scheduleशनिवार श्रावण २४ गते, २०७७

नेकपा झाङ्गिने, बाङ्गिने की नाङ्गिने ?

प्रतिक भट्ट

दुई वर्षअगाडी मदन–आश्रित स्मृति दिवसका दिन तत्कालीन नेकपा एमाले र माओवादी पार्टीबीच एकता भयो । एकतापछि देशको ठूलो पार्टी भयो र पार्टीको नाम नेकपा राखियो । पार्टीलाई दुई पाईलटले हाँक्ने सहमति भयो । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी ७० बर्षपछि झाङ्गियो ।

पार्टी एकता अगाडि एमाले र माओवादीले संसदीय निर्वाचनमा क्षेत्र बाँढेर चुनावी प्रतिष्पर्धा गरेका थिए । स्थानीय निर्वाचनमा भने एमाले एक्लै मैदानमा थियो तर, माओवादी चाहिँ काँग्रेससँग मिलेर एमाले सिध्याउने अभियानमा थियो ।

संयोग भनौं- २ वर्षपछि मदन–आश्रित स्मृतिकै दिनदेखि नेकपामा दरार देखिन शुरु भयो । जेठ ३ गतेपछि असार १५ गते मदन जयन्तीसम्म आईपुग्दा त दुई अध्यक्षबीच आरोप प्रत्यारोप उत्कर्षमै पुग्यो । मदन भण्डारीको जनताको बहुदलीय जनवाद मान्न तयार भएर एमालेमा पार्टी विलय गराएका प्रचण्डले मदन जयन्तीकै दिन अर्का अध्यक्ष ओलीलाई कटाक्ष गर्दै राजीनामा माग्न थाले ।

प्रचण्डको मागमा पूर्व एमालेका नेताहरुको साथ रह्यो । मंगलबारको बैठकमा बोल्ने १८ मध्ये १७ जनाले त राजीनामा नै मागे । उनीहरुले ओलीले अराजनीतिक चरित्र देखाएको आरोप लगाए ।

उता, जनयुद्धको सबै उपलब्धिसँगै सहिद, बेपत्ता, घाइते, अपाङ्गको सपना स्वाहा बनाएर ओलीसँग कुम जोडेका प्रचण्डलाई ओलीले भारतको उक्साहटमा लागेर आफ्नो राजीनामा मागेको गम्भीर आरोप लगाईदिए । भारत र चीनसँग राम्रो सम्बन्ध छ भनेर खुलेआम अन्तर्वार्ता दिने प्रचण्डलाई सायद ओलीको यो कुराले बिझायो । उनले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँगै लिएर राजीनामा भारतले नभै आफुहरुले मागेको जवाफ फर्काए । दुई वर्षअगाडि झाङ्गिएको नेकपा यहाँसम्म आउँदा बाङ्गियो ।

२०५४ सालमा महाकाली सन्धि हुने ताका जसरी तत्कालीन एमाले विभाजित थियो अहिले मिलिनीयम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले नेकपा त्यस्तै अवस्थामा बाङ्गिन पुगेको छ । आलोपालो प्रधानमन्त्री हुने र पार्टीमा समान हैसियतको अध्यक्ष बन्ने सपना चक्नाचुर भएपछि बाङ्गिएका प्रचण्ड अहिले नेपाल, खनाल र गौतमलाई साथ लिएर सिङ्गो पार्टीनै बङ्ग्याउने दाउमा छन् ।

एकतापछि झाङ्गिएको नेकपा नामको पार्टी अध्यक्ष ओलीको मपाईंत्व र अटेरीपन अनि प्रचण्डको धुर्त्याईं र चतुर्‍याईँले गर्दा बाङ्गिन थाल्यो । बाङ्गिएको पार्टी सोझ्याउन छाडेर नेताहरु आरोप प्रत्यारोपमा उत्रेपछि अब नेकपा नाङ्गिन मात्रै बाँकी रहेको छ ।

केन्द्रमा दुई तिहाई नजिकको सरकार आफ्नै र ७ मध्य ६ प्रदेशमा पनि नेकपा कै सरकार हुँदा पनि सर्वहारा, गरीब, किसान, मजदुरको पक्षमा काम गर्न नसक्नु, भ्रष्टाचार रोक्न नसक्नु, विवादित ठेकेदार, माफियासँग पार्टी नेताको नाम जोडिनु, कोरोना महाविपत्तिमा परेकालाई राहत दिन नसक्नुले सरकार सँगै पार्टी समेत नाङ्गिन थालेको छ ।

अझै पार्टी अध्यक्ष रहेका प्रधानमन्त्रीले सुरमा वा बेसुरमा कहिले बेसार, कहिले असारका कुरा गर्ने, कहिले औषधिका ट्याबलेटदेखि राष्ट्रपति भवनको कार्पेटसम्म कुरा गर्ने अनि मदनको साईकलदेखि राष्ट्रपतिको गाडीको कुरा गर्ने गर्दा नेकपालाई झाङ्गिन भन्दा बाङ्गिन र नाङ्गिन बल पुगेको देखिन्छ ।

नेकपाभित्र नयाँ पुस्ताले नेकपा झाङ्गिँदा देश बाङ्गिने र जनता नाङ्गिने अवस्थाको अन्त्य गर्नुपर्छ । नेकपा झांगिनु भनेको मुट्ठीभर मानिसहरुको स्वर्ग स्थापना गर्दा करोडौं नागरिक घरको न घाटको हुने अवस्थाको अन्त्य गर्नु पनि हो ।

तसर्थ, नेकपा भित्र कोही यस्तो पात्र छ भने अगाडी आउनेबेला भएको छ । केहि युवा नेताले भनेजस्तै ओली र प्रचण्डलाई हटाएर नेकपामा तेस्रो विकल्प खोज्न ढिला नगर्दा हुन्छ । यदि यसो हुन सक्तैन भने झाङ्गिएर पनि बाङ्गिएको नेकपा नाङ्गिन बेर लाग्दैन । सर्वाङ्ग नाङ्गो हुँदा पनि महाराजलाई साह्रै सुहाएको छ भन्दै पछाडि लाग्ने वा नयाँ विकल्पको खोजीगर्ने जिम्मा फेरी पनि नेकपाकै । महाराजको जो हुकुम !!!

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय