scheduleआइतवार मंसिर १४ गते, २०७७

यस्तो छ गण्डकीमा हालसम्मको कोभिड-१९ विवरण

प्रतिक भट्ट

१६ असार, पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । कुल संक्रमितको संख्या १००० पुग्न लागिसक्दा यस प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एकजना संक्रमित भेटिएका छन् । हालसम्म २१४ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।

हुन त नेपालमा सुरुमा देखिन थालेका १-२ जना विदेशबाट फर्किएका संक्रमित व्यक्ति गण्डकी प्रदेशकै बाग्लुङ जिल्लाका थिए । प्रदेशको एकमात्र भारतसँग सीमा जोडिएको तराइको जिल्ला नवलपरासी पूर्व (नवलपुर) मा पनि संक्रमण देखिइरहेको भएतापनि गण्डकीमा यसले भयावह रुप भने लिइसकेको थिएन ।

नवलपुर र बाग्लुङमा अलिअलि गर्दै संक्रमण भेटिइरहेको अवस्थामा त्यसपछि स्याङजा, म्याग्दी, तनहुँ, गोरखा, पर्वत गर्दै कास्कीमै पनि संक्रमण भेटिन थाल्यो ।

लमजुङमा पनि संक्रमण भेटिएपश्चात् हिमालपारिका २ जिल्ला मनाङ र मुस्ताङमा समेत पहिलोपटक १-१ जना व्यक्तिमा संक्रमण भेटिएपछि गण्डकीका सबै जिल्ला कोरोनाले ढाकिसकेको छ ।

यीमध्येमा सबैभन्दा धेरै संक्रमण नवलपुरमा भेटिएका छन् । २३ महिला र १९५ पुरुष गरी नवलपुरमा कुल २१८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछिकै धेरै बाग्लुङमा १९४ जनमा संक्रमण भेटिएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका स्याङजाका व्यक्तिमा धमाधम संक्रमण पुष्टि हुन थालेपछि स्याङजाका विभिन्न गाउँ र नगरपालिकाका हालसम्म १७४ जनामा संक्रमण भेटिइसकेको छ जसमध्ये २१ महिला र १५३ पुरुष छन् । यस जिल्लामा २ जनाको कोरोनाका कारण उपचारकै क्रममा ज्यान गइसकेको छ ।

त्यसैगरी तनहुँमा पनि १२३ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १६ महिला र १०७ पुरुष छन् ।

पर्वतमा १० महिला र ७५ पुरुष गरी जम्मा ८५ जनामा संक्रमण पुष्टि भएको छ भने गोरखामा १३ महिला र ७१ पुरुष गरी ८४ जनामा संक्रमण भेटिएको छ ।

कास्कीमा छोटो समयमै ४९ जनामा संक्रमण पुष्टि भएको छ । पर्यटकीय नगरी पोखरामा लकडाउनका समयमा नदेखिएको संक्रमण लकडाउन खुकुलो भएपछि देखिन थालेको थियो ।

लकडाउनकै बेला पनि पोखरामा त्यसको प्रभाव त्यति देखिएको थिएन र मानिसहरुको चहलपहल चलि नै रहेको देखिन्थ्यो । यद्यपि पछिल्ला दिनहरुमा देखिएका संक्रमित भने कुवेतलगायत अन्य देशबाट फर्किएका व्यक्तिहरु थिए । अघिल्ला केही संक्रमित पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु थिए ।

लमजुङमा ५ महिला र १६ पुरुष गरी २१ जना, म्याग्दीमा ५ महिला र ११ पुरुष गरी १६ जना संक्रमित भेटिएका छन् भने सबैभन्दा कम मनाङ र मुस्ताङमा १-१ जना पुरुषमा संक्रमण भेटिएको छ ।

यसरी यस प्रदेशमा १२२ महिला र ८४४ पुरुष गरी कुल ९६६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल ७५२ जना व्यक्ति आइसोलेसनमा रहेका छन् भने १७ महिला र १९७ पुरुष गरी कुल २१४ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay