scheduleबुधवार श्रावण २१ गते, २०७७

नेकपामा अहंकार र उत्ताउलोपन बढ्यो

राम कार्की

राजनीतिमा उत्कर्षहरु आइरहन्छ । नेपाली समाजको मान्यता प्रजातान्त्रिक मूल्य मान्यतामा टेकेको व्यवस्था हो । आम जनताले पनि त्यही प्रणाली चाहिरहेको छ । तर, त्यो नेताहरुमा लागू नहुने, आम जनताले मात्रै लागू गर्नुपर्ने देखियो । हाम्रा नेताहरुले आफूले चाँही लागू गर्न नपर्ने प्रजातान्त्रिक व्यवस्था बनाउँदै हुनुहुन्छ । प्रक्रियामा नजाने, प्रणालीमा नजाने भएपछि समस्या हुने नै भैहाल्यो नी हैन र ? यसको विरुद्ध स्वाभाविक रुपमा संघर्ष र आन्दोलन चाल्नुपर्ने आवश्यकता छ । समाज र आन्दोलनलाई लोकतान्त्रिक बनाउनका लागि चुप लागेर बसेर त हुँदै हुँदैन ।

नेपालको कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक व्यवस्थाका लागि पार्टीको दोस्रो र तेस्रो लहरकाले संघर्ष गर्नुपर्ने थियो । अहिले शीर्ष तहमै झडप भैरहेको छ । अहिले जुन झडप भैरहेको छ, यसले ठूलो परिवर्तन ल्याउँदैन । त्यति अर्थपूर्ण पनि देखिँदैन ।

प्रचण्डले ओलीको राजीनामा माग्नुको अर्थ

यत्रो अवसर हुँदा पनि सरकारले डेलिभरी गर्न सकिरहेको छैन । अहिले त पार्टीका १/२ जना नेताले मात्रै राजीनामा दिन दबाब दिएका हुन् । ठूलो मास नै राजीनामा माग गर्दै अघि सर्‍यो भने के गर्ने ? आफ्नो मूल्य र मान्यतामा स्खलित भएकोले नेपाली काँग्रेस प्रतिपक्षी भूमिका निभाउन सक्ने ठाउँमा छैन । यस्तो अवस्थामा काँग्रेसले पनि जोडदार कुरा उठाउन सक्थ्यो, तर उसँग सामर्थ्य छैन । एमसीसीको कुरा गर्ने हो भने सत्तापक्षले भन्दा पनि नेपाली काँग्रेसले नै लागू गराउन कम्मर कसिरहेका छन् । तर नव-उदारवादको खाल्डोभित्र जाकिनका लागि नेपाली काँग्रेस आज पनि लागिपरेकै छ । नेता बुढा भए भनेर जनता चुप लागेर बस्ने स्थितिमा छैनन् । अहिले उर्जा चाहिँ पैदा भैरहेको छ, त्यसले विष्फोट हुने एउटा ठाउँ खोज्दैछ । यसबारे यति मात्रै टिप्पणी गरौँ ।

पार्टी फुट्ने सम्भावना

अहिले पार्टी नै फुटाउने अवस्था चाहिँ पटक्कै छैन । एकथरीकाले पहिलेको एमाले बनाउन खोजेको पक्कै हो । केही मान्छेलाई पहिलेको माओवादी बनाऔँ भन्ने पनि लागेको होला । तर बस्तुगत स्थिति त्यो छैन । मैले देखेअनुसार अबको ध्रुवीकरण अलि फरक हुनेछ । पार्टीभित्र विवाद आयो भन्दैमा तत्कालै पहिले जे जे थियो त्यही बन्ने र एकीकरण भंग हुने भन्ने चाहिँ मलाई लाग्दैन । त्यो अहिले सम्भव पनि छैन र गर्नु पनि हुँदैन ।

नेकपामा वैचारिक बहस

उहाँहरु विचारको क्षेत्रमा त प्रवेश गर्न नै चाहनुभएन । नव-उदारवादलाई चुनौती दिने खालका विचारहरु आउँछ त्यहाँ । स्वाभाविक रुपमा कम्युनिष्ट पार्टीमा केही केही अरु अवशेषहरु पनि बाँकी नै रहेकोले जनतामा पनि धेरै आशा र भरोशा छ । केही हदमा वैचारिक संघर्ष सुरु गर्नासाथ नव-उदारवादविरोधी विचार आउनेछ । समाजवादी विचार आउनेछ । हाम्रा कतिपय अंश चाहिँ नव-उदारवादको दास भैसकेका छन् । चुनावको समयमा मजदुर किसानको पक्षमा फर्किएर भाषण गर्ने, अनि अरु बेलामा व्यवहार अर्कै देखाउने । तर, विचारको मन्थनमा ध्यान दिएर अगाडि बढ्ने हो भने अवसर अझै छ ।

अहिले नव-उदारवादले अधिनायकवाद-उन्मुख शासन खोजिरहेको छ । यो च्याप्टर यति कमजोर छ कि, यसले अलिकता पनि सहन गर्नै सक्दैन । अलिकता विरोध र विवेक अगाडि आयो भने तर्सिहाल्छ । कतै धर्म र कतै संस्कृतिको नाममा यो विषयमा अहिले विश्वभर अलायन्स भैरहेको छ ।

नेतृत्वमा रहेकाहरुको मूल्याङ्कन त कसरी गर्ने हो र, तर हामी आफैं नै लाछी भयौँ की भन्ने पनि लाग्छ मलाई । हामीले लडाइँ लड्न सकेनौँ । वैचारिक लडाइँ त लड्यौँ तर राजनीतिक लडाइँ लड्न पटक्कै सकेनौँ ।

प्रचण्ड ओलीपछिको पुस्ता

बाउले छोरा बढिसकेपछि मात्रै म मर्छु भनेर बसेर हुँदैन । राजनीतिमा पनि उमेरको भन्दा विचारको कुरा आउँछ । अहिले के समस्या छ भने ओली प्रचण्डलाई भेट्नेहरु माग्नेहरु मात्रै छन् । दिने मान्छेसँग उहाँहरु भेट नै गर्नुहुन्न । उहाँहरुलाई सुझाव दिने, आलोचना गरिदिने, बेलाबेलामा झक्झक्याउने मान्छेसँग भेट नै हुँदैन । विहानदेखि बेलुकासम्म सरुवा, बढुवा र अनेकथरीका मागन्तेहरुसँग मात्रै नेतृत्वको भेट भैरहेको हुन्छ । अहिले भन्ने नै हो भने नेतृत्वमा राजनीतिक रुपमा असहायपन देखिन थालेको छ । उहाँहरुलाई विस्थापन नगरे कम्युनिष्ट आन्दोलन नै नरहने खतरा देख्छु म त । त्यसको लागि आवश्यक भूमिका निर्वाह गर्न नसक्नु हाम्रो पुस्ताको पनि कमजोरी हो । कम्युनिष्ट आन्दोलनको धरोहरलाई बचाएर नयाँ पीढीलाई हस्तान्तरण नगर्ने हो भने अहिले नै सजग हुनुपर्‍यो ।

नेताहरुमा अहंकार र विकल्प

नेकपाका शीर्षस्थ नेताहरुलाई आफू कहाँ जाँदै र के गर्दै छु भन्ने थाहै छैन । आफ्नै अहंकार छ । अब विकल्प आउँछ र आउनुपर्छ । प्रगतिशील विकल्प हामीले दिन सकेनौँ भने प्रतिगामी विकल्प जहिले पनि तयार छ । नेकपाका कार्यकर्ताहरुले सजग र सचेत एवं बोल्ड भएर अहिलेको तत्कालीन स्वार्थलाई छाडेर आन्दोलन बचाउनतिर लाग्नुपर्ने देखिन्छ । जब कसैसँग दिमाग खाली हुन्छ, तब अहंकार बढ्ने हो । दाना फलेको हो भने त रुख झुकिहाल्छ । दाना नफल्दामात्रै रुख ठाडो रहने हो । अहिलेको नेतृत्व भनेको दाना नलागेको रुख जस्तै हो ।

नेपाली समाजलाई सहज बाटोमा अघि बढाउने जुन कार्यभार छ, त्यसलाई सहज रुपमा अघि बढाउन र आफ्नो स्वार्थ त्याग्न सकियो भने त विनम्रता शुरु भैहाल्छ । अहिले त आफन्त, नातागोता, साला-साली, साँढु-भाइ-दाइ इत्यादिलाई धनी बनाउने अभियान मात्रै चलिरहेको छ । अहिले यही उत्ताउलोपन र अहंकारीपन देखिएको हो ।

(नेकपाका नेता राम कार्कीसँग साझा पोष्टले गरेको कुराकानीमा आधारित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय