवमा सहभागी हुन अमेरिकाको रोट्रेडम युनिभर्सिटीबाट नेपालको परम्परागत खेतीप्रणालीबारे बुझ्न र अनुभव गर्न विद्यार्थी र प्राध्यापकसहितको टोली आउने गरेका थिए । महोत्सव अन्तर्राष्ट्रिय जगतमा समेत ‘ब्राण्डिङ्ग’ हुँदै गएको थियो ।

होटल एशोसियशन नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले रोपाइँ महोत्सवले पोखराको पर्यटन क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको बताए । ‘पोखराको रोपाइँ महोत्सव पृथक र रमाइलो वातावरणमा हुँदै आइरहेको थियो, उनका अनुसार नेपाली र विदेशीबीच नाचगान, पञ्चे बाजा, असार गीतसँगै दहीचिउरा खाएर रोपाइँ महोत्सव मनाउने गरिन्थ्यो ।’

असार १५ मा सरकारले मनाउँदै आएको धान दिवसमा यस वर्ष कोरोना महामारीका कारण संक्रमण फैलिन सक्ने जनाउँदै कृषि विभागले हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने प्रोटोकोलमा उल्लेख गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय