scheduleबुधवार श्रावण २१ गते, २०७७

स्थायी समिति छल्दै एमसिसी पास गरिछाड्ने ओलीको तयारी, नेकपामा अन्तरसंघर्ष उत्कर्षमा

चितवन, १६ असार । झण्डै ५५ अर्ब भन्दा माथिको अमेरिकी सहयोग आउने भनिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारीत हुने भएको छ । नेकपाको जारी पार्टी स्थायी कमीटीको बैठकबाट नै एमसिसीको पक्षमा माहोल बनाउने कसरतमा प्रधानमन्त्री लागिरहेका छन् ।

भारतले प्रधानमन्त्रीबाट हटाउँदै छ भनेर बाहिर राष्ट्रवादीको रुपमा प्रस्तुत हुन खोजेका प्रधानमन्त्री ओलीले यहि मेसोमा एमसिसी पास गराउने योजना बनाएको उनकै पार्टीमा चर्चा छ ।

नेकपा भित्र एमसिसीलाई लिएर स्पष्ट तीन धार देखिएको छ । पहिलो धार जो एमसिसी बिना कुनै संशोधन हुबहु पास हुनैपर्छ भनेर लागिरहेको छ र यसको नेतृत्व स्वमं प्रधानमन्त्रीले नै गरेका छन् । उनलाई उपप्रधानमन्त्री ईश्वर पोख्रेल, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतले साथ दिएका छन् ।

दोस्रोमा एमसिसी संशोधन गरेर पास गर्नुपर्छ नत्र अमेरिकासँग सम्बन्ध बिग्रन्छ भन्ने पार्टी अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, माधव नेपाल, भीम रावल लगायतको ठूलो समूह छ ।

तेस्रोमा पास गर्नै हुन्न भन्ने धार पनि छ । तर त्यसमा गृहमन्त्री रामबहादुर थापा बादल निकट नेता देव गुरुङ, अष्टलक्ष्मी शाक्य, लिलामणी पोख्रेल, पम्फा भुषाल लगायत छन् । यही धारमा गृहमन्त्री बादल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भएपनि उनीहरु ओली वा प्रचण्ड रिसाई हाल्छन् की भनेर कतै खुलेका छैनन् ।

आज बस्ने नेकपा स्थायी कमीटी बैठकमा यस बिषयमा ठोस निर्णय लिने भनिएपनि बैठकमा अध्यक्ष ओली बस्ने नबस्ने टुङ्गो छैन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको साथ पाएका कारण पनि संसदमा एमसिसी पास हुनेमा ढुक्क छन् ।

एमसिसी पास गर्न संसदमा बहुमत मात्रै चाहिने भएकोले काँग्रेसको साथ पाएपछि प्रचण्ड, नेपाल, खनाल कसैको सहयोग नभएपनि एमसिसी पास हुने भएकोले ओली निकट नेताहरु एमसिसी पास हुनेमा ढुक्क छन् ।

तर, काँग्रेसको साथ लिएर आफ्नै पार्टीमा पेलेर अगाडि बढ्दा पार्टीभित्र झन ठुलो संकट आउने र पार्टी नै फुट्न सक्ने भन्दै केहि नेताहरु भने सकेसम्म पार्टीमा एकमत बनाउने कसरतमा रहेको बालुवाटार निकट स्रोतको भनाई छ ।

यता एमसिसी पास हुँदै गर्दा सडकमा निस्केको युवाहरुको समूहलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि बालुवाटारमा छलफल भएको स्रोतको दावी छ । सम्भावित प्रदर्शनलाई रोकन काठमाण्डौंमा कोरोना संक्रमित बढेको भन्दै ५ दिन बाहिर निस्कन नमिल्नेगरी निषेधाज्ञा जारी गराउने की भन्नेसम्मको छलफल बालुवाटारमा चलेको नेकपामा एक नेता बताउँछन् ।

उनको भनाई मान्ने हो भने प्रचण्डले समेत अध्यक्ष ओलीलाई ‘पार्टी र सरकारको कुरामा तपाईं लचिलो हुनुपर्छ तर एमसिसी संसदमा लैजानुस् म पास गराउँछु’ भनिसकेको बताइएको छ । प्रचण्डले कुनै पनि बेला अडान छाड्न सक्ने भन्दै माधव नेपाल समूहले दुवै अध्यक्षलाई भर गर्न नसकिने निष्कर्ष निकालेको छ ।

एमसिसीकै कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुग्ने र पार्टीभित्र अप्रिय निर्णय लिनुपर्ने अवस्था आउने प्रचण्ड समूहको बुझाई छ । उनले आफू निकट नेताहरुलाई उपत्यका नछाड्न पनि भनेका छन् ।

‘महाकाली सन्धिको पुनरावृत्ति हुनसक्छ, ओलीजी जुन विकल्पका लागि पनि तयार छन् । हामीले बुद्धिमत्तापूर्ण निर्णय गर्नुपर्छ, बहसलेजुन मोड लिन पनि सक्छ, बैठक अवधिभर उपत्यका नछाड्नुहोला,’ प्रचण्डको भनाई उद्धृत गर्दै उनी निकट एक नेताले भने ।

नेकपाभित्र विचार र बहसको आधारमा भन्दा संख्याको आधारमा निर्णय गर्ने प्रचलनको उत्कर्ष एमसिसी बन्न लागेको र यसले पार्टीमा दुर्घटना हुनसक्ने भन्दै कतिपय नेताहरु चिन्तित देखिन्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय