scheduleबुधवार श्रावण २८ गते, २०७७

पेशागत सुरक्षाको माग गर्दै पत्रकार महासङ्घको प्रदर्शन

काठमाडौं, १९ असार । कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै पत्रकार तथा सञ्चारकर्मीले बबरमहलमा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासङ्घको अगुवाईमा भएकाे प्रदर्शनमा सहभागीले ‘पत्रकारको विचल्लीमा कति कोरोना कति बहाना’, ‘श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आन्दोलन गरौँ’, ‘कोरोनामा पहिलो प्रहार पत्रकारमाथि किन’, ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार रक्षा गर’ र ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

त्यस अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउसले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुको सट्टा उल्टै काम गरिरहेका श्रमजीवी पत्रकारलाई निष्काशन गरेर अन्याय गरेको र त्यसको विरुद्धमा कडाभन्दा कडा सङ्घर्षका लागि सबैलाई आह्वान गरे  ।

महासचिव रमेश विष्टले मिडिया हाउसले कोरोना महामारीको बहाना बनाउँदै धमाधम पत्रकारलाई निष्काशन गर्ने काम गरेकोमा आपत्ति जनाउँदै पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घले चरणबद्ध आन्दोलन शुरु गर्ने बताए ।

महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताए।

प्रेस सङ्गठनका संयोजक महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देलले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिए ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितलगायत पत्रकारितासंग सम्बन्धित विभिन्न सङघ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले श्रमजीवी पत्रकारको पेशागत अधिकार र सुरक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय