scheduleबुधवार श्रावण २१ गते, २०७७

जमीन भासिन थालेपछि तीन घर विस्थापित, १७ घर उच्च जोखिममा

गलकोट, १४ असार । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बजारको छेउमा रहेका घरदेखि झण्डै ३५० मिटर तल निर्माण हुन लागेको जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाका कारण जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

लिफ्ट खानेपानी आयोजनाका लागि दैनिकजसो स्काभेटर र डोजर चलाउँदा जमीन कमजोर बनेकाले खानेपानी आयोजनामाथिको बस्ती भासिने र पहिरो जाने भएको हो । यस स्थानका दुई पक्की घर चर्किएको तथा अन्य घर उच्च जोखिममा रहेको विस्थापित भएका घरधनी द्वारिका शाक्यले जानकारी दिए ।

दुई पक्की घरको पछाडिको पिलरसम्म पहिरो गएको र अन्य स्थानमा जमीन चर्केका कारण विस्थापन हुनुपरेको शाक्यको भनाइ छ । पहिरो गएपछि सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । पहिरो गएको र जमीन चर्केका स्थानमा प्राविधिक आएर बस्न नमिल्ने भनेपछि भाडाको घरमा सरेको शाक्यको भनाइ छ । घर उच्च जोखिममा परेपछि शाक्यका परिवार र यहाँका अन्य दुई घरपरिवार विस्थापित भएर अन्य स्थानमा सरेका छन् भने अन्य घरका समेत विस्थापित हुने क्रम जारी छ । निरन्तरको वर्षातका कारण बस्तीनजिकै रहेको कालिका कन्या मन्दिर विद्यालयसमेत जोखिममा परेको छ ।

पहिरो जान थालेपछि घर जोखिममा परेकाले जिल्ला प्रशासन कार्यालय, नगर खानेपानी तथा बागलुङ नगरपालिकालगायत निकायमा निवेदन दिइएको पहिरोपीडित शुभकुमारी श्रेष्ठले जानकारी दिइन् । बस्तीमुनि खानेपानी आयोजना बनाउँदा पहिरो गएका कारण माथिको बस्तीमा समस्या भएको हो ।

कम्फुटोलको घर वरिपरिको जमीन नै भासिन थालेको तथा अर्कातिर बजार क्षेत्रबाट आउने भलको व्यवस्थापनका लागि बनाइएको कुलोले घर धरापमा परेको श्रेष्ठले बताइन् । “कुलोको सही व्यवस्थापन नै छैन, ढलान गरेको सबै फुटेको छ, पानी जमीनभित्र-भित्र गएर घर नै जालाजस्तो भइसक्यो”, उनले भनिन्, “दिउँसो पसल गर्छौं, राती भने भाडाको घरमा बस्न जाने गरेका छौँ ।” जतिसक्दो सम्बन्धित निकायले जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय