scheduleबुधवार श्रावण २१ गते, २०७७

कोरोना संक्रमितका लागि सातवटा अस्पतालमा मात्र आकस्मिक सेवा

सांकेतिक तस्बिर

काठमाडौं, १७ असार । सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकेकामध्ये सात वटा अस्पतालले मात्र कोभिड-१९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र बिरामीका लागि आस्कमिक उपचारको व्यवस्था गरेको पाइएको परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जानकारी दिए ।

अध्ययनमा २३ वटा कोभिड-१९ डेडिकेटेड अस्पतालले बिरामीलाई आकस्मिक सेवा नदिएको पाइएको छ । सरकारले कोभिड-१९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।

अध्ययनमा कोभिड-१९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड-१९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ । अन्य पाँच अस्पतालले कोभिड-१९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

चार अस्पतालले गैर कोभिड-१९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ । अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष (एचडियु) रहेको पाइएको छ । ती २० अस्पतालमा २३५ सघन उपचार कक्ष र सात अस्पतालमा ९७ कक्ष एचडियु रहेको छ ।

यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन । अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन । ती मध्ये १९ अस्पतालले कोभिड १९ को सङ्क्रमण रोकथाम समिति गठन गरेका थिए । अध्ययनमा ९६.७ प्रतिशत अस्पतालले कोभिड-१९ व्यवस्थापन समूह, ९३.३ प्रतिशतले कोभिड-१९ सम्बोधन योजना बनाएका थिए ।

तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पिसिआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड-१९ क्लिनिक सञ्चालन गरेको छ । ती मध्ये ५२ वटा क्लिनिकले मात्र २४ सै घण्टा सेवा उपलब्ध गराएको अनुसन्धानका क्रममा देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले बताए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय