scheduleशनिवार श्रावण २४ गते, २०७७

प्रधानमन्त्री ओलीको राष्ट्रवादः सच्चा वा उपयोगवादी ?

क्षेत्र ब. दर्लामी मगर

‘राष्ट्रवाद’ हरेका देशका नागरीकका निमित्त निकै प्रिय शब्द होे । यो आम नागरिकहरुको मन मुटुमा रहेको हुन्छ । नेपालको सन्दर्भमा पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद निकै चर्चामा रहने गरेको छ । यद्यपि उनको राष्ट्रवादको सुक्ष्म विश्लेषण भने कमै हुने गरेको छ । उनको राष्ट्रवादको गहन विश्लेषण गर्नु अघि राष्ट्रवादको अर्थ र पृष्ठभुमिको बारेमा छोटो व्याख्या गर्नु उपयुक्त देखिन्छ ।

‘राष्ट्रवाद’ लाई अंग्रेजी भाषामा ‘Nationalism’ भनिन्छ । यो शब्द Nation+al+ism मिलेर बनेको हो । यसको मुलशब्द ‘Nation’ चाहि ल्याटिन भाषाको ‘nasci’–nat –natio हुँदै French भाषाको nation शब्दको रुपमा उत्पत्ति भएको हो ।nation शब्दको सुरुवातको अर्थ place of origion हो भने मध्ययुगमा Susan Reynolds भन्ने विद्वानले ‘European medieval kingdoms were nation’ बताउँदै nation शब्दले Kingdom ‘राज्य’ लाई जनाउने बताएका थिए ।

हाल एक्कासौं शताब्दीमा nation शब्दका दुई प्रकारका धारणाहरु छन् जसमध्ये French विद्धानहरुले अठारौं शताब्दीमा ‘civic nation’ को रुपमा परिभाषित गर्दै ‘nation as willingness to live together which produce a nation’ भनेका थिए । यसको अर्थ nation शब्दले राज्यका विविध समुदायका मानिसहरुलाई बाँधेर राख्ने एकताको भावनालाई जनाउदछ भने उन्नाईसौं शताब्दीमा जर्मन विद्वान Jahann Gottlied Fichte ले ‘nation’ शब्दलाई ethnic nation को रुपमा परिभाषित गर्दै nation शब्दले राज्य भित्र बसोबास गर्ने साझा भाषा, संस्कृति, धर्म, इतिहास र उत्पत्ति भएको समुदायहरुलाई जनाउँदछ जुन अन्य समुदायहरुबाट पृथक रहन्छ भनेका छन् ।

यसप्रकार राष्ट्रवादको अर्थ समय र परिस्थितिअनुरुप फरक–फरक तवरबाट अर्थ लगाइने भएतापनि ‘राष्ट्र’ भन्नाले समग्रमा राज्यभित्र बसोबास गर्ने आफ्नै साझा भाषा, धर्म, संस्कृति, उत्पत्ति भएका सम्पूर्ण समुदायहरु र उनिहरुलाई एकतामा बाँधेर राख्ने एकताको मनोविज्ञान, भुगोल, जनसंख्या, सरकार, सार्वभौमसत्तालाई जनाउँदछ । राष्ट्रवादले राष्ट्रलाई प्रेम र आस्था गर्ने, राष्ट्रिय एकता कायम गर्ने, रार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने र सोहि अनुरुपको व्यवहार देखाउँदै अन्तर्राष्ट्रिय समुदायमा देशको शीर उचो राख्ने कार्यलाई जनाउँदछ ।

नेपालको सन्दर्भमा २०७२ सालमा भएको भारतको नाकाबन्दी सामु नझुक्ने अभिव्यक्ति दिएका कारण एकाएक राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओलीको राष्ट्रवाद कस्तो प्रकारको हो भनि यहाँ चर्चा गरिएको छ ।

२०७४ सालको आमनिर्वाचनमा विकास र समृद्धिका निकै लोकप्रिय नाराहरु जस्तै देशमा रेल कुदाउने, घरघरमा ग्यासका पाईप लाइन पुर्‍याउने, आफ्नै देशको ध्वजावाहक पानीजहाज चलाउने लगायतका महात्वाकांक्षी योजना दिएका कारण नेपाली जनताले ओली र उनको पार्टीलाई नेकपालाई अनुमोदन गरी झण्डै दुई तिहाई बहुमत नजिकको नजिक पुर्‍याएका थिए । यो उनका निमित्त देशको आन्तरिक एकता र राष्ट्रवादलाई मजबुत पार्दै देशलाई विकास र समृद्धितिर लैजाने र एउटा सफल नेतृत्वको रुपमा स्थापित हुने ऐतिहासिक अवसर प्राप्त भएको थियो । उनले यो अवसरको सदुपयोग गर्नबाट चुक्न पुगेका छन् ।

क्षेत्र ब. दर्लामी मगर

राष्ट्रिय एकता, राष्ट्रियता र सार्वभौमसत्ताको सन्दर्भमा ओलीको राष्ट्रवादलाई नियाल्दा उनले अधिकांशरुपमा पहाडे समुुदायको मनस्थितीलाई आफ्नो पक्षमा पार्न केही मात्रामा सफल रहेतापनि मधेशी समुदायलाई पुर्णरुपमा पहाडे समुदायबाट विखण्डीत पारेको र पहाडे समुदाय भित्र पनि आदिवासी, जनजाती समुदाय र तराईको थारु समुदायमा समेत उनको राष्ट्रवादप्रति तिव्र असन्तुष्टि रहेको देखिन्छ ।

उनले नेपालको संविधान २०७२ मा मधेशी, आदिवासी, जनजाति, थारु लगायतका पिछडिएका समुदायहरुको जायज मागहरु संविधानभित्रै सम्वोधन गरी आन्तरिक राष्ट्रवाद मजबुत पार्ने कार्य गर्न सकेका छैनन् । उनले हालैका दिनहरुमा लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्सा कायम गरेर राष्ट्रवादको केही बलियो र ठोस प्रमाण नेपाली जनतासामु पेश गर्ने प्रयास गरेतापनि उक्त कुरा हालसम्म UNO लगायतका कुनैपनि अन्तर्राष्ट्रिय समुदाय वा संस्थामा लैजाने मनसाय नदेखिनुले उनको राष्ट्रवादको कमजोर र देखावटी मनोभावलाई प्रतिबिम्बित गर्दछ ।

भारतले २०७२ सालमा नेपालमाथि गरेको नाकाबन्दीलाई तत्कालिन समयमा अन्तर्राष्ट्रियकरण गर्न नसक्नु, एमसिसीको कुनैपनि प्रावधान नेपालको कानुनसँग बाँझेमा एमसिसीको प्रावधान नेपालको कानुन भन्दा माथि रहने सर्तलाई कानुनी वैधता दिन नेपालको संसदबाट पारित गराउन खोज्नु, देशको सार्वभौमसत्तामाथि आँच आउने कार्य गर्नु, आफ्नै बहुमतको सरकार हुँदाससमेत आफ्नो असक्षमता ढाकछोप गर्न छिमेकी देश र आफ्नै पार्टीका सहकर्मीले सरकार ढाल्न खोजेको भन्दै दोषारोपण गर्नुले ओलीको राष्ट्रवादको कमजोर पक्ष र देखावटीपनलाई प्रमाणित गर्दछ ।

सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा ओलीबाट नेपाली जनताले धेरै अपेक्षा गरेका थिए तर उनी यसमा सबैभन्दा कमजोर रहेको देखिन्छ । भ्रष्टाचार नियन्त्रणका लागि केही कर्मचारीहरु र राजनीतिक दलका नेताहरुलाई कारबाहीको दायरामा ल्याउनु बाहेक ठोस कार्य गर्न सकेका छैनन् । निर्मला बलात्कार एवम् हत्या काण्ड (२०७५), साढे ३३ किलो सुन काण्ड (२०७४), ह्वाइट बडी जहाज भ्रष्टाचार प्रकरण (२०७५), तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको भ्रष्टाचार अडियो टेप प्रकरण (२०७६), एनसेलको ५१.३९ अरब कर छली प्रकरण (२०७६), कोभिड–१९ का विरुद्ध लड्न स्वास्थ्य सामग्री खरिद अनियमितता (२०७७) आदिले उनको राष्ट्रवादमाथि थुप्रै प्रश्नहरु उब्जाएको देखिन्छ ।

आर्थिक प्रगति, समृद्धि र अन्तराष्ट्रिय छविका सन्दर्भमा उनको राष्ट्रवादलाई नियाल्दा उनले हालसम्म कुनैपनि ठूलो अन्तराष्ट्रिय लगानीदाताहरुलाई देशमा आकर्षण गर्न नसक्नु, देशभित्र ठूला उद्योगहरुको स्थापना गर्न नसक्नु,देशभित्रै रोजगार सृजना गर्न नसक्नु, आफ्नो देशको भौगोलिक संवेदनशिलता विचार गर्दै छिमेकी देशहरुसितको समस्या समाधान कुटनैतिक माध्यमबाट गर्नुको साटो आडम्बरीपन र अहंकार देखाउनुले उनीबाट देशको आर्थिक प्रगति र समृद्धि असम्भव देखिएको छ । गहन विषयमा समेत हल्का टिप्पणीको अभिव्यक्ति दिने प्रवृत्तिले उनलाई झनै कमजोर तुल्याएको छ ।

नेपालका क्रिकेटर सन्दीप लामिछानेले भारतको आईपिएल क्रिकेट म्याचमा विकेट लिँदै गर्दा क्रिकेट खेललाई ‘डल्लो फ्याक्ने काम’, मधेशी समुदायलाई संविधान सभामा नै ‘विहारी, विहार तर्फ जाउ’, प्रतिपक्ष दलले संसदमा स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार माथि प्रश्न गर्दा प्रतिउत्तरमा ‘मैले भनिदिए पुग्छ’ भन्ने जस्ता जिम्मेवारविहिन अराष्ट्रवादी अभिव्यक्तिले उनको व्यक्तिगत छविमात्र होइन देशको सर्वोच्च कार्यकारिणी प्रधानमन्त्री पदको गरिमामा समेत आँच आएको कुरा आम नागरिकले अनुभूति गरेका छन् ।

प्रधानमन्त्री ओलीको व्यवहार र कार्यशैलीबाट उनको राष्ट्रवाद साँचो राष्ट्रवाद हो भन्ने कुरामा धेरै आशंका उब्जाएको छ । सच्चा राष्ट्रवादमा देशमा रहेका सम्पूर्ण नागरिकहरुको संस्कृति, भेषभुषा, भाषा, धर्म, आत्मसम्मान र सह–अस्तित्वलाई कायम राख्दै तिनीहरुमा एकताको मनोविज्ञान सिर्जना गर्ने, आन्तरिक राष्ट्रवाद सबल तुल्याउने र देशको सार्वभौमसत्ता र अखण्डता रक्षा गर्दै अन्र्तराष्ट्रिय समुदायमा बलियो उपस्थिती बनाउनु नै सच्चा राष्ट्रवाद ठहर्दछ ।

तत्कालीन अमेरिकी राष्ट्रपति अब्रहाम लिंकन (१८०९‒१८६५) ले काला जाति प्रति गरिने भेदभाव र दास प्रथाको अन्त्य गर्दै समानता कायम गर्नु, दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला (१९१८‒२०१३) ले काला र गोरा जाति विचको अन्तरसंघर्षलाई मिलाएर एकता कायम गराउनु, महात्मा गान्धी (१८६९‒१९४८) ले भारतभित्रका हिन्दु र मुस्लिमबीच बन्धुत्वको भावना सृजना गर्नु जस्ता कार्यहरुलाई सच्चा राष्ट्रवादको रुपमा लिन सकिन्छ ।

तर ओलीको सन्दर्भमा उनीहरुको जस्तो कार्य गरेको देखिदैन । उनले त समय समयमा राष्ट्रवादलाई चुनावका निम्ति उपयोग गर्ने चिन्तनबाट प्रयोग गरेको पाईन्छ । पहाडे समुदायको जनमत आफ्नो पक्षमा पार्न मधेशीलाई भेदभाव गर्दै विहारी भन्नु, पहाडी समुदायलाई खुशी पार्न थारु समुदायका जायज राजनितिक मागहरु सम्वोधन नगरी दबाएर राख्नु, पूर्वका समुदायलाई खुशी पार्न सुदूरपश्चिमका जनतालाई ‘उत्ताउला मानिसहरु’ को संज्ञा दिनु र आफ्नै खस समुदायभित्रका गरिब र श्रमजिवि मानिसहरुको हक र अधिकारको बारेमा कहिल्यै नबोल्नु आदिले उनको राष्ट्रवाद सच्चा नभई देखावटी र उपयोगवादी राष्ट्रवाद भएको कुरा ठर्हदछ ।

समग्रमा उपयोगवादी एवम् खोक्रो राष्ट्रवादले सच्चा राष्ट्रवादको ठाउँ लिएमा देशभित्र रहेका विभिन्न समुदायका नागरिकहरुवीच आत्मसम्मान र सह–अस्तित्व कायम गर्नुको साटो तिनीहरुलाई अपमानित र विभाजित गर्ने, राष्ट्रिय एकता कमजोर पार्ने र देशको आर्थिक समृद्धिमा हुनुपर्ने ब्यापक जनसहभागिता घटाउने र देशलाई आर्थिक समृद्धिमार्फत सबल र सक्षम बनाउन बाधक हुनेगर्दछ।

तसर्थ, प्रधानमन्त्री ओलीले खोक्रो र देखावटी राष्ट्रवाद त्यागेर सच्चा राष्ट्रवादलाई अँगाल्दै देशमा राष्ट्रिय एकता कायम गर्ने र व्यापक आमजनसहभागिताका साथ देशलाई आर्थिक समृद्धितर्फ लैजानु आजको आवश्यक्ता रहेको छ।

(टीकापुर-१, कैलालीका लेखक प्राध्यापन/वकालतमा संलग्न छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय