scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

रुकुम नरसंहार : नेकपाले पीडितलाई असहयोग गरेको खुलासा

चितवन, १४ असार । गएको जेठ १० गते जाजरकोटका युवा नवराज विकसमेत छजनाको ज्यान जानेगरी रुकुम पश्चिम चौरजहारीस्थित भेरी नदी किनारमा भएको नरसंहारमा सत्तारुढ दलको स्थानीयदेखि केन्द्रीय नेतृत्व समेतले पीडितलाई असहयोग गरेको खुलासा भएको छ ।

संयुक्त दलित संघर्ष समिति चितवनको अगुवाईमा घटनास्थल मै पुगेर तयार पारिएको प्रतिवेदन सार्वजनिक भएपछि यो तथ्य खुलेको हो । ‘सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यो घट्नामा रक्षात्मक भूमिकामा रहेको पाइयो,’ सो प्रतिवेदनमा भनिएको छ, ‘नेकपाले यस घटनालाई जातीय विभेदको रुपमा स्वीकार गरेको पनि पाइदैन तर नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले घटना सुनियोजित भएको र जातीय विभेदकै कारण घट्ना घटाइएको स्वीकारेको देखिन्छ ।’

Dish_Home

नेपालकै इतिहासमा सिंगो गाउँले लागेर अन्तर्जातीय प्रेम सम्वन्धको बहानामा ६ जनाको ज्यान जाने गरी भएको यति ठूलो अपराधलाई राजनैतिक दलहरुले थाहा नपाए झै गर्नु निकै गम्भीर विषय हो– प्रतिवेदनमा भनिएको छ । नागरिकको जिउ ज्यानको सुरक्षा लिएको सरकार, राजनैतिक दलहरुले आफ्नो भुमिकालाई पुनः मुल्यांकन गर्नु पर्ने भन्दै प्रतिवेदनमा भनिएको छ ।

जेष्ठ १० गते पश्चिम रुकुमको चौरजहारीमा नवराज विक र सुष्मा मल्ल बीचको प्रेम सम्बन्धका कारण नवराज विकलगायत टिकाराम विक सञ्जु भन्ने सन्दिप विक, लोकेन्द्र सुनार, गणेश बुढा मगर र गोविन्द शाही समेतको ज्यान गएको थियो ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नवराज विक कथित दलित समुदायको व्यक्ति हुनु अनि सुष्मा मल्ल कथित माथिल्लो जातको व्यक्ति हुनु र उनीहरुबीचको प्रेम सम्बन्ध अन्ततः सामूहिक हत्या काण्डसम्ममा टुङ्गिनु नेपाली समाजमा विद्यमान जातीय विभेदको अवस्था कुन हदसम्म रहेछ भन्ने कुराको प्रमाण हो ।’

घटनाको चौतर्फी निन्दा र भर्त्सना भइरहेको तर पीडक पक्ष घटनालाई कसरी तोडमोड गर्न सकिन्छ र कारबाहीबाट उम्कन सकिन्छ भन्ने दिशामा केन्द्रित रहेको भन्दै उक्त प्रतिवेदनमा भनिएको छ, ‘कसैले घटनालाई लकडाउनको उल्लङ्घन गरेकोले गाउँलेले लखेट्दा भेरीमा हाम फालेर मरेको, कसैले भवितव्य भनेर अपराध छोप्ने कोशिस गरेको र कसैले सुष्मालाई अपहरण गर्न आएको जस्ता तर्क दिएर घटनालाई अन्तै मोड्ने या कमजोर बनाउने कोशिस भैरहेको भनिएको छ ।’

घटनालाई जसरी व्याख्या गरे पनि सोती घटना सुनियोजित, जातीय विभेदको पराकाष्ठा भएको कुरा छर्लङ्ग भै सकेको भन्दै घटनालाई राजनैतिक संरक्षणको आधारमा कमजोर बनाउने, तथ्यहरु नष्ट गर्ने, गलत पोष्टमार्टम रिपोर्ट बनाउने, घटना मुचुल्काहरुलाई हेरफेर गर्ने आदि कार्यहरु हुँदै गैरहेको सुन्नमा आएको भनिएको छ ।

प्रतिवेदनमा यसरी घटनाका सवुद प्रमाणहरुलाई कमजोर बनाउँदै लगेर वास्तविक दोषीहरुलाई उन्मुक्ति दिने कार्यप्रति सचेत रहन भनिएको छ ।

प्रतिवेदनमा जेष्ठ १० गते नवराज विक र उनका साथीहरु सोती गाँउ सुषमा मल्लको घर जाँदा त्यहाँका वडा अध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा सिंगो गाँउबासी संलग्न भै भेरी किनारको कोइरी गाँउमा योजनावद्ध ढंगबाट तीन तिर बाट सि आकारमा घेराहाली नवराज लगायत ६ जनाको पासविक ढंगले हत्या गरेको र १२ जनालाई ज्यान मार्ने उद्देश्यका साथ घाइते बनाएको भनिएको छ ।

नोटः असार १ गतेदेखि ७ गतेसम्म स्थलगत भ्रमण गरेर आएको ९ जनाको टोलीको तर्फबाट रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ सोती नरसंहार घट्नाको स्थलगत प्रतिवेदन तयार गरिएको हो ।

प्रतिवेदनको केहि अंश

  • घट्नाको मुख्य विवरण

 

घटनाको पृष्ठभूमि
जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. ४ राना गाँउ निवासी मोहनलाल विक र उर्मिला वि.क.को एकल छोरा बर्ष २१ को नवराज वि.क. र पश्चिम रुकुम जिल्ला चौरजहारी न.पा. वडा नं. ८ सोती निवासी बिरबहादुर मल्ल र प्रकाशी मल्लकी बर्ष १७ की सुषमा मल्ल वीच करिव ३ बर्ष अगाडि देखि अन्तरजातीय प्रेम सम्वन्ध कायम रहदै आएको थियो । १२ कक्षासम्मको अध्ययन पुरा गरेका नवराज वि.क. खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा सक्रिय, नेपाल प्रहरीको जागिरमा नाम निकालेर अन्तर्वार्ताको लागि तयारी अवस्थामा रहेको आदि कारण नवराज आशा लाग्दो व्यक्तित्व बन्दै गैरहेको थियो । उता सुषमा मल्ल पनि श्री सितल मा.वी चौरजहारीमा कक्षा १० पढ्दै गरेको र अध्ययनको लागि चौरजहारी नपा वडा नं.२ मा नै डेरा गरी बस्ने गरेकोले उनीहरु बीच भेटघाट कुराकानी गर्न सजिलो भएको देखिन्छ ।

उनीहरु विचको प्रेम सम्वन्ध झाङ्गिदै जादा सुषमा मल्ल नवराज वि.क.को घरमा गत बर्ष जाजरकोटमा लाग्ने रमाइलो मेलाको समयमा आएर ४ दिनसम्म बसेर गएको बुझिन्छ भने यहि बर्षको बैशाख २९ गते पनि सुषमा मल्ल नवराजको घरमा आएर बसेकी थिइन । उता नवराज पनि सुषमाको घरमा २ पटक गएको र जस्मध्ये गत बैशाख १७ गते ३ जना साथीहरुसंग सुषमालाई भेटन सोती गाँउ पुगेका थिए । सोही बेला सुषमाका मामा वडा अध्यक्ष डम्वर बहादुर मल्लले स्थानीय मान्छे बोलाएर नवराजलाई कुटपिट गरी प्रहरीलाई बुझाएका थिए ।

यसरी केटा केटी एक अर्का प्रति आकर्षित हुदै जानु र केटाको अभिभावकले जात नमिल्ने हुदा पछि समस्या पर्ने भनी केटीलाई सम्झाएको अवस्था थियो भने केटी पक्षले पनि केटा कथित तल्लो जातको भएकोले सो प्रेम सम्वन्धलाई अस्वीकारी रहेको थियो । यस परिस्थितिमा नवराजले परिस्थितिको गम्भिरतालाई अन्दाज गर्न नसकेर जसरी पनि सुषमालाई विहे गर्ने योजना बनाउनु र सुषमाका अभिभावकहरुले कुनै पनि हालतमा दलितसंग नाता सम्वन्ध कायम राख्न दिनु हुदैन भन्ने मनोविज्ञानका कारण नवराजको पटक पटकको प्रयासलाई सामाजिक प्रतिष्ठाको रुपमा लिएको पाइन्छ । यसै कारण गत जेष्ठ १० गते नवराज वि.क. १९ जनाको दलवल सहित सोती गाउँ सुषमाको घर तिर जाँदा वडा अध्यक्षको प्रत्यक्ष नेतृत्वमा सिंगो गाँउ बासीकै संलग्नतामा भेरी किनारको कोइरी गाउँमा योजनावद्ध ढंगबाट ३ तिरबाट ऋ आकारमा घेराहाली नवराज लगायत ६ जनाको ज्यान जानेगरी पासविक ढंगले हत्या गरेको पाइन्छ ।

उपरोक्त घट्ना गत जेष्ठ १० गते करिव साँझ ५ः३० बजेतिर घटेको थियो । घट्ना हुनु अगाडि नवराज सहितको १८ जनाको टोली जाजरकोटबाट घल्लाको पुल हुदै मध्ये पहाडी लोकमार्ग निस्केर करिव ४ बजे तिर सोती गाँउ जहाँ सुषमाको घर रहेको छ त्यतै तिर उकालो लाग्छन् । उक्त लोकमार्गबाट सोति गाउँ सुषमा मल्लको घर जान करिव ३० मिनट जतीको बाटो उकालो चढेपछि सुषमाको घर पुगिन्छ । नवराज समेतको टोली उकालो लाग्नु अगाडि नै जाजरकोटबाट सुषमाका आफन्तहरुले नवराजको टोली त्यता तर्फ आएको सूचना सुषमाको परिवारलाई पुग्छ भने सुषमाको बाबु गाउँ भन्दा तल काम गरिरहेकोले उनले पनि सो टोलीलाई देखे पछि सुषमाको आमालाई खवर पुग्छ । नवराज समेतको टोली सुषमाको घरमा पुग्ने बेलामा केटीको आमाले नवराजलाई “तँ डुमलाई कारवाही गरेको अझै पुगेको रहेनछ, तँ कस्की जोइ (श्रीमती) लैजान आएको होस्” भन्दै जुवाली उठाएर हान्न खोजे पछि नवराज समेतको टोली केही नवोली फर्कदै गर्दा केटीको आमाले आफ्नो भाइ वडा अध्यक्षलाई फोन गर–फोन गर भनेको कुरा घाइते नवराजका साथीहरुको भनाईरहेको विभिन्न प्रतिवेदनमा उल्लेख छ ।

यसै वीच परिस्थिति अनुकूल नदेखे पछि नवराज र उनका साथीहरु केही नवोली फर्कदै गर्दा उनीहरु गोइरी जिउला भन्ने स्थान स्थित एउटा ढुंगामा आएर बस्छन र सोही स्थानमा रहेको कुवामा पानी पिउछन् । सोही समयमा गाउँलेहरुले नवराजहरु आएको घल्लाको पुल, उनीहरु फर्कने अर्को तर्फको कालेगाँउ जाजरकोट प्रवेश गर्ने कालेगाउँको पुलमा गाउँलेको समूहले सी आकारमा बाटो छेकेर बसेको हुन्छ भने माथि तिरबाट एउटा समुहले उनीहरुलाई अचानक आक्रमण गर्दै लखेट्न थाल्छ यतिन्जेल करिव साँझको साढे ५ बजेको हुन्छ । नवराज समेतको टोली आत्तिएर बाटो मुनी गोइरी जिउला भन्ने.गाँउमा भाग्छन् (सोही स्थान वरीपरी नवराज लगायतका ६ जनाको टोलीलाई हत्या गरिएको थियो) । गाउँलेको ठूलो समुहले नवराज समेत ३ जनाको घट्ना स्थलमै हत्या गरिन्छ भने अरु व्यक्ति भाग्दै जाँदा भेरी नदी किनारामा समातेर पिटिन्छ । संयुक्त दलित अधिकार मंच रुकुमले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनको आधारमा प्रत्यक्षदर्शीको भनाइ अनुसार ३ जनालाई भेरी नदीमा मारेर बगाइन्छ । बाँकी १२ जनाको टोली नदीमा हाम्फालेर नदी पार गर्दै गर्दा ७ जनालाई विचमै समातेर कुटिन्छ भने ५ जनालाई नदी पार गरिसकेपछि पनि पूर्व तयारीका साथ नदी पारीबाट घेराहालेर बसेको गाउँलेको टोलीले समातेर ल्याउँछ र ७ जनासंगै ल्याएर कुटिन्छ । सोही समयमा प्रहरीले घट्नालाई नियन्त्रणमा लिन कोसिश गरेपनि पर्याप्त शक्ति नभएको कारण नियन्त्रण गर्न सक्दैन पछि थप प्रहरी शक्ति मगाएर उक्त १२ जनालाई प्रहरीले नियन्त्रण गर्दछ, थप क्षतिहुनबाट बचाउछ । यहाँ नेर विचारणीय कुरा के छ भने उक्त घट्नालाई प्रहरी प्रत्यक्ष देखिरहेको छ भने प्रहरीले आक्रमणकारीलाई नियन्त्रण नगरेर उल्टै पीडितलाई नियन्त्रणमा लिने काम हुन्छ ।

प्रहरीलाई शुरुमा घट्नाको बारेमा वडा अध्यक्ष डम्बर बहादुर मल्लले कपटपूर्ण सूचना दिएका हुन्छन् तर उक्त स्थानको बारेमा गलत विवरण भएको हुनाले प्रहरी घट्ना स्थलमा पुग्दा केही नदेखी पुनः सम्पर्क गर्दा पछि मात्रै वास्तविक घट्ना स्थलको बारेमा जानकारी दिइन्छ यसबाट पनि घट्ना स्थलमा प्रहरी समयमा पुग्न सक्दैन र ज्यादा क्षति हुन पुग्छ । अर्को विचारणीय कुरा के छ भने घट्ना शुरु हुनु अगाडि भएको फोन ट्रयाकिङ्गको विवरणमा १० मिनटमा ५०० भन्दा बढी टेलिफोन कल भएको सूचना वाहिर आउनुले सो घट्ना योजनावद्ध थियो भन्ने पुष्टी गर्दछ ।

-पीडित पक्षको बयान विवरण

(नवराज वि.क.को बाबा आमालाई रुकुम (पश्चिम)को सदरमुकाम मुसिकोट खलंगामा भेटेर लिईएको अन्तर्वार्ता र संयुक्त दलित अधिकार मंच रुकुमले तयार पारेको प्रतिवेदनको आधारमा )
क) नवराज र सुषमा वीच करिव ३ बर्षदेखि सामाजिक संञ्जाल मार्फत चिनजान भई प्रेम सम्वन्ध भएको ।
ख) गत बर्ष जाजरकोटमा लाग्ने रमाइलो मेलामा आएको बेला सुष्मा नवराजको घरमा आई ४ दिनसम्म बसेर गएको ।
ग) घर परिवारका सदस्यलाई छोरीको साथी होला भन्ने लागेको तर ३ दिन पछि स्वयं सुषमाले आफू नवराजको साथी भएको जानकारी घरपरिवारलाई दिएको ।
घ) छोरा र सुषमाको व्यवहारबाट आफूलाई असहज लागेर नवराजको बाबाले उमेर पनि नपुगेको र जात पनि नमिल्ने भएकोले पछि समस्या आउछ भन्दा केटीले आफूहरु माओवादी भएकोले त्यसबाट कुनै समस्या नहुने भनेर आश्वस्त पार्न कोशिस गरेको ।
ङ) यहि ७७ सालको बैशाख २९ गते पछिल्लो पटक सुषमा मल्ल नवराजको घरमा आउदा नवराजका बाबुले आफ्ना नजिकका छिमेकी केटीका ठुलाबाबा सुर्यबहादुर मल्ललाई जानकारी गराई केटीको आमा बाबुलाई सम्झाउन आग्रह गर्दा उल्टै केटीका ठूला बाबाले मल्लको सम्धी बन्ने इच्छा छ भनी होच्याएर बोलेको विवरण प्राप्त ।
च) यही बैशाख १७ गते केटीले फोन गरेर बोलाएर नवराजले ३ जना साथीहरु लिएर सुषमाको घरमा जादा वडा अध्यक्ष डम्वर बहादुर मल्लले आफ्ना केटाहरु बोलाएर नवराजलाई कुटपिट गरी चौरजहारी प्रहरी चौकीमा बुझाइएको रहेछ । पछि नवराजको आमालाई बोलाएर आमाको जिम्मा लगाएको पाइयो ।
छ) सुषमाले आफ्नो अरु केटासंग घरपरिवारबाट विहे गरिदिन लागेकोले छिटो आफूलाई लिन आउनु भनी खवर गरेकोले एक हप्ता अगाडि नै आफ्नो सुषमासंग १० गते विवाह हुदैछ भन्दै नवराजले आफ्ना साथीहरुलाई जानकारी गराएको पाइयो ।
ज) १० गते नवराज र उस्का साथीहरु फोनमा कुरा गर्दै जाजरकोटबाट सोती जादैगर्दा जाजरकोटमा रहेका सुषमाका आफन्तहरुले केटीका घरपरिवारमा नवराज सुषमालाई लिन दलवल सहित आउदै गरेको सुचना पठाएकोले उता सोती गाँउमा सुषमाको घरपरिवारले पर्याप्त मान्छे जम्मा गर्न भ्याएको ।
झ) सुषमाको घर जादै गर्दा सुषमाको आमाले घर नजिकै बाटोमा नवराजलाई देखेपछि “तँ डुमलाई कारवाही गरेको अझै पुगेको रहेनछ, तँ कस्की जोई लिन आकोहोस् ?” भन्दै जुवाली उठाएर हान्न खोजे पछि नवराज र उनका साथीहरु विना प्रतिवाद फर्किदै गर्दा सुषमाको आमाले वडा अध्यक्ष डम्वर बहादुर मल्ललाई फोन गर फोन गर भनेर खवर गरेको नवराजका साथीहरुबाट जानकारी प्राप्त भएको ।
ञ) प्रत्यक्षदर्शीको भनाई अनुसार चारै तिरबाट होहल्ला भएपछि हेर्दा थुप्रै मान्छे केही मान्छेलाई कुटपिट गरिरहेको थियो हामी आत्तिएर नपिट्न भन्दै चिच्यायौ कसैले सुनेन् पिटिरहे ।
ट) केही मानिसहरु पौडि खेलेर नदी पारी गएको देखियो त्यस मध्ये ३ जना भेरीको छालले बगाइरहेको थियो ।

मृतकको विवरण

१ नवराज वि.क.  : भेरी न.पा. वडा नं. ४, जाजरकोट
२ टिकाराम वि.क. : चौरजहारी न.पा. वडा नं. १, रुकुम पश्चिम
३ गणेश बुढा : भेरी न.पा. वडा नं. ४, जाजरकोट
४ सन्दिप वि.क. : भेरी न.पा. वडा नं. ४, जाजरकोट
५ लोकेन्द्र सुनार : भेरी न.पा. वडा नं. ११, जाजरकोट
६ गोविन्द शाही : भेरी न.पा. वडा नं. ११, जाजरकोट

घटनामा संलग्न रहेको जाहेरीको आधारमा पक्राउ परेकाहरुको विवरण

१ डम्बर बहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२ बिरबहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम (सुधार गृह)
३ प्रकाशी मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम (धरौटीमा रिहा)
४ सुष्मा मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम (सुधार गृह)
५ तुलबहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम (साधारण तारिक)
६ प्रेम बहादुर ठकुरी : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
७ सन्तोष मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
८ मोहन पुन मगर : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
९ रमेश बहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
१० मान वहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
११ टोप बहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
१२ दिपेन्द्र चन्द : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
१३ इन्द्र बहादुर ठकुरी : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम (साधारण तारिक)
१४ डिल्ली बहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम (साधारण तारिक)
१५ मान बहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
१६ सविन पुन : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
१७ तिलक चन्द : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
१८ लिपेन्द्र कुमार मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
१९ हर्क बहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२० विनोद मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२१ नेत्र बहादुर मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२२ धनाराज राना : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२३ नविन कुमार घर्ती मगर : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२४ विराज पुन मगर : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२५ भिम बहादुर पुन : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२६ रमित पुन मगर : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२७ विष्नु मल्ल : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२८ तुलाराम घर्ती : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
२९ डिल्ली घर्ती : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
३० लोकेन्द्र घर्ती : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
३१ सौरव पुन : चौ. न.पा.–८, सोतीगाँउ, प. रुकुम
३२ भिम बहादुर बुढा : चौ. न.पा.–१, प. रुकुम
३३ इन्द्र बहादुर मल्ल : भेरी न.पा.–४, जाजरकोट
३४ नाम थाहा नभएको

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय