scheduleसोमवार मंसिर १५ गते, २०७७

बारम्बार सोधिने निजी प्रश्नहरुको सार्वजनिक प्रतिउत्तर

डम्बर खतिवडा

जब देशको राजनीतिक स्थिति अलिक जटील वा आरोह-अवरोहपूर्ण बन्छ – त्यस्ता अनेक प्रश्न ओइरिन थाल्दछन् – यथार्थमा ती निजीभन्दा बढी सार्वजनिक नै हुन्छन् । सपा–राजपाको एकता, जसपाको गठन, चुच्चे नक्सा प्रकरणदेखि नागरिकता विधेयकमाथिको बहससम्म आइपुग्दा न इतिहास उट्किनेहरुको अभाव छ न गाली र आरोपको । पहिलो प्रश्न यही सोध्छन्– ‘तिमेरु जस्तो मान्छे त्यस्तो पार्टीमा कतिन्जेल टिकौला ?’ यो प्रश्न गर्नेहरुले जे ठानेर यस्तो सोध्छन्, त्यस्तो भाव मेरो मनमा फिटिक्कै आउँदैन ।

म मानव जीवनको नियतिबारे धेरै हदसम्म दार्शनिक अल्वेयर कामुबाट प्रभावित छु । उनी भन्छन्– ‘हामी चाहेर जन्मेका हैनौं, नचाहेर पनि मर्छौं’, योभन्दा ठूलो विसंगति अरु के हुन्छ ?’ यसको अर्थ– मान्छेको अस्तित्व नै स्वयं आफैंमा एक विसंगति, एक अन्तर्विरोध हो । मैले चाहेर, भगवानलाई बिन्तीपत्र हालेर यो जीवन पाएको हैन । मेरो जन्मसँग जोडिएर आएका कैयौं चीज मेरा छनौट हैनन् ।

जन्म र मृत्यु मानव जीवनको सबैभन्दा ठूलो सत्य हो । जन्म मान्छेको आफ्नो हैन, मृत्यु पनि मान्छेको आफ्नो हैन । यसबीचका कर्म मात्र मान्छेको आफ्नो हो । जन्मसँग जोडिएर आफैं आउने चीजहरु ‘प्राकृतिक संयोग’ हुन् । जे चीज संयोग हुन्, ती मेरा कर्मका प्रतिफल हैनन् । जे चीज मेरा कर्मका प्रतिफल हैनन्, ती चीजप्रति न गौरव गर्न जरुरी छ, न हिनताभाष राख्न । ती चीजप्रति तटस्थ, साक्षी वा सम्बोधी हुन सक्नु पर्दछ, जो आफ्ना हैनन् । कुनै कुल वा वंशमा, कुनै भाषिक समुदाय वा देशमा केवल जन्मेको कारणले कसैले गौरव वा हिनता राख्नुपर्ने स्थिति आउँछ भने त्यो प्रकारान्तले ‘अतिवाद’को कारण बन्दछ ।

मेरो विचारमा मानिस आफ्ना कर्म र कर्मका प्रतिफलप्रति मात्र उत्तरदायी हुन्छ, संयोग वा नियतिप्रति हैन । ती चीजको उत्तर मैले दिनुपर्छ, जो मैले गरें । ती चीजको उत्तर मैले दिन सक्दिनँ जो भगवान वा प्रकृतिले गर्‍यो । मेरो पहिलो स्वीकारोक्ति यो हो कि म व्यक्तिगत तबरमा जात, धर्म, संस्कृति, भाषा र यहाँसम्म कि देशप्रति पनि निरपेक्ष मान्छे हुँ ।

कुनै देशमा जन्मिनु मात्र कुनै ठूलो गौरव हैन, संसारको हरेक मान्छे एउटा न एउटा देशमै त जन्मेको हुन्छ । त्यो सामान्य प्राकृतिक संयोग हो । त्यसमा के गौरव गर्नु ? गौरव त त्यतिखेर गर्नुपर्ने होला जब आफू जन्मेको देशका लागि केही राम्रो गर्न सकिन्छ । राजनीति मात्र हैन, सबै सृजनशील कर्म र साधना ‘राग’ र ‘बैराग’ भन्दा पर ‘वितराग’को अभ्यास हो ।

दोस्रो– धेरैले भन्छन् कि लामो समय कम्युनिष्ट पार्टीमा रहिस् । अहिले छोडें भन्दैमा कम्युनिष्टहरुको चर्को आलोचना गर्दै हिँड्ने ?

यो प्रश्न मान्छेको ‘चेतन–यात्रा’सँग जोडिएको छ । स्वतन्त्रता, निजत्व र युगीन चेतनसत्तासँग जोडिएको छ, मसँग हैन ।

जतिखेर म नेपालको कम्युनिष्ट पार्टीको नजिक पुगें, सानो उमेरको थिएँ । २०४० को दशकको अघिको ‘माले’ मेरो मातृपार्टी बन्यो । लामो समयसम्म मैले पार्टीको कुरा निरपेक्षरुपमा पत्याएँ । विचारमा विश्वास गर, पार्टीलाई विश्वास गर, नेतृत्वलाई विश्वास गर । यसलाई ‘तीन विश्वास’ भनिन्थ्यो । त्यो मेरो स्कुलिङ बन्यो । त्यही मान्दै गएँ । तर जति भोग्दै, बुझ्दै र पढ्दै गएँ, ती चीज मलाई ठीक लागेनन् ।

डम्बर खतिवडा

यदि विश्वास मात्र गर्ने हो भने आलोचनात्मक चिन्तन कसरी बन्छ ? संसारमा जति पनि नयाँ काम र सृजना भएका छन्, विश्वासले हैन, आलोचनात्मक चेतनाले भएका छन् । सृजनशील हस्तक्षेपले भएका छन् । पुनरावृत्तिका लागि विश्वास पर्याप्त छ, तर सृजनाका लागि हैन । मान्छेको चेतन–यात्रा विश्वासबाट आलोचनातिर, आलोचनाबाट खोजतिर र खोजबाट सृजनातिर लम्किँदो रहेछ । जे चीजमा हृदयको गहीरो विश्वास नै रहँदैन, त्यसमा ‘विश्वास गर, विश्वास गर’ भनेर मात्र के हुन्छ ?

करिब २५ बर्ष कम्युनिष्ट पार्टीको वरिपरि रहेर काम गरेपछि मेरो चेतन–यात्राले कम्युनिज्ममा विश्वास गर्न सकेन । त्यतिखेर सोभियत संघ थियो, पूर्वी युरोप थियो । त्यतिखेरको कम्युनिष्ट पार्टीको भाष्य नै अर्कै थियो । त्यहाँ ‘धनी हुँदैनन्, गरीब हुँदैनन्, शोषक हुँदैनन्, शोषित हुँदैनन्, शासक हुँदैनन्, शासित हुँदैनन्, बजार हुँदैन, मुनाफा हुँदैन, जसको जोत, उसको पोत हुन्छ, जमीन किसानको हुन्छ, कारखाना मजदुरको हुन्छ, पार्टीभित्र गुटबन्दी हुँदैन, अन्याय हुँदैन, पार्टीले राज्यलाई, राज्यले विभिन्नतालाई समाप्त गर्दै लान्छ, समाज एकछत्त बन्दै जान्छ’ आदि, इत्यादी ।

मैले किशोर उमेरमा मन पराएको कम्युनिज्मको भाष्य त्यसप्रकारको थियो । आजका कम्युनिष्टहरुको भाष्य सायद त्यो हैन । फरक कति मात्र हो भने मैले कम्युनिज्ममा अविश्वास भएपछि कम्युनिष्ट पार्टी छोडें । साथीहरुले कम्युनिष्ट पार्टीमै बसेर कम्युनिज्म छोडे । छोडेको मैले र मजस्ताले पनि हो । छोडेको त्यहीँ बसिरहनेहरुले पनि हो । खाली छोड्ने तरिका फरक हो ।

मैले ठानें – ‘यदि हिन्दू हुनुछ भने गोमांश किन खाने ? यदि गोमांश खाने मन छ भने हिन्दू किन भइरहने ?’ कमरेडहरु भने हिन्दू पनि भइरहे, गोमांश पनि खाई रहे, मैले त्यो गर्न सकिनँ ।

मनभित्र आउने कुनै न कुनै प्रकारको नैतिक भावनाले बारम्बार पिरोल्यो । एकबारको जिन्दगीमा त्यो पिरलो कति भोग्ने भन्ने भएपछि मैले कम्युनिष्ट पार्टी छोडें । छोडेको पनि १० बर्ष बढी भइसक्यो, इतिहास भइसक्यो । म कुनै समय कम्युनिष्ट थिएँ भन्ने कुरा मैले नै बिर्सिसकें । त्यही कुरा बारम्बार उड्केर कस्लाई के फाइदा हुने हो मलाई थाहा छैन ।

सोभियत संघ वा पूर्वी युरोप त्यस्तो थियो कि थिएन जुन हामीलाई नवकिशोर वयमा भनिएको थियो । आफैं देख्न, बुझ्न पाइएन ।

मैले ‘समाजवादको यात्रा’ किताब लेख्दा १२ जना लामो समय रुस बसेर आएकासँग घण्टौं कुरा गरेको थिएँ । उनीहरुको भनाइमा सोभियत संघ यथार्थमा त्यस्तो थिएन जो हामीलाई भनिएको थियो । किताब पढेर बुझ्ने कुरा त आफ्नो ठाउँमा छँदैछ । घटनाक्रमले पनि पछि त्यही सिद्ध गर्‍यो ।

मदन भण्डारीले जनताको बहुदलीय जनवाद बनाउँदा सोभियत घटनाक्रमको जुन सृजनशील आलोचना गरे भनियो, त्यो त दुनियाँमा १९५० कै दशकमा भइसकेको रहेछ । ओशोको सन् १९७१ तिरको प्रवचन ‘समाजवाददेखि सावधान’ पढ्ने हो भने सोभियत प्रणालीमा आउने संकटको चर्चा त्यतिखेरै पाइन्छ, जो पछि हुबहु मिल्यो ।

विघठन भएको लेनिन–स्टालिनको सोभियत संघ मात्र हैन, माओको चीन पनि त्यस्तो छैन । नेपालमा भनिने कम्युनिज्मको भाष्य र चीनको यथार्थबीच आकाश-जमीनको भिन्नता छ । आजका चिनियाँहरु सन् १९७८ लाई एउटा महत्वपूर्ण समयरेखा मान्दछन् । हरेक कुरामा उनीहरु ‘र्‍याडिकल्स्’ र ‘रिफर्मिष्ट’ को विभाजन गर्दछन् । माओ र माओवादीहरुको शासनकाललाई ‘र्‍याडिकल्स’ को समय मानिन्छ । देङको उदय र त्यसयताको समयलाई ‘रिफर्मिष्ट’ भनिन्छ । चिनियाँ अधिकारहरु वाक्यवाक्यमा ‘आफ्टर रिफर्म’ र ‘बिफोर रिफर्म’ भनेर छुट्याउँछन् ।

साँच्चै भन्ने हो भने चीनमा साम्यवादको पतन सन् १९७८ मै भइसकेको छ, केबल एकदलीय प्रणाली मात्र बाँकी छ । भारतमा गान्धीजस्तो माओ नोटमा छापिने फोटोमा सीमित भएका छन् । त्यहाँ कुनै पनि कुरा माओको विचार र सिद्धान्त अनुसार हुँदैन । यहाँसम्म कि माओवादीहरुसँग रिफर्मिष्टहरु चरणचरणमा सतर्क भएर प्रतिवाद गरिरहेका हुन्छन् । माओवादीहरुलाई सांस्कृतिक क्रान्तिका ध्वंसको लागि जिम्मेवार ठानिन्छ ।

महात्मा गान्धी र राहुल गान्धीमा जति फरक छ, माओ त्से तुङ र सि जिन पिङमा त्यति नै फरक छ । ७० बर्षभन्दा बढी कम्युनिष्ट पार्टीले शासन गरिसक्दा धनी र गरीबबीचको खाडल अमेरिकामा भन्दा धेरै हुन लागेको छ । त्यहाँ सामान्य मजदुरको ज्याला मासिक ३ हज्जार युआन हुन्छ, राज्यका उच्च पदस्थहरुको तलब ८० हज्जार युआनसम्म हुन्छ, जुन २६ गुणाभन्दा बढीको फरक हो ।

यहाँनेर मेरो भनाइ के हो भने १०–१५ बर्षको उमेरमा मान्छेको जुन संगत र स्कुलिङ बन्छ, त्यही चेतनामा सम्पूर्ण जिन्दगी बिताउनुपर्छ भन्ने छैन होला ।

हाम्रो मात्र हैन, अरु धेरै मान्छेको जीवनमा यस्तो भएको छ । जस्तै क्राइष्ट । क्राइष्ट यहुदी परिवारमा जन्मिएका थिए । क्रिश्चियानिटीको विचार बनाए । क्राइष्टको मूल्याङ्कन उनी यहुदी भएर जन्मिए भनेर गर्ने कि क्रिश्चियानिटी बनाए भनेर गर्ने ?

जस्तो बुद्ध । बुद्ध हिन्दू परिवारका थिए । उनको मूल्याङ्कन हिन्दू थिए भनेर गर्ने कि बुद्धत्वको लागि गर्ने ?

जस्तो कार्ल मार्क्स । मार्क्स हिगेलिष्ट थिए, पछि साम्यवादको विचार जन्माए । उनको मूल्याङ्कन हिगेलिष्ट थिए भनेर गर्ने कि साम्यवाद जन्माए भनेर गर्ने ? जस्तो पुष्पलाल, उनी कांग्रेस थिए, छोडेर कम्युनिष्ट पार्टी जन्माए । उनको मूल्याङ्कन कांग्रेस थिए भनेर गर्ने कि कम्युनिष्ट पार्टी स्थापना गरे भनेर गर्ने ?

हाम्रो स्थिति पनि त्यस्तै हो । हिजो नेपालमा कांग्रेस र कम्युनिष्टभन्दा अरु पार्टी थिएनन् । तिनै पार्टीमार्फत् लोकतन्त्रका लागि लडियो । सकेको, सामर्थ्यले भ्याएको योगदान गरियो । आजको चेतनामा त्यो अपर्याप्त लाग्यो, छोडियो । नयाँ चीजको खोजमा हिँडियो ।

आज कम्युनिष्ट पार्टीसँग जुन संगठन, शक्ति र स्रोतसाधनमाथि पहुँच छ– त्यसको निर्माणमा हाम्रो पनि रगत, पसिनाको धेरथोर योगदान होला तर हामीले त्यसको कुनै अंश वा भागदाबी त गर्‍या छैनौं । कतै कुनै अदालतमा अंशमुद्दा हाल्या छैनौं । जब सबैथोक छोडेर हामी शून्यबाट नयाँ यात्रा गर्न निस्कियौं भने फेरि मान्छेहरुलाई के को रीस बाँकी हो ?

आजको हाम्रो प्रतिबद्धता ‘वैकल्पिक समाजवादी विचार र आन्दोलन’ हो । एक फरक राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नु हो । कम्युनिष्ट पार्टी छोडेको क्षणदेखि आजसम्म यो निष्ठा र प्रतिबद्धतामा कतै खोट वा त्रुटी देख्नुहुन्छ भने भिन्नै कुरा । हामीलाई जति भन्नु छ, ठोक्नु छ, गोद्नु छ यही मानकबाट भने हुन्छ, ठोके हुन्छ, गोदे हुन्छ । जे चीज हामी हुँदै हैनौं वा हिजो थियौं भने पनि छोडिसक्यौं, त्यसलाई समातेर के हुन्छ ?

क्राइष्टलाई यहुदीवादको ऐना देखाएर के अर्थ हुन्छ ? बुद्धलाई शंकराचार्यका मानकबाट हेर्नुको के अर्थ रहन्छ ? मार्क्सलाई हिगेलका कोटेशनको उट्की लगाएर के हुन्छ ? पुष्पलाललाई ‘कांग्रेस थिइस् कांग्रेस थिइस्’ भन्दै गाली गर्नुको के अर्थ रहन्छ ? हाम्रा लागि हिजोका कुरा त्यस्तै हुन् ।

तेस्रो प्रश्न – ‘मधेशसँग मिल्यौ, मधेशीसँग मिल्यौ’ भन्ने हुन्छ । यसो भन्ने कमरेडहरु एकपटक आफ्नो मनोविज्ञानलाई पुनः अन्वेषण गर्नुस् । तपाईंले भन्न खोज्या के ? हामी त्यहीसँग मिल्छौं, जहाँ हाम्रो विचार र एजेण्डा मिल्छ । तपाईंहरु ‘कम्युनिष्ट’ छोडेर ‘समाजवादी’ भएर आउनुस, तपाईंहरुसँग पनि मिलौंला । यसको अर्थ यो हैन कि कुनै सिद्धान्तको मानकमा कुनै व्यक्ति वा संस्था शतप्रतिशत ‘फिट’ वा ‘अनफिट’ हुन्छ, तर आधारभूत वैचारिक संगति त चाहियो नि ? राजनीतिमा हेर्ने भनेकै एजेण्डाको समानता त हो ।

हामी नेपाल भन्ने देशको राजनीति गर्छौं भने मधेशसँग मिल्छौं, किनकी मधेश नेपालभित्र छ । हामी लिम्बूवानसँग मिल्छौं किनकी लिम्बूवान नेपालभित्र छ । हामी थरुहटसँग मिल्छौं किनकी थारुहरु नेपालभित्र छन् । यो प्रक्रियामा प्रश्न उठाउनेहरुलाई ‘अड’ वा नमिल्दो लागेको कुरा चाहिँ के हो ? मधेशीहरु पहाडी मूल नेतृत्व भएको पार्टीमा बस्न हुन्छ, पहाडीहरु मधेशी मूल नेतृत्व भएको पार्टीमा बस्नु हुँदैन, यही हो ? यस्तै सोचले चल्छ अबको दुनियाँ ? यस्तै सोचले बन्छ साझेदारी, समभाव, सहअस्तित्व ? यस्तो सोंचले बन्छ राष्ट्रिय एकता ? यस्तो सोंच आफैमा एक प्रकारको साम्प्रदायिकता हैन र ?

मधेशी मूल नेतृत्व भएको पार्टी चाहिँ ‘मधेशी पार्टी’ मात्र हो, पहाडी मूल नेतृत्व भएको पार्टी चाहिँ ‘पहाडी पार्टी’ हैन – ‘राष्ट्रिय पार्टी’ हो, यस्तो सोंच कुनै वृहत्, उदात्त र फराकिलो चेतना हो र ? विचार निर्माण र पार्टी निर्माण फरक कुरा हुन् । पार्टी निर्माणमा विचारको महत्वपूर्ण भूमिका हुन्छ तर विचारले मात्र पार्टी बन्दैन । पार्टी निर्माण बृहत् राजनीतिक ध्रुवीकरणको प्रक्रिया हो । यसमा आउन चाहने सबैलाई ढोका खुल्ला छ त ?

अझै यतिले पुग्दैन । अझै यो प्रक्रियालाई तीव्र पार्नु पर्दछ । हाम्रो त खुल्ला आग्रह के हो भने राप्रपा, कांग्रेस र कम्युनिष्ट बाहेकका हामी सबै पार्टी आउने चुनाव भन्दा अगाडि नै मिलौं । राप्रपा, कांग्रेस र कम्युनिष्टसँग संस्थागत ढंगले मिल्न सकिन्न । किनकी उनीहरुले चलाएजस्तो राज्य वा सरकार वा विचार र एजेण्डासँग विमति भएर त हामीले विकल्प खोजेको, उनीहरुसँग संस्थागत रुपमा मिल्ने हो भने त ‘वैकल्पिक शक्ति’ निर्माणको आधारभूत सोंच नै बाँकी रहँदैन ।

त्यसभित्रका पनि विकल्प चाहने प्रगतिशील र समाजवादी साथीहरु समूहगत वा व्यक्तिगत रुपमा आउनुहोस् । आगामी चुनावमा एक वृहत् राजनीतिक विकल्पसहित जाउँ । देशलाई फरक धारको एउटा नयाँ सरकार दिऔं । त्यो सरकारले विगतको ३० बर्षभन्दा फरक ढाँचाबाट देशको आर्थिक, सामाजिक, साँस्कृतिक विकासको प्रयत्न गरोस् । क्रान्तिका अधुरा कार्यभार पूरा गर्न संविधान संशोधन गरोस् । यो एक वृहत् परियोजनाभित्र मधेश पनि हुन्छ, पहाड पनि हुन्छ, हिमाल पनि हुन्छ । यो हिमाल, पहाड वा मधेशले एक्लाएक्लै गर्न सक्ने काम हैन । सबै मिलेर गर्न सकिने काम हो ।

चौथो कुरा– केही साथीहरु भन्नुहुन्छ ‘कुनै दिन चुनाव लडनुपर्ने हुन सक्छ, अलिक रिजर्भ बस्नु, यो नागरिकताको मुद्दामा धेरै न बोल्नु ।’ ठीक यस्तै सुझाब ‘चुच्चे नक्सा’बारे थियो । धेरै मान्छेमा भ्रम थियो जसपाले निशान छाप संशोधनको मुद्दामा या त विपक्षमा भोट हाल्छ, या त संसदमा नै अनुपस्थित हुन्छ । यस्तो पूर्वानुमानको अरु कुनै आधार थिएन, पूर्वाग्रहबाहेक । आज त्यो भएन । त्यो मुद्दामा सबै तैं चुप, मै चुप ।

जहाँसम्म भोटको कुरा आउँछ मलाई दिल्लीका मुख्यमन्त्री केजरीवालको गत निर्वाचनको अपिलले खुबै मन छुन्छ । गत विधानसभा चुनावको मुखमा हामी केही साथीहरु दिल्लीमा थियौं । जताततै उनको निर्वाचन अपिल एफएम रेडियोहरुमा बजिरहेको हुन्थ्यो ।

अपिलको शुरुवातमै उनले भनेका थिए –‘आदरणीय दाजुभाइ-दिदीबहिनीहरु ! म र मेरो पार्टी फेरि निर्वाचनमा खडा भएका छौं, तपाईंहरुलाई लाग्छ कि बितेका ५ बर्षमा मैले काम गर्न सकिनँ कृपया मलाई भोट नदिनु होला ।’ केजरीवालको यो भनाइ बढो साहसिक थियो । संसारमा सायदै राजनीतिज्ञहरुले चुनावमा यस्तो भन्ने आँट गर्दछन् ।

भोट ‘व्यक्ति वा पार्टी’लाई हैन, ‘एजेण्डा’लाई दिइनु पर्दछ । जबसम्म हामी व्यक्ति वा पार्टीलाई भोट दिइरहन्छौं – नेपाल कहिल्यै बन्दैन । हामीलाई समर्थन गर्नेले मात्र हैन, जुनसुकै वैचारिक धारका मान्छेले यो सोच्न जरुरी छ । संघीयता मन नपर्‍या हो भने जनमोर्चालाई नै भोट दिनुस् । ‘राजतन्त्र र हिन्दूराष्ट्र’ चाहिएको भए राप्रपालाई नै भोट दिनुस् । एक खालको पार्टीमा बसेर अर्को खालको एजेण्डाका लागि गनगन गर्नु राम्रो हैन ।

ठीक त्यस्तै कुरा – जसपाको हकमा पनि लागू हुन्छ । म जसपामा थोरै त्यस्ता मान्छे देख्छु जो नेकपाकै जस्तो खोक्रो राष्ट्रवादको कुरा जसपाले पनि गर्दिए हुन्थ्यो, नक्कली राष्ट्रवादको भ्रम पहाडी मतदातामा छरेर छिटो चुनाव जितिदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ, त्यो सम्भव कुरा हैन ।

अनि नेकपामा त्यस्ता धेरै साथीहरु देख्छु जो जसपाको जस्तो विचार, धारणा र एजेण्डालाई मन पराउनुहुन्छ तर बस्न चाहिँ नेकपामै बस्नुहुन्छ । यो ठीक तरिका हैन । एजेण्डाअनुसारको पार्टीलाई भोट दिन सक्यौं भने परिणाममा जनता के चाहन्छन् भन्ने प्रष्ट तस्वीर देखिन्छ ।

जहाँसम्म नागरिकता विधेयकको कुरा छ– यसमा जसपा र नेकाले दर्ता गराएको प्रस्ताव एउटै हो । यसमा ४ वटा प्रष्ट कुरा छन् ।

एक– जुन स्थायी परिचयपत्रको व्यवस्था गरिएको छ, त्यो गैर–संवैधानिक छ । यदि त्यस्तो व्यवस्था गर्ने हो भने नक्सा प्रकरणमा जस्तै राष्ट्रिय सहमति गरेर संविधान संशोधन गरौं र संविधानमा नै स्थायी परिचयपत्रको व्यवस्था गरौं ।

दुई– स्थायी परिचयपत्रभित्र जागिरको अधिकार छैन, त्यो हुनु पर्दछ ।

तीन– वैवाहिक अंगीकृतका लागि ७ बर्षको कुलिङ पिरियड धेरै लामो हो ।

चार– वैवाहिक अंगीकृतभित्र पुरुष र महिला भनेर लैङ्गिक विभेद गर्न पाइँदैन ।

यी ४ वटै मुद्दा पछाडिको कारणबारे लामो लामो बहस गर्न सकिन्छ, जो यो छोटो लेखमा सम्भव छैन ।

यी मुद्दा हामीले कुनै आवेशमा उठाएका हैनौं र यिनको सरोकार ‘राष्ट्रियता’सँग हैन, ‘समानताको अधिकार’सँग छ, ‘विश्व मानवता’सँग छ । जे कुरा राष्ट्रियताको हो, त्यसमा जसपाले के गर्दछ भन्ने ‘निशानछाप’ संशोधनमा पुष्टि भइसक्यो । तर ‘राष्ट्रियता’सँग भन्दा ‘पितृसत्ता’ भर्सेज ‘लैङ्गिक समानता’, ‘साँघुरो स्थानीयता’ भर्सेज ‘विश्व मानवता’को प्रश्नमा उस्तै दृष्टिकोण बनाउन मिल्दैन । हामी ‘पितृसत्ता’को पक्षमा हुन सक्दैनौं । हामी विश्व मानवताको विरुद्ध हुन सक्दैनौं । यो भोटको कुरा हैन । लैङ्गिक समानताको कुरा उठाउँदा पुरुषहरुले भोट नदिने, पुरुषहरु सबै पितृसत्ताकै पक्षमा हुने, यस्तो हुन्छ र ?

जब हामी एक/दुई बच्चा नीतिलाई प्रेरित गर्दैछौं भने सबै परिवारमा छोरा हुँदैनन् । तथ्याङ्क नभए पनि छोरी मात्र सन्तान भएको परिवारको संख्या नेपालमा धेरै भइसक्यो होला । मेरा पनि दुई छोरी मात्र छन् र बुढेसकालमा छोरा पाउने कुनै इच्छा राख्दिनँ । युवा उमेरमा उनीहरु पढ्न विदेश जालान् । प्रेम पर्ला, विवाह होला, ती संयोगिक कुरा हुन् । हुन्छ नै भन्ने छैन, नहोला भन्न सकिन्नँ । त्यसैका आधारमा उनीहरु आफ्नो दम्पतीसहित फर्किन नपाउने हो भने बुढेशकालका लागि त हरेक परिवारले एउटा छोरै जन्माउनुपर्‍यो । फेरि पितृसत्तात्मक रुढीवादी सोचलाई राज्यको नीतिले प्रवर्द्धन गर्‍यो कि गरेन ? यो त सरासर गलत बाटो हो नि ।

अहिलेको दुनियाँमा को कस्को घरमा बस्छ भनेर कानुन बनाउने हो ? जसलाई जहाँ सजिलो पर्छ त्यहीँ बस्छ । कोही केटाको घरमा बस्लान् । कोही केटीको घरमा बस्लान् । कोही दुबैतिरका बुबाआमासँग नबसेर भिन्नै घर बनाएर, डेरा वा अपार्टमेन्टमा बस्लान् । यस्तो कुरा पनि कानुनको आधार हुन्छ ? जहाँ आफ्नो जागिर, पेशा, व्यवसायलाई सजिलो पर्छ वा भविष्य राम्रो हुन्छ भन्ने लाग्दछ, त्यहीँ बस्लान् ।

अहिलेको प्रस्तावित विधेयक केटी केटाकै देश र घर जान्छन् भन्ने मान्यतामा बनेको छ, त्यो सरासर गलत हो । संस्कार त्यही छ, होला त्यही । तर, जो त्यसो गर्दैनन् वा नगर्नुपर्ने स्थितिमा हुन्छन्, उनीहरुका लागि पनि कानुनी बाटो त राखिदिनु पर्‍यो नि । म मेरा छोरीहरुको अधिकार अरुका छोराहरुको भन्दा कम होस भन्ने किन चाहन्छु ? यस्तो कानुन किन सहन्छु ? यो व्यक्तिगत रुपमा मेरा छोरीहरुको प्रश्न हैन, लाखौं छोरी मात्र भएका परिवारको प्रश्न हो । छोरा, छोरी दुबै भएका परिवारमा पनि छोरी समान सन्तान हो कि हैन ?

केही मान्छे अंगीकृत नागरिकताको कारण नेपालमा ‘डेमोग्राफिक चेन्ज’को समस्या आउन लाग्यो भनेर हल्ला गर्दैछन, के तथ्यांकले त्यो पुष्टि गर्दछ ? गृह मन्त्रालय यस्ता सूचना किन लुकाउँछ ? मैले थाहा पाए अनुसार नेपालमा २०१९ को नागरिकता प्रबन्धन भएयताको ५८ वर्षमा करिब अढाइ लाख मात्र वैवाहिक अंगीकृत नागरिकता जारी भएको छ, जो कूल जनसंख्याको १ प्रतिशतभन्दा पनि कम हो ।

फेरि यो त बिहे गरेर आउनेहरुको मात्र तथ्यांक हो । बिहे गरेर गए पनि त होला ? गएको तथ्यांक हामीसँग छैन । प्रकृतिले महिला र पुरुषको अनुपात सामान्यतः बराबर कायम गरेजस्तो कुनै पनि समाजमा बिहेबारी पनि सामान्यतः बराबर अनुपातमा हुन्छ । त्यसो हो भने नेपालको ‘डेमोग्राफिक चेन्ज’मा वैवाहिक अंगीकृतको योगदान शून्य बराबर हुन्छ । शून्य प्रभावका लागि यति साँघुरो मन किन ?

नागरिकतामा संरक्षणवादी नीति त्यतिखेर अपनाइन्छ, जब ‘नेटिभ’हरुमाथि निक्कै ठूलो संकटको सम्भावना देखिन्छ । नेपालमा त्यो स्थिति बिल्कुलै छैन । न त जनसंख्या नै तीव्र दरमा बढिरहेको छ, न त गणना भएको जनसंख्या नै देशमा बस्छ । करिब ५० प्रतिशत जनसंख्या त अनेक कारणले देशबाहिर नै हुन्छ, जसले गर्दा नेपालमा श्रमशक्तिको ठूलो अभाव छ । जहाँसम्म बेरोजगारीको कुरा छ– उद्यमशीलता विकास र अर्थिक उन्नति गर्न नसकेपछि जति थोरै जनसंख्या भए पनि बेरोजगार नै त हुने हो ।

यसको अर्थ नागरिकता वितरणमा कुनै गल्ती कमजोर नै छैन भन्न खोजेको हैन । छ, तर त्यसको कारण वैवाहिक अंगीकृत हैन । जन्मसिद्धको खुकुलो प्रावधानलाई दुरुपयोग गरी नागरिकता किनबेच गर्ने गिरोहहरु सक्रिय भएको हुनु पर्दछ । नागरिकता किनबेच गर्ने गिरोह, पैसा खाने कर्मचारी, तारतम्य मिलाउने दलाल र झुठो सिफारिस गर्ने मान्छेहरुलाई कार्वाही पो गर्ने हो त । गिरोह र भ्रष्टाचारीहरुले गर्ने अपराधको सजाय प्रेम र विवाह गर्ने पवित्र जोडीहरुलाई दिने ?

राज्यले कानुनी शासन लागू गर्न नसकेको दण्डको भार अन्तर्राष्ट्रिय मानव आप्रवहन र समुदायगत अन्तरक्रियाको प्रक्रियामाथि पार्ने ? अनि नेपाललाई सबै विश्व प्रक्रियाबाट टुटाएर के उत्तर कोरिया बनाउने ? नेपाली अरु देश जान पाउँदा खुशी हुने, डिभी, पिआर, ग्रिन कार्डका लागि पेपर म्यारिज गरिवरी जाने, नेपालमा चाहिँ कोही नआओस्, जो आउँछन, सबै चोर, बदमास र राष्ट्रघाती मात्र आउँछन् भन्ने ठान्ने ? जुन देशमा राम्रा मान्छे आउँदैन त्यो कसरी बन्छ ? आइस्टाइनजस्ता वैज्ञानिक किन जर्मनीमा टिक्न सकेनन् र अमेरिका पुगे ? त्यसले कसलाई फाइदा भयो, जर्मनीलाई कि अमेरिकालाई ?

मेरा प्रिय मित्रहरु ! यो भोटको बिषय मात्र हैन, आधारभूत सैद्धान्तिक प्रतिबद्धताको बिषय हो । भोटको चिन्ता अहिल्यै धेरै नगर्दिनु होला ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay