गण्डकीका ४ जिल्लामा थपिए ३२ संक्रमित
पोखरा, १९ असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान जारी गरेको विज्ञप्तिअनुसार नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १०६३ पुगेको छ ।
भरतपुर अस्पतालको गएरातिको प्रतिवेदनअनुसार नवलपरासी पूर्वको कावासोतीका ११ पुरुष, ३ महिला र मध्यविन्दुका ४ पुरुष, १ महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँको भिमाद नगरपालिकाका २ पुरुष र ऋषिङ गाउँपालिकाका ७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पर्वतको विहादी, फलेबास र पैयूँका १-१ जनामा संक्रमण पुष्टि हुँदा बाग्लुङको जैमिनीका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको पनि विज्ञप्तिमार्फत जनाइएको छ ।