लेस्टर सिटीको सहज जीत
काठमाडौं, २० असार । प्रिमियर लिगअन्तर्गत आज भएको अर्को खेलमा लेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । लेस्टरकै घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा लेस्टरले प्यालेसलाई ३-० ले हराएको हो ।
लेस्टरको जीतमा जेमी भार्डीले २ तथा इहियानाचोेले १ गोल गरे । इहियानाचोले ४९औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि भार्डीले ७७औं मिनेटमा र खेल सकिनै लाग्दा इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गर्दै लेस्टरको ३-० को जीत सुनिश्चित गरेका थिए ।
भार्डीले प्रिमियर लिगमा आफ्नो १००औं गोल पूरा गरेका छन् । उनले आज २ गोल गर्दै लिगमा आफ्नो गोल संख्या १०१ पुर्याएका छन् । जारी सिजनमा उनले २१ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।
जीतसँगै ३३ खेलबाट ५८ अंक बनाएको लेस्टर अंकतालिकाको तेस्रो स्थानमा यथावत् छ भने पराजित क्रिस्टल प्यालेसको ३३ खेलबाट ४२ अंक छ र १३औं स्थानमा झरेको छ ।