scheduleशनिवार श्रावण २४ गते, २०७७

मैले बुझेको रुकुम सोती हत्याकाण्ड

खेमबहादुर दर्जी

विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण विश्वनै आक्रान्त भैरहेको र नेपालमा पनि ६६औं दिनको बन्दाबन्दीमा सम्पूर्ण नेपालीहरुको दिनचर्या कछुवाको गतिमा घस्रीरहेको थियो । यस महामारीको सबैभन्दा बढी मार नेपालका विपन्न, गरिब र आर्थिकरुपमा कमजोर पारिएका दलित समुदायमा परेको थियो ।

राजा सुरेन्द्रको पालामा जङ्गबहादुर राणाले दक्षिण एसियाको सामन्ती वर्णमा व्यवस्थित समाज व्यवस्थालाई मनुस्मृतीमा आधारित १९१० को मुलुकी ऐन ल्याइएको थियो । जसले जात व्यवस्थालाई कानुनी वैधता दिँदै जातजातिको भेदभाव र छुवाछुतजस्तो अमानवीय प्रणालीको विषबाट श्रम, सीप र सिर्जनाका धनी दलित समुदायलाई छोइछिटो हाल्न पर्ने (अछूत) वर्गमा राखी पशुतुल्य बनाएर नेपालका दलित समुदायलाई सबै खालको दलनमा पार्दै दमन गर्दै आइरहेको छ ।

यस देशमा धेरै राजनीतिक परिवर्तन भए र सबै आन्दोलनमा दलित समुदायले प्राणको आहुती दिँदै आफ्नो भागमा पर्ने रगतको कोटा पनि चुक्ता गर्दै आए तर मानव भएर बाँच्न पाउन सकिरहेको पाइँदैन । धेरै मन्त्र र तन्त्र फेरिए पनि नेपालका दलित समुदायको अवस्था फेरिएन ।

संसारलाई नै आक्रान्त पार्ने कोरोना भाइरसभन्दा पनि खतरनाक छुवाछुत तथा जातिय विभेदको महामारीको चपेटामा नेपालका दलित समुदाय संघर्ष गर्दै आइरहेकोमा देश सामन्ती राजाको अवसान पश्चात पनि दलित सामुदायमाथि विभिन्न प्रकारका आक्रमण हुँदै गर्दा यही २०७७ जेठ १० गते रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका-८ सोती गाँउमा भएको सामुहिक नरसंहार भएको समाचारले सिङ्गो दलित समुदायलाई झस्काई दिएको छ ।

उक्त बर्बरतापुर्ण हत्याले मानव भएर बाँच्न पाउने अधिकारको हनन् गरेको छ । यसै परिप्रेक्ष्यमा चितवनका दलित समुदाय आन्दोलित भएका छन् । आन्दोलनलाई व्यवस्थित गर्न चितवनमा दलित समुदाय भित्रका सबै संघ, संगठन, सामाजिक संस्था एकजुट भई संयुक्त दलित संघर्ष समिति चितवन गठन भएको छ । आन्दोलनका विभिन्न कार्यक्रमहरु अगाडि बढाउँदै जाँदा यस समितिले स्थलगत अध्ययनको लागि रणेन्द्र बरालीको अगुवाइमा ७ सदस्यीय टोली सदस्यहरुको व्यक्तिगत खर्चमा घटना स्थल पठाउने निर्णय गर्छ ।

रणेन्द्र बराली, खेम बहादुर दर्जी, चक्र रुचाल, यम बहादुर विक, विपेन्द्र (विपिन) रामदामु, अधिवक्ता गोपीलाल देवकोटा, अधिवक्ता दिपक भट्टराई, प्रेम सुनार र चालक सूर्यबहादुर सुनार सम्मिलित टोली २०७७ असार १ गते चितवनबाट रुकुमको लागि रवाना हुन्छ । टोली असार १ गते तुलसीपुरमा एउटा होटलमा बास बसी असार २ गते रुकुम(पश्चिम)को सदरमुकाम खलङ्गा मुसीकोट पुग्छ ।

ठाउँ-ठाउँमा बनेका जनयुद्धका शहीद स्तम्भहरु सिमसिमे वर्षाले भिजेका थिए, हामीलाई यस्तो अनुभुति भैरहेको थियो कि शहीदहरु पनि हत्याको विरोधमा रोई रहेका थिए । समतामुलक समाज निर्माणका लागि उहाँहरुले गरेको बलिदानीप्रति पछुताई रहेको भान हुन्थ्यो ।

हाम्रो टोली २०७७ आषाढ २ गते साँझ मुसिकोट खलङ्गा पुग्छ । जाजरकोट र रुकुम (पश्चिम)का साथीहरु शान्ता विक (पार्वती), दिपेन्द्र विश्वकर्मा (मुस्कान), गणेश विक (चिन्तन) लगायतका साथीहरुले राप्ती होटलमा व्यवस्थापन गर्नु भएको रहेछ र उहाँहरुले चितवनका टोलीलाई सोही होटलमा स्वागत गर्नुभयो ।

हामीलाई स्वागत गर्नेमा अधिवक्ता मोहन साहशंकर जसले शुरु देखिनै निशुल्क मुद्दा हेर्नुका साथै आफ्नै खर्चमा जेठ १२ गते देखिनै त्यस ठाउँमा बसीराख्नु भएको थियो । साथीहरुसँग भेटघाटपछि हाम्रो टोलीलाई रुकुम पश्चिममा आन्दोलन उठ्न नसकिरहेको अनुभूति भयो । रुकुम जनयुद्धको उद्गम थलो, जहाँ ९० जनाभन्दा बढी दलितहरुले समानता र समतामुलक समाज र समृद्ध नेपाल निर्माण गर्नका लागि आफ्नो प्राणको आहुती दिएको ठाउँमा आन्दोलन उठ्न नसक्नुका कारणहरु खोज्नतिर लाग्यौं ।

धेरै बेठक र छलफलपछि हामीलाई थाहा भयो कि रुकुम हामीले कल्पना गरेको रुकुम रहेनछ । एउटा सामन्तलाई फालेर अर्को सामन्तको जन्म भएको रहेछ । छोटे राजाहरुको हैकम र त्रासका कारण आन्दोलनले गति लिन नसकिरहेको निश्कर्षमा पुग्न हामीलाई गाह्रो भएन । उच्च जातीय अहंकारवादमा लिप्त तथाकथित अभिजात जातका कारण रुकुम सोती नरसंहारको सुनियोजित तरिकाले घटाइएको घटना हो भनी बुझ्न गाह्रो छैन ।

घटनाको स्थलगत अध्ययन, मृतकका परिवारजनसितको अन्तरक्रिया, त्यस जिल्लामा क्रियाशील अन्य राजनीतिक पार्टी, सामाजिक संघ संस्था, पत्रकार र प्रत्यक्षदर्शीका अनुसार जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ राना गाउँ बस्ने मुनलाल विक र उर्मिला विकका एकल छोरा वर्ष २१ का नवराज विक र रुुकुम (पश्चिम) जिल्ला चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँ निवासी विर बहादुर मल्ल र प्रकाशी मल्लकी वर्ष १७ की सुष्मा मल्लबीच करिब ३ वर्ष अगाडिदेखि अन्तरजातिय प्रेम सम्बन्ध कायम रहँदै आएको थियो । नवराज विकले १२ कक्षासम्मको अध्ययन पूरा गर्नुका साथै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा सक्रिय र आफ्ना हमउम्रका साथीमा अधिक लोकप्रिय भएको पाइन्छ ।

नेपाल प्रहरीको जागिरमा नाम निकालेर अन्तर्वार्ताको लागि तयारी अवस्थामा रहेका र व्यक्तित्वका कारण १७ वर्षकी सुष्मा मल्ल आफ्नो अध्ययनको लागि चौरजहरी नगरपालिका वडा नं २ मा डेरा गरी बस्दा नवराजप्रति आकर्षित भई उनीहरुबीच भेटघाट कुराकानी गर्दै जाने क्रममा मित्रता प्रेममा परिणत भएको हुन्छ । उनीहरुबीचको प्रेम सम्बन्ध झाङ्गिदै जाँदा सुष्मा मल्ल नवराज विकको घरमा गत वर्ष जाजरकोटमा लाग्ने रमाइलो मेलाको समयमा आएर ४ दिनसम्म बसेकी थिइन् । उता नवराज पनि सुष्माको घरमा २ पटकसम्म गएको र वैशाख १७ गते ३ जना साथीहरुसँग सुष्मालाई भेट्न सोती गाउँ जादा सुष्मा मल्लका मामा वडा अध्यक्ष डम्बरबहादुर मल्ले स्थानीय मान्छे लगाएर नवराजलाई कुटपिट गरी प्रहरीलाई बुझाएका थिए । उक्त घटनापश्चात् वैशाख २९ गते पनि सुष्मा मल्ल नवराजको घरमा आएर बसेको देखिन्छ ।

यसरी केटाकेटी एकअर्का हुँदै जाँदा केटाका अभिभावकले जात नमिलेका कारण पछि समस्या हुने भनी सम्झाएको र केटी पक्षले पनि केटो कथित तल्लो जातको भएकाले सो प्रेम सम्बन्धलाई अस्वीकार गरेको पाईन्छ । वैशाख २९ गते सुष्मा पुनः नवराजको घर गएको खबर थाहा पाएपछि सुष्मा मल्लको परिवारले नवराजलाई जसरी पनि मार्ने निष्कर्ष जेठ १० गतेको घटनाले पुष्टि गर्दछ । २०७७ जेठ ९ गते सुष्माले नवराजलाई फोन गरेर आफु घरमै बन्दक बनाइएको र आफु नवराज विना बाँच्न नसक्ने र साथीहरु लिएर लिन आउनु भन्दै गर्दा परिवारले फोन काटी दिएको परिवारिक स्रोतबाट थाहा भयो ।

खेमबहादुर दर्जी

उक्त फोन वार्तालापपश्चात् जेठ १० गते करिब ३ बजेतिर नवराजसहितको १८ जनाको टोली जाजरकोटबाट घल्लाको पुल हुँदै मध्य पहाडी लोकमार्ग निस्केर करिब ४ बजेतिर सोती गाउँको उकालो लाग्छन् । मध्य पहाडी लोकमार्गबाट सोती गाउँ सुष्माको घरमा करिब ३० मिनेटमा पुग्छन् । उता नवराज घरबाट निस्कँदै गर्दा जाजरकोटमा भएका सुष्माका आफन्तहरुले नवराजको टोली सुष्मालाई लिन सोती गाउँतर्फ लागेको खबर सुष्माको परिवारलाई गरेका हुन्छन् ।

यता सुष्माका बुवाले पनि देखेपछि सुष्माको आमालाई सूचना गर्छन् र सुष्माकी आमा घरबाट बाहिर निस्केर बाटो कुर्छिन् । नवराजसहितको टोली सुष्माको घर भन्दा केही तल पुग्दा सुष्माकी आमाले नवराजलाई ‘तँ डुमलाई कारवाही गरेको अझै पुगेको रहेनछ, तँ कस्की जोइ (श्रीमती) लैजान आएको होस्’ भन्दै जुवाली उठाएर हान्न खोजे पछि नवराजसहितको टोली केही नबोली फर्कंदै गर्दा केटीको आमाले आफ्नो भाइ वडा अध्यक्षलाई फोन गर, फोन गर भनेको कुरा घाइते नवराजका साथीहरुको बयान छ । यसैबीच परिस्थिति प्रतिकूल देखेपछि नवराज र उनका साथीहरु केही नबोली फर्कंदै गर्दा गोइरी जिउला गाउँको बाटोमाथि एउटा ढुंगामा आएर बस्छन् र सोही स्थानमा पानी पिउँछन् ।

सोही समयमा गाउँलेहरुले नवराजहरु आएको घल्लाको पुल, उनीहरु फर्कने अर्को तर्फको जाजरकोट प्रवेश गर्ने गोइरी जिउला गाउँको पुलमा गाउँलेहरुले बाटो छेकेर बसेका हुन्छन् भने माथितिरबाट एउटा समूहले घरेलु हातहतियारसहित होहल्ला गर्दै लखेट्छन् । यतिन्जेल साँझको करिब ५ बजेको हुन्छ । नवराज समेतको टोली आत्तिएर बाटो मुनी गोइरी जिउला गाउँतिर भाग्छन् तर त्यहाँ पनि एउटा समूह फुटबल खेल्ने बहानामा नवराजको टोलीलाई पर्खिरहेका हुन्छन् र नवराजको टोलीलाई सी आकारको घेरा बन्दीमा पार्छन् । उक्त आततायी समूहको जत्थाले तीनजनाको घटना स्थलमै हत्या गरी भेरीनदीमा बगाएको प्रत्यक्षदर्शीको भनाई छ ।

अरु तीनजनालाई नदी किनारमा समातेर पिटिन्छ । बाँकी १२ जनाको टोली भेरी नदीमा हाम्फालेर नदी पार गर्दै गर्दा ७ जनालाई बीचमै कुटिन्छ भने ५ जनालाई नदी पार गरिसके पछि पनि पारी पट्टि घेरा हालेर बसेको गाउँलेको समूहले समातेर ल्याउँछ र ७ जनासित सँगै घेरा भित्र पारेर घरेलु हतियार ढुङ्गा मुढा आदि प्रयोग गरी कुटिन्छ ।

यसै समय वडा अध्यक्ष डम्बर मल्लले गलत ठाउँको नाम दिएर प्रहरीलाई सुचना गर्छन् तर जब प्रहरी वडा अध्यक्षले सूचना गरेको ठाउँमा पुग्छन् त्यहा कोइ नभेटेपछि गाउँलेलाई सोधेर घटना स्थलमा पुग्छन् । घटना स्थलमा दुईजना प्र.स.नि. सन्तोष लामिछानेको नेतृत्वमा प्रहरी जवान श्याम जङ्ग शाह पुगे पनि पर्याप्त शक्ति नहुँदा भिड नियन्त्रण गर्न नसक्दा ६ जनाको हत्या भएको देखिन्छ । घटनामा प्रहरी प्रत्यक्षदर्शी हुँदाहुँदै पीडकलाई नियन्त्रणमा नलिई पीडितलाई नियन्त्रणमा लिने काम भएको छ ।

घटनाक्रमले प्रहरी प्रशासनको भूमिकाबारे थुप्रै प्रश्नहरु उठ्ने ठाउँहरु देखिन्छ । यस सामुहिक र नियोजितरुपमा क्रुरतापूर्वक हत्याकाण्डमा नवराज विक (एकल छोरा), लोकेन्द्र नेपाली (एकल छोरा), गोविन्द शाही (एकल छोरा), टिकाराम सुनार, गणेश बुढामगर, सञ्जु सुनारको निर्ममता पूर्वक हत्या भएको छ भने महेश कार्की, विभाग पुन, भोला विक, सुदिप खड्का, गोविन्द सुनार, ईन्द्रजङ्ग शाह, मदन शाही, जीवन विक, डिल्ली विक, सुनिल सुनार, सरोज भडेल, लाल बहादुर खड्का घाइते भएका छन् । घटनालाई न्युनिकरण गर्दै दोषी उम्कने प्रशस्तै ठाउँहरु सिर्जना गरिएको छ जुन पोष्टमार्टम रिपोर्ट र मिसिलमा देखिन्छ ।

यस नरसंहारले सिङ्गो दलित समुदाय मर्महात हुनुका साथै आक्रोशित बनाएको छ । विश्वसामु देशको शिर निहुरिएको छ । मानव अधिकारको धज्जी उडेको छ । दलित समुदायको मानव भएर बाँच्न पाउने अधिकारमाथि कुठाराघात भएको छ । दलित समुदायमाथि थोपरिएको यस शोकलाई शक्तिमा परिणत गरी आफ्नो मानव अधिकारको रक्षाका लागि एकताबद्ध र संगठित हुँदै सशक्त संघर्षको विकल्प छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय