scheduleबुधवार श्रावण २१ गते, २०७७

यसरी सकिन सक्छ अमेरिकी बर्चश्व

अलेक्जेन्डर कुली/डेनियल नेक्सन

अहिले विश्व व्यवस्था संकटका बहुमुखी संकेत व्याप्त छन् । कोभिड–१९ महाव्याधी नियन्त्रणमा अन्तर्राष्ट्रिय समन्वयको अभाव, आर्थिक दुरावस्था, राष्ट्रवादी राजनीतिको पुनरुत्थान र राज्यका सीमाहरुको कसिलोपन जस्ता प्रवृत्तिले सहकार्यको कमी र झनझन नाजुक हुँदै गएको विश्व प्रणालीको संकेत गर्दछन् । धेरैजसो विश्लेषकहरु यी घटनाक्रमका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ र विश्व नेतृत्वबाट पछि हट्ने नीतिलाई जिम्मेवार ठान्दछन् ।

महाव्याधि पूर्वकै अवस्थामा पनि ट्रम्पले गठबन्धन र संस्थागत सहकार्यलाई बारम्बार आलोचना गर्दथे । जस्तो कि नेटोको संस्थागत पद्धतिप्रति उनमा विश्वास थिएन । युरोपियन युनियनको विघठनलाई उनले समर्थन गरेका थिए । विभिन्न अन्तर्राष्ट्रिय सम्झौता र संगठनबाट अमेरिका फिर्ता हुँदै थियो । ट्रम्प रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनजस्ता निरंकुश शासकप्रति रुचि देखाउँदै थिए ।

उदार मानवीय मूल्यहरु जस्तै लोकतन्त्र र मानव अधिकारलाई विदेश नीतिको मर्म बनाउन नसकेकोमा ट्रम्पप्रति प्रश्नहरु उठेका थिए । संक्रमणकालीन राजनीतिप्रति ट्रम्पको ‘जिरो–सम’ नीतिले अमेरिका उदार लोकतान्त्रिक विश्व व्यवस्थालाई प्रवर्द्धन गर्ने प्रतिबद्धताबाट पछि हटेको प्रष्टै देखिन्थ्यो ।

धेरै विश्लेषकहरु अझै के ठान्छन् भने दोस्रो विश्व युद्धको अन्त्यदेखि शीतयुद्धको अन्त्यसम्म जसरी अमेरिकाले विश्व व्यवस्थाको निर्माण र टिकाउ गरेको थियो, त्यसलाई पुनर्स्थापित गर्ने सम्भावना मरिसकेका छैनन् । यदि ट्रम्पपछिको अमेरिकाले विश्व शक्तिको उत्तरदायित्व पुनर्दाबी गर्ने हो भने– यद्यपि त्यो युगको परिभाषा कोरोना महाब्याधिले पनि गर्नेछ– अहिलेको अवस्था स्थायी विकृतिको अस्थायी अव्यवस्थामा सीमित हुन सक्दछ । यति हुँदाहुँदै पनि अमेरिकी शक्तिको पतन, नयाँको उदय र विश्व प्रणालीमा परिवर्तनको भविष्यवाणी सत्यभन्दा धेरै टाढा छन् ।

सन् १९८० को मध्यतिर धेरै विश्लेषकहरु अमेरिकी नेतृत्वको अन्त्य हुन लागेको विश्वास गर्थे । सन् १९७० तिरै ब्रिटेनउड प्रणालीको सार्थकता खत्तम भइसकेको थियो । अमेरिकाले युरोपियन युनियन र पूर्वी एशियाली अर्थतन्त्रसँग चर्को प्रतिस्पर्धाको सामना गर्नु परेको थियो । पश्चिम जर्मनी, जापान र सोभियत संघले विश्व राजनीतिलाई प्रभावित गर्न थालेको प्रतीत हुन्थ्यो ।

तर सन् १९९१ को अन्त्यतिर सोभियत संघ आफै विघठन भयो । जापान आर्थिक गतिरोधको चरम स्थिति ‘लागत नोक्सानीको दशक’ मा पुग्यो । पुनर्एकीकरणको महंगो कार्यले जर्मनीको समय खाइदियो । ठीक त्यही बेला अमेरिकामा भने प्राविधिक अन्वेषण र आर्थिक वृद्धिको अनपेक्षित दशक उदय भयो । अमेरिकी वर्चश्वको ‘एक ध्रुवीय गत्यात्मकता’ त्यसैको परिणाम थियो ।

तर अहिलेको समय साँच्चै नै फरक छ । हिजो अमेरिकी प्रभुत्वलाई यतिको टिकाउ बनाउने धेरै जसो शक्तिहरु आज यसको विघठन प्रक्रियालाई सहयोग गरिरहेका छन् । शीतयुद्धपछिको विश्व व्यवस्थामा अमेरिकी भूमिका कायम गर्न तीन मुख्य कारण थिए ।

पहिलो– सोभियत संघको विघठन र साम्यवादको पराजयपछि अमेरिकाले सामना गर्नु त्यस्तो कुनै वैश्विक विचारधारा बाँकी थिएन ।

दोस्रो– सोभियत संघको विघठनले संस्थागत सहकार्यको पूर्वाधार र साझेदारी गुमाएका कयौं कमजोर राज्यहरु विकल्पको खोजी गर्दै अमेरिका र पश्चिमी गठबन्धनको नजिक आएका थिए ।

तेस्रो– उदार मूल्य मान्यताप्रति झुकाव राख्ने अभियान र आन्दोलन विश्वभरि फैलिएका थिए, तिनले उदार विश्व प्रणालीलाई दृढ समर्थन गर्दथे ।

आज तिनै चिजहरु अमेरिकाको विरुद्धमा भएका छन् । अमेरिकी शक्तिको बचाउ गरिरहेको सद्गुण चक्रलाई अमेरिकाको विनाश गर्न चाहने दुष्चक्रले प्रतिस्थापन गर्दैछ । चीन र रुसजस्ता ठूला शक्तिको उदयले अधिनायकवादी र अनुदार विश्व परियोजना अमेरिका नेतृत्वको उदार विश्व प्रणालीको प्रतिस्पर्धामा खडा भएको छ । विकासशील र विकसित देशहरु समेत पश्चिमा आर्थिक सहयोग र समर्थनको विकल्प खोज्दैछन् । अनुदार र दक्षिणपन्थी सञ्जाल र दबाब विश्वव्यापी रुपमा बढेको छ । छोटकरीमा भन्दा अमेरिकी विश्व नेतृत्व पछि हटेको मात्र हैन, खण्डित हुँदैछ र यो प्रक्रिया चक्रिय नभएर स्थायी प्रकृतिको छ ।

विलुप्त हुँदै एक ध्रुुवीयता

अमेरिका शक्तिको स्थायी पतनको कुरा धेरैलाई अनौठो लाग्न सक्दछ । किनकी आफूपछिका ७ प्रतिस्पर्धी देशहरुले भन्दा अझै अमेरिकाले धेरै सैन्य खर्च गर्दछ । अमेरिकासँग विश्वभरि छरिएका दर्जनौं असमानान्तर सैैनिक बेसक्याम्पहरु छन् । सन् १९९० पछि अमेरिकाको विश्व भूमिका सृजना गर्न र कायम राख्न सैैनिक क्षमताको महत्वपूर्ण योगदान थियो । अमेरिका बाहेक अर्को कुनै त्यस्तो देश थिएन जसले विश्व प्रणालीमा सुरक्षाको प्रत्याभूति गर्न सकोस् ।

तर यसको आन्तरिक रहस्य भने भिन्नै छ । सन् १९९० यता बजेटको तुलनामा सैन्य क्षमताको उपयोग भने निक्कै कम थियो । सेक्टेम्बर ११ को घटनाले अलिकति बेलुन फुक्ने काम गरेको थियो । यसो हुनुका अरु पनि थुप्रै कारण थिए । सोभियत संघको विघठनले नजिकको प्रतिस्पर्धी देखिएको थिएन । त्यसपछिका ठूला शक्तिहरु आफै अमेरिकासँगको सहकार्यमा आएका थिए । अमेरिकी सेनासँग उच्च प्रविधिको सुविधा थियो, जसले अमेरिकालाई एक प्रकारले निश्चिन्त राख्दथ्यो ।

एक ध्रुवीय विश्व वास्तवमा अमेरिकी बर्चश्वप्रति विश्व स्वीकृति थियो । सोभियत संघको पतनपछि विश्व पुँजीवादको प्रतिस्पर्धामा कुनै शक्ति थिए । प्रतिस्पर्धी विचारधाराको परिदृष्यबाट मार्क्सवाद-लेनिनवाद गायब भइसकेको थियो । बार्सा प्याक्टदेखि अरु यावत यसका विश्व सञ्जालहरु ध्वस्त भएका थिए । मस्को समर्थित देशहरु, सशस्त्र समूहहरु र राजनीतिक आन्दोलनहरु सहाराविहीन भएका थिए । वासिङ्गटन बाहेक विश्वशक्तिको अरु कुनै केन्द्र थिएन । यो उदारवादको दिग्विजयजस्तो समय थियो । अमेरिकासँग सहकार्य गर्नु बाहेक कसैसँग अरु विकल्प थिएन ।

तर यसबीच उदारवादी विश्व खेमाले लोकतन्त्रको प्रवर्द्धनमा खासै ध्यान दिएन । उल्टो कतिपय अधिनायकवादी राज्यहरुलाई समर्थन र सहयोग समेत गर्‍यो । जस्तो कि साउदी अरेबिया । तेल मूल्यको रणनीतिक तथा आर्थिक महत्वको कारण साउदी जस्तो निरंकुश राज्यले अमेरिकाको समर्थन पाइरह्यो । अमेरिका लगायतका लोकतान्त्रिक भनिएका देशहरुले नै तथाकथित आतंकवाद विरुद्धको युद्धमा मानव अधिकार, नागरिक तथा राजनीतिक अधिकारको विरुद्ध हुने गरी हत्या, यातना, दमन लगायत कयौं मानवीय मूल्यमान्यता विरुद्ध क्रियाकलापहरु गरे । एकातिर अमेरिका निरन्तर उदार मूल्य प्रणालीप्रति प्रतिबद्धता व्यक्त गर्दथ्यो, अर्कोतिर कयौं त्यस्ता काम गर्दथ्यो, जो यस्तो मूल्यप्रणाली संगत थिएनन् ।

साम्यवादपछिको युगमा अमेरिकी बर्चश्व विस्तारका अनौपचारिक आधार पनि थिए । पश्चिमा परामर्शदाता तथा विशेषज्ञहरुले विश्वव्यापी रुपमा काम पाउँथे । नागरिक समाज समूहहरु सक्रिय थिए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु मानव अधिकार र उदार मूल्य प्रणालीको पक्षमा जनमत निर्माण गर्दथे । यस्ता अभियान, सामाजिक आन्दोलन र बौद्धिक समुदायले उदार आर्थिक तथा राजनीतिक परियोजनाको एकीकरण निर्माण गर्दथे । यिनीहरुले अमेरिकी शक्तिको सहज अधिपत्यका लागि भ्रम पैदा गरिरहे । तर अब यो भ्रम पनि च्यातिएर धुजाधुजा भएको छ ।

महाशक्तिको पुनरागमन

आज विश्व व्यवस्थाका लागि महाशक्तिको आव्हान र प्रतिस्पर्धा भइहेको छ । केही अधिनायकवादी शासकहरुले कमजोर राज्यहरुलाई आफूतिर आकर्षित गर्दैछन् । पश्चिमले संरक्षकत्व गर्न सकिरहेको छैन । नयाँ क्षेत्रीय संगठन र अनुदार विश्व संगठनहरु अमेरिकी स्वार्थसँग टकराउँदैछन् । चीनको उदयले विश्व अर्थतन्त्रमा दीगो परिवतनको अनुभूति दिएको छ र साथै भूराजनीतिक परिदृष्यलाई परिवर्तन गर्दिएको छ ।

सन् १९९७ को अप्रिलमा चिनियाँ राष्ट्रपति जियाङ जमिन र रुसी राष्ट्रपति बोरिस यल्तसिनले ‘बहुध्रुवीय विश्व र नयाँ विश्व व्यवस्थालाई प्रवर्द्धन गर्ने’ दाबी गरेका थिए । धेरै वर्षसम्म पश्चिमा विद्धान र नीतिनिर्माताहरुले यो कुरा पत्याएनन् । चीन अमेरिकाबाट आर्थिक फाइदा उठाउन छोडेर टकरावको चुनौतिपूर्ण बाटो तिर नलाग्ने ठानियो । रुसले शताब्दीको पहिलो दशकदेखि नै अमेरिका विरुद्ध कयौं नीति बनाउने र वक्तव्यबाजी गर्ने गरिरहेकै थियो । तर, अमेरिकी नीतिनिर्माताहरुले रुस र चीन यसरी बहुध्रुवीय विश्व र नयाँ विश्व व्यवस्थाको योजनामा सफल होलान् भन्ने पत्याएनन् ।

अमेरिका सन्देहको घेराभित्र बन्दी थियो । चीन र मास्कोले सन् १९९७ यताका २० बर्षलाई विश्व व्यवस्था पुनर्आकारित गर्न मेहनत गरिरहे । आज बेइजिङ र मस्को उदार विश्व व्यवस्थासंग सिधै टकराउने विन्दूमा आईपुगेका छन् । उनीहरु वैकल्पिक विश्व सञ्जाल र संस्थाहरु बनाउनतिर लागेका छन् जसको काम मानव अधिकार र नागरिक स्वतन्त्रतालाई कुन्ठित गर्न सहयोग गर्नु बन्न पुगेको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्यको शक्ति यी दुई देशले सधै उदार विश्व प्रणाली विरोधी शक्तिलाई काखी च्याप्न प्रयोग गरे । उदाहरणका लागि सिरिया, भेनेजुएला र यमनलाई लिन सकिन्छ । सन् २००६ देखि सन् २०१८ को बीचमा सुरक्षा परिषदमा चीन र रुसले ८६ प्रतिशत भोटिङ एकै तरिकाले गरे । त्यसको ठीक विपरित चीन र अमेरिकाले २१ प्रतिशत मात्र समान मतदान गरेका थिए । बेइजिङ र मस्कोले पश्चिममा प्रवर्द्धित मानव अधिकार संकल्पलाई बारम्बार चुनौति दिए ।

अमेरिकालाई बहिष्करणमा पारेर नयाँ विश्व संगठनहरु निर्माण गर्नु चीन र मस्कोको अर्को रणनीति थियो । ब्रिक्स त्यसैको उदाहरण थियो । यसमा उनीहरुले ब्राजिल, भारत र दक्षिण अफ्रिकालाई समेत सामेल गरे । सन् २००६ यता यो समूहले विश्व प्रणालीका कयौं आयाममा संस्थागत प्रयत्न गरिरहेको थियो । जस्तो- इन्टरनेट गभर्नेन्स, विश्व भुक्तानी प्रणाली र विकास सहयोगको विकल्प निर्माण गर्दै थियो । सन् २०१६ पछि विकासशील देशहरुको वित्तिय पूर्वाधार परियोजनाका लागि उनीहरुले नयाँ विकास बैंक नै स्थापना गरे ।

यो क्रममा बेइजिङ र मस्कोले अरुलाई आआफ्ना अन्तर्राष्ट्रिय स्वार्थ र रुचि अनुरुप सामेल हुन सक्ने विश्वास दिलाए । उनीहरुका विविधिकृत स्वार्थले खासै तनाव सृजना गरेनन् । रुसले चीनको बिआरआईको खुलेरै समर्थन गर्‍यो । यद्यपि मध्यएशिया र युरेसिया क्षेत्रको सडक परियोजनामा रुसको स्वार्थ चीनको भन्दा फरक थियो । चीनले रुसी चासो, सरोकार र संवेदनशीलतालाई ध्यान दिँदै आफ्ना परियोजनाहरुमा समायोजन गर्ने वचन दिए पश्चात यस्तो संभव भएको थियो ।

ब्रिक्समा सामेल हुँदा चीनले रुसको क्रिमियामाथिको हस्तक्षेप र विलयलाई व्यवधान ठानेन । ट्रम्पको चीनसँगको व्यापार युद्धले वेइजिङलाई झनझन छिटो मस्कोको नजिक पुर्‍यायो ।

संरक्षण एकाधिकारको अन्त्य

चीन र रुस मात्र अमेरिका विरोधी गैरलोकतान्त्रिक विश्व प्रणालीको निर्माणमा सामेल छैनन् । सन् २००७ यता भेनेजुवेलाले समेत बारम्बार उदार वैश्विक प्रणालीको प्रक्रियालाई असहयोग गरेको पाइन्छ । ठीक त्यही बेलादेखि चीनले चिनियाँ विकास बैंकमार्फत् आफुमा निर्भर राष्ट्र विशेषतः अफ्रिकी विकासशील देशहरुलाई ऋण सुविधा उपलब्ध गराउन थाल्यो ।

सन् २००८ को वित्तय संकटको समयमा पश्चिमा वित्तिय संस्थाहरुमा पहुँच नभएका वा बहिष्करणमा परेका कमजोर राष्ट्रहरुलाई चीन ऋण तथा आपतकालीन वित्तिय स्रोत प्राप्त गर्ने विकल्प बन्यो । वित्तिय संकटको समयमा चीनले ७५ विलियन डलरभन्दा बढी रकम ब्राजिल, इक्वेडर, भेनेजुएला, काजकिस्तान, तुर्कमेनिस्तान र रसियालाई दियो ।

तस्बिरः रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङ रुसमा । सेप्टेम्बर २०१८ । रोयटर्स

 

चीन मात्र एक वैकल्पिक संरक्षक थिएन । अरब विद्रोहपछि तनावको समयमा खाडी मुलुक कतारले इजिप्टलाई अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको ऋण संवाद अन्त्य गर्न मिल्ने गरी वित्तिय सहयोग गर्‍यो । तर चीनको महत्वाकांक्षा निक्कै तीव्र छ । एक तथ्यांकअनुसार सन् २००० देखि सन् २०१४ को बीचमा चीनको वैदेशिक सहयोग अनुदान ३५४ विलियन डलर थियो, यो अमेरिकाको ३९५ विलियन डलरको नजिक-नजिक हो ।

अध्ययनले के देखाउँछन् भने चिनियाँ सहयोगले ती देशको भौतिक विकासमा सहयोग मात्र गरेको छैन, ती देशका शासकहरुलाई संरक्षकत्व समेत प्रदान गरेको छ । अनुदानको निश्चित रकममा चिनियाँ सहमति मै भ्रष्टाचार हुने गरेको छ र त्यस्तो रकम त्यहाँका शासकले आफ्नो शासनसत्ता बलियो बनाउने अनौपचारिक लागतको रुपमा प्रयोग गरेका छन् । श्रीलंका, नेपाल, सुडान र दक्षिण सुडानजस्ता भर्खरै युद्धबाट बाहिर आएका देशहरुमा चिनियाँ सहयोग उनीहरुलाई अन्तर्राष्ट्रिय दबावबाट जोगाउने रक्षा कवच बनेको छ ।

पश्चिमा संरक्षकत्वको एकाधिकारबाट मुक्ति पाएसँगै कयौं देशमा लोकरिज्याईवादी राष्ट्रवादको समवर्ती धार उदित भएको छ । यो धार अमेरिका निकटस्थ देशहरुमा समेत बढ्दै गइरहेको छ । जस्तै, हंगेरियन प्रधानमन्त्री भिक्टर अर्वान, टर्किस राष्ट्रपति रिसेप तैयब एर्दोगान, फिलीपिनी राष्ट्रपति रोर्डिगो डुर्टेटले आफूहरुलाई उदारवादको विरुद्धमा आन्तरिक सार्वभौमसत्ताका अधिनायकको रुपमा डेन्टिङपेन्टिङ गर्दैछन् ।

यस्ता देशहरुले पनि पश्चिमसँगको सम्बन्धलाई कमजोर पार्दैन । आफ्ना आर्थिक तथा सामरिक सम्बन्धलाई विस्तारै रुस र चीनतिरै ढल्काउन थालेका छन् । वासिङ्गटनले आफ्नो पूर्व प्रहरी प्रमुखको भिषा खारेज गरेको झोकमा फिलिपिन्सका दुर्टेटले अमेरिकासंगको दुई दशक पुरानो सैन्य सम्झौता तोडेका छन् । दुर्टेट फिलिपिन्समा मानव अधिकार हनन र लागू औधष विरुद्ध रक्तपातपूर्ण तथा विवादस्पद युद्धका लागि बदनाम शासक हुन् । संरक्षकत्वको अमेरिकी एकाधिकार विश्वका सबै क्षेत्रहरुमा निरन्तर कमजोर हुँदैछ भने रुस र चीनले त्यसका लागि वैकल्पिक छाता उपलब्ध गराउँदैछन् ।

केन्द्रभिमुख शक्तिहरु

शीत युद्धपछिको एक ध्रुवीय गत्यात्मकता अन्त्य हुँदै जानुको अर्को महत्वपूर्ण कारण नागरिक समाजका वैश्विक सञ्जालले एकपटक जसरी उदार विश्व व्यवस्थाको पक्षपोषण गर्थे, ती टुट्दै जानु हो । लैङिगक अधिकार, बहुसांस्कृतिकतावाद र शासन प्रशासनको लोकतान्त्रिक पद्धति लगायत सबै क्षेत्रमा अनुदार शक्तिहरुले चुनौति खडा गरे । केही केन्द्रिाभिमुख संगठनहरु अमेरिका र पश्चिम युरोपमै उदय भए । उदाहरणको लागि अमेरिकाको राष्ट्रिय राइफल संगठनले सन् २००५ को ब्राजिल जनमत संग्रहमा यति बलियो लबिङ गर्‍यो कि त्यहाँ वन्दुक विरोधी आन्दोलन नै पराजित हुन पुग्यो ।

यही अभियानको आधारमा ब्राजिलमा दक्षिणपन्थीहरुको राजनीतिक गठबन्धन निर्माण भयो । त्यसको एक दशकपछि दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोरानोले सत्तामा पुग्नका लागि त्यही सञ्जाललाई उपयोग गरे । सन् १९९७ मा अमेरिका आधारित क्रिश्चियनहरुले गठन गरेको विश्व परिवार संघको अहिले विश्वव्यापी संगठन छ, त्यसले अहिले एलजिबिटीको सवाल र प्रजनन अधिकारबारे दक्षिणपन्थी भूमिका गरिरहेको छ । अधिनायकवादी शासनहरुले उदार अन्तर्राष्ट्रिय विश्व सञ्जाललाई यात नियन्त्रण गर्दैछन यात दक्षिणपन्थी भूमिका गर्न बाध्य पार्दैछन् ।

केही देशहरुले आफ्नै एनजिओ खडा गरेर उदार विश्व विरुद्ध भूमिका गर्न लगाएका छन् । जस्तो कि रुसले ‘युवा समूह’ भन्ने गैरसकारी संस्था बनाएको छ, जसको काम राज्यका नीतिहरुको समर्थन गर्नु हो । चिनियाँ रेडक्रस सोसाइटी निक्कै पुरानो र बलियो संगठन हो । आपतकालीन स्वास्थ्य सेवामा यसको बलियो जननविश्वास छ । कोविड–१९ विरुद्ध यसले युरोपमा समेत काम गर्दैछ । तर फोरमहरु समेत लोकतान्त्रिक विश्व प्रणाली विरुद्धको जनपरिचालनमा उपयोग भइरहेका छन ।

पश्चिमी विश्वले अनुदार कोल्टे फेर्न दुई घटना सहयोगी रहे । सन् २००८ को विश्व वित्तिय संकट तथा आर्थिक अधपतन र सन् २०१५ को युरोपेली शरणार्थी संकट । यी घटनापछि युरोपियन युनियन र नेटोको सान्दर्भिकतामाथि प्रश्न चिन्ह खडा भए । युरोपभरि दक्षिणपन्थी आन्दोलन देखिन थाले । यी आन्दोलनलाई मस्कोको आर्थिक सहयोग छ भन्ने आशंका गरिन्छ । दुर्भाग्य कि यही वेला अमेरिका र युरोपको मूलधार राजनीतिमा पनि दक्षिणपन्थी हावा बग्यो । इटालीमा शरणार्थी विरोधी लेगा पार्टी लोकप्रिय भयो । फ्रान्समा राष्ट्रिय गठबन्धन बलियो भयो । यी घटनाले पूर्ववर्ती विश्व व्यवस्थालाई कमजोर पार्नु स्वभाविक थियो ।

अनुदार तथा दक्षिणपन्थी आन्दोलनहरुले अमेरिका र अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई कमजोर मात्र पार्दैनन्, रुसको पक्षमा बलियो सांस्कृतिक संरक्षणवादको उदाहरण समेत पेश गर्दछन् । त्यस्ता आन्दोलनको अन्तिम परिणाम उदार औधोगिक लोकतन्त्रलाई प्रहार गर्नु र यसका संस्थाहरुलाई कमजोर पार्नु नै हुन्छ । ह्वाइट हाउसका ट्रम्पवादको कब्जा पनि त्यसैको उदाहरण हो । ट्रम्पवाद जताबाट विश्लेषण गरे पनि विद्यमान उदार विश्व प्रणाली र अमेरिकी बर्चश्व विरुद्धप्रति आन्दोलन नै हो, जसले अमेरिकी विश्व पहुँच र सञ्जाललाई विस्तारै ध्वस्त पार्दैछ ।

अमेरिकी प्रणालीको रक्षा

महाशक्तिका लागि प्रतिस्पर्धा, पश्चिमी संरक्षकत्व एकाधिकारको अन्त्य, उदार विश्व प्रणाली विरुद्धका आन्दोलनहरुले शीतयुद्धको अन्त्यपछि कायम बासिङगटन आधारित विश्व व्यवस्थालाई परिवर्तन गर्न स्वभाविक हुन्छ । कोभिड–१९ को महाब्यधीले अमेरिकी बर्चश्वको पतनमा थप मद्धत गर्ने देखिन्छ । चीनले विश्व स्वास्थ्य संगठन र अन्य विश्व संस्थामा आफ्नो प्रभाव अभूतपूर्व रुपमा बढाएको छ । ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठन कोषमा योगदान रोक्न निर्णय गरेको छ । यसले जनस्वास्थ्यप्रतिको अमेरिकी उत्तरदायित्वलाई झनै कमजोर बनाउँछ ।

बेइजिङ र मस्को आपतकालिन खाद्यान्न र औधषी आपूर्तीकर्ताको छवीमा प्रस्तुत हुँदैछन् । उनीहरुले इटाली, सर्बिया, स्पेन यहाँसम्म कि स्वयं अमेरिकालाई समेत सहयोग गर्दैछन । अनुदारवादी सरकारहरु महाब्याधीलाई आफ्नो स्वतन्त्र मिडिया, मानव अधिकार हनन, राजनीतिक असहिष्णुता र नागरिक समाज विरोधी क्रियाकलापको दागलाई छोप्ने अवसरका रुपमा प्रयोग गर्दैछन् । तर अमेरिका भने आफ्नो सैन्य सर्वोच्चता मै मख्ख छ ।

अमेरिकी बर्चश्वको रक्षा गर्ने हो भने– आसन्न निर्वाचनमा ट्रम्पको पराजय एक स्वभाविक आवश्यकता बन्दछ । डेमोक्र्याटिक उम्मेद्वार जो वाइडनले नेटो र युरोपियन युनियनको परम्परा पुनर्स्थापित गर्न योगदान गर्ने आशा गर्न सकिन्छ । त्यसपछि पुनश्चः अमेरिकाका सहयोगी राष्ट्रहरुसँगको सम्बन्धलाई कसिलो बनाउनुपर्ने हुन्छ । अमेरिका र युरोपियन युनियनबीच बलियो विश्वासको सम्बन्ध आवश्यक छ । उदार वैश्विक प्रणालीको रक्षाका लागि अमेरिकाले आफ्नो वित्तिय लगानीको क्षमता समेत बढाउनुपर्ने हुन्छ । वैश्विक तथा आन्तरिक दुवै स्थानमा लोकतान्त्रिक, प्रगतिशील, वामकेन्द्रवादी वा उदार वामपन्थी पार्टीको विकास र सञ्जालीकरणमा जोड दिनु पर्दछ । अमेरिकाले यी भूमिका गर्न सक्ने वा नसक्ने कुरा मुख्यतः ट्रम्पवादको विजय वा पराजय मै निर्भर गर्ने छ ।

तर ट्रम्पको पराजय नै पर्याप्त हैन । अमेरिकी नीतिनिर्माताहरुले भविष्यमा कस्तो योजना बनाउलान् ? त्यसले पनि अमेरिकी बर्चश्वको भविष्य निर्धारण गर्नेछ । यदि यसलाई जोगाउने हो भने अमेरिकी नेतृत्वमा विश्वव्यापी रुपमा सैनिक तथा आर्थिक गठबन्धनहरुलाई बलियो बनाउनु पर्दछ । अन्यथा अब विद्यमान विश्व प्रणालीलाई पतनबाट जोगाउने संभावना क्षीण छ । अहिले अमेरिकासँग चीन र अन्य उदयमान विश्व शक्तिसंग लड्ने इच्छाशक्ति र स्रोत साधन दुवैको अभाव छ । यो स्थितिमा अमेरिकाका अनुबन्धित राष्ट्र समेत लामो समय जोगिने छैनन् । धेरैलाई अब अमेरिकको नजिक रहेर टिक्न सकिन्न भन्ने लाग्न थालेको छ । कतिपय सरकार त अमेरिकाको विरुद्धमा नै पपुलिष्ट र अनुदार आन्दोलनलाई प्रेरित गरिरहेका छन ।

अमेरिकाले यो बुझ्न जरुरी छ कि एक ध्रुवीय विश्व अब पराकाष्ठामा छ । जोगाउने हो भने त्यसको योजना र रणनीति बनिहाल्नु पर्दछ । हैन भने यो युग सकिन्छ र फेरि फर्किने छैन ।

(फरेन अफेयर्सबाट संक्षेपीकरणसहितको भावानुवाद)

(अलेक्जेन्डर कुले बर्नार्ड कलेजमा राजनीतिशास्त्रका प्रोफेसर र कोलम्बिया विश्वविद्यालयको हरिमन मन इन्स्टीच्युटका निर्देशक हुन् भने डेनियल एच. नेक्सन सरकारी विभागका एसोसिएट प्रोफेसर र जर्ज टाउन विश्वविद्यालयमा एडमण्ड ए. वोल्स स्कूल अफ फरेन सर्भिसमा आवद्ध छन्)

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय