scheduleमगलवारमाघ ६ गते, २०७७

नेपाली मूलका कर्टिस वाटर्स अमेरिकी संगीतमा चम्किँदै

नर्थ क्यारोलाइना (अमेरिका), १७ असार । गत मार्च सुरुको कुरा हो । चर्चित आर्टिस्ट तथा म्युजिक प्रवर्द्धनकर्ता क्रिस आनकुटे एक आकांक्षी कलाकारले पठाएको साउन्ड क्लाउड च्यानलको लिंक सुनिरहेका थिए ।

ट्रयाक सिधियो, अनि उक्त प्लेटफर्ममा कर्टिस वाटर्सको ‘फ्रेकल्स’ गुन्जिन थाल्यो ।

‘मलाई यस्तो महसुस भयो कि ऊ मेरो कथा भनिरहेको छ,’ अमेरिकाको चर्चित रोलिङस्टोन अनलाइनसँगको कुराकानीमा उनले भनेका छन्, ‘तुरुन्त म उनको ‘फ्यान’ भएँ ।’

इन्डीसँगको अर्को अन्तर्वार्तामा क्रिस भन्छन्, ‘कर्टिसको म्युजिक सुन्दा मलाई १५ वर्षअघि क्यानी वेस्टको म्युजिक सुनेको भान भयो । उनीहरू दुईजनाको कथा फरक छ तर म कर्टिसको म्युजिक सुन्दा स्पिरिच्युयल्ली क्यानी वेस्टको म्युजिकसँग जोडिएँ । मैले भेटेका मध्ये कर्टिस अत्यन्तै मिहिनेती, सिर्जनशील र आफ्नो लक्ष्यप्रति प्रतिवद्ध मानिस हुन ।’

क्रिसले अमेरिकी आइडलकी जज तथा अहिलेकी चर्चित गायिका केटी पेरीसँग काम गरेका छन् । केटीका गीतलाई प्रमोसन गरेर ‘हिट’ बनाउन उनको ठूलो भूमिका छ । क्रिस अहिले योङ फरइभर नामक कम्पनी चलाउँछन् ।

साउन्ड क्लाउड च्यानलमा क्रिसले कर्टिसको गीत सुन्नु नै सुखद संयोग बन्यो । यसरी मे महिनामा कुर्टिसको ‘स्टनिन’ आउनु पहिले क्रिस उनको म्यानेजर भए । कर्टिसको ‘स्टनिन’ सार्वजनिक गर्नुअघि अप्रिलको पहिलोसाता आफ्नो भाइसँग मिलेर पहिलोपटक टिकटक भिडियो सार्वजनिक गरे ।

त्यसपछि लगातार उनीहरूले केही दिन नयाँनयाँ भिडियो सार्वजनिक गरिरहे । गीत अहिले लोकप्रियताको चुलीमा पुगेको छ । ‘स्टनिन’मा टिकटक पुस्तालाई लक्षित गरी बीच पार्टीको पप–र्‍याप समेट्न खोजिएको छ, जुन बिल स्मिथको ‘मियामी’सँग प्रभावित बन्न खोज्छ ।

उनीहरूको भिडियो यसरी भाइरल भयो कि हालसम्म २ लाख ८० हजारभन्दा बढी व्यक्तिहरूले स्टनिनको टिकटक भिडियो बनाइसकेका छन् । यी भिडियो हेर्नेको संख्या त करोडौं नाघिसकेको छ । कर्टिस वाटर्सको आफ्नै युट्युब च्यानलमा पनि यो गीत अपलोड गरिएको छ जहाँ हालसम्म करिव २ मिलियन दर्शकले हेरेका छन् ।

टिकटकमा सर्वाधिक चर्चा बटुलेको ‘स्टनिन’ मे १९ मा सार्वजनिक भएपछि गत साता यसले स्पोटीफाईमा कीर्तिमान कायम गर्‍यो, अहिले पनि टप हिट्समा छ । ‘स्टनिन’ले अझै पनि दैनिक स्पोटिफाईमा ७ लाखभन्दा बढी भ्युअर पाउँदै आएको छ । हालसम्म स्पोटीफाईमा १५ मिलियन स्ट्रिमिंग भैसकेको छ भने कर्टिस वाटर्सका स्पोटीफाईमा मासिक स्रोता पनि झन्डै ३५ लाख भएका छन् ।

रोलिङस्टोनका अनुसार स्पोटीफाईमा नै एरिजोना जेरभासको ‘रोक्सान्ने’ ले एक बिलियनभन्दा बढी भ्युअर पाइसकेको छ। त्यसो त जेरभासले प्रमोसनका लागि कोलम्बिया रेकडर््स नामक कम्पनीसँग एग्रीमेन्ट गरेका थिए ।

कर्टिसलाई पनि म्युजिक कम्पनीबाट अफर आए पनि उनले साइन गर्न रुचि देखाएनन्। म्युजिक बिजनेस कम्पनीले आर्टिस्टप्रति गर्ने शोषणले गर्दा आफूले ठूला कम्पनीसँग साइन नगर्नुलाई उपयुक्त ठान्छन् उनी। कम्पनीको यस्तो रवैयाले गर्दा अमेरिकी म्युजिकको दीर्घकालीन बजार भुङ्ग्रो पर्दै गएको विश्लेषण गर्ने धेरै छन्।

‘म्युजिक कम्पनीको डिलसँग म सहमत भइनँ, ती कम्पनीले त मलाई अफर गरेकै थिए,’ कर्टिसले भनेका छन्, ‘मैले स्वतन्त्र भएरै अगाडि बढ्ने निधो गरेँ। म निश्चित छैन कि ठूला कम्पनीले कलाकारले चाहे अनुसारै काम गर्न दिन्छन् ।’

नेपालमा जन्मिएका कर्टिस वाटर्सको वास्तविक नाम अभि बस्ताकोटी हो । उनी अहिले आफ्ना बुवाआमा र भाइसँग अमेरिकाको नर्थ क्यारोलाइना राज्यको क्यरीमा बस्दै आएका छन्। उनले ६ वर्षदेखि संगीत क्षेत्रमा काम गर्दै आएका छन् ।

क्रिसले यसअघि नै वाटर्ससमक्ष लाइसेन्स डिलको कुरा गरिसकेका छन्, जसमा आर्टिस्टले एउटा निश्चित समयपछि मात्र आफ्नो म्युजिकको स्वामित्व पाउँछ र, त्यसबाट आएको रोयल्टीको पनि हिस्सा पाउँछ ।

‘स्टनिन’ टिकटिकमा भाइरल हुन थालेपछि निगोसिएसनको प्रकृति पनि परिवर्तन भएको छ । ‘अधिकांश कम्पनीहरुले टिकटकको हिट हेरेर मलाई फोेन गरिरहेका छन्,’ कर्टिस भन्छन्, ‘मेरा बाँकी एल्बमका बारेमा उनीहरुले केही सुन्न चाहँदैनन्, यस्तो कुरा बुझ्ने चाहिँ क्रिस हुन भन्ने मलाई लाग्छ।’ क्रिसले कर्टिसलाई तीन वटा एल्बमका लागि डिल गरेर निश्चित समयावधि तोकी उनका म्युजिकलाई व्यावसायिक रुपमा प्रमोसन गर्ने भएका छन्।

एक महिना बित्दा नै ‘स्टनिन’ खास गरी युवा पुस्ता अनि अन्य उमेर समूहमा पनि लोकप्रिय भएको छ, यो टप हिट्समा परेको छ। पप राइजिङ्ग प्ले लिस्टले कर्टिसको ‘स्टनिन’लाइ स्पोटीफाईको कभरमा राखेको छ । स्पोटीफाईको ग्लोवल भाइरल लिस्टमा पनि उनी विगत तिन हप्ता देखि दुइ नम्बरमा रहेका छन् । टुडे म्यागाजिनले “संगस् अफ समर -२०२०” को सुचिमा लेडी गागा लगायतकाचर्चित कलाकारका गीतसंगै कर्टिसको ‘स्टनिन’लाइ पनि समाबेस गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay