scheduleमगलवार श्रावण २० गते, २०७७

पर्वत र बझाङको भेल अकल्पनीय : रूख हुँदैमा पहिरो रोकिन्न

नारायण ढुङ्गाना

काठमाडौँ, २० असार । मनसुनको शुरुआती समयमा पर्वत र बझाङ जिल्लामा ठूलो भेल पहिरो गयो । उक्त पहिरोमा परी १५ जनाले ज्यान गुमाए ।

पहिरोले झण्डै दुई दर्जन घर बगाएको छ । मनसुन शुरु भएको पहिलो २० दिनमा झण्डै ६० वटा पहिरो गएको छ । कुल घटनामा २५ भन्दा बढीको ज्यान गइसकेको छ ।

खसेको पहिरोमध्ये ती दुई घटना भने फरक प्रकृतिको छ । माथि जङ्गलबाट आएको भेल पहिरो विनाशकारी बन्न पुग्यो । कसैले नसोचेको ठाउँमा पहिरो गएको यस क्षेत्रमा काम गर्दै आउनुभएका विज्ञहरुले बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यी दुई घटना अकल्पनीय नै हो भन्छन् ।

पर्वतको पहिरोका बारेमा उहाँ आफैँ स्थलगत अध्ययन गरेर फर्केका थिए । बझाङको सदरमुकाम चैनपुरको दक्षिणमा पर्ने केदारस्यूँ गाउँपालिका–८ मल्लेसीमा भारी वर्षापछि बिहान करीब २ बजे पहिरो खस्दा २० घरमा क्षति पुर्‍याएको छ ।

यहाँ पुग्न जिल्ला सदरमुकामबाट दुई घण्टाको सवारी यात्रापछि तीन घण्टा पैदल हिँड्नुपर्छ । उक्त पहिरोमा परी आज साँझसम्म छ जनाको मृत्यु भएको र एकजना बेपत्ता भएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

अहिले सो क्षेत्रमा उद्धार टोली खटाइएको छ । आवश्यक उद्धार तथा राहतका लागि जान लागेको सेनाको हेलिकप्टर मौसम खराबका कारण पुग्न सकेन ।

यस्तै प्रकृतिको घटना पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते भएको थियो । पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाएका थिए ।

चवन्न घर रहेको बस्तीका बीचमा जङ्गल सोहोरेर भेल पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै नौ घर उच्च जोखिममा छ । असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए ।

मनसुनको सुरुआतमा पहिरोले नसोचेको क्षति पुर्‍याएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल यस्ता पहिरो किन गइरहेको छ भन्ने विषयमा अध्ययन थालिसकेको बताउछन् ।

सामान्यतः भेल पहिरो भन्नाले माथिबाट आउने एक प्रकारको बाढी हो । तल बग्दै जाँदा वेग बढ्ने र खोतल्दै ढुङ्गा, माटो, लेदो, रूख, बिरुवा सबैलाई सोहोर्दै झर्छ ।

आफ्नो अगाडि जे भेट्छ त्यसलाई नष्ट गर्दै जान्छ । पहिरो विज्ञका अनुसार जति तल झर्दै जान्छ त्यो भेलको क्षमता गुणात्मक रुपमा बढ्दै जाने भएकाले त्यसले भेटेको क्षेत्र बच्ने सम्भावना कम हुन्छ ।

एकजना जलाधारविज्ञ मधुकर उपाध्य पानीको निकास उचित व्यवस्थापन हुन नसक्दा र भएको निकास जाने बाटोमा समेत अवरोध हुँदा यस्ता पहिरो खस्ने बताउछन् । उनकाे प्रारम्भिक अनुमान पनि बझाङ र पर्वतको भेल पहिरो त्यसैको कारण हो ।

नेपालमा बर्सेनी पहिरो खस्छ । यो वार्षिक समस्या हो । तर त्यसलाई क्षति कम गर्ने उपाय अपनाउन सकिन्छ ।

जलवायु परिवर्तनलगायत कारणले अब घना वन भएको ठाउँमा पनि पहिरो खस्छ भन्ने उदाहरण पर्वत र बझाङ नै हो । माथिल्लो भागमा पानीको राम्ररी निकास नहुँदा एकै पटक एकै ठाउँमा धेरै पानी परेपछि त्यसले तल्लो भागमा स्वाभाविक रुपमा क्षति पुर्‍याउँछ ।

“अहिले भएको पनि त्यही हो, माथिल्लो भागमा पानी रोक्ने ठाउँ भएन, भएका पानीका निकास मासिँदै गयो, पहिले विभिन्न क्षेत्रमा पोखरी तलाउ हुन्थ्यो, त्यसले पानी अड्याउँथ्यो, विज्ञ उपाध्यले अगाडि थपे, “अहिले त्यो पनि छैन, एकैचोटि पानी पर्ने क्रम बढ्यो, त्यसको निकास पनि नहुने, पानी अडिने पोखरी तलाउ पनि नहुने भएपछि पानी भेल पहिरो बनेर झर्नुको विकल्पै हुन्न ।”

उनले जङ्गल छ पहिरो जाँदैन भनेर ढुक्क नहुन अनुरोध गरे । प्राविधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल पनि त्यस कुरामा सहमत छन् । माथिबाट खसेको पानी दमकलले छ्यापेको झैँ फोर्समा आउँछ, त्यसले जङ्गल नै सखाप पार्दै बगाउँछ ।

यस वर्ष प्रिमनसुनमा वर्षायाममा औषत पर्ने पानीको २५ प्रतिशत पानी परिसकेकाले जमीन गलिसकेको थियो । मनसुनको पहिलो २० दिनमा पनि औषत पर्नेभन्दा बढी पानी परिसकेको छ । त्यसैले पहिरोका घटना बढी छन् ।

गाउँगाउँमा त्यस्ता पहिरो जाने सम्भावित ठाउँ स्थानीयवासीले पहिचान गरेका हुन्छन् । पोखरेलले त्यस्तो ठाउँमा नबस्ने आफैँ पनि सचेत हुने र त्यस्तो जोखिम क्षेत्रका बारेमा स्थानीय तह वा नजीकका सरोकारवाला निकायलाई खबर गर्न अनुरोध गरेका छन् । जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार थप पानी पर्ने सम्भावना रहेकाले सचेत हुन आग्रह गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय