scheduleशनिवार श्रावण २४ गते, २०७७

वामदेवलाई ‘एमालेको अध्यक्ष’ बन्न नयाँ प्रस्ताव, शितलनिवासमा पनि सेकताप

काठमाडौं, २० असार । महाकाली सन्धिताका वामदेव गौतमले नेकपा एमाले फुटाए । उनले राष्ट्रवादी अडान लिएर र ‘राष्ट्रघात’ गर्ने नेताहरु छाडेर नयाँ पार्टी माले बनाए ।

समय उनको पक्षमा रहेन । पछि उनी एमालेमा फर्किए । एमालेमा फर्किएपछि उनले अन्य नेतालाई धेरै गुन लगाए । अहिले पार्टीको सबै अधिकार लिएर बसेका ओलीलाई प्रधानमन्त्रीदेखि पार्टी अध्यक्ष हुँदै संसदीय दलको नेता बनाउनसम्म भूमिका खेले ।

तर, प्रतिफलमा उनले धोका मात्र पाए । उनकै भनाईमा ‘चुनाव हराउन’ समेत लागिपरे र अन्ततः हराए ।

योबीचमा पनि अप्ठेरोमा धेरै आश्वासनहरु देखाए तर कहिल्यै पूरा गरेनन् ।

वामदेवलाई लोभ देखाउने क्रम अहिलेसम्म रोकिएको छैन ।

घटना हो शुक्रबार राति ९ बजेको । नेकपामा ओली समूहका नेताहरु लाइन लागेर भैंसेपाटी स्थित वामदेव गौतमको घरमा पुगे । हुलमा थिए उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडैल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र विष्णु रिमालसम्म ।

उपप्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरुदेखि सबै नेताहरुको लाइन लगाइयो भैंसेपाटीमा । सन्देश दिन खोजिएको थियो कि तपाईं हाम्रो अघि लाग्नुस् । तपाईंको पछि लाग्न हामी सबै तयार छौं ।

बोलेर पत्याउने अवस्था नभएपछि नेताहरुकै लाइन लगाइयो । सबैले एकैस्वरमा प्रस्ताव राखे- वामदेव कमरेड, तपाईं पार्टीका पाका नेता, हिजो जे भयो भयो । अब विगत सम्झेर भविष्य नबिगारौं । तपाईं एमालेको अध्यक्ष बनिदिनुहोस् । मदन भण्डारीको आत्मा पनि खुसी हुन्छ ।’

नेताहरुको लाइनबाट पालैसँग सबैले प्रस्ताव राखे । सबैले आआफ्नो शैलीमा वामदेवलाई फकाउन थाले ।

केही समय खर्चिएर विष्णु पौडेल फर्किए भने अरु नेताहरु मध्यरातमा मात्र भैंसेपाटी छाडे ।

वामदेवलाई प्रस्ताव थियो, ‘सकेसम्म अध्यक्ष बनिदिनु । भएन भने पनि पार्टी फुट्दा उता नलाग्नुस् ।’

पटकपटक धोका खाएका वामदेवले ‘हुन्छ’ भन्न सकेनन् । ‘मैले धेरै धोका खाएको छु । म बदनाम हुन बाँकी छैन । मेरो सोझोपनको फाइदा उठाइयो । अब म यतातिर सोच्दिनँ ।’

वामदेवको निष्कर्ष थियो, ‘ओलीले एउटा पद छाड्नुपर्छ । प्रधानमन्त्रीबाट राजीनामा पनि दिनुपर्छ । ओली कमरेड पार्टीको मातहतमा आउनुभयो भने मलाई उहाँको पछि लाग्न केही समस्या छैन ।’

उनले ओलीलाई पार्टीको अनुशासित सिपाही बन्न र निर्देशन मान्न सुझाव दिए । वामदेव नगलेपछि नेताहरु अन्तिमतिर अँधेरो मुख लगाउँदै फर्किए ।

त्यति धेरै नेता जम्मा भएर लाइन लगाएर ठूलो तयारी गरेर फकाउन खोज्दा पनि पटकपटक धोका खाएका वामदेवले नयाँ प्रस्ताव पत्याउन सकेनन् । पत्याए पनि आफूले दाहाल-नेपाल समूहलाई वचन दिइसकेकोले त्यहाँबाट पछाडि नफर्ने स्पष्ट पारे ।

दिउँसो शितलनिवासको निम्ता मान्न गएका वामदेवले त्यहाँपनि धेरै सेकताप र आश्वासन पाए ।

उनलाई राष्ट्रपति निवासमा महाकाली सन्धिदेखि नै राष्ट्रवादी भएको सम्झाइयो । इतिहाससँग जोडेर अहिले पनि राष्ट्रवादीलाई अप्ठेरो पारिएको र दाहाल-नेपालले अरुको इशारामा काम गरेको आरोप समेत लगाउन भ्याइयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय