scheduleसोमवार श्रावण २६ गते, २०७७

केरा खेतीमा कीरा

फाइल फोटो

राजापुर,  १६ असार । केरा उत्पादन क्षेत्रका रूपमा परिचित हुँदै गएको बर्दियामा केरा खेतीमा कोत्रे र गबारो कीराको समस्या देखिएको छ । केरामा हरेक वर्षझै यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि किसानमा लगानी खेर जाने चिन्ता लागेको छ ।

यस वर्ष कोसा लाग्न लागेको केरामा कोत्रे, गबारो, जुकालगायत कीरा लागेको र नियन्त्रण चुनौतीपूर्ण भएको गुलरियाका कृषक मुकुन्द सुवेदीले बताए । विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको उनको भनाइ छ ।

जिल्लाका मधुवन, राजापुर र बारबर्दिया क्षेत्रमा लगाइएको केरामा रोगकीरा लागेको किसानले बताएका छन् । आफूले यस वर्ष केराखेती अघिल्लो वर्षभन्दा आधा कटौती गरेको गुलरियाका कृषक कृृृष्णबहादुर भण्डारीले बताए । उनले अघिल्लो वर्ष हजार बोट केरा लगाउँदा रोगले अधिकांश बोट सखाप भएकाले अहिले ४०० मात्र लगाएका छन् ।

केराको बोट परीक्षण नगर्नु, एउटै जग्गामा नियमित केरा लगाउनु, माटो परीक्षण नगर्नु, अनावश्यक रूपमा विषादी तथा रासायनिक मल प्रयोग गर्नुलगायत कारण रोगकीराको प्रकोप देखिएको विचार कृषक सुवेदीले राखे ।

बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले केरा कृषकलाई ५० प्रतिशत अनुदानमा विषादी वितरण गर्न लागिएको जानकारी दिए ।

गुलरिया नगरपालिका कृषि शाखाका अधिकृत कमल तामाङले खेतबारी सफाइ गर्ने, बालीचक्र अपनाउने, रासायनिक मल प्रयोग गर्ने गर्दा त्यस्ता रोग र कीरा नियन्त्रण गर्न सहयोग पुग्ने सल्लाह दिए । जिल्लाका ५०० भन्दा बढी किसानले व्यावसायिक केराखेती गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय