scheduleशनिवार श्रावण २४ गते, २०७७

ओली कम्युनिष्ट कि नवसामन्त ?

अभि गाउँले

दुई सय चालीस वर्षको लामो इतिहास बोकेको राजतन्त्र विस्थापित भइ गणतन्त्र स्थापित भएको छ । भूगोललाई मात्र राष्ट्रियता ठानेकै कारण आज राजाहरू स्वयं जनताको राष्ट्रियताभित्र अडिएर बस्नुपरेको छ । राजारजौटाहरूका आफ्नै चरित्र नै राजतन्त्र उन्मूलनको प्रमुख कारकतत्व मान्न सकिन्छ ।

नेपालमा गणतन्त्र जुन ध्येय, आवश्यकता र बलिदानले आयो त्यसको मर्ममाथि बारम्बार चोटिलो प्रहार हुँदै आएको छ । गणतन्त्र माउमा कुरोझैं सक्किन थालेको त होइन भन्ने शंका उपशंका उब्जिन थालेको छ । जहाँ आफ्नै आमाको शिकार नगरेसम्म पेटमा रहेका स-साना माकुराहरू हुर्किदैनन्, बढ्दैनन् । ठ्याक्कै गणतन्त्र त्यही दुर्नियतिको भागिदार बन्दै छ ।

साँच्चिकै बच्चाहरू मात्र जीवित रहनका लागि जन्मदाता विलुप्त हुनुपर्ने गणतन्त्रको विशेषता हो त ? पक्कै पनि यो हुन सक्दैन । गणतन्त्रवादीहरू नै गणतन्त्रको हुर्मत लिने दुस्साहस गर्दैछन् । जो अगुवा उही भगुवा चरित्रले मुक्तिको मार्ग छिचोल्न सकिन्न । गणतन्त्रका हिमायतीहरूलाई यति त हेक्का रहोस्, सन्तान जन्माउनु जति गार्‍हो कुरा हो त्योभन्दा गाह्रो हुर्काउन र त्यसको अपनत्व ग्रहण गर्न हुन्छ ।

अघिअघि हिंड्नुपर्‍यो भने बाघ भालुको डर मान्ने अनि पछिपछि हिड्नुपर्दा पछाडिबाट तान्ने पो होकि भन्ने कायरताले गणतन्त्रको उचित व्यवस्थापन हुन सक्दैन । राजतन्त्रको काखबाट खोसेर ल्याएको गणतन्त्रको आँखामा अकबरे ठोसेर अर्को दुर्घटनाको जोखिम मोल्दैछौं हामी । गणतन्त्रसँग जनताको सालनाल जोडिएको छ । त्यसैले यी दुईमा एकको दुर्दशा नै दुर्घटनाको परिकल्पना हो ।

एक युग एक वाद कदापि शोभनीय बन्दैन । सोंच परिवर्तनीय वस्तु भएको हुँदा सिद्धान्त पनि समयक्रममा बदलिइरहन्छ । यहाँ सामन्तवादको चर्चासङ्गै नेपालमा नवसामन्तवाद र कम्युनिष्ट अर्धसामन्तवादको थोरै मन्थन गरौं । मध्यकालीन युगमा इङ्ल्यान्ड र युरोपमा प्रचलित प्रथा थियो । सामन्तवादको उत्पत्तिको मूल कारण राजनीतिक अराजकता थियो । सामन्तवाद व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमिबाट गरिन्थ्यो ।

राजापछि विभिन्न कोटिका सामन्त हुने गर्थे र सबैभन्दा निम्न स्तरमा किसान या दास हुन्थे । यो व्यवस्था रक्षक र अधीनस्थ मानिसहरुको संगठन थियो । प्रारम्भीक समयमा सामन्तवादले केहि परिणाममूलक काम देखाउँछ र कालान्तारमा व्यक्तिगत युद्ध एवं व्यक्तिगत स्वार्थ नै सामन्तहरुको उद्देश्य बन्दछ ।

साधन-सम्पन्न नयाँ शहरहरुको विकास, गोलाबारूदको आविष्कार, तथा स्थानीय राजभक्तिको स्थानमा राष्ट्रभक्तिको उदयको कारण सामन्तशाही पतन हुन पुग्छ र भयो त्यही । तर सामन्ती सत्ताको अन्त्य भए पनि यसको अवशेषको रूपमा सामन्तवाद सुषुप्त रहिरहन्छ भन्ने कुरा नेपालका नवशासकहरूमा प्रतिविम्बित भएको छ ।

अभि गाउँले

जसरी रोमन साम्राज्यको पतन पछि युरोपको इतिहासमा नवौं र दसौं शताब्दी घोर अराजकताको युगमा परिणत भयो त्यसरी नै हामीकहाँ पनि केन्द्रीय शासन छिन्नभिन्न हुने, धनजनको सुरक्षा नहुने, राज्य नै टुक्राटुक्रा हुनसक्ने जस्ता कैयन भयानक परिस्थितिको मुकाबिला गर्नुपर्ने चित्र तयार हुने खतरा छ ।

यतिखेर देशका प्रधानमन्त्री केपी ओली र उनको सत्ता थिलोथिलो बनेको छ । ओली बहिरी रूपमा हारको अवस्थामा पुगे पनि भित्री रूपमा उनको उदय सामन्तवादको छायाजस्तै बन्न सक्ने छनक देखिदै छ । सरकार त उनकै पेवा भयो जे गर्दा नि हुनेभयो तर जुन पार्टीको धरातलमा उभिएर नेतृत्वदायी भूमिकामा पुगे त्यसलाई समेत दुत्कार्न थाले ।

चौध वर्षे जेलजीवनको अहंकारको चाङमाथि बसेर देशलाई नै बर्बाद बनाउने ओलीको राजनीतिक असफलता अति नै घातक छ । देशको समग्र राजनीति ओलीकै वरिपरि परिक्रमा गरिरहेको बखत अबको निकास के हुने र कस्तो हुने भन्ने बहस हुन थालेको छ ।

कुनै पनि राजनीतिक दलको जीवन्त भविष्य सुनिश्चित गर्ने कुरा उसको विधिविधान र नियमकानुनले निर्धारण गर्छ । तर नेकपाभित्रका पछिल्ला घटनाहरूले व्यक्ति प्रधान हो भन्ने अराजकता उजागर गराइदिएको छ । फलतः नेकपाभित्रको अन्तरविरोध र कलहले नेपालको भविष्यमाथि नै गम्भिर असर पर्ने संकेत छ ।

देश महामारीको अकट विकटको अवस्था पनि राजनीतिक अस्थिरको भूमरीमा पर्नु विडम्बना हो । नागरिकका दैननदिनका समस्या एकातर्फ छ भने सत्ताको ध्यान अन्यत्रै मोडिएको छ । गल्ती स्विकार्दै सच्चिन कहिल्यै नजान्ने तर फाइंफुर्ती गर्दै मच्चिने ओलीनियतले नेपाललाई कुन भड्खालोमा पार्ने हो बडा चिन्ताको विषय बनेको छ ।

सामन्तीहरू समग्र शासनसत्ता आफ्नो काबुमा राखेर हैकम जमाउने स्वभावका हुन्छन् । जनजनका पीडाहरू नजरअन्दाज गरी सिंहासनमा रम्नेहरू शोषणबाट नै आफ्नो पोषण गर्दछन् । देशको सम्पूर्ण न्यायप्रणाली, सुरक्षा संयन्त्र र कर्मचारीतन्त्रलाई प्रत्यक्ष प्रभाव पारी एकात्मक शासनको उग्रचाहना गरिरहेका ओली इतिहासमै कलंकित बन्दैछन् । ओली खाटी कम्युनिष्ट नभई नवसामन्तको नयाँ भर्जन हुन्, जो सबैभन्दा अग्रस्थानमा आफ्नै मात्र हालीमुहाली चाहन्छ, एकतामा भन्दा अनेकतामा फाइदा उठाउछ र त्याग गर्न जान्दैन । आज ओलीका पछि लाग्नेहरू स्वार्थको भोको पेट लिएर लम्पसार पर्दैछ्न्, र उनीहरू सामन्तवादको रखबाली गर्ने नोकरचाकरसरहका हुन् ।

ओली सरकारको असफलता भनेको उनकै अज्ञानता र अदूरदर्शीता हो । आफ्ना गरेक कदमलाई चक्रमण नगरी हलुका टिप्पणी गर्ने बानीले एकपछि अर्को असफलता व्यहोर्नुपर्ने भएको हो । ओलीलाई यति थाहा छैन कि म एउटाको लचकता र त्यागले राजनीतिक गतिरोध केही हदसम्म अन्त्य हुन्छ भनेर । उनलाई यतिमात्र थाहा छ कि जोजो मेरो विरूद्धमा आए तिनको नाम छातीमा टासेर राख्ने र बदला लिनुपर्छ ।

अब ओलीले राजनीतिक ‘कू’ गर्ने सम्भावना प्रवल हुँदै गएको छ । सर्वसत्तावादी चरित्रले भरिएको ओलीको मस्तिष्कले अब चैन पाउनेछैन । सम्भावित राजनीतिक दुर्घटनालाई पन्छाएर ओलीले मार्ग प्रशस्त गर्लान् भन्ने रत्तिभर विश्वास छैन । अन्तिम घडीसम्मै लड्ने ओलीको हठी उद्घोष उनकै लागि प्राणघातक छ । कि ओली भित्तामा कि ओली सत्तामा, बाँकी दुई विकल्प । मुकदर्शक जनता यहि हेरौं चित्त बुझाऔं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय